No comments yet

त्यो पुस्तक

आज घरेलु संगति अलिक ढिलोसम्म भयो। फेरि विरामीको निम्ति प्रार्थना गर्दा समय त गइहालेछ। झण्डै दस बझ्न लागेछ। रुबेन मनमनै यसो भन्दै सबैसंग विदा भई बाटो लाग्छ ‘म छिट्टो जानुपर्छ, हिजो आज समय पनि राम्रो छैन, बाटो पनि अँध्यारो छ।’ यस्तै कुराहरू मनमा सोंच्दै रुबेन आफ्नो पाइला छिटो छिटो चाल्दै थिए, बाटो पनि घुम्ती परेको थियो।

एक्कासी “ए साथी हो उठ” भन्ने आवाज आयो। चार जना केटाहरू जराक् जुरक्क उठेर रुबेनलाई समाते र भने, “तँसंग कति छ पैसा, निकाल!”

रुबेनले भने, “भाइहरू हो, मसँग…” यति मात्र भन्न के पाएका थिए, एक जनाले रुबेनलाई गालामा एक थप्पड हानेर झोला खोस्यो। अरू तीनजना चाहिँ रुबेनलाई धम्की दिँदै शिरदेखि पाउसम्म छाम्न थाले। रुबेनको खल्तीमा जम्मा एक सय पैंतीस मात्र थियो, त्यो पैसा र घडी पनि तिनीहरूले लगे। एक जनाले सर्ट पनि खोल्न लाग्यो। तर अर्कोले “भैगो नखोल” भन्यो। अन्तमा “पुलिसलाई रिपोर्ट गरिस् भने बाँच्ने छैनस्” भन्दै धम्की दिएर छाडे।

रुबेन तिनीहरूको अधर्मदेखि दु:खित हुन्छन् र प्रार्थना गर्छन्, “हे पिता तिनीहरूका हातमा जीवनको रोटी परेको छ, तिनीहरूले त्यो खाऊन् र अनन्त जीवन पाऊन्। तपाईको वचन दुईधारे तरवार पनि हो, तिनीहरूको हृदय छेड्नुहोस्। तपाईको वचन ज्योति हो, तिनीहरू अन्धकारमा छन्।” तिनीहरू चाहिँ एक ठाउँमा भेला भए र सामानहरू भागबण्डा गर्न थाले। “आज कस्तो ब्याड लक पर्‍यो यार! पैसा नभएको मान्छे परेछ। के छ त्यो ब्यागमा, गह्रौं छ नि?”

सरोज भन्ने एक जनाले भन्छ, “केही पनि छैन। किताब मात्र छ।”

अरू भन्छन्, “के काम किताबको। फालिदे।”

सरोज भन्छ, “म लान्छु किताब।”

“हा हा हा…किताब लान्छ रे!” सबै जना हाँसे।

सरोज साथीहरूलाई भन्छ, “आज मलाई अलिक सन्चो छैन। म घर जान्छु है।”

“जा जा मोरा” भन्दै साथीहरूले खिसी गरे।

२०४० साल वैसाख ५ गते, वसन्तको हरियालीसंगै बिहानीको मिरमिरेमा एक बालकको जन्म भयो। रामे र सानी खुशीले गदगद भए। छिमेकीहरू पनि आएर खुशी मनाए। रामे र सानी आफ्नो छोराको भविष्य कति उज्वल होला भनी अनेकौं सपना देख्न थाले। तर रामेले ती सपनाहरू बिर्सी सुन्दर छोरा र पत्नीलाई चटक्कै छोडी अर्कै स्वास्नी लिई हिँडे। त्यो घडी आमा छोराको निम्ति साह्रै दुखको घडी थियो। जे भएपनि सानीको सहारा भनेको त्यही छोरा भएकोले अझ उनले छोरामा सुन्दर सपनाहरू देख्न थालिन्। तर उनका ती सुन्दर सपनाहरू छोरा जन्मेको सोह्र वर्ष नबित्दै सबै चकनाचुर भए। सरोज आठ कक्षामा पढ्दा पढ्दै नराम्रो संगत गरी कुलतमा फस्यो। ऊ अब ठूला ठूला अपराधी कार्य गर्न अघि बढ्न थाल्यो। सरोज कहिले चौकी, कहिले प्रहरी कार्यालय र कहिले शरीरभरी चोटै चोट लिएर घर आउन थाल्यो। उसले छिमेकीहरूलाई पनि साह्रै सतायो। छिमेकीहरू सरोजलाई देखेपछि ढोका बन्द गर्न थाले।

सानीले छोरालाई सुधार्न अनेक कोशिस गरिन्। धन पनि धेरै खर्च गरिन् तर उनको केही सीप लागेन। उनका ती सुन्दर सपना देख्ने आँखाहरू दिनानुदिन आँसुमा डुब्न थाले। आज पनि निद्रा छैन सानीलाई। रातको एक बजिसकेको छ। आँसुले सिरानी भिजिसकेको छ।

ढोका “ढक ढक” गर्छ। डराउँदै सानी ढोका खोल्छिन्। सरोज केही नबोली आफ्नो कोठामा पस्यो। आज सरोजले झोलामा केही ल्याएको जस्तो छ। अब पुलिस आइपुग्ने हो कि? यस्तै डर र त्रासमा ओछ्यानमा ढल्किरहिन् सानी। सरोज पनि झोला टेबलमा राखेर खाटमा पल्ट्यो। तर उसलाई निद्रा लागेन। छटपटी भयो, टेबुलको झोला खोल्यो। ठूलो किताबमा ‘पवित्र बाइबल’ भनी लेखिएको थियो। यताउति पल्टाउने क्रममा सरोज आँखा रोमी ६:२३ मा पर्यो। उसले त्यो खण्ड पढ्यो।

“किनकी पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदान चाहिँ प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।” परमेश्वरको वचन दुईधारे तरवारले सरोजको हृदय काट्ने र छाँट्ने काम गर्यो।

कहिल्यै कसैको डर नलाग्ने सरोजलाई डर र त्रास हुन थाल्यो। मुटुको धढ्कन बढ्न थाल्यो। उसले गरेको एक एक पाप सरोजको आँखाको सामु खडा भयो। उसले आमालाई पनि सम्झ्यो। ‘विचरा मेरी आमा! बुबाले छोड्नुभए पनि मलाई कति दुख गरेर हुर्काउनु, पढाउनुभयो। तर मैले सधैं नराम्रो काम गरेर उहाँलाई धेरै रुवाएँ।’ आज मात्र रुबेनलाई गालामा थप्पड हानेको कुरा पनि सम्झ्यो। सरोजलाई छटपटी भयो। कोठामा यताउति घुम्न थाल्यो। उसलाई समुद्रको छालले छोपजस्तो भयो।

फेरि बाइबल पल्टायो। परमेश्वरले नै सरोजलाई आफ्नो वचन देखाउँदै हुनुहुन्छ जस्तो थियो। उसले मत्ती ११:२८ मा प्रभु येशूले भन्नुभएको प्रेमिलो वचन उसले पढ्यो,

“हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरू हो, मकहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु।”

अनि उसमा अचम्मको आशा आयो। सरोजलाई धेरै कुरा भन्न आउदैनथ्यो। तर उसको हृदय भने चूर्ण भइसकेको थियो। सरोजले भन्यो, “हे येशू म पापी हुँ। मलाई बचाउनुहोस्!” कता कता उसको मन हल्का भए जस्तो भयो। रातको तीन बजिसकेको थियो। सरोज आमाको कोठामा गयो। आमालाई पटक्कै निद्रा लागेको थिएन। सरोजले “आमा” भन्दा उनी झस्किन्। उनलाई डर लाग्यो, तरै पनि छोराको “आमा” भन्ने सोर सुन्दा खुशी पनि लाग्यो। आमासँग सरोज कहिल्यै पनि राम्रोसँग बोल्दैनथ्यो। सरोज आमाको नजिक बस्यो र भन्यो, “आमा मैले नराम्रो जीवन बिताएर तपाईलाई धेरै रुवाएको छु। मलाई माफ गर्नुहोला। अब म त्यस्ता कामहरू गर्नेछैन।” आमाले सरोजको अनुहार हेरिन्, त्यो उज्यालो थियो। सरोजकी आमा हर्षको आँसु बगाउँदै भन्न थालिन्, “छोरा आज तिम्रो मुखबाट यस्तो कुरा सुन्न पाउँदा मलाई अति नै खुशी लाग्यो। ईश्वरले तिमीलाई साथ दिऊन्।” साँच्चै सरोजकी आमालाई अंध्यारी रात पनि झलमल्ल घाम लागेको जस्तो भएको थियो।

बिहानको ६ बजेको थियो। रुबेन उठेर हातमुख धुँदै थिए। फोनको घण्टी बज्यो। रुबेनले फोन उठाउँदै भन्यो, “हेलो!” उताबाट आवाज आयो, “हेलो, रुबेन दाइ तपाईको फोन नम्बर झोलामा पाको थिएँ र फोन गरेको।”

“झोलामा? कुन झोला?” “गए रातको घटना बिर्सनुभयो?” “ए…सम्झें।” सरोजले भन्यो, “दाइ, जुन व्यवहार तपाईसंग गरें, म त्यसको लागि एकदमै दु:खित छु। मलाई माफ गर्नुहोला।” रुबेन खुशीले क्षमा दिँदै, चर्च आउन निम्तो दिए।

अब सरोज लगातार चर्च जान्छ र वचन सुन्छ। २ कोरिन्थी ५:१७ मा लेखिएको छ, “यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर सबै कुराहरू नयाँ भएका छन्।” यसै सत्यता अनुसार सरोजको जीवन पूरा नयाँ भएको छ। आज सरोज अन्धकारमा बलेको बत्तीझैं परिवार, छिमेक सबैतिर चम्किरहेको छ। मानव समाजमा घट्ने यो कस्तो सुन्दर घटना! परमेश्वरको वचन अचम्मको छ। साँच्चै त्यो पुस्तक उदेकको छ। त्यो पुस्तकले सरोजको जीवनलाई पूर्णरुपले परिवर्तन गरिदिएको छ। आज सरोजको लागि अत्यन्तै प्रिय बनेको छ त्यो पुस्तक!

 

लनी गुरुङ

 

 

Post a comment