नेपाली ख्रीष्टिय जगतका दुई पुराना प्रभावशाली व्यक्तित्वहरू नारायण शर्मा र गोपाल क्षेत्री क्रमश: ए.जी. चर्च तथा पाटन चर्चका सदस्य रहेको मलाई शुरु देखि नै थाहा थियो। विस्तारै उहाँहरू दुई मिलेर एउटा अफिस शुरु गरेको मलाई राम्रारी थाहा छ। उहाँहरूले बोधार्थ पत्रिका संचालन गर्नुभयो। पुस्तकहरू प्रकाशन गर्न थाल्नुभयो। नेपाली ईशाईहरूसंग उहाँहरूको राम्रो आवातजावात र हिमचिम थियो। त्यसपछि उहाँहरूबाट रेडियो ‘आत्मिक यात्रा’ संचालन हुन थाल्यो। हुँदा हुँदा जी.एफ.ए. संस्था संचालन गर्दै एउटा राम्रै ख्रीष्टियन बुक शप संचालन गर्न थाल्नुभयो। पछि आएर ‘विलिभर्स चर्च’ स्थापना गर्नुभयो। अनि नारायण शर्मा विशप बन्नुभयो। त्यसपछि गोपाल क्षेत्री विशप बन्नुभयो। अब दुबै नै लामा लामा दाह्रीजुंगा, क्यासक (cassock) भनिने लामो लवेदा, पटुका, थैली आदि पोसाक, घाँटीमा ठूला ठूला धातुको क्रूस, ठूला क्रूस बोकेर मार्चपास गरिरहेका स्वरुपमा उहाँहरू देखिन थाल्यो। हिजोको सरल पोसाक, सरल व्यक्तित्व आज रहेन। होइन बाँच्न मात्रै पर्छ, अनेक देखिन्छ भन्थे बुढाहरू, त्यस्तै अनुभूति भइरहेछ मलाई पनि। नारायण शर्माले एउटा अन्तर्वार्तामा भन्नुभएको थियो, किन हामी यस्ता भयौं हामीलाई नै थाहा छैन। अब बुझ्दै जाँदा उहाँहरूलाई यो स्थानमा पुर्याउने कारण भनेको भारतको केराला निवासी के.पी. योआनन देखियो। तब नेपाली मण्डलीहरूमा उहाँहरू प्रति जुन अलमल छ त्यसलाई केही हदमा भएपनि स्पष्ट पार्ने जमर्को यहाँ गरिएको छ।
विलिभर्स इस्टर्न चर्चको संस्थापक तथा वर्तमान मेट्रोपोलिटन विशप के.पी. योहनान हुन्। उनको पूरा नाम योआनान कडिप्पिएरिल पुन्नोज (Yohannan Kadippiaril Punnose) हो। उनले अमेरिकाको टेक्सास राज्यको डल्लास स्थित क्रिसवेल बाइबल इन्स्टिच्युटमा बिब्लिकल स्टडिजमा बी.ए. सम्मको अध्ययन गरेका थिए। उनलाई पछिबाट भारतको चेन्नाईस्थित हिन्दुस्तान बाइबल इन्टिच्युट एण्ड कलेजले ‘अनररी डिग्री अफ डिभिनिटी’ प्रदान गरेका थिए। यद्यपि यो डिग्री अनररी अर्थात् मानार्थ मात्रै थियो उनले आफूलाई डाक्टर भन्ने गरेको पाइएको छ।[1] उनका जीवनमा पैसा सम्बन्धमा विवादस्पद घटनाहरू घटेको पाइएको छ। विलिभर्स चर्चले भारतको केराला राज्यमा ९.१८ बर्ग कि.मि. क्षेत्रफल भएको रबर बगान किनेपछि भारत सरकारले यस संस्थाको छानवीन शुरु गरेका थिए।[2] सन् २०१५ मे मा सरकारले उक्त रबर बगानलाई जफत गरेको घोषणा गरेका थिए। स्थानीय सरकारले त्यस स्थानमा एयरपोर्ट बनाउने योजना गरेका थिए। के.पी. योआननले भने उक्त जग्गा सामाजिक सेवा गर्नका निम्ति लगानीको रुपमा किनिएको हो भनी दावी गरेका थिए। सन् २०२० नोवेम्बरमा भारत सरकारको कर विभागले उनका आवास तथा कार्यालय खनतलास गर्दा उनको कारको डिकीमा भारतीय रुपैया ५७ लाख भेटिएको
थियो।[3] उनले अमेरिकामा स्थापना गरेको संस्था गस्पेल फर एशिया विरुद्ध अमेरिकामा पनि आर्थिक अपचलन सम्बन्धमा मुद्धा परेको थियो।
के.पी. योआननले विलिभर्स चर्चको स्थापना सन् १९८१ मा भारतको केराला राज्यको तिरुवल्ला शहरमा गरेका थिए। उनको शुरुमा इस्टर्न अर्थोडक्स चर्चसंग आवद्धता थिएन। उनको सम्बन्ध क्यारिस्मेटिक समूह तथा नन-डिनोमिनेसनल चर्चहरूसंग थियो। पछिबाट यिनले इस्टर्न अर्थोडक्स चर्चसंग सम्बन्ध बढाए र त्यसैमा आवद्ध भए। त्यसपछि उनीसंग आवद्ध रहेका भारतीय मण्डलीहरू तथा ख्रीष्टियन संघसंस्थाहरू उनीबाट अलग भएका थिए।[4]
सन् २०१८ अगस्टमा उनलाई विलिभर्स इस्टर्न चर्चको मोरान मोर अथानासियस योआन मेट्रोपोलिटन को रुपमा इस्टर्न अर्थोडक्स तथा एङलिकन विशपहरूद्वारा अभिषेक गरिएको थियो[5]। यस चर्चलाई शुरुमा विलिभर्स चर्च भनिन्थ्यो। विलिभर्स इस्टर्न चर्चले आफ्नो विषयमा यसरी परिचय दिएको छ, “evangelical in nature and outlook, oriental in worship, democratic in function and orthodox in governance and character” अर्थात् “प्रकृति र देखिनेमा इभान्जेलिकल, आराधना पूर्वीय, कार्य संपादनमा प्रजातान्त्रिक, प्रशासन र चरित्रमा अर्थोडक्स”।[6] यसले आफूलाई “Ancient-Future Church” अर्थात् “प्राचीन-भविष्य मण्डली” भनेको छ।[7] यसको अर्थ प्रेरितहरूको मृत्युपछि जुन बाइबल र मण्डली संस्कार वा परम्पराहरू मिश्रित शिक्षाको प्रादुर्भाव भयो त्यसलाई पछ्याउनु हो। यस चर्चले आफ्नो विश्वासको आधार अपोसल्स क्रीड, नाइसियन क्रीड तथा एक पवित्र क्याथोलिक अनि अपोस्टलिक चर्चसंगको अविच्छिन्न धारलाई मान्दछ।[8] नाइसियन क्रीडकै दोस्रो संशोधनमा लेखिएको छ, “हामी एक पवित्र क्याथोलिक अनि अपोस्टलिक चर्चमा विश्वास गर्दछौं; पापहरूको क्षमाको निम्ति एक मात्र बप्तिस्मा हो भनी स्वीकार गर्द छौं।[9]” रोमन क्याथोलिक चर्चले जस्तै इस्टर्न चर्चले पनि बप्तिस्माद्वारा मुक्ति पाईन्छ भन्ने कुरामा विश्वास राख्दछन्। बप्तिस्माद्वारा कसैले मुक्ति पाउँदैन। लेखिएको छ, “किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ”[10]।
यस संस्थाको संचालन माथिल्लो निकाय सिनोडद्वारा गरिएको हुन्छ जसमा प्रमुख विशप मेट्रोपोलिटन, एपिस्कोपाहरू रहेको हुन्छ। यस चर्चका ३३ डायोसिसहरू छन्। तिनलाई संचालन गर्न ३० विशपहरू नियुक्त भएका छन्। विशप मेट्रोपोलिटन ओहोदालाई ‘first among equals’ अर्थात् ‘समान विच पहिलो’ रुपमा हेरिएको हुन्छ। विलिभर्स इस्टर्न चर्च र इस्टर्न अर्थोडक्स चर्च विच समानता र अन्तर्सम्बन्ध रहेको पाइएको छ। यस चर्चका कैयौं गतिविधि र प्रकृयाहरू रोमन क्याथोलिक चर्चसंग समान छन् यद्यपि त्यहाँ शिक्षा र विश्वासमा केही अन्तरहरू रहेका छन्। विशपहरूको लवेदा, पटुका, त्यसका रंगहरू, टोपी, घाँटीमा झुण्ड्याइने बडेमाको क्रूस, मास, मरियमप्रतिको भक्ति, क्यापुचिन तथा जेजुएट मिसिनरीहरूलाई गरिने सम्मान र तिनलाई हिरो वा नमूनाको रुपमा लिने अवस्था, विविध कृयाकलापहरूमा ठूलो क्रूस बोकेर विशप अघि अघि जाने जस्ता गतिविधिहरूमा विलिभर्स इस्टर्न चर्च र रोमन क्याथोलिक चर्च विचमा व्यापक समानताहरू पाइन्छन्। यद्यपि यस चर्चले आफूलाई प्रेरितीय मण्डली ठान्दछन् प्रेरितहरूको सरल जीवन, सरल पोसाक, बाइबलीय सत्यतामा उभिने जस्ता प्रेरितहरूको जीवन र शिक्षाबाट टाढा र फरक रहेको छ। मण्डलीहरू “सरलता (simplicity) बाट भ्रष्ट हुन्छन् कि भन्ने डर मलाई लाग्छ” (२ कोरिन्थी ११:३; २ कोरिन्थी १:१२; रोमी १२:८; १६:१८-१९)। जून खतराको डर पावलले पूर्वी युरोपमा गरेका थिए ठीक त्यही कुरा पूर्वी युरोप र एशियामा आएका थिए। यो समस्या पश्चिम युरोपमा समेत देखिएको थियो। रोमन क्याथोलिक चर्चले जस्तै शिक्षालाई भन्दा पनि संस्कार वा परम्परालाई बढि जोड दिने गरेको पाइएको छ। यद्यपि विलिभर्स इस्टर्न चर्चले पोपलाई मण्डलीको शिर मान्दैन तर यसको पोपप्रति सद्भाव र सम्मान रहेको छ। लामो समय भारतको केराला राज्यमा थियलोजिकल अध्ययन क्रममा विलिभर्स इस्टर्न चर्च अनि के.पी. योआननलाई नजिकबाट हेर्नुभएका पा. लरेन्स तामाङका अनुसार इस्टर्न अर्थोडक्स चर्च र रोमन क्याथोलिक चर्च विचमा ठूलो अन्तर नरहेको बताउनुहुन्छ। क्याथोलिक चर्चले आफ्नो आल्टरमा धुप बाल्छन् अनि इस्टर्न अर्थोडक्स चर्च वा विलिभर्स इस्टर्न चर्चले पनि आल्टरमा धुप बाल्छन्। फरक भनेकै पोपलाई मान्ने र नमान्ने भन्ने मात्र हो। रोमन क्याथोलिकहरू पोपलाई मान्दछन् भने विलिभर्स इस्टर्न चर्चले पोपलाई मान्दैन।[11]
रोमन क्याथोलिक चर्चले मानवीय तर्कलाई उच्च स्थान दिए जसले उनीहरूको ईश्वरशास्त्र, रहस्य, क्याथोलिक चर्चको संस्थापनामा अन्तर ल्यायो। इस्टर्न अर्थोडक्स चर्चले हुबहु यस्तै विश्वास नगरे पनि आफ्नो विश्वासको पुष्टिकरणको आधार विज्ञान र दर्शनलाई पनि मान्दछन्। रोमन क्याथोलिक चर्चले विश्वास गर्दछ कि मानिसको ज्ञान र ईश्वरीय अनुग्रहले आउने दिनमा ईश्वरलाई देख्न मद्धत गर्दछ। इस्टर्न अर्थोडक्स चर्च विश्वास गर्दछ कि ईश्वरीय अनुग्रहले पनि आउने समयमा उहाँलाई देख्न सकिँदैन। ख्रीष्टको महिमित शरीरमा मात्र यो अवसर मिल्दछ। रोमन क्याथोलिक चर्चले आफ्नो मास वा युकारिस्ट (प्रभुभोज) ल्याटिन भाषामा संचालन गर्दछन् भने इस्टर्न अर्थोडक्सले स्थानीय भाषामा युकारिस्ट संचालन गर्दछन्। दुवै समूहले रोटी भचाईको रोटी ख्रीष्टको शरीर बन्ने विश्वास गर्दछन्। रोमन क्याथोलिकले सेन्टहरूका मूर्तिहरूलाई पुजा गर्दछन् इस्टर्न अर्थोडक्सले सेन्टहरूका चित्रहरूलाई पुज्दछन्[12] जसमा तात्विक भिन्नता छैन। रोमन क्याथोलिक चर्चले मरियमलाई परमेश्वरकी आमा भनी पुज्दछन्, प्रार्थना गर्दछन्, इस्टर्न अर्थोडक्सले मरियमलाई प्रभुकी आमा भनेर श्रद्धा गर्दछन्, मान्दछन्। यी दुईका पदाधिकारीहरूका भेषभुषा, टोपीका रंग र ढाँचा फरक होला तर प्रणाली उही। पुल्पिटलाई आल्टर वा वेदी भन्दै पुरानो नियम पुजाहारीगिरीकै तरिकामा धुप बाल्ने, बत्ती बाल्ने लगायतका विधिहरू दुबै समूहले गर्दछन्। यसर्थ यो निष्कर्षमा आउँछौं, नयाँ नियमले देखाएझैं विश्वासीहरू अनि अगुवाहरूको सरलता यी दुबैले छोडेका छन्। दुवै नै सत्यताबाट भड्किएर मानवीय विधिविधानमा लिप्त छन्। नयाँ नियम स्थानीय स्वतन्त्र मण्डलीहरूको शिक्षा र ढाचा छोडेर संस्थागत अनि राज्य मण्डलीहरूको रुप दुवैले लिएको छ। दुवै नै प्राचीनताको दावी गर्दछन् र पुराना भजन, जप, मैनबत्तीहरू, धुप, मास, घण्टा आदि कुराहरूको अभ्यास गर्दछन्। क्याथोलिक प्रिस्टहरूले जस्तै इस्टर्न चर्च प्रिस्टहरूले पनि हातमा क्रूस समाएर शिर, दायाँ अनि बायाँ कुममा छोएर त्रिएक परमेश्वरको नाममा क्रूस बनाउँदछन् र प्रार्थना गर्दछन्।
नेपालमा तपाईहरूलाई झूटा शिक्षा भन्छन् नी भन्ने प्रश्नकर्ताको प्रश्नको जवाफमा विशप नारायण शर्माले आफ्नो अन्तर्वार्तामा ‘विलिभर्स इस्टर्न चर्च शुरुदेखिकै संस्कारहरूलाई निरन्तरता दिंदै आएको आधिकारिक चर्च हुन् भनेका थिए। नीजले भनेका थिए, इस्टर्न चर्चबाट बाह्रौं शताब्दीमा क्याथोलिकहरू छुट्टिए अनि पन्ध्रौं शताब्दीमा प्रोटेस्टेन्टहरू छुट्टिए।[13] यसमा नीजका इतिहास ज्ञानमा समस्या देखिएको छ। तपाईहरूलाई क्याथोलिक भन्छन् नी भन्ने प्रश्नको जवाफमा नीजले जवाफ दिएका छन् ‘क्याथोलिकहरूमा के नराम्रा छन् र? उनीहरूकै फादरहरू पहिला नेपालमा आए अनि यस देशका निम्ति योगदान दिए। उनीहरूले राजदरवारमा सुसमाचार सुनाए।[14] उहाँले उल्लेख गर्नुभएका अठाह्रौं शताब्दीमा नेपाल आएका क्यापुचिन फादरहरूले सुसमाचार सुनाएका थिएनन्। तर उनीहरूले क्याथोलिक शिक्षा तथा त्यसका धर्म संस्कार, परम्परा सिकाएका थिए। जनतालाई बाइबल होइन क्याथोलिक संस्कार सिकाए। फादर होरेसले घरघरमा गएर भनेका थिए, ‘यदि कुनै बच्चा मर्न आँटेमा हामीलाई जानाकारी गराइयोस् ताकि हामी उनीहरूलाई बप्तिस्मा दिनेछौं र तिनले मुक्ति पाउनेछन्’। बप्तिस्माद्वारा मुक्ति पाइन्छन् भन्ने शिक्षा थियो त्यो। जोनाथन लिन्डेलले बरु सही रुपमै उल्लेख गरे, ‘तिनीहरूको उद्देश्य ती दिनहरूमा उनीहरूका चर्चले बुझेको येशू ख्रीष्टको सुसमाचार सुनाउनु थियो’।[15] उनीहरूको चर्चले बुझेको सुसमाचार सुनाए भन्नु न्यायोचित हुन्छ। तर उनीहरूले बाइबलीय सुसमाचार सुनाए भन्नु गलत हुन्छ। साँचो सुसमाचार नसुनाएकैले पनि उनीहरूका काम अन्तत: शुन्य रह्यो। सन् १७१५ देखि १७६९ सम्म आउँदा क्याथोलिक प्रिस्टहरूले १२ हजार भन्दा धेरैलाई बप्तिस्मा दिएको इतिहास छ तर पृथ्वी नारायण शाहले काठमाडौं उपत्यका जितेपछि सन् १७६९ मा भएको बहिर्गमनमा क्याथोलिक ख्रीष्टियनहरू केवल ५७ जना मात्र पाइएका थिए। किन? ती पनि ख्रीष्टमा होइन तर फादरहरूमा पूर्ण आश्रित थिए। तिनलाई सुसमाचार भन्दा पनि क्याथोलिक संस्कार सिकाइएका थिए। नारायण शर्माले अर्को अन्तर्वार्तामा भनेका छन् विलिभर्स इस्टर्न चर्चले लिटर्जीको प्रयोग गर्दछन्।[16] लिटर्जीमा आराधना लगायतका प्रार्थनाहरू उल्लेख भएका हुन्छन्। ती लिखित प्रार्थनाहरू मन्त्र झैं जपेर प्रार्थनाहरू चढाउने चलनहरू रोमन क्याथोलिकमा पाइन्छ। विलिभर्स इस्टर्न चर्च विश्वास गर्दछ कि परमेश्वरले लेखाउनुभएका बाइबलका शुरुका पाण्डुलिपीहरू परमेश्वरबाट अभिप्रेरित हुन्। बाइबलमा उल्लेखित सबै वरदानहरू आज पनि रहेका छन्।[17] यी कुराहरूमा पनि समस्या रहेका छन्।
तर यदि पावल, पत्रुसहरू आज भएका भए यी चर्चहरूको गतिविधि, विधिविधान, विश्वास देखेर दंग पर्ने मात्र होइन छक्कै पर्नेथिए। यो चाहिँ त १ तिमोथी ४:१-५ को खण्डले बताएझैं तातो फलामले डामिएको विवेकले कपट्याईँमा झूट बोल्ने कार्य मात्र हो। नारायण शर्मा, गोपाल क्षेत्री दुबै नै परिचित व्यक्तित्वहरू हुनुहुन्छ तर उहाँहरू हेर्दाहेर्दै यसरी बद्लिएर जाँदा म आफैं छक्क परेको छु।
डा. यू. जे. गुरुङ, पास्टर
[1] https://www.wikiwand.com/en/K._P._Yohannan, 9/29/2022.
[2] ऐजन।
[3] ऐजन।
[4] लरेन्स तामाङ। व्यक्तिगत अन्तर्वार्ता। काठमाडौं, सेप्टेम्बर २९, २०२२। लरेन्स तामाङ साउथ इण्डियामा लामो समयम्म रही थियोलजी अध्ययन गर्नुभएका बाइबल शिक्षक हुनुहुन्छ।
[5] ऐजन।
[6] पा.टि.नं.१।
[7] पा.टि.नं.१।
[8] ऐजन।
[9] https://en.wikipedia.org/wiki/Nicene_Creed, 9/29/2022.
[10] पवित्र शास्त्र बाइबल, एफिसी २:८।
[11] तामाङ, पा.टि.नं.४।
[12] http://www.differencebetween.net, September 29, 2022.
[13] नारायण शर्मा, https://www.youtube.com/watch?v=1-7ZtGOE09g, September 29, 2022.
[14] ऐजन।
[15] जोनाथन लिन्डेल, नेपाल एण्ड द गस्पेल अफ गड, न्यू दिल्ली: युनाइटेड मिसन टु नेपाल, १९७९, पृ. २३.
[16] शर्मा, पा.टि.नं.१२।
[17] टाइटस मोर ओस्थाथियोस एपिस्कोपा, विलिभर्स इस्टर्न चर्च नेपाल। https://www.youtube.com/watch?v=4tFYwIoLn1k,
9/29/2022.