1

पेन्टकोस्टालिजम र क्यारिजम्याटिक मुभमेन्ट (अभियान)

पेन्टकोस्टालिजम के हो?

पेन्टकोस्टालिजम ईसाई जगतमा देखा परेको एउटा नयाँ अभियान हो। १९ औं शताब्दीको अन्ततिर धेरै मण्डलीहरू पवित्र जीवन जिउने प्रयासमा लागि परे। ठूला ठूला सभाहरू आयोजना गरेर विश्वासीहरूलाई शुद्ध र पवित्र जीवन जिउन प्रेरणा दिइयो। यसबाट एउटा अभियान नै शुरू भयो। यसलाई होलिनेस मुभमेन्ट Holiness Movement भनियो। यो अभियान शुरूमा मेथोडिस्ट र नाजरिन मण्डलीहरूमा देखियो। यस अभियान आफैमा नराम्रो त थिएन तर बिस्तारै विश्वासीहरूले पवित्र जीवन देखाउन अनुभवहरू र बाहिरी देखावटी कुराहरूको सहायता लिन थाले। सन् १९०६ मा लस एन्जेलस, अमेरिकाको अजुसा स्ट्रिटमा थुप्रै पुनर्जागरण सभाहरू आयोजना गरियो। यी सभाहरूमा अन्य भाषा बोल्ने कार्य गर्न थालियो। अन्य भाषा बोल्ने विश्वासीहरू पवित्र आत्माले भरिएका र पवित्र जनहरू हुन् भन्ने मान्यता दिइयो। पवित्रआत्माको बप्तिष्मा पाएकाहरूले अन्य भाषा बोल्छन् भन्ने भनाइको प्रचार प्रसार भयो। फलस्वरूप आफ्नो पवित्र जीवन देखाउन सबै विश्वासीहरू अन्य भाषा बोल्ने प्रयास गर्न थाले र पेन्टकोस्टालिजम अभियानको शुरूवात भयो। यो अभियान आज विश्वभर फैलिएको छ। यस अभियानले पवित्र आत्माको बप्तिष्मा र अनुभवहरूलाई जोड दिँदछ।

यो अभियानमा सम्पूर्ण ईसाई जगत सहभागि भएका भने होइनन्। थुप्रै मण्डलीहरू यसको विरोधमा थिए र यस अभियानलाई पछ्याउने विश्वासीहरूलाई मण्डली निष्कासन पनि गरियो। यस पेन्टकोस्टल अभियानलाई पछ्याउनेहरू मिलेर छुट्टै झूण्डहरू शुरू गर्न थाले, जसलाई हामी आज पेन्टकोस्टल चर्चहरू भनी चिन्दछौं। पेन्टकोस्टल चर्चहरूभित्र पनि विभाजनहरू देखिन थाल्यो। मूख्य रूपमा परमेश्वरको त्रिएकताको सम्बन्धमा विश्वासीहरू पेन्टकोस्टल अभियानभित्रै विभाजित भए। त्रिएकता नमान्नेहरूले नयाँ झूण्ड शुरू गरे जसलाई आज हामी यूनाइटेड पेन्टकोस्टल चर्च र अपोस्टलिक पेन्टकोस्टल चर्च भनेर चिन्छौं।

क्यारिजम्याटिक मुभमेन्ट के हो?

क्यारिजम्याटिक मुभमेन्ट पेन्टकोस्टल मुभमेन्टसँग मिल्दो जुल्दो छ। भिन्नता यो हो कि क्यारिजम्याटिकहरूले आफ्नो मण्डली छोडेर नयाँ झूण्ड शुरू गरेनन् तर आफ्नो मण्डलीलाई क्यारिजम्याटिक अभियानका शिक्षाहरू र अभ्यासहरूमा ढाले। त्यसैले ब्याप्टिस्ट चर्च पनि क्यारिजम्याटिक हुन सक्छ, क्याथलिक चर्च पनि क्यारिजम्याटिक हुन सक्छ, इत्यादि। पेन्टकोस्टलहरूले झैं क्यारिजम्याटिकहरूले पवित्र आत्माको बप्तिष्मा र अनुभवहरूलाई जोड दिन्छन्। Charisma भन्ने शब्दको अर्थ ग्रीकमा ‘दान या उपहार’ भन्ने हुन्छ। उनीहरू पवित्र आत्माको दानहरूमा जोड दिन्छन्। उनीहरू विश्वास गर्छन् कि आजको दिनमा पनि पवित्र आत्माको दानहरू जस्तै – अन्य भाषा, चिन्हहरू, चमत्कारहरू र चंगाइहरू अनुभव गर्न सकिन्छ। यो अनुभव गर्न एक विश्वासी आत्मिकी, पवित्र र ठूलो विश्वास भएको हुनुपर्छ भन्ने बुझाइ रहेको छ। यो अभियानले सांसारिक तरिकाको संगीतलाई आत्मासात गर्छ। शारीरिक अनुभवहरूलाई जोड दिने हुँदा, शरीर र भावनालाई प्रभाव पार्ने संगीतको प्रयोग हुँदछ। यो अभियान विश्वभर व्यापक रूपमा फैलिएको छ।

बाइबलको न्यायः

१. पवित्र जीवन

१ पत्रुस १:१५, १६; हिब्रु १२:१४; १ थेस्सलोनिकी ४:७; भ. सं. २४:३, ४; लेवी ११:४५; १ तिमोथी ५:२२

माथिका उल्लेखित बाइबलका खण्डहरूद्वारा हामी प्रष्ट बुझ्छौं कि एक विश्वासीले पवित्र जीवन जिउनु परमेश्वरको इच्छा हो। पवित्र जीवन जिउने अठोट गर्नु धेरै राम्रो कुरा हो। तर पवित्र जीवन जिउन शारिरीक उपायहरूबाट सम्भव छैन। पवित्र आत्माले भरपूर हुँदा मात्रै हामी यस्तो जीवन जिउन सक्छौं, आफ्नै मानवीय प्रयासहरूले होइन। पवित्र आत्माले भरपूर हुनु भनेको आफूलाई पूर्ण रूपमा पवित्र आत्माको अधिनमा सुम्पनु हो। आफ्नो शारिरीक अभिलाषाहरूलाई मार्नु हो। संघर्ष भनेको हामीले कहिल्यै झूट नबोल्ने या कहिल्यै अशुद्ध जीवन नजिउने भन्दा पनि साँचो संघर्ष भनेको त पवित्र आत्माको अधिनमा आफूलाई पूर्ण रूपमा सुम्पनु हो। रोमी ७ र ८ मा पावलले शरीर अनुसार र आत्मा अनुसार जिउने दुई फरक फरक जीवनहरूको बारेमा उल्लेख गर्छन्।

 

पवित्र जीवन जिउन हामी हरेक दिन परमेश्वरको चरणमा विनम्रताको साथ आउछौं र सहायताको माग गर्छौं, यो जानेर कि हामी आफैभित्र पवित्र जीवन जिउने कुनै सामर्थ्य छैन। अनि पवित्र आत्माको सहायतामा उहाँको भरपूरीमा हामी एक पवित्र जीवन जिउँछौं। अन्ततः महिमा सबै परमेश्वरलाई जाँदछ। यसले एक विश्वासीमा नम्रता ल्याउँदछ। यसको साटोमा आफ्नै बलजफतले देखावटीरूपमा ‘अन्य भाषा’ बोल्ने तथा अरू चिन्ह चमत्कार गर्ने प्रयास गर्दै आफ्नो जीवन पवित्र छ भनेर सबैलाई देखाउन प्रयास गर्नु बाइबलीय देखिदैन। यस्तो अभ्यासहरूमा व्यक्तिगत घमण्ड लुकेको हुँदछ। आत्मिक या पवित्र जीवन जिउने विश्वासीहरूले अन्य भाषा बोल्छन् भन्ने बुझाइ बाइबलीय देखिदैन।

२. पवित्र आत्मा

पेन्टकोस्टलहरू र क्यारिजम्याटिकहरूको बुझाइ यो पाइयो कि पाप क्षमा पाउनु मुक्तिको पहिलो चरण हो, दोस्रो चरणमा पवित्र आत्माको बप्तिष्मा हुँदछ, र पवित्र आत्माको बप्तिष्मा भएको चिन्ह स्वरूप अन्य भाषा बोलिन्छ। यस प्रकारको बुझाइ र शिक्षा बाइबलले सिकाउँदैन। बाइबलले यो सिकाउँदछ कि मुक्ति एकैचोटि हुने कुरा हो। जुन घडी हामी आफ्ना पापहरूबाट पश्चाताप गर्दै मुक्तिको लागि येशू ख्रीष्टमाथि विश्वास गर्छौं, तुरुन्तै त्यही घडी हामीले अनन्त जीवन, पापको क्षमा, पवित्र आत्माको बप्तिष्मा, आत्माको नवीकरण र पवित्र आत्माको वास पाउँछौं। तीतस ३:५; यूहन्ना ३:३-७; यूहन्ना १४:१७; १ कोरिन्थी ६:१९,२०;  १ कोरिन्थी १२:१३; कलस्सी २:१२; रोमी ६:१-६।

पवित्र आत्मा वास्तविक व्यक्ति हुनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्छ। उहाँ त्रिएक परमेश्वरको एक व्यक्ति हुनुहुन्छ। मत्ती २८:१९; २ कोरिन्थी १३:१४; १ पत्रुस १:२; यूहन्ना १:१; मत्ती १२:३२; १ यूहन्ना २:१९-२७; लूका ३:२२; उत्पत्ति १:२६; उत्पत्ति ११:४; यूहन्ना १४:२६; यूहन्ना १६:१३-१५; प्रेरित ५:३, ४; हिब्रु ९:१४; १ कोरिन्थी २:१०; १ कोरिन्थी ३:१६; लूका १:३५; एफेसी ४:४-६; एफेसी ४:३०; २ तिमोथी १:१४; २ पत्रुस १:२१; यहूदा १:२०।

३. अन्य भाषा

पेन्टकोस्टलहरू र क्यारिजम्याटिकहरू अन्य भाषाको दानलाई ठूलो जोड दिन्छन्। यतिसम्म कि अन्य भाषा नबोल्नेहरू आत्मिकी र पवित्र जीवन जिइरहेका छैनन् भन्ने निष्कर्ष निकालिन्छ। तर बाइबलले यस्तो सिकाउँदैन। अन्य भाषा अवश्य पनि पवित्र आत्माको एक दान हो। बाइबलमा अन्य भाषा बोल्ने कार्य प्रथम पटक पेन्टकोस्टको दिनमा भएको थियो (प्रेरित २:१-४)। प्रेरितहरू भीडहरू कहाँ गए र उनीहरूकै विभिन्न भाषाहरूमा परमेश्वरको विषयमा बताए (प्रेरित २:११)। उनीहरूले बुझ्ने भाषा प्रयोग गरेका थिए। व्यर्थका आवाजहरू उच्चारण गरेको होइन। ग्रीकमा Tongues (अन्यभाषा) भन्नाले ‘languages’ (‘भाषाहरू’) भन्ने अर्थ आउँछ। त्यसैले पवित्र आत्माको यो दान भनेको विभिन्न भाषाहरूमा बोल्ने दान हो। १ कोरिन्थी १२-१४ अध्यायहरूमा पावलले अन्य भाषाको विषयमा चर्चा गर्छन्। अन्य भाषा चाहिँ एउटा निश्चित उद्देश्यका लागि थियो। यो त एउटा चिन्हको रूपमा थियो कि प्रेरितहरूले प्रचार गर्ने सत्यताहरू साँच्चै नै परमेश्वरबाट नै आएको हो (१ कोरिन्थी १४:२२)। १ कोरिन्थीमा पावलले अन्य भाषा नबुझ्नेहरूका लागि अनुवाद गरिनु पर्छ भनी लेखेका छन् (१ कोरिन्थी १४:६-१३)। अनि पालै पिलो बोल्नुपर्ने कुरा पनि उल्लेख छ (१ कोरिन्थी १४:३१-३३)। अन्य भाषा बोल्दा यी माथि उल्लेखित नियमहरूको पालना गर्नु पर्थ्यो। तर आजको अन्य भाषा बोलाइहरू यस प्रकारका छैनन्। सबैजना एकै चोटि नबुझिने भाषामा अनि कसैले अनुवाद नगरी बोल्ने गरिन्छ। यसबाट पेन्टकोस्टको दिनमा जस्तै अविश्वासीहरूले विश्वास गर्ने कुरा त परै जाओस्, ‘बौलाए छन्’, र ‘चर्च नजिकको घरमा धेरै हल्लाले डिस्टर्व हुन्छ’ भन्ने भनाइहरू पो सुन्नमा आएको छ।

अनि थप भन्नु पर्दा पेन्टकोस्टलहरू र क्यारिजम्याटिकहरू अन्य भाषालाई सबैले पाउनै पर्ने दानको रूपमा ठूलो मात्रामा जोड दिन्छन्। यदि साँच्चै अन्य भाषा त्यस्तो महत्वपूर्ण भएको भए, किन हाम्रो परमेश्वरले हामीलाई यस बारेमा बताउनु भएन त? किन ‍हामी सबैलाई अन्यभाषा बोल्नैपर्छ नत्र मुक्ति पाइन्न भनेर बाइबलका खण्डहरूमा प्रष्ट गरी बताइएन? बरू अझ अन्य भाषाको विषय त बाइबलमा बिरलै पाइन्छ। मूख्य रूपमा केवल प्रेरित २ अध्याय र १ कोरिन्थीको पुस्तकमा मात्रै अन्य भाषाको विषय ल्याइएको छ।

अझ, १ कोरिन्थी १३:८ ले बताउँछ कि अन्य भाषा एक दिन बन्द हुन्छ। कहिले बन्द हुन्छ? यसै खण्डको १० पदले भन्छ, “तर जब सिद्धचाहिँ आउँछ, तब जो अधूरो छ, त्यो हटाइनेछ।” अन्य भाषाको दान यस्तो समयमा दिइयो जुन बेला बाइबल पूरा रूपमा लिखित भएको थिएन। त्यस समयमा चेलाहरूको प्रचारहरूलाई प्रतिरक्षा गर्न यस चिन्ह निकै महत्वपूर्ण र प्रभावकारि थियो। तर अब आजको समयमा हामीलाई परमेश्वरको पूर्ण लिखित प्रकाश मिलेको छ। सिद्ध आएको छ, अधूरो हटाइएको छ।

येशू ख्रीष्टको एउटा दृष्टान्तमा (लूका १६:१९-३१) धनी मानिसले आफ्नो भाइ-आफन्तहरूलाई सत्यता सुनाउन लाजरसलाई पठाइदिनुहोस् भनी विन्ती गर्छन्। जवाफमा उनलाई भनिन्छ कि, “तिनीहरूले मोशा र भविष्यवक्ताहरूका सुन्दैनन् भने मरेकाहरूबाट कोही बौरेर उठ्यो भने पनि तिनीहरू मनाइनेछैनन्।” अर्थात् परमेश्वरले मोशा र भविष्यवक्ताहरूबाट दिनुभएको आफ्नो वचन नै मानिसहरूको लागि पर्याप्त र अन्तिम प्रमाण र प्रकाश हो। येशू ख्रीष्टले अन्य भाषाको कुरा ल्याउनुभएन। आफ्नो सेवाकाइ भरि कहिल्यै पनि ख्रीष्टले अन्य भाषाको विषयमा सिकाउनुभएन। आज हामीलाई चिन्ह चमत्कार र अन्यभाषा भन्दा पनि ठूलो प्रमाण या चिन्ह मिलेको छ – परमेश्वरको पूरा लिखित जिउँदो वचन।

४. पवित्र आत्माका दानहरू/वरदानहरू

पवित्र आत्माका दानहरूको विषयमा १ कोरिन्थी १२ अध्यायले हामीलाई धेरै कुराहरू सिकाउँदछ। पवित्र आत्माका दानहरू किसिम-किसमका छन्। हरेकलाई पवित्र आत्माले आफ्नै इच्छा अनुसार अलग-अलग बाँडिदिनुहुन्छ। यी दानहरूको सही प्रयोगद्वारा मण्डलीको उन्नति हुँदछ र परमेश्वरको महिमा हुँदछ। हामीले दानहरूको उत्सुकतापूर्वक लालसा गर्नुपर्दछ (१ कोरिन्थी १२:३१)। यी सबै दानहरू प्रेममा नम्र हृदयले एक अर्काको भलाइ गर्न प्रयोग गर्नुपर्छ (१ कोरिन्थी १३)। प्रेमबिना यी दानहरू केहि पनि होइनन्। यसरी बाइबलमा दानहरूलाई भन्दा प्रेमलाई जोड दिइएको छ। पेन्टकोस्टलहरू र क्यारिजम्याटिकहरू त दानहरूको लागि मरिहत्ते गरेको पाइयो। त्यहि पनि चिन्ह, चमत्कार र अन्यभाषा जस्ता अनुभवहरूको पछि लागेको देखियो। यसको सट्टामा बाइबलले यो सिकाउँछ कि निश्चित दानहरू अस्थाइ थिए। अस्थाइ दानहरू बन्द भएका छन्। तर आज अरू दानहरू कायमै छन्, जस्तो ‍- शिक्षकको दान, प्रचारकको दान, सेवाको दान, इत्यादि (एफेसी ४:११)। यी दानहरूको लालसा गर्नु राम्रो हो। तर यी दानहरू प्रेमसाथ विश्वासीहरूको उन्नतिको लागि र परमेश्वरको महिमाको लागि मात्रै प्रयोग गरिनुपर्छ, घमण्डको लागि होइन।

५. चिन्ह, चमत्कार, चंगाइ

पेन्टकोस्टलहरू र क्यारिजम्याटिकहरू चिन्ह, चमत्कार र चंगाइलाई निकै जोड दिन्छन्। तर बाइबलले सिकाउँदछ कि यी दानहरू अस्थाइ थिए। आज यी दानहरू बन्द भइसकेका छन् (१ कोरिन्थी १३)। अर्को कुरा, आजका चिन्ह, चमत्कार र चंगाइ बाइबल कालिन समयको जस्तो देखिदैन। त्यतिबेलाको प्रेरितहरूले गर्ने चिन्ह, चमत्कार र चंगाइ बेजोड किसिमका थिए। जन्मैदेखिको लङ्गडा निको पारिन्थे (प्रेरित ४:५-२२), प्रेरितहरूको छायाले नै मानिसहरू निको हुन्थे (प्रेरित ५:१२-१६),  मरेकाहरू जिउँदो हुन्थे (प्रेरित २०:७-१२), इत्यादि। त्यसैले पहिलो त, यस्ता चिन्ह, चमत्कार र चंगाइ आजको समयमा बन्द भइसकेका छन्। दोस्रो, यदि बन्द भएको छैन भने बाइबल कालिन समयमा जस्तै आज चिन्ह, चमत्कार र चंगाइ किन हुँदैन त? के पवित्र आत्माको सामर्थ्य घटेको हो? आजको चिन्ह, चमत्कार र चंगाइ त बाइबल कालिन चिन्ह, चमत्कार र चंगाइसँग तुलना गर्दा हास्यस्पद देखिन्छ। ठूलो भीड जम्मा पारी केही व्यक्तिहरूलाई उफारी चिन्ह, चमत्कार र चंगाइको दावी गर्नु ठट्यौली जस्तो लाग्दछ।

निष्कर्षः

पेन्टकोस्टलहरू र क्यारिजम्याटिकहरूको शिक्षा र अभ्यास बाइबलीय देखिदैन। उनीहरू मुलभूत रूपमा अनुभव र भावनाको पछि लागेको पाइन्छ। बाइबलले अनुभवलाई भन्दा परमेश्वरको वचनलाई जोड दिन सिकाउँछ। २ पत्रुस १ अध्यायमा पत्रुसले प्रष्ट पार्छन् कि उनले गरेका र भोगेका अचम्मका अनुभवहरूभन्दा पनि पक्का वचन परमेश्वरको वचन बाइबल हो। त्यसैले आज हामी मानिसको अनुभव र भावना अनुसार जिउँदैनौं तर परमेश्वरको जिउँदो वचन अनुसार जिउदछौं। मानिसको अनुभव र भावना परिवर्तन भइरहन्छ, तर हाम्रो जीवनको आधार र जग त परमेश्वरको अपरिवर्तनीय वचन हो। उहाँको वचनको सत्यतामा पवित्र जीवन जिउँदै हामी उहाँबाट मिल्ने आशिष र अनुग्रहको अनुभव गर्दै अघि बढ्दछौं।

 

तसर्थ, पेन्टकोस्टलहरू र क्यारिजम्याटिकहरूको शिक्षा र अभ्यासहरू परमेश्वरको वचन अनुसार नभएको पाइएको हुनाले हामी ती कुराहरूमा सहमत छैनौं र ती कुराहरू अभ्यास पनि गर्दैनौं। यस्ता कुराहरू अभ्यास गर्ने र सिकाउने व्यक्तिहरू बाइबल अनुसार नजिएको ठहर हुँदछ। यी तथ्यहरूका कारण हामीहरू सचेत भएर अघि बढ्नुपर्दछ ताकि हामीहरू अन्तसम्म सत्यतामा खडा रहौं र परमेश्वरको महिमा भएको होस्।

 

Comment(1)

  1. Reply
    Alex Tamu says:

    Dear pastor U. J. Gurung, I’m so blessed and encouraged through this post. I’m a Authorized King James Bible believing Christian (Ps 12:6-7), God bless.

Leave a Reply to Alex Tamu Cancel reply