No comments yet

विश्व तथा नेपालको ख्रीष्टियन इतिहास Christian History of the World and Nepal

एक  

विश्वमा ख्रीष्टियनहरू

 

मण्डली इतिहास सम्बन्धमा मलाई पटक पटक सोधिएको एउटा प्रश्न छ, ‘कति किसिमका ख्रीष्टियनहरू पाइन्छन् संसारमा?’ त्रिभुवन विश्व विद्यालयका बुद्धिस्ट डिपार्टमेन्टमा मैले प्राध्यापन गर्दाताका मलाई तत्कालीन डिपार्टमेन्ट हेडले यही प्रश्न सोधेका थिए। हालैमा कुनै एक बाइबल कलेजबाट मास्टर्स गरेका एक युवाले सोधेका थिए, ‘ख्रीष्टियनहरू दुई किसिमका मात्र होइनन् र, क्याथोलिक र प्रोटेस्टेन्ट? डिपार्टमेन्ट हेड अनि उहाँको बुझाईमा क्याथोलिक र प्रोटेस्टेन्ट गरी ख्रीष्टियनहरू दुई प्रकारका रहेका छन्। ठूलो संख्यामा ख्रीष्टियनहरूमा यस बारे अनभिज्ञता देखिएकोछ। हालैमा एउटा रिसर्चको क्रममा चर्चहरूलाई सोधिएको एक प्रश्नको जवाफमा अधिकांश मण्डली अगुवाहरूले आफूहरू प्रोटेस्टेन्ट रहेको उल्लेख गरेका थिए।

रोमन क्याथोलिक चर्चले भन्छ, ‘ऊ मात्र साँचो मण्डली हो जुन मण्डली पत्रुसद्वारा शुरु गरिएको थियो जुन आजसम्म निरन्तर जारी छ’। अनि उसले भन्छ, बाँकी सबै गैह्र क्याथोलिकहरू ‘भड्किएका भाइहरू हुन्’। प्राय: प्रोटेस्टेन्ट चर्चहरूले भन्छन् कि अन्धकार युग (Dark Age) मा साँचो चर्चहरू समाप्तै भएका थिए। तर यी सबै धारणाहरू तथ्यगत होइनन्। परमेश्वरका जनहरूका साँचो इतिहासको दस्तावेज र आधार बाइबल हो भन्ने पुष्टि भइसकेको छ। पहिलो शताब्दीको प्रारम्भिक चरणमा ख्रीष्टियनहरूलाई चुनौतिको रुपमा हेर्ने समूह भनेको यहूदीहरू मात्र थियो। यहूदी सभाघरहरू रित्तिदै थिए। मानिसहरू चर्चहरूमा भरिन थालेका थिए। यहूदीहरूको शिक्षा र जीवन मार्ग तोरा अर्थात् पुरानो नियमको शिक्षा विपरित देखिएको थियो। ख्रीष्टियनहरूलाई यहूदीहरूले यरुशलेममा सताए, टर्कीस एन्टिओकमा सताए, युरोपको थिस्सलोनिका र बीरिया तथा अन्य स्थानहरूमा सताए। युरोप तथा एशियाका अन्य थुप्रै स्थानहरूमा ख्रीष्टियनहरूलाई सिध्याउन यथासंभव उनीहरूले सबै ठाउँमा सताए। पावलले यहूदीहरूबाट पाँच पटक उनन्चालीस उनन्चालीस कोर्राहरू खाए, तीन पटक पिटिए, एकपल्ट ढुंगाले हानिए (१ कोरिन्थी ११:२४,२५)। बाँकी ईशाईहरूले पनि कोर्रा खाए, कैदमा परे, ढुंगाले हानिए, आराले चिरिए, परीक्षामा परे, तरवारले मारिए। ती कंगाल भए, भेडाका छाला, बाख्राका छालाहरू पहिरी चारैतिर मरुभूमि, पहाड, गुफा र ओडारहरूहुँदो घुमिहिँडे (हिब्रू ११:३६-३८)।

प्रारम्भिक समयमा रोमीहरू भने ख्रीष्टियन विरोधी थिएनन्। रोमीहरूको निम्ति ख्रीष्टियनहरू चुनौति थिएनन्। उनीहरू देशद्रोही थिएनन्। उनीहरू राज्य प्रमुखहरूको भलाई र बुद्धी निम्ति प्रार्थना गर्नेहरू थिए। राज्य र राजनीति मुक्त समाज थियो ख्रीष्टियनहरू। न उनीहरू सत्ता चाहान्थे न हस्तक्षेप। तर रोमी सम्राटहरू केवल राज्य सत्ता चलाउँदैनथे तर धर्ममा अधिकार गर्थे। उनीहरू रोमी धर्म तथा देवता भक्ति थिए। तर ख्रीष्टियनहरू रोमी धर्म र देवता मान्दैनथे। उनीहरू केवल एक मात्र परमेश्वरलाई मान्दथे (१ कोरिन्थी ८:५,६)। यस कुरामा रोमी सम्राटहरू ठेस खाए। ठूलो संख्यामा रोमीहरू ख्रीष्टमा आएका थिए। रोमी सम्राटको घरानामा समेत ख्रीष्टियनहरू थिए (फिलिप्पी ४:२२)। उनीहरूले रोमी देवताहरूलाई पुज्न छोडेका थिए। रोमी शासकहरूले पनि ख्रीष्टियनहरूलाई चुनौतिको रुपमा पाए। फल स्वरुप सम्राट नीरो लगातका बाँकी सिजरहरूले ख्रीष्टियनहरूलाई भारी सतावट दिए। नीरोले पावल लगायतका धेरैलाई फाँसी दिए, जलाए। रोमले ठूलो संख्यामा रोम लगायत युरोप तथा एशियाका ख्रीष्टियनहरूलाई मृत्युदण्ड दिए। पावल लगायत ख्रीष्टियन अगुवाहरू मारिए। ख्रीष्टियनहरू भूमिगत भए। आपसी पहिचान र व्यवहारका निम्ति ‘इक्थस’ अर्थात् ‘माछा’ जस्ता गोप्य संकेतहरू प्रयोग गर्थे। पार्थिव यात्रा उनीहरूका निम्ति निरस र वेचैनपूर्ण थियो। रोमी रंगशालाहरूमा उनीहरूलाई तमासा बनाइयो। कसैलाई सिंहहरूका आहरा बनाइयो त कसैलाई आगोमा जलाइयो। ती सबै परिस्थितिहरूमा ख्रीष्टियन मण्डलीहरू खडा थिए। ती मृत्युसम्मै विश्वासयोग्य भइरहे (प्रकाश २:१०)। ती बाइबलका प्रतिज्ञाहरूमा खडा भइरहे, विश्वासयोग्य बनिरहे। ख्रीष्टियनहरू विरुद्ध रोमी सत्ताबाटको सतावट चौथो शताब्दीसम्म अघि बढिरह्यो।

रोमी सम्राट कन्स्टेन्टाइनले ख्रीष्टिय विश्वासलाई अंगालेपछि आधिकारिक रुपमा इ.सं. ३१३ बाट ख्रीष्टियन विरुद्धका सतावट बन्द भयो। यसले राज्य र धर्मविचको अलगपनतामा भने व्यवधान ल्यायो। उनी राज्य प्रमुख मात्र होइन चर्च प्रमुख पनि बने। क्रमिक रुपमा राज्यधर्मको विकास भयो जो रोमन क्याथोलिक चर्चको रुपमा विकास भयो। अब रोमन क्याथोलिक पोप र रोमी सम्राट विच अधिकारको खिचातानी प्रारम्भ भयो। क्रमिक रुपमा युरोप रोमन क्याथोलिक चर्चको प्रभुत्व मुनि रह्यो। उसले राज्यशक्तिको आडमा युरोपमा करिब १००० वर्ष शासन गर्‍यो। यसलाई इतिहासमा अन्धकार युग (Dark Age) भनिन्छ। उसको प्रभुत्व र शिक्षालाई नयाँ नियम मण्डलीहरूले मान्दैनथे, अस्वीकार गर्दथे। उसले नयाँ नियम मण्डलीहरूलाई चुनौतिको रुपमा पायो। त्यस युगमा नयाँ नियम मण्डलीहरूले भारी सतावटको सामना गर्‍यो। उनीहरूको इतिहास रगतमा लेखियो। तर त्यस युगमा पनि साँचो मण्डलीहरू थिए। ती भूमिगत थिए तर ती ठूलो संख्यामा थिए। उनीहरू क्याथोलिक शिक्षाहरू जस्तै बाल-बप्तिस्मा, छिट्काउ बप्तिस्मा, प्रभुभोजको रोटी ख्रीष्टको शरीरमा परिवर्तन, सेन्टहरूलाई प्रार्थना गर्ने, पर्गेटरी, दानद्वारा मुक्ति, पदीयक्रम (Hierarchy), राज्य र धर्मवीचको समिश्रण जस्ता शिक्षाहरूलाई अस्वीकार गर्दथे। चर्चमा आउनेहरूमा ख्रीष्टमा विश्वास गरी मुक्ति पाएकाहरूलाई नयाँ नियम मण्डलीहरुले डुबुल्की बप्तिस्मा दिन्थे। रोमन क्याथोलिकहरूले ती चर्चहरूलाई ‘एनाब्याप्टिस्ट’ (दोहोर्‍याएर बप्तिस्मा दिनेहरू), ‘ब्याप्टिस्ट’ भनी खिज्याउँदथे। काउन्सिल अफ ट्रेन्टका अध्यक्ष रोमन क्याथोलिक कार्डिनल होसियस (१५४५-१६६३)ले भनेका थिए, “के ब्याप्टिस्टहरू नै होइनन् जसलाई विगत बाह्र सय वर्षहरूमा निर्दयतापूर्वक सताइएका  थिए अनि तरवारद्वारा मारिएका थिए, उनीहरू रिफोर्मरहरूभन्दा ठूलो संख्यामा वृद्धि भएका थिए”। यसले पुष्टि गर्दछ कि ब्याप्टिस्टहरू रिफोर्मेसनबाट जन्मेकाहरू थिएनन् अर्थात् उनीहरू प्रोटेस्टेन्टहरू थिएनन्। सामन्यतया सबै बाइबलीय मण्डलीहरूलाई रोमन क्याथोलिक चर्चले ब्याप्टिस्टहरू भन्दथे।

नयाँ नियम मण्डलीहरू सधैं नै थिए। महान आज्ञाको क्रममा येशूले मण्डली सम्बन्धमा भन्नुभयो, “हेर, म सधैंभरि संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु” (मत्ती २८:१८-२०)। मण्डलीको साथमा ख्रीष्ट रहनुको अर्थ मण्डलीहरू सधैं थिए र ती नष्ट-भ्रष्ट भएका थिएनन्। येशूले भन्नुभयो, “यस चट्टान माथि म आफ्नो मण्डली बनाउनेछु अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्” (मत्ती १६:१८)। यस प्रतिज्ञा अनुसार परमेश्वरको मण्डलीमाथि नरक विजयी हुनेछैनन्, मृत्यु विजयी हुनेछैनन्। भारी सतावटले मण्डलीहरूलाई समाप्त पारेनन्। यस्तो लेखिएको छ, “किनकि जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र यो कचोरा पिउँछौ, तिमीहरूले उहाँ नआउन्जेल प्रभुको मृत्युको प्रचार गर्दछौ” (१ कोरिन्थी ११:२६)। प्रभु नआउन्जेल साँचो मण्डलीहरू रहनेछन् र ख्रीष्टको मृत्युको प्रचार भइरहनेछन्। लेखिएको छ, “उहाँलाई नै मण्डलीमा ख्रीष्ट येशूद्वारा पुस्ता पुस्तासम्म युगानुयुग महिमा भइरहोस्” (एफिसी ३:२१)। उहाँको मण्डली पुस्ता पुस्ता रहिरहनेछन् र त्यसमा उहाँको मण्डली रहिरहनेछन्। रोमन क्याथोलिक मण्डली ख्रीष्टको साँचो मण्डली थिएन। उक्त मण्डलीका शिक्षा र अभ्यासहरू बाइबलीय शिक्षा भन्दा भिन्र रहेको छ। नयाँ नियम मण्डलीका चरित्रहरू भन्दा भिन्न चरित्र त्यसमा रहेको छ। विगत पाँचौं शताब्दी देखि सोह्रौं शताब्दी सम्म साँचो मण्डलीहरूलाई सताउने शक्ति भनेकै रोमन क्याथोलिक चर्च थियो। आज पनि उसका मूलभूत शिक्षा र अभ्यासहरूमा अन्तर रहेको छैन। मण्डली इतिहासमा तीन प्रमुख समूहरू देखिएको छ, नयाँ नियम मण्डलीहरू, रोमन क्याथोलिक मण्डली र प्रोटेस्टेन्ट मण्डलीहरू।

 

 

दुई  

रोमन क्याथोलिक चर्च र क्रूसेडहरू

 

  • पोप ख्रीष्टको प्रतिनिधि: पोपलाई संसारमा ख्रीष्टको प्रतिनिधिको रुपमा मान्दछन्। उनी सारा संसारका क्याथोलिक चर्चहरूका गोठाला हुन्।
  • बप्तिस्माद्वारा नयाँ जन्म: बप्तिस्मा लिएर मुक्ति पाइन्छ। फलस्वरुप बाल-बप्तिस्मा, छिट्काउ-बप्तिस्माको अभ्यास गर्दछन्।
  • वस्तुपरिवर्तन: रोटी भँचाईमा रोटी र दाखरस येशूकै शरीर र रगतमा परिवर्तन हुँदछ।
  • राज्य-मण्डली: मण्डलीले राज्यमाथि अधिकार गर्दछ भने राज्यले मण्डलीको निम्ति प्रबन्ध गर्दछ।
  • पवित्र जनहरूलाई प्रार्थना: मुक्ति र चंगाइको निम्ति पवित्र जनहरूलाई प्रार्थना गर्दछन्।
  • पर्गेटरी: स्वर्ग जान अघि बाँकी पापको शुद्धिकरणको निम्ति व्यक्ति पर्गेटरी जाँदछन्।
  • मरियम स्वर्गकी रानी: मरियम स्वर्गकी रानी हुन्। उनलाई चंगाई, छुटकाराको निम्ति प्रार्थना गर्दछन्।
  • मूर्तिपूजा: विभिन्न उद्देश्यमा येशू, प्रेरितहरू, मरियम, पवित्र जनहरू तथा अन्य व्यक्तिहरूको मूर्तिहरूको पूजा गर्दछन्।
  • मुक्ति अनुग्रह र कामद्वारा: मुक्ति अनुग्रह र कामद्वारा प्राप्त हुन्छ।
  • अपोकृफा तथा रीतिविधिहरू: बाइबल मात्र आधिकारीक पुस्तक होइन तर अपोकृफा पुस्तकहरू तथा प्राचीन रीतिविधिहरू पनि आधिकारिक हुन्छन्।
  • विवाह प्रतिबन्धित: पोप, कार्डिनल, आर्कविशप, विशप तथा अन्य धर्माधिकारीहरूलाई विवाह प्रतिबन्धित हुन्छन्।

 

 

क्रूसेडहरू (Crusades)

पवित्र रोमी साम्राज्य तथा पवित्र रोमन क्याथोलिक चर्चको संयुक्त बलमा पवित्र भूमिको छुट्काराको निम्ति क्रूसको नाममा युद्धहरू लडे जसलाई इतिहासमा क्रूसेडहरू भनिन्छ।

  • पहिलो: ६,००,००० पुरुषहरू तथा अरू थुप्रै महिलाहरूको सहभागीतामा पहिलो क्रूसेड संचालित भएका थिए। सन् १०९९ मा यस क्रूसेडले यरुशलेममाथि विजय हाँसिल गरेका थिए। गडफे यरुशलेमका राजा बने। क्रुसेडरहरूले केही वर्ष आफ्नो अधिपत्या कायम राखे।
  • दोस्रो: ११४७-११५३ सम्म संचालित यस क्रूसेडमा १२,००,००० मानिसहरू सम्मिलित थिए जस मध्ये अधिकांशको मृत्यु भएको थियो।
  • तेस्रो: ११९०-११९३ सम्म संचालित यस क्रूसेड पनि असफल बनेको थियो।
  • चौथो: ११९६-११९७ सम्म संचालित यस क्रूसेड पराजित भएको थियो।
  • पाँचौं: १२०१-१२०४ सम्म संचालित यस क्रूसेडले कन्स्टिनापल माथि नियनत्रण जमाएको थियो।
  • छैटौं: १२१६-१२२९ सम्म संचालित क्रुसेडमा पोप र फ्रेडरिक द्वितीयविच तालमेल मिल्न सकेको थिएन।
  • सातौं: १२३९-१२४२ सम्म संचालित क्रूसेड फ्रेन्च र अंग्रेज अभियान थियो।
  • आठौं: १२४८ मा संचालित यस क्रूसेडको संचालन फ्रान्सका राष्ट्रपति लुइस नवौंको नेतृत्वमा अघि बढेको थियो। यस क्रूसेडमा प्राय: सेना मारिएका थिए भने लुइस नवौं आफैं कैद परेका थिए।
  • नवौं: १२५९-१२९१ विचमा थुप्रै स-साना कमजोर अभियानहरू संचालन गरिएका थिए।
  • दसौं: १२१२ मा बाल क्रूसेड संचालन गरिएको थियो। फ्रान्सेली युवा स्टेफनको नेतृत्वमा ३०,००० फ्रान्सेली बालकहरूको समूहले यस क्रूसेड संचालन गरेका थिए। अधिकांश बालकहरू बाटोमा मरेका थिए भने बाँकीलाई अरबीहरूद्वारा अपहरण गरिएको थियो।

 

क्रूसेडहरूको परिणाम

  • सामन्तवादको अन्त: स-साना राज्य तथा क्षेत्रीय शासनशक्तिहरूको उपादेयता समाप्त भयो।
  • ठूला राष्ट्रहरूको उदय: ठूला राष्ट्रहरूको महत्व बढ्यो। फलत: ठूला राष्ट्रहरूको उदय भयो।
  • व्यापारको वृद्धि: एक स्थानबाट अर्को स्थानविचको सम्पर्क र व्यापारको वृद्धि भयो।
  • सम्पत्तिको वृद्धि: अन्तर्राष्ट्रिय सम्बन्धको विस्तारले सम्पत्तिको वृद्धि ल्यायो।
  • पोप शक्तिको शिथिलता प्रारम्भ: पोप शक्तिको पतनको कारण मुलत: क्रूसेडहरू र वाल्डेन्सियनहरू थिए।
  • पुनर्जागरणको प्रारम्भ: अब युरोपले रोमन क्याथोलिक चर्चको कपोलकल्पित भ्रमहरूमा प्रश्नहरू उठाए।

 

 

तीन

वाल्डेन्सियनहरू (Waldensians)

 

मैले असल लडाई लडेको छु, मैले मेरो दौड पूरा गरेको छु,  मैले विश्वासको रखवाली गरेको छु।”
२ तिमोथी ४:७; हिब्रू १२:१-४

 

वाल्डेन्सियनहरू पोपशक्तिको पतनको अर्को महत्वपूर्ण कारण थियो। इतिहासकारहरू विश्वास गर्दछन् कि वाल्डेनसिनहरू अभियान फ्रान्सको लियोन्सबाट करिब ११७० मा शुरु भएको हो। यस समूहका शुरुआत गर्ने व्यक्ति वाल्डेस थिए। उनीहरूलाई यो नाम विपक्षीहरूले दिएका थिए। उनीहरू आफैंले चाहिँ ‘ख्रीष्टका गरीबहरू’, ‘लियोन्सका गरीबहरू’, ‘आत्मामा गरीबहरू’ ‘भाइहरू’ जस्ता नाम दिएका थिए।  फ्रान्सका एक शहर लियोनका धनी व्यापारी वाल्डेसको ११७३-११७६ विचमा अद्भुत रुपले जीवन परिवर्तन भयो। उनले मत्ती १९:१६-२१ पढ्दै गर्दा धनी युवकलाई भनिएको वचनले छोयो। आफ्ना श्रीमति र छोरीको निम्ति बन्दोबस्त मिलाएपछि उनले दुई जना लेखकहरूलाई तलब दिएरै नयाँ नियम र जेरोम, एम्ब्रोस र ग्रेगरीका पुस्तकहरूको फ्रान्सेली भाषामा अनुबाद गर्न र सार्न प्रयोग गरे। त्यसपछि प्रचार गर्न शुरु गरे। वाल्डेस र उनका अनुयायीहरूले पवित्र शास्त्रबाट सिकाउँदै आफ्ना पापहरूबाट पश्चात्ताप गर्न आह्वान गरेका थिए। फलस्वरूप ठूलो संख्यामा मानिसहरू ख्रीष्टमा आएका थिए। वाल्डेसका चेलाहरूलाई वाल्डेन्सियनहरू भनेर चिनिन्थ्यो। लियोन, फ्रान्सका आर्कविशपले उनीहरूलाई प्रचार गर्न रोक लगाएका थिए, यस आधारमा कि उनीहरू सामान्य मानिस थिए। तर वाल्डेनसिजहरूले भने, “हामीहरूले मानिसको भन्दा परमेश्वरको आज्ञा पालन गर्नुपर्दछ।” तेह्रौं शताब्दीको मध्यदेखि वाल्डेन्सियनहरू र समान विश्वास भएका ख्रीष्टियन समुदायहरूले रोमन क्याथोलिक चर्चका भ्रष्टताहरू र बाइबलका सत्यताबाट उक्त चर्च कसरी भड्किएका छन् भन्ने सम्बन्धमा मानिसहरूलाई जानाकारी गराउँदै चेतावनी दिएको देखिन्छ। साथै यस समूहले प्रेरितीय सरलता र शुद्धतामा फर्कन आह्वान गरेका थिए। उनीहरूले रोमन क्याथोलिक रोटी भचाईलाई अस्वीकार गर्दथे। रोमन क्याथोलिक चर्चको बाल-बप्तिस्मालाई उनीहरूले अस्वीकार गर्दथे। सोह्रौं शताब्दीको अन्तमा बोहेमियाली ब्रद्रेरेनहरू र वाल्डेनसियालीहरू मिलेर युरोपमा ठूलो रुपमा फैलिदै एक प्रभावशाली, अग्रसर, सुसमाचार प्रचारकहरूको रुपमा अघि बढेका थिए। उनीहरूद्वारा बाइबल र बाइबलका भागहरूका थुप्रै संस्करणहरू विभिन्न भाषाहरूमा प्रकाशन र वितरण भएका थिए।

उनले आफ्नो सेवाकाईमा प्रमुख तीन पक्षलाई जोड दिए, अक्षरश: अनुबाद, सामान्य जीवन र प्रचार। वाल्डिज आफैं छुट्टै मण्डली स्थापना गर्न विचारमा थिएनन्। तर उनी क्याथोलिक अगुवाहरू बाइबलीय नमूनामा आऊन् भन्ने चाहान्थे। तर विभिन्न स्थानहरूमा स्थानीय मण्डलीहरू शुरु भए जसले प्रचार नगर्नु भन्ने स्थानीय प्रशासका आज्ञाहरूलाई मान्दैनथे। सन् १२०८ मा उनीहरू विरुद्ध सतावट ल्याउन रोमन चर्चले क्रूसेड शुरु गर्‍यो। यो क्रुसेड करिब २० वर्षसम्म जारी रह्यो। उक्त सतावटले यस समूहका धेरै जनालाई समाप्त गर्‍यो। १२१५ मा यस समूह विरुद्ध क्याथोलिक चर्चले “अनाथेमा” घोषणा गर्‍यो। १२३० मा यस समूह विरुद्ध भारी सतावट शुरु भयो। १२५० पछि यस समूहलाई बर्गुन्डी, ग्यासकोनी, रोउरगे जस्ता शहरहरूमा बस्न नसकिने संकेत मिल्यो। यस पछि थोरै मात्र प्रचारकहरूको रुपमा रहे। बाँकी सामान्य जीवनमा फर्के। विवाह गरे, घरजम गरे, विभिन्न पेशामा लागे। १४८७ मा रोमन चर्चले यस समूह विरुद्ध अर्को क्रूसेड शुरु गर्‍यो। तिनीहरूका जग्गा जमीन खोसियो, उनीहरूलाई करको रुपम उच्च मूल्य तिर्न बाध्य बनाइयो। यस समूहका ठूलो संख्यामा विश्वासीहरू गाउँतिर अनि इटाली दक्षिणी भागतिर भागे। यस समूहका कैयौं प्रचारकहरू आल्पस पर्वतीय क्षेत्रहरूमा गइसकेका थिए। सोह्रौं शताब्दी सम्म आईपुग्दा पनि उनीहरू विरुद्धका सतावट भारी मात्रामा वृद्धि भइरहेका थिए। धर्म सुधार आन्दोनको सफलता पछि भने बाल्डेन्सियनहरूले छुट्काराको सास फेरेका थिए।

 

 

चार

जोन विक्लिफ

John Wycliffe

 

चौधौं शताब्दीमा जोन विक्लिफले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरे जहाँ उनले डिभिनिटीमा विद्यावारिधी हाँसिल गरेका थिए। त्यसपछि उनले विश्व विद्यालयको एक प्राध्यापको रुपमा काम गरे। उनी १३२४ मा बेलायतको योर्कशायर स्थित रिचमोण्डमा भएको थियो। उनले जनसाधारणले बुझ्ने भाषामा बाइबल अनुबाद गरेका थिए। उनले सिकाएका थिए कि साँचो मण्डली भनेको ख्रीष्ट येशू र उहाँका चेलाहरू हो, पोप र उनका संस्थागत मण्डली होइन। उनी १३८४ मा मरेका थिए। १४१५ मा रोमन क्याथोलिक चर्चले उनलाई झूटा शिक्षक भनी घोषणा गरेका थिए। केही वर्षपछि उनको शबलाई निकालेर जलाएका थिए।

 

बाइबल अनुबाद

रोमन क्याथोलिक चर्चले ल्याटीन भाषामा अनुबाद भएको बाइबल प्रकाशन गरी प्रयोग गर्दथे जसलाई सर्वसाधारण मानिसहरूले पढ्न सक्दैनथे। सर्वसाधारण जनताले बाइबल नपढून् भन्ने ध्येयले यसो गरिएको थियो। जोन विक्लिफले सर्वसाधारण जनता र किसानले बाइबल पढ्न सकून् भन्ने चाहान्थे। त्यसैले उनले ल्याटीन भुल्गेटबाट अंग्रजीमा बाइबल अनुबाद गरे। उनी आफैंले अधिकांश बाइबल पुस्तकहरूको अनुबाद गरेका थिए भने केही पुस्तकहरूको अनुबादका निम्ति भने अनुबादहरूको मद्दत लिएका थिए। यस बाइबललाई विक्लिफ बाइबल भनियो र अंग्रेजी भाषीहरू विच यो अत्यन्तै प्रख्यात बाइबल बन्यो।

उनका चेलाहरूलाई लोलार्डहरू भनिन्थे, जसको अर्थ ‘सुस्तरी बोल्नेहरू’ हुन्थ्यो। पछिबाट यसको अर्थ ‘विरोधी’ (heretic) भन्ने हुन्थ्यो। लोलार्डहरूले रोमन क्याथोलिक चर्चको विरोध गर्दथे।

उनको मृत्यु भएको ४० वर्षपछि  कन्स्टेन्टको परिषदले १४१५ मा उनी विरुद्ध सजाय घोषणा गरिएको थियो। जस बमोजिम उनको चिहान १४२८ मा खनियो र उनका हड्डीहरूलाई विशप लिंकनले जलाए र बाँकी खरानीलाई भने स्वीफ्ट नदीमा बगाइदिएका थिए। त्यसपछि एउटा भनाइ प्रख्यात भयो, ‘उनका खरानी स्वीफ्ट नदीबाट एभोनमा, एभोनबाट सेभर्नमा, सेभर्नबाट न्यारो सिजमा, न्यारो सिजबाट महासागरमा बगेजस्तै उनका शिक्षाहरू सारा वेलायत भरी फैलियो अनि बेलायतबाट सारा विश्वमा’। वास्तवमा उनी १६औं शताब्दी भएको धर्म सुधार आन्दोलनक विहानी तारा थिए।

पवित्र जनहरूका विरोधीहरू छन् संसारमा। तर यदि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा हाम्रो हानी गर्न को उठ्न सक्लान्। जबसम्म परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ अनि हामी परमेश्वरको प्रेममा रहन्छौं। हामी अन्धकारको सारा शक्तिलाई परास्त गर्दछौं। रोमी ८:३१-३९

  • तर परमेश्वरले विश्वासीहरूलाई धर्मी ठहर्‍याउनुभएको छ भने दोषी ठहर्‍याउने को हुन्छ?
  • येशूको पुनरुत्थानले उहाँको मृत्युद्वारा परमेश्वर संतुष्ट हुनुहुन्छ भन्ने कुराको पुष्टि गर्दछ।
  • उहाँ परमेश्वरको दाहिने बाहुली तर्फ उभिनुभएको छ। यसद्वारा उहाँको कार्यको सम्पन्नताको पुष्टि गर्दछ। उहाँ सधैं तयार हुनुहुन्छ। उहाँले शासन गरिरहनु भएको छ।
  • उहाँले अन्तर्विन्ति गरिरहनुभएको छ। उहाँले हामीहरूलाई विर्सनुभएको छ। उहाँले हाम्रो चिन्ता गर्नुहुन्छ। उहाँ हाम्रो वकिल हुनुहुन्छ।

 

 

पाँच

प्रभात किरण पूर्व

The Approach of Dawn

 

विहानी अघि रात छिपेको हुन्छ। त्यसरी नै पन्ध्रौं शताब्दीको अन्त देखि सोह्रौं शताब्दीको पहिलो दशक ताका विश्व निष्पट्ट अन्धकारले छाएको थियो। युरोप अज्ञानता, अन्धविश्वासले भरिएको थियो। युरोप रोमन क्याथोलिक चर्चद्वारा प्रभावित थियो। विधिहरू, पर्गेटरी, पवित्र जनहरूलाई प्रार्थना जस्ता रोमन क्याथोलिक शिक्षाहरूद्वारा युरोप अत्यन्तै प्रभावित थियो।  रोमन क्याथोलिक विधिहरू:

  • बप्तिस्मा (Baptism): बाल बप्तिस्मा।
  • प्रभुभोज (Mass): रोटी र दाखरस ख्रीष्टकै शरीरमा परिवर्तन भएको मानी लिइने प्रभुभोज।
  • निश्चयता (Confirmation): पवित्र आत्मा ग्रहण गरेको निश्चयता प्रदान गर्ने कार्यक्रम।
  • पाप स्वीकार (Repentance before Priests): पुजाहारीहरूको सामु पाप स्वीकार गर्ने कार्यक्रम।
  • विवाह (Marriages)
  • अभिषेक (Orders): विशप लगायतका विभिन्न तह र तप्काका व्यक्तिहरूलाई अभिषेक गर्ने कार्यक्रम।
  • विशेष प्रार्थना (Extreme Unction) (मृत्युशैयामा पुगेका वा अति वृद्ध व्यक्तिका निम्ति तेल लगाएर गरिने विशेष प्रार्थना)।

रोमन क्याथोलिकहरू माझ विभिन्न काम र उद्देश्यका निम्ति फरक फरक पवित्र जनहरू ठहर्‍याइएका थिए। चंगाईका निम्ति, सफलताका निम्ति फरक फरक मध्यस्तकर्ताहरू ठहर्‍याइएका थिए। परमेश्वर र मानिसविच केवल एक जना मात्र मध्यस्थकर्ता हुनुहुन्छ भन्ने तथ्यलाई लत्याइएको थियो (१ तिमोथी २:५)। मानिसहरू बोक्सीविद्यामा विश्वास गर्दथे। मानव अस्तु तथा अंगहरूलाई पवित्र मानि पुज्दथे। स्तिफनसको औंला, मरियम मग्दलिनीको केश, यूहन्ना र थोमाका रगत, कन्या मरियमको कपालको काँटा, ख्रीष्टको लबेदाका टुक्राहरू आदिलाई पुज्दथे। युरोप तथा मध्यपूर्व आत्मिक अन्धकारमा थिए।

युरोपमा बाइबल पठन भएसंगै मानिसहरूमा सचेतना वृद्धि भयो। साथै क्रूसेडहरूले मानिसहरूको बोधदृष्टि विस्तार गरिदिएको थियो। यसले क्रमश: ज्ञान, साहित्य, अन्वेषण तथा विज्ञानको क्षेत्रमा पुनर्जाग्रीत ल्याएदियो। पुनर्जागारण (Renaissance)  अर्थात् ज्ञानको पुनर्जागरणले धर्म सुधार आन्दोलन (Reformation)को निम्ति थप बल प्रदान गर्‍यो। पुनर्जागरण कालमा इरास्मसले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले मूलभूत रुपमा धर्म सुधार आन्दोलनलाई अप्रत्यक्ष रुपमा दुई तरिकाले सहयोग गरेका थिए। पहिलो त उनले ‘मूर्खहरूको प्रशंसा’ (Praise of Folly) नामक पुस्तक लेखे। यस पुस्तकले रोमन क्याथोलिक चर्चको कृयाकलापलाई गलत हो भनी औंल्याएका थिए। पुस्तकका अनुसार न्यायको दिनमा क्याथोलिक  पूजाहारीहरूले यसो भन्नेछन्,

  • केवल माछा खाई आफूलाई पवित्र पारेका
  • धेरै दिन उपवास बसेका
  • नांगो हातले कहिल्यै पैसा नछोएका
  • पवित्र टोपी ओडेका
  • पवित्र भजनहरू गाएर सोरै सुकाएका
  • नबोल्ने बर्त बसेका

आदि कार्यहरू गरी आफूलाई धर्मी ठानेका उदाहरणहरू यस पुस्तकमा उल्लेख गरिएका छन्।

इरास्मसले ई. सं. १५१६ मा ग्रीक नयाँ नियम संशोधन गरेका थिए। यसले विद्वत बर्गविच एउटा चासो सृजना गरिदिए। मुक्ति कामद्वारा होइन तर अनुग्रहबाट भन्ने महत्वपूर्ण सुसमाचारीय तथ्यलाई स्पष्ट पारे। यसबाट युरोपका विभिन्न भाषाहरूमा बाइबल अनुबाद हुन थाले। इरास्मसको साहित्यिक कृतिले धर्म सुधार आन्दोलनको निम्ति बाटो प्रशस्त बनायो। भनिन्छ इरास्मले अण्डा पार्‍यो अनि लुथरले चल्ला कोरोल्यो।

रोमी १३:११-१४

  • अब निद्राबाट बिउँझने घडी आइपुगेको छ; किनकि अहिले हाम्रो मुक्ति हामीले विश्वास गरेको समयभन्दा नजिकै छ।
  • अन्धकारका कामहरू फालौं, ज्योतिका हतियार भिरौं।
  • प्रभु येशूलाई पहिरौं।

 

 

धर्मसुधार आन्दोलन

Reformation

२ तिमोथी ३:१-९

 

१४५३ मा छापाखानाको स्थापनाबाट बाइबल प्रकाशन र वितरण द्रूततर रुपमा अघि बढेको थियो। १५२० मा आइपुग्दा बाइबल १९९ संस्करणमा प्रकाशन भइसकेका थिए। साथै पुनर्जागारण (Renaissance) ले सम्पूर्ण युरोपलाई प्रभावित बनाएको थियो। पुनर्जागरणले मूलभूत रुपमा निम्न बमोजिम क्षेत्रहरूमा प्रभावित बनाएको थियो,

  • व्यक्तिगत जीवन र तर्कसंगत सोंचको विकास
  • रोमन क्याथोलिक चर्च विरुद्ध बोल्न साहस
  • मानिसको जीवनस्तर उच्च राख्न मार्गहरूको खोजी
  • संस्थागत भन्दा व्यक्तिगत अधिकारलाई जोड

मार्टिन लुथर जर्मनीका स्याक्सोनीका थिए। उनका बुबा ह्यान्स र आमा ग्रेथा किसान परिवारका थिए। उनी एरफोर्ट विश्वविद्यालयका विद्यार्थी छँदा एक दिन उनले बाइबल पढे र त्यसबाट प्रभावित बने। एक दिन उनको जीवन परिवर्तन भयो। कामद्वारा होइन तर विश्वासद्वारा मुक्ति पाइन्छ भनी उनले बुझेका थिए। समय बित्दै जाँदा उनी रोमन क्याथोलिक चर्चका शिक्षा, विश्वास र व्यवहारबाट झस्के। रोमका सेन्ट पिटर क्याथेड्रलको निर्माणको क्रममा क्याथोलिक चर्चले युरोपमा वेचेका पापमोचन पत्रको कारण उनी थप रुस्ट बनेका थिए। तब उनले ३१ अक्टोबर १५१७ मा विटेनबर्गको क्यासल चर्चको मूल ढोकामा क्याथोलिक चर्च विरुद्ध ९५ शुत्रीय विरोधपत्र झुण्ड्याए जसलाई मानिसहरूले पढे, छपाए, वितरण गरे। युरुपको धर्मसुधार आन्दोलनको यो शुरुआत थियो। त्यसपछि क्योथोलिक चर्चले उनीविरुद्ध पक्राउको घोषणा गरे। तर त्यसो गर्ने भने क्याथोलिक चर्च असफल भए। अन्तमा पोपले उनलाई क्याथोलिक चर्चबाट निष्कासन भएको घोषणा गरे र १५ जुन १५२० मा उनी विरुद्ध एक उर्दी जारी गरे। अनि लुथरले सार्वजनिक रुपमा पोपको यसो भन्दै उक्ता उर्दीलाई जलाए, “जसरी तिमीले (पोपले) पवित्र जन (ख्रीष्ट) लाई कष्टित तुल्यायौ त्यसरी नै तिमीलाई अनन्त आगोले कष्टित पारून्। लुथरले आफ्ना लेखहरूमार्फत पोप ख्रीष्टविरोधी रहेको घोषणा गरे।

ठूलो संख्यामा मानिसहरूले रोमन क्याथोलिक चर्चलाई अस्वीकार गरे। धर्म सुधार आन्दोलनमा मूलभूत रुपमा ४ समूहहरूले नेतृत्व गरे,

  • लुथरन
  • एङ्लीकन
  • प्रेस्बेटेरियन
  • मेथोडिस्ट

यी समूहहरूलाई प्रोटेस्टेन्टहरू भनिए। ती समूहहरू रोमन क्याथोलिक चर्चबाट निस्के तर तिनमा क्याथोलिक चरित्र रुपी अबशेष भने बाँकी नै थिए, जस्तै बाल-बप्तिस्मा, राज्य मण्डली, पदीयक्रम (Hierarchy), प्रभुभोजमा ख्रीष्टको उपस्थिति, चर्चको संस्थागत रुप आदि। कहिले काहिँ यी समुदायहरूले बाइबलीय मण्डलीहरूलाई सताएका उदाहरणहरू पनि छन्। धर्मसुधार आन्दोलनको ५० वर्ष भित्र रोमन क्याथोलिक चर्चले आफ्नो ठूलो क्षेत्राधिकार गुमाएका थिए। प्रोटेस्टेन्टहरूले जर्मनीका प्राय: भाग, बोहेमिया, स्वीजरलैण्ड, इंगलैण्ड, स्कटलैण्ड, हंगेरी, अष्ट्रिया, हलैण्ड, बेल्जियम, फ्रान्स, पोलैण्ड र अरु धेरै राष्ट्रहरूमा अधिकार जमाए। जब रोमन क्योथोलिक चर्चले आफू ढलमलाएको देखे तब उनले त्यसको प्रतिकृया दिए जसलाई प्रतिधर्मसुधार आन्दोलन (Counter-Reformation) भनिन्छ। यसका प्रमुख पक्षहरू थिए,

  • सतावट
  • जेजुइटहरू: इग्नासियस लोयोला। (१५४४-१५५२)
  • काउन्सील अफ ट्रेन्ट (१५४५-१५६४): क्याथोलिक शिक्षाहरूलाई संस्थागत गरेको।
  • डुवे इंगलीस बाइबल
  • आत्मिकीकरण: क्यापुचिनहरू, थेयटाइनहरू, उर्सुलाइनहरू

 

 

सात

धर्मसुधार आन्दोलन

Reformation

 

मार्टिन लुथरको जन्म जन्म नोवेम्बर १०, १४८३ का दिन जर्मनीका स्याक्ससोनी भन्ने स्थानका एक किसान परिबारमा जन्मेका थिए। उनका पिता ह्यान्स र माता ग्रेथा थिए। विश्वविद्यालयको अध्ययन पछि उनका पिताको इच्छामुताविक उनी वकिलको काम गर्दथे। कुनै सार्वजनिक उच्च ओहोदामा यसरी नै अरु अघि बढ्लान् भन्ने पिता ह्यान्सको चाहना विपरित उनी अगस्टनियन अर्डरका एरफोर्ट मोनेस्टरीमा मंक हुनलाई समर्पित भए। उनलाई शान्ति चाहिएको थियो। अगस्टनियन अर्डरका जर्मनी प्रमुख जोन भन स्टाउपिच समय समयमा एरफोर्ट मोनेस्टरी आउने गर्दथे। एकदिन पापको भारीले थिचिएर मार्टिन लुथरले भनेका थिए, “मेरा पाप, मेरा पाप”। अनि जोन भनले भने, याद गर, हाम्रा पापहरूका निम्ति ख्रीष्ट यस संसारमा आउनु भएको हो”। यस भनाईले उनका आँखा खुलेका थिए। उनले विस्तारै बुझे कि उनी कामद्वारा होइन तर ख्रीष्टको अनुग्रहद्वारा बचाइन्छ।

रोममा रहेका सेन्ट पिटर्स क्याथेड्रल पुनर्निर्माण गर्ने पोपहरूको निर्णयलाई अघि बढाउने योजना गरिएको थियो। अधिक खर्च लाग्ने यस योजनाका निम्ति पोपले पापमोचन पत्रको विक्री योजना अघि सार्‍यो। यस योजनालाई कार्यन्वयन गर्न जर्मनीका निम्ति टेजेल खटिएका थिए। टेजेलले जर्मनीमा यो घोषणा गरे, “जब मेरो बाकसमा पैसा टिंग्रिंग गर्छ ठीक त्यही बेला प्राणहरू पर्गेटरीबाट फुत्तै निस्कन्छ”। मार्टिन लुथरले यस कार्यको विरोध गर्‍यो। तर जनसाधारणले पापमोचन पत्र किनि नै रह्यो। तसर्थ मार्टिन लुथरले ३१ अक्टोबर १५१७ मा रोमन क्याथोलिक चर्चका झूटा शिक्षा र कार्यहरू विरुद्ध ९५ शुत्रीय विरोध पत्र विटेनबर्गको क्यासल चर्चको मूलढोकामा टाँसे। यो नै प्रोटेस्टेन्ट आन्दोलनको शुरुआत थियो। उक्त विरोध पत्रलाई मानिसहरूले पढे, प्रतिलिपि बनाए, प्रकाशन गरे। यसले सम्पूर्ण जर्मनी, युरोपलाई प्रभावित बनायो। रोमन क्याथोलिक चर्चले लुथरलाई फकायो तर उनी फकिएन। उनले आफ्नो अडान छाडेन। फलत: उनी विरुद्ध पोपले जुन १५, १५२० मा उनलाई दोषी रहेको घोषणा गर्दै उनका सम्पूर्ण लेख-रचनालाई जलाउन आदेशाज्ञा घोषणा गरे। त्यसको प्रत्युत्तर स्वरुप लुथरले पोपको आदेशाज्ञालाई यसो भन्दै जलाए, “जसरी तिमी (पोप) ले प्रभुका पवित्र जन (ख्रीष्ट) लाई कष्टित पारेका छौ त्यसरी नै तिमीलाई अनन्त आगोले कष्टित तुल्याऊन्”। त्यसपछि आफ्ना लेखहरूमार्फत लुथरले पोप ‘झूटा ख्रीष्ट’ हुन् भनी घोषणा गरे। युरोपमा धर्मसुधार आन्दोलने चरम रुप लियो। रोमन क्यथोलिक चर्च रित्तिन थाले, नराम्री ढुनमुनिए।

 

 

आठ

बाइबल अनुबाद

 

पुरानो नियमका केही अंशहरू अरामी भाषामा लेखिएको बाहेक प्राय: भाग हिब्रू भाषामा लेखिएको थियो। फारस साम्राज्यले भूमध्यसागारीय क्षेत्रलाई अधिपत्य जमाएपछि अरामी भाषा मध्यपूर्वको प्रभावशाली भाषा बन्न पुग्यो। त्यस क्षेत्रका यहूदीहरूले हिब्रू भाषाबाट अरामी भाषामा बाइबलका अघिल्ला ५ पुस्तकहरूको अनुबाद गरे जसलाई ‘तारगुम’ भनियो। तेस्रो शताब्दीमा ग्रीक भाषा मध्यपूर्वको पनि प्रभावशाली भाषा बनेपछि हिब्रू भाषाबाट ग्रीक भाषामा अनुबाद गरिएको ग्रीक बाइबललाई ‘सेप्टुजेन्ट’ भनियो। ग्रीक भाषी विश्वमा ईशाईहरूको वृद्धि भएपछि उनीहरूले ‘सेप्टुजेन्ट’को प्रयोग गरे। ईशाईहरू चारैतिर वृद्धि भएसंगै बाइबल कप्टिक, इथियोपियाई, गोथिक, ल्याटीन जस्ता भाषाहरूमा पनि अनुबाद भए। ई.सं. ४०५ मा जेरोमले सेप्टुजेन्टको आधारमा ल्याटिन बाइबल अनुबाद गरे जसलाई ल्याटिन भुल्गेट भनियो। यसमा त्रुटीहरू भएतापनि करिब १००० वर्षसम्म पश्चिमा जगतमा यो बाइबल प्रभावकारी रह्यो। छैटौं शताब्दीमा हिब्रू भाषामा पुरानो नियम बाइबललाई उठान गरियो जसलाई ‘मेसोरेटिक’ टेक्स्ट भनिन्छ। यही ल्याटिन भुल्गेटबाट अंग्रेजीमा ‘डुवे-रेम्स’ बाइबल अनुबाद गरियो जो नै रोमन क्याथोलिक चर्चको एक मात्र आधिकारिक बाइबलको रुपमा प्रयोग हुँदै आएको छ। ग्रीक भाषामा डेसिडेरियस इरास्मसले नयाँ नियम सम्पादन गरे जो १५१६ मा प्रकाशन गरिएको थियो।

किंग जेम्स भर्जन

जोन विक्लिफ (१३०२-१३८४) ले १३८२ मा अंग्रेजीमा पहिलो पूर्ण बाइबल अनुबाद गरे। यो बाइबल ल्याटिन भुल्गेटबाट अनुबाद गरिएकोले उत्तम त भएन तर अंग्रेजी भाषीहरू माझ ठूलो मात्रामा आत्मिक तृष्ण मेटाउने काम भने पूरा गरेको थियो। विलियम टिन्डेल (१४९४-१५३६) ले ‘टेक्स्टस रिसेप्टस’बाट अंग्रेजीमा नयाँ नियम अनुबाद गरे। यो बाइबल अंग्रेजी भाषीहरू माझ अनुदित नमूना बाइबल बन्यो।

रानी एलिजावेथ प्रथम (१५४२-८७) को राज्यकालमा बेलायतमा क्याथोलिक चर्चको प्रभुत्व समाप्त भई प्रोटेस्टेन्टहरूको प्रभाव विस्तार भयो। रानी मेरीका छोरा जेम्स बालककालमै स्कटलैण्डका राजा जेम्स छैटौंको रुपमा नियुक्त गरिएको थियो। उनी १६०३ मा वेलायतका जेम्स प्रथमका रुपमा राजा बनेका थिए जसले १६२५ सम्म बेलायतमा राज्य गरेका थिए। उनको शासनकालमा वेलायतका १००० प्युरिटनहरू (प्रेस्बेटेरियन क्लर्जीहरू) ले राजा जेम्स प्रथमलाई विन्तिपत्र चढाई चर्च अफ इंगलैण्डको सुधारको निम्ति माग गरेका थिए। त्यसपछि राजा जेम्स प्रथमले ह्याम्पटन कोर्ट सम्मेलन गरेका थिए। जसमा वेलायत भरका चर्च प्रमुख तथा ख्रीष्टियन अगुवाहरूको सम्मेलन भएको थियो। उक्त सम्मेलनमा विभिन्न व्यक्तिहरूले विभिन्न विचारहरू राखेका थिए। विचार राख्नेहरूमा डा. जोन रेनोल्डले ‘मण्डलीहरूमा पढिनका निम्ति एक बाइबल अनुबाद गरी पाद टिप्पणी रहित रुपमा प्रकाशन गर्नुपर्‍यो’ भन्ने विचार व्यक्त गरेका थिए। उक्त विचारमा राजा जेम्स प्रथम प्रभावित भएका थिए।

राजा जेम्स प्रथमले जुलाई २२, १६०४ मा बाइबल अनुबादको निम्ति ५४ जना अनुबादकहरूको नाम घोषणा गरेका थिए। सन् १६०७ मा बाइबल अनुबाद कार्यको थालनी भएको थियो। बाइबल अनुबाद प्रकृया अत्यन्तै प्रभावकारी रुपमा अघि बढाइएको थियो। ५४ जना अनुबादकहरूलाई ६ समूहमा बाँडिएको थियो। प्रत्येक समूहमा ९ जना अनुबादकहरू थिए। ती ६ समूहरूमा २ समूह क्याम्ब्रिजमा, २ समूह अक्सफोर्डमा, २ समूह वेस्टमिन्स्टरमा पठाइएका थिए। प्रत्येक समूहलाई अनुबादका निम्ति बाइबलका पुस्तकहरू तोकिएका थिए। समूहलाई तोकिएको पुस्तकको अनुबाद समूहका प्रत्येक सदस्यले आ-आफ्नै अनुबाद गर्दथे। त्यसपछि एक समूहका ९ जना नै एक साथ जुटी ठूलो स्वरले पढ्थे र आवश्यक छानबीनका साथ एक अन्तिम प्रति तयार पार्दथे। अनुबादित उक्त प्रतिलाई अरु ५ समूहलाई पठाइन्थ्यो र त्यसबाट प्राप्त सुझावको आधारमा अन्तिम प्रति तयार गरिन्थ्यो। यस क्रमले बाइबलका सबै पुस्तकहरूको अनुबाद सम्पन्न गरिन्थ्यो। त्यसपछि प्रत्येक समूहबाट २ जनाको दरले १२ जनाको रिभिजन कमिटी गठन गरी उक्त कमिटीले दिनहुँ लण्डनको स्टेसनर्श हलमा दिनहुँ छलफल गर्दथ्यो र बाइबलको अत्निम प्रति तयार पार्ने काम सम्पन्न गर्‍यो। सम्पन्न प्रतिलाई २ जनाको प्रकाशन समितिलाई बुझाइयो जसले भाषा शुद्धिकरण र मीठास मिलाउने काम गरी अन्तिम रुप तयार पार्ने काम गर्‍यो। त्यसपछि रोयल प्रिन्टरलाई प्रकाशनको निम्ति सुम्पने कार्य गर्‍यो।

हिब्रू ‘मेसोरेटिक’ ग्रन्थ र ग्रीक ‘टेक्स्टस रिसेप्टस’ ग्नन्थलाई मूल आधार बनाई ५४ जना अनुबादकहरूले राजा जेम्स प्रथमको निर्देशनमा अंग्रेजीमा पूर्ण बाइबल अनुबाद गरेकाले यसलाई ‘किंग जेम्स भर्जन’ भनियो। सन् १६११ मा प्रकाशन गरिएको यस किंग जेम्स भर्जनलाई त्यसपछि पनि समय समयमा संशोधन गरिएका थियो। उन्नाइसौं शताब्दीको अन्तसम्म किंग जेम्स भर्जनले एक छत्र प्रभाव पारेको थियो। आज सम्म पनि यस बाइबलको प्रभावकारीता एक नंबरमा नै रहेको छ।

उन्नाइसौं शताब्दीमा आएर किंग जेम्स भर्जनको भाषागत सुधारको आधार मानेर सुधारिएको बाइबलको रुपमा ‘रिभाइज्ड भर्जन’ (१८८१) आयो। त्यसपछि न्यु रिभाइज्ड स्ट्यान्डर्ड भर्जन (१९८९) जसलाई अमेरिकी प्रोटेस्टेन्ट ख्रीष्टियहरू विच प्रभावकारी रह्यो।

विलियम क्यारीको नेपाली बाइबल

नर्थमटनशायर, इंगलैण्डका विलियम क्यारीले १७६९ देखि मण्डलीमा प्रचार गर्न शुरु गरेका व्याप्टिस्ट प्रचारक थिए। उनले भनेका थिए, ‘परमेश्वरबाट ठूला कुराहरूको आशा गर, परमेश्वरका निम्ति ठूला कुराहरूको प्रयास गर’। उनी एक मिसिनरीको रुपमा १७९३ मा भारत आएका थिए। केही समय कलकत्ता बसेर कलकत्ताबाट १४ माइल उत्तरमा रहेको सिरामपुरमा उनले सेवाकाईलाई अघि बढाएका थिए। उनी र उनका साथमा रहेका मिसिनरीहरूले परमेश्वरको वचन प्रचार गरे। उनी र उनका समूहले भारतका चालीस भाषाहरूमा बाइबल अनुबाद गरी सन् १८०१ देखि १८३२ सम्ममा उनले २,१२,००० प्रति बाइबल प्रकाशन गरेका थिए। ती मध्ये नेपाली नयाँ नियमलाई सन् १८२१ मा प्रकाशन गरेका थिए जसलाई ‘नेपाला’ भनिन्थ्यो। सन् १८२७ मा पश्चिम नेपाली भाषामा नयाँ नियम अनुबाद गरी प्रकाशन गरेका थिए जसलाई ‘पाल्पा’ भनिन्थ्यो। सन् १८२१ मा प्रकाशित नेपाली नयाँ नियम भानुभक्त आचार्यको नेपाली भाषामा प्रकाशित ‘रामायण’ भन्दा पहिला प्रकाशित भएका थिए। सन् १८४१ (वि.सं. १८९८) मा संस्कृत भाषामा भएको बालकाण्डबाट अनुबाद सुरु गरेका भानुभक्तले १८५४ (वि.सं. १९११) मा कुमारीचोक काण्डमा, पाँच महिना थुँनिदा अयोध्याकाण्ड, आरण्यकाण्ड, किष्किन्ध काण्ड र सुन्दरकाण्ड लेखेका थिए। सन् १८५८ (वि.सं. १९१५) मा युद्धकाण्ड र १८६२ (वि.सं. १९१९) मा उत्तरकाण्ड लेखी १८६८ (वि.सं. १९२५) मा सातकाण्ड रामायणको पाण्डुलिपि तयार गरेका थिए। मोतिराम भट्टद्वारा भानुभक्तको जीवन चरित्र प्रकाशित भएपछि भानुभक्तका कृति खोजी गर्न थालियो। सर्वप्रथम दार्जिलिङबाट सूर्यविक्रम ज्ञवालीले भानुभक्तका कृति रामायण सन् १९३२ (वि. सं. १९८९) मा प्रकाशन गरेका थिए।

विलियम क्यारीद्वारा प्रकाशित बाइबलले कलकत्ता लगायतका भारतका विभिन्न भागमा रहेका नेपाली तथा नेपालका नेपालीहरू विचमा सुसमाचारको सेवाकाईको निम्ति जग तयार पारेको थियो। विलियम क्यारीले सिरामपुरमा एक बाइबल कलेज स्थापना गरेका थिए, जुन आज भारतकै एक विश्वविद्यालयको रुपमा संचालित छन्। उनी कलकत्ता स्थित फोर्ट-विलियम कलेजमा ओरियन्टल ल्यांग्वेजेज अर्थात् पूर्वीय भाषाहरूका प्रोफेसर थिए। उनले भारतवर्षमा दास प्रथा उन्मुलन, सती प्रथा उन्मुलन जस्ता कार्यहरूमा योगदान दिएका थिए। उनका योगदानहरूलाई सम्झेर भारत सरकारले सन् १९९३ मा विलियम क्यारी भारत आएको २०० वर्ष पुगेको उपलक्षमा रु. ६ को हुलाक टिकट प्रकाशन गरी उनलाई सम्मान दिएका थिए। उनलाई आज ‘आधुनिक मिसिनरीहरूका पिता’ भनी सम्बोधन गरिन्छ।

 

नेपाली रिभाइज्ड भर्जन (RV)

विलियम क्यारी र सिराम्पुर मिसिनरीहरूको कार्यकालपछि चर्च अफ इंगलैण्डका व्रिटिश पास्टरहरू ब्रिटिस अधिकारी, व्यापारी तथा ब्रिटिस समाजविच काम गर्न दार्जिलिङ पहाडहरूमा चढे। ती पास्टरहरूमध्ये डब्लू. स्टार्टले लूका र प्रेरितको पुस्तकहरूलाई नेपालीमा अनुबाद गरी सन १८५० र १८५२ मा प्रकाशन गरेका थिए।

चर्च अफ स्कटलैण्डका मिसिनरी विलियम म्याकफरलैण्ड भारतको गयाबाट सन् १८७० मा दार्जिलिङ गई आफ्नो सेवाकाई स्थापित गरेका थिए। उनकै सेवाकाई अन्तर्गत गंगा प्रसाद प्रधान ईशाई बनेका थिए। गंगा प्रसाद प्रधानका पिता काठमाडौंबाट कामको शिलशिलामा दार्जिलिंग पुगेका थिए। मिसिनरी ए. टर्नबुल र गंगा प्रसाद प्रधानले नेपाली भाषामा नयाँ नियम अनुबाद गरेका थिए जसलाई सन् १९०२ मा प्रकाशन गरेका थिए। उनीहरू मिलेर पुरानो नियम अनुबाद पनि थालिएको थियो। पछिबाट ए. टर्नबुल आफ्नो देश फर्केपछि उक्त कार्यलाई निरन्तरता दिन आर. किलगुर आएका थिए। पुरानो नियम अनुबाद सम्पन्न भएपछि नेपाली भाषामा पहिलो पूर्ण बाइबल प्रकाशन सन् १९१४ मा गरिएको थियो। सन् १९१४ मा ४५०० प्रति बाइबल प्रकाशन भएकोमा नेपालमा राणाशासनको पतन भई सन् १९५१ मा  सुसमाचारको निम्ति ढोका खुल्दा जम्मा १० बाइबल बाँकी रहेका थिए।

बाइबल सोसाइटी अफ इण्डियाले उक्त बाइबललाई संशोधन गरी १९७७ मा पुन: प्रकाशन गरेका थिए। सन् १९७७ सम्म आइपुग्दा नेपाली भाषामा चार भर्जनहरूमा बाइबलहरू उपलब्ध थियो,

  • रोमन क्याथोलिक बाइबल
  • रिभाइज्ड भर्जन (बाइबल सोसाइटी अफ ईण्डिया)
  • सरल बाइबल (बाइबल सोसाइटी अफ ईण्डिया)
  • लिविङ बाइबल

१९८० को दसकसम्म नेपाली ईशाईहरूमा मूख्य रुपमा रिभाइज्ड भर्जन (RV) लाई नै प्रमुख रुपमा प्रयोग हुँदै आइरहेको देखिन्छ।

नेपाली किंग जेम्स भर्जन

अंग्रेजी किंग जेम्स भर्जनलाई सर्वप्रथम नेपालीमा अनुबाद गर्ने अवधारणा मिसिनरी डेविड क्लाउडबाट भएको हो। उहाँकै प्रयासबाट अनुबाद गर्ने कार्य एल-शद्दाई मण्डली, कालिम्पोङका एक सेवक दानिएल राईले १९८५ मा शुरु गर्नुभएको थियो। केही समय पछि नेपाली किंग जेम्स बाइबल अनुबाद तथा प्रकाशनको निम्ति एक समिति गठन भयो। जस अनुरुप थोमस काफ्मन (अध्यक्ष), यू. जे. गुरुङ (सचिब), आदम तुलाधर (इन्भेन्टरी), दानिएल राई (अनुबादक) तथा प्रदेश श्रेष्ठ (सदस्य) को रुपमा हुनुहुन्थ्यो। अनुबाद कार्यमा सहयोग गर्न थोमस काफ्मन कालिम्पोङ जानुभएपछि दानिएल राई र थोमस काफ्मन मिलेर अनुबाद, सम्पादनमा लाग्नुभयो। उहाँहरूले गर्नुभएको अनुबादलाई पुनरावलोकन गर्न तथा सुधार गर्न काठमाडौंमा यू. जे. गुरुङ, आदम तुलाधर तथा प्रदेश श्रेष्ठ जुट्ने गर्नुहुन्थ्यो। भजनसंग्रह सहित नयाँ नियम प्रकाशन भएपछि नयाँ नियम खण्डलाई नेपाल बाइबल सोसाइटीको पुरानो नियमको साथ राखी प्रयोग गर्न थालियो।

नेपालका निम्ति जम्मा भएको नयाँ नियमहरूको विक्री वितरण र कोष हेर्ने जिम्मा श्री आदम तुलाधरलाई दिइएको थियो। २००४ मे ४ मा काठमाडौंमा जुटेको समिति बैठकले बाइबल कोषको हिसाब किताब हेरी विवरण तयार पारेको थियो। उक्त दिनमै जुटेको बैठकले श्री आदम तुलाधर तथा श्री यू. जे. गुरुङ कालिम्पोङ जानुभई एल-शद्दाई मण्डलीका अगुवाहरूसंग रोकिरहेको बाइबल अनुबाद तथा प्रकाशन कार्यलाई छिटो छरितो कसरी बनाउने भन्ने सम्बन्धमा छलफल गर्ने निर्णय गर्नुका साथै अनुबादकहरूलाई भेटी अनुबाद गरिएका हस्तलिखित पाण्डुलिपीहरू ल्याई काठमाडौंमा जम्मा गर्ने निर्णय गरिएको थियो। साथै कार्यलाई यथाशिघ्र अघि बढाउन काठमाडौंमा टाइप गर्ने कार्यलाई अघि बढाउने निर्णय गरिएको थियो। यस विचमा काठमाडौं र कालिम्पोङमा बाँडिएका समिति सदस्यहरू विचमा पर्याप्त संचारको कमीको अनुभूति समेत गरिएको थियो। यी सबै परिस्थितिका बिच कालिम्पोङमा रहनुभएका दनिएल राई र मिसिनरी थोमस काफ्मनको प्रयासपछि अन्तत: सन् २०११ को अन्तमा पुरानो नियम सहित पूर्ण बाइबल प्रकाशन भयो। उक्त बाइबललाई केही महिना प्रयोग गरिसकिएपछि त्यसमा त्रुटीहरू पाइएको भनी प्रयोगकर्ता मण्डलीहरूका अगुवा तथा विश्वासीहरूतर्फबाट गुनासोहरू आउन थालेपछि २०१२ अप्रिल १५ मा किंग जेम्स भर्जन नेपाली संस्करण प्रयोगकर्ता मण्डलीहरूका अगुवाहरूको काठमाडौंमा बसेको बैठकले त्यस सम्बन्धमा व्यापक छलफल गरी प्रयोगकर्ता मण्डलीहरूको गुनासो र माग अनुरुप पा. यू. जे. गुरुङको संयोजकत्वमा ६ सदस्यीय रिभिजन कमिटी गठन भयो। कमिटीमा निम्न बमोजिम सदस्यहरू हुनुहुन्थ्यो,

  • पा. यू. जे. गुरुङ, संयोजक
  • पा. राम भण्डारी, सदस्य
  • पा. जोएल ट्राभिस, सदस्य
  • पा. जेम्स तामाङ, सदस्य
  • पा. जिम मगाहा, सदस्य
  • पा. विजय प्रधान, सदस्य

रिभिजन कमिटी रिभिजन कार्यका निम्ति जुन १०, २०१२ मा जुट्यो। उक्त बैठकमा कमिटी सदस्यमा पा. विजय प्रधानले कमिटीमा नरहने इच्छा व्यक्ता गर्नुभएकोले उहाँको सट्टामा पा. आदम तुलाधर तथा पा. लरेन्स तामाङ रहने निर्णय गरियो। जुलाई १५, २०१२ को बैठकमा पा. प्रकाश रावतलाई कमिटी सदस्यको रुपमा थप्ने निर्णय गरियो। तर जुलाई १५,२०१२ पछिका रिभिजन बैठकहरूमा लगातार पा. यू. जे. गुरुङ, पा. राम भण्डारी, पा. आदम तुलाधर तथा पा. लरेन्स तामाङ जुटिरहनुभएको छ। मार्च १०, २०१३ मा काठमाडौंमा बसेको के.जे.भी. नेपाली संस्करण प्रयोगकर्ता मण्डलीहरूको भेलाले रिभिजन कमिटीको प्रतिवेदन सुन्यो। उक्त भेलाले रिभिजन कार्यक्रम राम्रोसंग अघि बढिरहेको निष्कर्ष निकाल्दै यही तरिकाले पद-पद गरी रिभिजन कार्यलाई अघि बढाउने निर्णय गर्‍यो। त्यसरी नै अगस्ट १७, २०१४ मा भएको अर्को प्रतिवेदन सुन्ने कार्यक्रममा के.जे.भी. प्रयोगकर्ता मण्डलीहरूको अगुवाहरू ठूलो संख्यामा भेला (३७ जना) भएका थिए। जनवरी १५, २०१५ मा ट्रिनिटेरियन बाइबल सोसाइटीका सचिब पावल रोल्याण्ड तथा इडिटोरियल डाइरेक्टर फिलिप हप्किन्सको आयोजनामा होटल एभरेस्टमा रिभिजन कमिटीको प्रतिबेदन सुन्न तथा के.जे.भी. नेपाली संस्करण बाइबल प्रयोगकर्ता मण्डलीहरूका अगुवाहरूसंगको विशेष भेटघाट कार्यक्रम राखिएको थियो। उक्त कार्यक्रममा रिभिजन कमिटीको कार्यलाई सबैबाट उच्च मूल्यांकन गरिएको थियो। त्यसअघि इडिटोरियल डाइरेक्टर फिलिप हप्किन्सद्वारा रिभिजन कार्यको निम्ति कार्यतालिका बनाइ पठाउनुभएको थियो। जस मुताविक जुन ३०, २०१६ सम्ममा मलाकीसम्मको रिपोर्टिङ गर्नुपर्दथ्यो भने २०१५ को विनाशकारी भुइचालाद्वरा कार्यतालीकामा असर पर्न गई सेप्टेम्बर अन्तमा मात्र मलाकी सम्मको रिपोर्ट दिन सकिने देखिएको छ। बाँकी ३ महिनमा नयाँ नियम सिध्याउनुपर्ने हुन्छ। लगभग समयसीमा भित्र कार्य सम्पादन हुने देखिएको छ। यस अघि यस कार्यको निम्ति समितिले ६० पटक ८० दिन भन्दा बढि भेला भई कार्य सम्पादन गरेको थियो। यस समितिको निम्ति सबै भन्दा ठूलो चुनौति चाहिँ आर्थिक पक्ष रह्यो।

 

 

आठ

अठाह्रौं शताब्दीमा नेपालमा क्याथोलिक मिसिनरीहरू

 

नेपालमा ख्रीष्टियनहरूको आगमन मानव समाजको एक सामान्य प्रकृया हो जसमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा आवात-जावत र बसाई सराई गर्दछन्। साथै बाइबलको नयाँ नियम खण्डमा दिइएको महान आज्ञाको आज्ञापालन पनि हो। नेपालमा सर्वप्रथम पाइला टेक्ने ख्रीष्टियन मिसनरीहरू जेजुएट मिसिनरीहरू थिए भने प्रथम मिसन स्थापना गर्नेहरू क्यापुचिन मिसिनरीहरू थिए। जेजुइट तथा क्यापुचिन मिसिनरीहरू भारतमा मिसनहरू स्थापना गरि बसिरहेको अवस्थामा उनीहरूले तात्कालीन यात्रुहरूबाट मध्य-एशियामा गोठाला बिनाका भेडाहरू (ख्रीष्टियनहरू) रहेका बारे जानाकारी पाए। १५७९ देखि भारतको गोआमा सेन्ट जेभियर्सको नेतृत्वमा मिसन स्थापना गरी बसेका जेजुएटहरूले उत्तरी भारतको आग्रामा मिसन स्थापना गरी अघि बढिरहेका बेला[1] ती हराएका भेडाहरूको सम्बन्धमा विशेष चासो लिए र तिब्बत मिसनको नाममा ती पदयात्राहरू चलाए। जसक्रममा उनीहरूले तिब्बत यात्राका धेरै अभियानहरू चलाएका थिए। जस अनुसार फादर डे अन्ड्राडेले फेब्रुवरी १६२५ मा पहिलो तिब्बत मिसन स्थापना गरेका थिए[2]। उनले त्यहाँ केही नेपाली उद्योगी, व्यापारीहरूलाई भेटेका थिए। त्यसरी नै तिब्बत मिसनमा हिंडेका फादरहरू स्टेफन क्यासेल्ला र जोन क्याब्रलमध्ये फादर जोन क्याब्राल १६२८ मा तिब्बतबाट नेपाल आइपुगेका थिए। ऐतिहासिक प्रमाणका आधारमा उनी नै नेपालमा पाइला टेक्ने पहिलो युरोपियन यात्रु थिए।[3] त्यसवेला काठमाडौंमा राजा लक्मी नरसिं मल्लले शासन गरिरहेका थिए। त्यस्तै गरी १६६१ मा काठमाडौं पुगेका जेजुएट मिसिनरीहरू फादर ग्रुएबर र फादर अलबर्ट डोर्विलले सर्वप्रथम नेपालका राजा प्रताप मल्ललाई दुरविन उपहार दिएका थिए[4]। नेपालतिरको हिमचिम बढ्दो रुपमा अघि बढे पनि जेजुएटहरूको तिब्बत मिसनको उद्देश्य हाँसिल हुन भने सकेन।

तिब्बत मिसनका निम्ति चासो राख्ने कार्यलाई धेरै अघि देखि नै क्यापुचिनहरूले राख्दै आएको थियो। उनीहरू सन् १९४० देखि भारतको गुजरात राज्यको सुरतमा आफ्नो मिसन स्थापना गरी काम गरिरहेका थिए। दुबै जेजुएट तथा क्यापुचिनहरू रोमन क्याथोलिक चर्चको प्रतिधर्मिसुधार आन्दोलन (Counter-Reformation) कार्यक्रम अनुसार स्थापना भएका संस्थाहरू थिए। क्यापुचिनहरू इटलीका गरीब निमुखा बर्गका लागि स्थापित संस्था थिए। उनीहरूले युरोपबाटै यात्रा गर्ने गरी तिब्बत मिसनका निम्ति १७०४ मा एउटा अभियान चलाएका थिए। जिसप्पी द आस्कोलीको टोली काठमाडौं आई तिब्बत हिंडे पनि टोलीले आफ्नो उद्देश्य हाँसिल गरेका थिएनन्।[5] तसर्थ जनवरी ९, १७१४ मा शुरु गरिएको १२ जनाको अर्को टोली तिब्बत मिसनका निम्ति युरोपबाट हिंडेका थिए। यस मिसन यात्रामा तिब्बत मिसनको एक सहायक मिसनको रुपमा १७१५ मा एउटा मिसन काठमाडौंमा स्थापना गर्ने कार्य भयो। त्यसबेला काठमाडौंमा राजा भाष्कर मल्लले शासन गर्दथे। तर तिब्बत मिसन भने असफल नै रह्यो।

अब क्यापुचिन मिसिनरीहरूका निम्ति नेपाल मिसन निक्कै महत्वपूर्ण भयो। फादर फ्रान्सिस होरेस र फादर जोएकिम अक्टोबर १७३३ मा नेपाल आएका थिए। जसमा फादर होरेसले काठमाडौं उपत्यकाका तीनै राज्यमा स्थापित तीन मिसनहरूमा मेहनत गरेका थिए। उनी घर घरमा गई नानीहरूलाई बप्तिस्मा दिनलाई आह्वान समेत गरेका थिए।  १९६९ सम्ममा क्यापुचिन मिसिनरूहरूले मिसन स्थापना भएदेखि १२,१७० जनालाई बप्तिस्मा दिएका थिए। उनीहरूले मूख्यतया स्वास्थ्य क्षेत्रमा जनसेवा गरेका थिए। उनीहरूको प्रभावकारिताका कारण उनीहरूलाई मिसन स्थापना गर्न नुवाकोट बाहेक १७५६ मा तनहुँ तथा लमजुङका राजाहरूले समेत अनुरोध गरेका थिए। फादर होरेसको जुलाई २०, १७४५ मा पाटन मिसन घरमा ६५ वर्षको उमेरमा मृत्यु भएको थियो। उनी पाटन शहर बाहिर उत्तरी क्षेत्रमा रहेको कब्रस्तानमा दफन गरिएको थियो।[6] उक्त कब्रस्तानमा उनको परिश्रम र गुणहरूको परिचय ल्याटीन र नेवारी भाषामा कुंदिएको थियो।[7]

काठमाडौं उपत्यकामाथि १७६८ मा गोर्खाका राजा पृथ्वी नारायण शाहले विजय हासिल गरेपछि भने क्यापुचिन मिसनहरूलाई असर परेको थियो। प्रताप सिं शाह तथा बहादुर शाह मिसिनरीहरू प्रति सहयोगी रहे पनि राजा पृथ्वी नारायण शाहको दृष्टि भने सकरात्मक थिए। तसर्थ फादर जोसेफ अफ राभाटोको नेतृत्वमा ५७ नेपाली क्याथोलिक ख्रीष्टियनहरू तथा ५ नयाँ सिकारुहरूको टोली फेब्रुवरी ४, १७६९ मा भारतको बेतियाका निम्ति प्रस्थान गरे। १३ दिनको अबिरल यात्रापछि टोली सकुशल भारतको विहार प्रदेश, चम्पारन जिल्लाको बेतियाबाट १० कि.मि. उत्तरमा रहेको चुहाडी गाऊँमा पुगे जहाँ उनीहरूका निम्ति जग्गा जमीन तथा बसोबासको व्यवस्था मिलाइएको थियो। आज पनि उनीहरूका सन्ततिहरूमध्ये ठूलै संख्यामा उक्त स्थानमा बसोबास गरिरहेको भेट्टिएको छ। ती बहर्गमित क्याथोलिक ख्रीष्टियनहरू नेवारहरू रहेका थिए। तिनीहरूले अझै पनि आफ्नो भाषा, तथा खानपान संस्कृतिलाई बचाइराखेको देखिन्छ।[8]

क्यापुचिन मिसनको बहिर्गमन पछि छिटपुट रुपमा क्यापुचिन मिसिनरीहरू आइरहेका थिए। जनवरी १७७५ मा विशाल नेपालका पहिलो राजा पृथ्वी नारायण शाहको मृत्युपछि तथा राज कुमारहरू प्रतापसिं शाह, बहादुर शाहबाट क्यापुचिन मिसनको पुनर्बहाली गर्न क्यापुचिन संस्थालाई बारंबार आग्रह गरिएपनि उनीहरूले कारिन्दाहरूको कमी, आर्थिक चुनौति आदिका कारण नेपालमा पुन: आफ्नो मिसन स्थापना गर्न सकेनन्।

१८१४-१८१६ को गोर्खा-ब्रिटिश युद्धपछि सुगौली सन्धि सम्पन्न भयो। यस सन्धि बमोजिम काठमाडौंमा व्रिटिश दुताबास रहनेभयो। साथै उक्त सन्धि बमोजिम ब्रिटिश नागरिक बाहेक नेपालमा कुनै पनि युरोपियनलाई प्रवेश नदिने सहमति समेत गरिएको थियो।

क्यापुचिन मिसिनरीहरूले नेपालमा ५४ वर्ष काम गरेतापनि उनीहरूले अर्कै सुसमाचार प्रचार गरेकाले उनीहरूका काममा परमेश्वरको आशिष रहेन।

 

 

नौ

सीमा सेवाकाई

 

१९५१ (वि.सं. २००७) अघि तराई तथा दक्षिणी नेपाल भारत सीमाना क्षेत्रहरूमा गोप्य रुपमा छिटपुट बाहेक नेपालमा ख्रीष्टियनहरूको बसोबास खासै थिएन। पुष्टि भए अनुसार कर्नेल नर राज शमशेर जबरा ख्रीष्टिय विश्वासमा प्रवेश भएपछि पनि नेपालमै बसोबास गर्दथे। उनी नेपालको तराईस्थित सर्लाही जिल्लाको रानीगंजमा बस्दथे। आफ्ना नाति गम्भिर विरामी भएपछि उपचारका निम्ति रक्सौलस्थित डंकन हस्पिटलमा लग्दा त्यहाँ उनले सुसमाचार सुनी विश्वास गरेका थिए। कर्नेल नरराज शमशेर राणा प्रधानमन्त्री बीर शमशेर जबराका नाति तथा प्रधान सेनापति रुद्र शमशेर जबराका छोरा थिए।[9] उनी १९५१ अघि पनि नेपालमै बस्दथे र संगतिका निम्ति डंकन हस्पिटल, रक्सौल स्थित चर्चमा नियमित जाने गर्दथे। उक्त विहारको राजधानी मोतिहारी स्थित एक चर्चमा १९५२ को इस्टरको दिनमा उनले बप्तिस्मा लिएका थिए। त्यसरी नै नेपालगंज वरपरका क्षेत्रमा पनि केही नेपाली ख्रीष्टियनहरू बस्दथे जो संगतिका निम्ति भारत स्थित एक शहर रुपइडियामा जाने गर्दथे। त्यसरी नै इलाम, बिराटनगर क्षेत्रमा पनि १९५१ अघि छिटपुट ख्रीष्टियन हुन सक्ने अनुमान गरिएको छ। नेपाल भित्रै बसी सुसमाचार सुनाउने प्रयासहरू गंगा प्रसाद लगायत विभिन्न व्यक्तिहरूद्वारा भएका थिए। तर ती असफल रहे। यस्तो स्थितिमा नेपालका निम्ति बोझ राख्ने नेपाली ख्रीष्टियनहरू तथा मिसिनरीहरूले नेपाली सीमा नजीकका भारतीय शहरहरूमा चर्च तथा मिसनहरू मार्फत नेपालबाट आएका नेपालीहरूमाझ सेवाकाईलाई तीब्र पारेका थिए। इलाम क्षेत्रको निम्ति भारतको दार्जिलिङ जिल्ला स्थित सुखिया पोखारी, विराटनगर क्षेत्रको निम्ति विहारको जोगबनी, बीरगंज क्षेत्रको निम्ति रक्सौल, बुटवल क्षेत्रको निम्ति उत्तरप्रदेशका नौतनवा, नेपालगंज क्षेत्रको निम्ति रुपइडिया, महेन्द्रनगर क्षेत्रको निम्ति टनकपुर तथा उत्तरी सुदुरपश्चिम क्षेत्रको निम्ति झुलाघाट तथा दार्चुलामा विभिन्न मिसिनरीहरू तथा मिसनहरू सकृया थिए। सीमा सेवाकाईमा विभिन्न व्यक्तिहरू सकृया रुपमा लागिपरेको देखिन्छ। सीमा सेवाकाईमा अत्यन्तै प्रभावशाली नेपाली प्रचारकको रुपमा डेविड मुखिया गुरुङ देखिन्छ। उहाँले भारतको सुखिया पोखरी, जोगबनी, रक्सौल, नौतनवामा विभिन्न चरणमा सकृया रुपमा नेपालीहरू माझ सुसमाचार प्रचार गरेको देखिन्छ। उहाँ माध्यमको रुपमा विभिन्न स्थानमा मेडिकल डिस्पेन्सरीहरूमा काम गर्नुभएतापनि उहाँको मूल लक्ष सुसमाचार प्रचार नै थियो। उहाँद्वारा नेपालका शुरुका अधिकांश अग्रजहरू ख्रीष्टमा आएको देखिन्छ। तीर बहादुर राई, नरराज शमशेर जबरा, फिलिप गुरुङ, दाऊद मसिह लगायतका व्यक्तिहरू उनको सेवाकाईबाट ख्रीष्टमा आएको देखिन्छ।

 

 

दस

ख्रीष्टियनहरूको नेपाल प्रवेश

 

नेपाल प्रवेश गर्ने ख्रीष्टियन दर्शन र चासो मूलत: व्यक्तिहरूको थियो। तर १९५० को दशकमा व्यक्तिहरूको निम्ति नेपाल प्रवेश गर्ने र सेवाकाई गर्ने कार्य चुनौतिपूर्ण थियो। तसर्थ उनीहरूले संस्थाको रुपमा संगठित भई वैधानिक रुपमा प्रवेश गर्नुपर्दथ्यो। यही क्रममा डा. लिली ओ हेन्लन तथा हिल्डा एम. स्टिल १९५२ को अप्रिलमा काठमाडौं आए र पोखरामा एक हस्पिटल खोल्ने उद्देश्यका निम्ति प्रकृया अघि बढाए। तात्कली स्वास्थ्य मन्त्री नर बहादुर गुरुङले उहाँहरूको संस्था दर्ता गर्न पहल गरेका थिए।[10] उनीहरूले जुन १९५२ मा अनुमति पाएका थिए।[11] क्यापुचिनहरूले नेपाल छाडेको १८३ वर्षपछि ख्रीष्टियनहरू नोवेम्बर १९५२ मा नौतनवाबाट नेपाल प्रवेश गरी पोखरामा बसोबास थालेका थिए। नेपाल इभान्जेलिस्टिक ब्याण्डको रुपमा नेपाल प्रवेश गर्नेहरूमा ६ विदेशी मिशिनरी तथा अरू नेपालीहरू थिए। विभिन्न चरणमा नेपाल प्रवेश गर्ने नेपालीहरूमा डेविड मुखिया गुरुङ, प्रेमी गुरुङ, दाऊद मसिह, फिलिप गुरुङ, याकुव थापा, रिबेका थापा, प्रिस्किला गुरुङ, प्रेम मसिह, बुद्धिसागर गौतम, पुतली गौतम थिए।[12] यस समूहले पोखरामा साइनिङ हस्पिटल स्थापना गरेका थिए भने केही समयपछि नै नेपालकै पहिलो मण्डली मानिने रामघाट चर्च स्थापित भएका थिए। हस्पिटल पोखराको बाघबजार स्थित परेड ग्राउण्डमा स्थापना गरिएको थियो।[13] हस्पिटलमा कार्यरत मिशिनरीहरू बेलायत, जर्मनी, हल्याण्ड, अस्ट्रेलिया, न्यूजिलैण्डबाटका थिए भने उनीहरूलाई नेपालीहरूले साथ दिएका थिए। यस संस्थालाई पछिबाट इन्टर्न्यासनल नेपाल फेलोशिप (INF) राखेका थिए। रामघाट चर्चद्वारा सुसमाचारीय सेवाकाईमा सकृयतापूर्वक अघि बढाइएको थियो। यस सेवाकाईका निम्ति पास्टर डेविड मुखिया गुरुङले सकृयतापूर्वक नेतृत्व दिएका थिए।

पोखरा लगायतका नेपालका विभिन्न भूभागहरूमा ख्रीष्टिय गतिविधि बढ्न थालेपछि १९६० को दशकमा नेपालमा सतावट बढ्न थाल्यो। १९६० मा प्रजातान्त्रिक सरकार अपदस्त गरियो र पंचायत व्यवस्था लागु गरियो। १९६२ मा नयाँ संविधान बन्यो जस मुताविक ख्रीष्टिय विश्वास नेपालमा अबैध मानियो। ख्रीष्टियनहरू भटाभट पक्रा पर्न थाल्यो। धरपकट बढ्न थाल्यो। डेविड मुखियाको चाहना नभएपछि मण्डलीका अगुवाहरूको अनुरोधले उनी नौतनवा फर्के। त्यसपछि सुसमाचारीय सेवाकाईमा शिथिलता आयो। १९६३ मा देवुसिं दाहाल रामघाट मण्डलीमा प्रवेश भई पास्टरको रुपमा अभिषेक भएपछि पोखरा उपत्यकामा सुसमाचार प्रचारले नयाँ मोड लियो।[14] उनी खुल्ला स्थानमा उभिएर अकोडियन बजाउँदथे र भीडहरूलाई सुसमाचार प्रचार गर्दथे। एक पटक उनी विद्यार्थीहरूको घेराऊमा परे। केही महिला विश्वासीहरूका कारण बचे। एक पटक भीडहरूद्वारा अंचलाधीशकहाँ पुर्‍याइए। तर त्यसमा पनि उनी बचे।[15] तर उनी नेपालगंजमा सुसमाचारको सेवाकाईको क्रममा पक्रा परे र जेल चलान गरिए।[16] १९६९ मा पास्टर डेविड गुरुङ आफ्ना परिवारका साथ पुन: पोखरा फर्के।

सीमा सेवाकाईमा सेवारत मिसनहरूमा १० बोर्ड तथा मिसनहरू मिलेर १९५४ मा संयुक्त रुपमा युनाइटेड मिसन टु नेपाल (UMN) स्थापना गरियो। यस संस्थाले १९५४ बाट काठमाडौंमा काम गर्न शुरु गरे। १९७२ सम्म आईपुग्दा यस संस्थामा एसेम्ब्लीज अफ गड, ब्याप्टिस्ट मिसिनरी सोसाइटी, बाइबल एन्ड मेडिकल मिसिनरी फेलोशिप, डिसाइपल्स अफ क्राइस्ट, चर्च मिसिनरी सोसाइटी, चर्च अफ नर्थ इण्डिया, लेप्रोसी मिसन, मेनोनाइट बोर्ड अफ मिसन्स, रिजन बियोण्ड मिसिनरी युनियन, युनाइटेड मेथोडिस्ट चर्च, युनाइटेड प्रेस्बेटेरियन चर्च लगातयका चर्च तथा मिसनहरू संलग्न थिए।[17] यू.एम.एन. को उद्देश्य नेपाल सरकारसंग गरिएको सहमति अनुसार मूलभूत रुपमा येशू ख्रीष्टको नाममा जनताका आवश्यकता परिपुर्ति गर्नुथियो। साथै यस संस्थाले देश र चर्चहरूलाई बलियो पार्न तालिम दिने उद्देश्य समेत राखेको थियो।[18] तीर बहादर राई १९५४ मा यस संस्थामा काम गर्न नेपाल आएका थिए। उनकै नेतृत्वमा भक्तपुरमा एक मण्डली स्थापना भएको थियो। उनी काठमाडौंकै पहिलो पास्टरको रुपमा हुनुहुन्थ्यो।

संस्थापित मिसनहरू मात्र होइन, व्यक्ति वा समूहहरू पनि सेवाकाईका निम्ति नेपाल आएका थिए। कर्नेल नरनराज शमशेर जबरा आफ्नो घर काठमाडौं फर्केको केही समयमा उनले रक्सौलमा केही केरालियन युवाहरूलाई भेटे। उनको अनुरोधमा ती युवाहरू काठमाडौंमा सेवाकाई गर्न आए र पुतलीसडक चर्चको स्थापना भयो। ती युवाहरूमा कुन्जुकुटी अथ्याल, जर्ज जोन, सी.जी. जर्ज, चेरियन कुरियन थिए। कर्नेल नरराज र यी युवाहरूको सेवाकाईबाट १९५३ देखि पुतलीसडक चर्चको सेवाकाई शुरु भएको थियो। पछिबाट जर्ज जोन पोखरा गए र पृथ्वी नारायण क्याम्पस शुरु गरे। केराला स्थित मार्थोमा चर्चबाट आएका यी युवाहरू एङ्लीकन चर्च पृष्ठभूमिका थिए। त्यसरी नै ज्ञानी शाह साइनिङ हस्पिटल, पोखरामा नर्सिङको काम गर्न आए। पछि यू.एम.एन.द्वारा संचालित सान्ताभवन हस्पिटलमा काम गर्न काठमाडौं आएका थिए। उनी भारतको मोतिहारी स्थित युनियन ब्याप्टिस्ट चर्चका सदस्य थिए। १९५६ मा मिसिनरी मिस फ्राङकलीनको नेतृत्वमा आएका रवर्ट कार्थक, राजेन्द्र रोंगोंग लगायतका समूहसंग मिलेर ज्ञानेश्वर चर्चको स्थापनाका निम्ति ज्ञानी शाहले योगदान दिएका थिए। ज्ञानेश्वर चर्च स्थापनामा योगदान दिने अग्रजहरू अधिकांश रुपमा प्रेस्विटेरियन पृष्ठभूमिका थिए। यसरी नै नेपालगंजमा पहिलो ए.जी. चर्चको स्थापना भएको थियो भने धरान लगायतका तराईका ठूला शहरहरूमा चर्चहरू स्थापना भइरहेका थिए।

१९५१ पछिको राजनीतिक परिवर्तनले नेपाली समाजको क्षीतिजलाई फराकिलो पारिदियो। परम्परागत जीवन शैलीको विकल्पको  रुपमा ख्रीष्टिय विश्वास र जीवनलाई पनि देख्ने र बुझ्ने अबसर पाए। मूलत: शहरी क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले यस नयाँ जीवन शैलीलाई हेर्ने, बुझ्ने अवसर पाए। त्यस यता नेपाली समाजमा सामाजिक तथा सरकारी पक्षबाट समय समयमा भारी सतावटहरू भइरहे पनि आज ख्रीष्टिय जीवन नेपाली समाजकै एक अभिन्न अंगको रुपमा खडा भएको देखिन्छ। नेपालमा ईशाईहरूको संख्या पनि क्रमिक रुपमा वृद्धि भइरहेको पाइनुले ख्रीष्टिय विश्वास नेपाली समाजमा प्रभाकारी रहेको देखिन्छ। नेपालमा ख्रीष्टियनहरूको संख्या दिनानुदिन वृद्धि भइरहेको तथ्यलाई निम्न बमोजिम चार्टले पुष्टि गर्दछ।

 

वर्ष                  ख्रीष्टिनहरू         प्रतिशत

१९७१              २५७१             ०.०२%

१९८१              ३८९१              ०.०३%

१९९१              ३१,२८९           ०.१७%

२००१              १,०१,९७६       ०.४५%

२०११              ३,७५,६९९       १.४%

 

 

एघाह्र

नेपालमा क्यारिस्मेटिक शिक्षाको प्रारम्भ

 

सन् १९६२ मा आई.एन.एफ. का एक मिसिनरी डा. ग्राहम स्कट ब्राउनले इंगलैण्डमा अन्यभाषाको अनुभव गरे। उनी नेपाल आएपछि त्यस अनुभवलाई विस्तारै अगाडी बढाउने प्रयास गरे। पा. देबू सिं दाहाललाई समय समयमा त्यसबारे उनले कुरा गरेका थिए। तर पा. देबू सिं दाहालले त्यस विषयलाई वेवास्ता गरेका थिए। तर अन्य भाषाको वरदान सम्बन्धमा कम अध्ययन रहेकाले उनमा त्यसबारे ठोस निर्णय थिएन। १९६५ को एक साँझ हरियो खर्क हस्पिटलको संचालित साँझको संगतिमा नेपाली ईशाईहरूले पनि अन्यभाषा बोले। अन्यभाषा बोल्नेहरूमा पा. देबू सिं दाहाल पनि एक थिए। पा. देबू सिं दाहालका अनुसार त्यस घटनाको केही समय पछि पा. रवर्ट कार्थकले देबू सिं दाहालसंग अन्यभाषाको अनुभव बारे चासोका साथ सोधनी गरेका थिए। सन् १९६८ पा. रवर्ट कार्थकले पनि अन्य भाषा बोलेका थिए। लगत्तै ज्ञानेश्वर चर्चका सदस्यहरू तथा त्यस मण्डलीमा आवद्ध मिसिनरीहरूले पा. रवर्ट कार्थकको अन्य भाषा सम्बन्धि नयाँ शिक्षाको विरोध गरेका थिए। तसर्थ पा. रवर्ट कार्थकले उक्त अनुभवको घटनालाई धेरै वर्ष गुपचुपमा राखेका थिए। पास्टर रवर्टले पछिबाट विस्तारै आफ्नो अनुभवलाई बाँडेका थिए। सोझै अन्यभाषाको विषयमा सिकाएनन् तर पवित्र आत्माको वरदानको विषयमा सिकाएका थिए। पा. रवर्ट कार्थकका अनुसार उनको पवित्र आत्माको अनुभव र अन्यभाषाको शिक्षालाई मिसिनरी मिस फ्राङ्कलीनले पनि अस्वीकार गरेका थिए। पा. रवर्ट कार्थकलाई अन्यभाषा सम्बन्धी भ्रमबाट फर्काउन मिस फ्राङ्कलीनले डा. जोन स्टटबाट लिखित ‘ब्याप्टिजम अफ होली स्पिरिट’ नामक पुस्तक पनि पढ्न दिएका थिए। तर उनले अन्य भाषाको वरदान माथिको विश्वासलाई त्यागेनन्। पछिबाट उनको त्यस अनुभव प्रति ज्ञानेश्वर मण्डलीका अगुवा तथा विश्वासीहरूले पनि चासो दिन थाले। १९७० को दशकमा ज्ञानेश्वर चर्चका अगुवा तथा सदस्यहरूले पनि अन्य भाषा बोल्न थाले। ज्ञानेश्वर चर्चबाट क्रमश: नेपालका अरु मण्डलीहरूमा पनि यो शिक्षाको विस्तार भयो।

अन्यभाषा पछि नेपालमा टोरोन्टो ब्लेसिङको पनि प्रारम्भ भयो। टोरोन्टो ब्लेसिङ १९९४ को जनवरीमा क्यानडाको टोरोन्टोमा प्रारम्भ भएको हो। यस ब्लेसिङका अनुसार मानिसहरू सभास्थलमा ढलेका थिए। जसलाई उनीहरूले ‘स्लेन इन द स्पिरिट’ वा ‘आत्मामा घात’ हुनुको संज्ञा दिएका थिए। नेपालमा १९९६ मा सर्वप्रथम ज्ञानेश्वर चर्चमा यो अनुभव गरिएको थियो। त्यसपछि क्रमश: अन्य मण्डलीहरूमा पनि यो अनुभवलाई जोड दिइएको थियो।

 

 

बाह्र

नेपालमा कार्यरत ख्रीष्टियन मिसिनरीहरू – एक मूल्यांकन

 

क्यापुचिन मिसिनरीहरूले मूलत: साहित्य, इतिहास लेखन, स्वास्थ्य क्षेत्रमा योगदान दिएको देखिन्छ। तर क्यापुचिन मिसिनरीहरूले नेपाल १७१५ देखि १७६९ सम्म नेपाल र नेपालीका सामाजिक तथा स्वास्थ्य क्षेत्रमा ठूलै योगदान दिएका थिए। उनीहरूको सेवाबाट तात्कालीन नेपालका राज्यहरू अत्यन्तृ प्रभावित भएका थिए। यसैको परिणाम स्वरुप केवल काठमाडौं उपत्यकाका राज्यहरू मात्र होइन तर नुवाकोट, लमजुङ तथा तनहुँका राजाहरूले पनि आफ्ना राज्यहरूमा मिसन स्थापना गरिदिन आग्रह गरेका थिए। उनीहरूले रोमन क्याथोलिक विश्वासको प्रतिरक्षाका निम्ति पुस्तकहरू लेखे, नेवारी-इटालियन शब्दकोषहरू लेखे, इटालियन-हिस्दुस्तानी-नेवारी शब्दकोष लेखे। त्यस्तै गरी क्यापुचिन फादर जोसेफ अफ रोभाटोले मल्ल राजवंशको पतन, (Decline and Fall of Malla Dynasty), पृथ्वी नारायण शाहको उदय (Rise of Prithvi Narayan Shah) जस्ता विषयहरूमा इतिहास लेखेका थिए। यिनै पुस्तकहरूको आधारमा पछिबाट कर्कप्याट्रिकले ‘नेपाल अधिराज्यको विवरण’ An Account of the Kingdom of Nepal नामक पुस्तक लेखेका थिए।

क्यापुचिन मिसिनरीहरूले साँचो सुसमाचार र बाइबलीय शिक्षा भने सिकाएनन्। फादर होरेसले उपत्यका राज्यहरूका घर घरमा बप्तिस्मा प्रचार गरेका थिए। यदि कसैका बच्चाहरू मृत्युशैयामा भए बप्तिस्माको निम्ति फादरहरूलाई आमन्त्रण गर्न जानाकारी गराएका थिए। त्यही शिक्षा र प्रचार मुताविक नै ठूलो संख्यामा नानीहरूलाई बप्तिस्मा दिइएका थिए। १७२५ देखि १७६९ भित्र १२,१७० नानीहरूलाई उनीहरूले बप्तिस्मा दिएका थिए जसमध्ये अधिकांश मृत्युशैयाका नानीहरू थिए। साथै क्यापुचिन मिसिनरीहरूले ख्रीष्टियनहरूलाई आत्मा निर्भर हुन नसिकाएको देखिन्छ। नेपाली क्याथोलिक ख्रीष्टियनहरूको निम्ति जीविकाको आधार बनाउन क्यापुचिन मिसनले जग्गा किनिदिएका थिए। उनीहरूले दैनिकी जिविकाका निम्ति फादरहरूमा बढि आश्रित भएको देखिन्छ। स्थानीय ईशाईहरूलाई नेतृत्वको निम्ति अभ्यास गराइएको देखिएन। अप्ठ्यारा समयहरूमा उनीहरू फादरहरूमा नै निर्भर भएको देखिन्छ। पृथ्वी नारायण शाहले कीर्तिपुर लिईसकेपछि पाटनका सबै ईशाईहरू फादर जोसेफ अफ रोभाटोमा आश्रित भएका देखिन्छन्। उनी सबै ईशाईहरूलाई आफूसंग लिएर काठमाडौंमा भागेको देखिन्छ। पछिबाट फादर माइकल एन्जलो काठमाडौंका सबै ईशाईहरूलाई लिएर ललितपुर भागेको देखिन्छ।

१९५१ को राजनीतिक परिवर्तन पछि प्रोटेस्टेन्ट तथा बाइबलीय मिसिनरीहरू नेपाल आएको देखिन्छ। १९५० को दशक देखि नेपाल आएका ती मिसिनरीहरूले बाइबलीयस सुसमाचार सुनाएको देखिन्छ। यसले क्रमश: ख्रीष्टियन मण्डलीहरूको स्थापना र विकास भएको देखिन्छ। उनीहरूले स्वास्थ्य, शिक्षा, विकास क्षेत्रमा ठूलो योगदान दिएका थिए। राणातन्त्रबाट भर्खर तंग्रिएका नेपालको चौतर्फी विकासका निम्ति ख्रीष्टियन मिसिनरीहरूले १९५० को दशक देखि नै ठूलो योगदान दिंदै आएका थिए।

नेपालमा ख्रीष्टियन मिसिनहरूका योगदान

Contributions of the Missionaries in Nepal

आइ.एन.एफ. का एक पूर्व कार्यकारी निर्देशक दिपेन्द्र गौतमका अनुसार ख्रीष्टियन मिसिनरीहरूले नेपालमा ठूला योगदानहरू दिएका छन्। उनकै अनुसार मिसिनरीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपालीहरूलाई सुसमाचार सुनाए र मण्डलीहरूको स्थापनाका निम्ति योगदान दिए। उनीहरूले मण्डलीहरूलाई स्वावलम्बी हुन पनि सिकाए। दिपेन्द्र गौतम स्वीकार्छन् कि शुरुका ती मिसिनरीहरूले नेपालमा डिनोमिनेसहरू पनि ल्याएनन्।[19] रामघाट चर्चका पूर्व पास्टर देबूसिं दाहालका अनुसार १९६० का दसकका मिसिनरीहरू जनताद्वारा धेरै आदर गरिएका थिए। प्राय: मण्डलीहरूले उनीहरूलाई मण्डलीका संचालक समितिहरूमा राखेका हुन्थे।[20] जेजुएटहरूले सेन्ट जेभियर्स स्कुल तथा सेन्ट मेरिज स्कुलहरू मार्फत शिक्षा क्षेत्रमा सेवाकाई गरे। आई. एन. एफ.ले साइनिङ हस्पिटल, लेप्रोसी हस्पिटल तथा थुप्रै डिस्पेन्सरीहरू मार्फत स्वास्थ्य क्षेत्रमा सेवाकाई गरे। दिपेन्द्र गौतमका अनुसार १९५० र १९६० का दशकका मिसिनरीहरू आत्मिक र समर्पित हुन्थे भने पूरै जीवन नेपालमा विताउनका निम्ति आउँथे। उनीहरू केवल वृद्धावस्थामा मात्रै आफ्नो देश फर्केका थिए।[21] दिपेन्द्र गौतमका अनुसार १९७० पछिका मिसिनरीहरू भने नेपालमा छोटो समयका लागि आएका थिए। पछिल्ला समयका मिसिनरीहरू शैक्षिक योग्यता लिएर आएका हुन्थे। नेपाल सरकारले शैक्षिक योग्यता भएका मिसिनरीहरूलाई मात्र नेपालमा काम गर्न भिजाको व्यवस्था गरेकोले पनि यस्तो हुन आएको हो। नेपाल सरकारले समेत पछिल्ला समयहरूमा मिसिनरीहरूको सेवावधि छोटो पार्दै लगेकोले समेत मिसिनरीहरूको नेपाल बसाइ छोटो भएको दिपेन्द्र गौतम स्वीकार्छन्।[22] १९५० र १९६० को दशकमा मिसिनरीहरूको प्रभाव सामान्य जनतामा बलियो रुपमा परेको देखिन्छ। पोखरा बाघबजार स्थित ९५ वर्षीय यूहन्ना शाहीको अनुसार मिसिनरीहरूको जीवनले मानिसहरू प्रभावित थिए। उनी स्वयं पनि मिसिनरी लिली ओ हेन्लनको उदाहरणबाट उनले धेरै सिकेका थिए।[23] त्यसरी नै पोखरा बाघ बजारकै ७५ वर्षीय टिका कुमारी थापा पनि स्वीकार्छन् साइनिङ हस्पिटलका मिसिनरीहरूले असल उदाहरण राखेका थिए।[24] त्यसरी नै नेपालका एक पुराना महिला अग्रज ज्ञानी शाह स्वीकार्छन् किन नेपालमा कार्यरत ख्रीष्टियन मिसिनरीहरू नेपालका निम्ति ठूला आशिष बनेका थिए। उनीहरूले देश विकासका विविध पक्षमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। शाहका अनुसार मिसिनरीहरूले विषय वस्तुहरूको राम्रो व्यवस्थापन गर्ने गर्दथे चाहे मण्डलीको विषयमा होस् वा संस्थाको विषयमा होस्।[25] पोखरा लामाचौरका पास्टर अतन लामा पनि स्वीकार्छन् कि विदेशी मिसिनरीहरूले नेपालका निम्ति महत्वपूर्ण आशिष बनेका थिए। उनीहरूद्वारा राष्ट्रले विकासका विविध पक्षमा महत्वपूर्ण सहयोग प्राप्त गरेका थिए।[26] त्यसरी नै रामघाट मण्डलीका एल्डर स्तिफनस गुरुङकी पत्नी भिम कुमारी गुरुङले पनि मिसिनरीहरू नेपालका निम्ति महत्वपूर्ण आशिष बनेका थिए। उनीहरूले नेपालका निम्ति महत्वपूर्ण योगदान दिएका थिए।[27] नेपालकै प्रथम पास्टर पत्नी प्रेमी गुरुङका अनुसार नेपालीहरू आर्थिक रुपमा पनि मिसिनहरूद्वारा लाभन्वित बनेका थिए।[28]

टम हेल र मार्क अर्नेटका अनुसार नेपालमा सेवारत मिसिनरीहरूले नेपाली ख्रीष्टियनहरूका निम्ति लक्षित गरी केही महत्वपूर्ण कदमहरू उठाएका थिए;

  • प्रार्थना गर्ने।
  • शिक्षण तथा तालिमको व्यवस्था गर्ने।
  • छात्रवृत्ति दिलाउने।
  • गरीबहरूका निम्ति मण्डलीका योजनाहरूमा सहायता गर्ने।
  • नेपाल बाहिरका नेपाली भाषी ख्रीष्टियनहरूसंग सम्बन्धहरू स्थापित गर्न सहयोग गर्ने।[29]

 

नेपालमा ख्रीष्टियन मिसिनरीहरूका असफलताहरू

Failures of the Christian Missionaries in Nepal

आइ.एन.एफ. का एक पूर्व कार्यकारी निर्देशक दिपेन्द्र गौतमका अनुसार नेपालमा कार्यरत ख्रीष्टियन मिसिनरीहरूका असफलताका पक्षहरू पनि थिए। मिसिनरीहरूद्वारा आर्थिक सहयोगहरूका कारण धेरै मण्डलीहरूमा विभाजनहरू भएका थिए। पोखरा रामघाट चर्चका पूर्व पास्टर देबू सिं दाहाल स्वीकार्छन् मिसिनरीहरूका कारण रामघाट चर्चमा फुट र विभाजनहरू भएका थिए। दुई मिसिनरीहरू विचको अन्तर्संघर्षका कारण १९६० को दशकमा रामघाट चर्चमा ज्यादै ठूलो समस्या सृजना भएका थियो।[30] ज्ञानी शाहका अनुसार मिसिनरीहरूले दुई ठूला गल्तीहरू गर्ने गरेको पाइएको थियो। पहिलो चाहिँ त उनीहरू मानिस र उनीहरूको स्वभाव नचिन्नु, अनि अर्को चाहिँ उनीहरूका गलत न्यायहरू थिए। उनीहरू मण्डलीका कुनै एक सदस्यलाई समात्दछन् अनि अर्को चर्च खोल्छन्। फलत: मण्डलीहरूमा विभाजनहरू भएका थिए।[31] एल्डरपत्नी भिम कुमारी गुरुङका अनुसार शुरुका मिसिनरीहरू इमान्दार र असल थिए। तर पछिल्ला समयका मिसिनरीहरू भने आयआर्जनका उद्देश्यले नेपाल आएका थिए।[32]

ख्रीष्टियन मिशिनरीहरू नेपालका निम्ति ठूला आशिषका कारण बनेका थिए जसमा कुनै शंका रहेन। यदि गम्भिर र योग्य मिसिनरीहरू आउँदछन् भने उनीहरू दुबै आत्मिक तथा विकासको दृष्टिले नेपालका निम्ति ज्यादै महत्वपूर्ण हुन्छन्। नेपाल मिसिनरीहरूलाई आदर गर्ने देश हो। यदि मिसिनरीहरूले सही जीवन विताए उनीहरूबाट नेपालीहरूले धेरै कुराहरू सिक्नेछन् जसले सामाजिक तथा आर्थिक क्षेत्रमा ठूलो योगदान दिनेछन्। यदि उनीहरूले परमेश्वरको वचन, बाइबलको आज्ञा पालन गरे उनीहरू निश्चिनै रुपमा आशिष हुनेछन् व्यवधान होइन। साँचो मिसिनरीहरू नेपाल सरकार र नेपाली जनताका निम्ति सहयोगी हुन् जसका शंका गर्नुको तुक छैन।

 

 

तेह्र

नेपालका मण्डलीहरू एक विश्लेषण

प्रेरित २:४१-४७

 

नेपाल ख्रीष्टिय विश्वासमा परिवर्तन भएका राष्ट्रहरूमध्ये अग्रपंक्तिमै पर्दछ। नेपालमा मूलत: तीन समूहका ख्रीष्टियनहरू रहेका छन्, बाइबलीय स्वतन्त्र मण्डलीहरू (३३%), प्रोटेस्टेन्ट मण्डलीहरू (४०%) र रोमन क्याथोलिक चर्च लगायत अन्य (२७%)। अधिकांश विश्वास परिवर्तन व्यक्तिगत साक्षी (६०%) बाट भएको देखिन्छ भने, त्यसपछि चंगाई (२७%) अनि मण्डली सभाहरू (१३%) द्वारा भएको देखिन्छ। व्यक्तिगत साक्षी वा सम्पर्कबाट मानिसहरू चर्च जाँदछन् अनि पास्टर वा प्रचारकहरूका प्रवचनहरूद्वारा मानिसहरू ख्रीष्टमा आउँछन्। त्यसरी नै विरामीहरू चर्चमा ल्याइन्छन्, पास्टर तथा अन्य विश्वासीहरूद्वारा प्रार्थना गरिएपछि विरामीहरू निको भएको देखिन्छ। त्यसपछि उक्त विरामी नियमित रुपमा चर्च आउने गरेका अनि प्रवचनहरूबाट विश्वासको नयाँ मार्गमा आएको देखिन्छ।

अधिकांश बाइबलीय मण्डलीहरूले सुसमाचार सिकाएपछि अनि व्यक्तिहरूले ख्रीष्टमा विश्वास गर्ने निर्णयपछि थप अरू केही महिनाहरू सिकाउँछन् र सुसमाचारको ज्ञान र हृदयको विश्वासको जाँच लिंदछन्। जाँचपछि उनीहरू योग्य र मनासिब देखीएमा नयाँ विश्वासीहरूलाई बप्तिस्मा दिंदछन्। तर कति समुदायहरूले भने शिशू अवस्थामा वा एक दुई पटक चर्च गएपछिको अवस्थामा बप्तिस्मा दिंदछन्। त्यसरी बप्तिस्मा दिनेहरूमा रोमन क्याथोलिक चर्च, केही प्रोटेस्टेन्ट चर्चहरू तथा झूट चर्चहरू देखिन्छन्। शिक्षा दिने सवालमा धेरै मण्डलीहरू कमजोर देखिन्छन्। फलस्वरुप धेरै मण्डलीहरू तथा ख्रीष्टियनहरू मुक्ति सम्बन्धमा अनभिज्ञ देखिन्छन्। लगभग आधा ख्रीष्टियन जनसंख्याले आफूले मुक्ति पाएको कुरामा निश्चयता व्यक्त गर्दछन् भने बाँकीले भने मुक्ति पाएको कुरामा निश्चित नभएको स्वीकारेका छन्। साथै ठूलो संख्यामा ख्रीष्टियनहरूले आफूले पाप गरेमा मुक्ति गुमाउने स्वीकार्दछन् भने बाँकीले भने मुक्ति स्थायी रुपमा पाइएको स्वीकार गर्दछन्। अन्यभाषाको वर्दान आजका नेपाली मण्डलीहरूको निम्ति ठूलो गोलमालको विषय बन्न गएको छ। करिब आधा ख्रीष्टिय जनसंख्याले आज पनि अन्य भाषाको वरदान छ भनी स्वीकार गर्दछन् भने एक चौथाईले आज अन्यभाषाको वरदान नभएको गवाही दिंदछन्। अनि बाँकी एक चौथाई भने यसबारे अनभिज्ञ प्रकट गर्दछन्। आधा भन्दा बेसी मण्डलीहरूले मण्डली सभाहरूमा महिलाहरूलाई अगुवाई गर्न वा प्रचार गर्न प्रयोग गरिरहेको पाइको छ भने एक चौथाइले मण्डली सभाहरूमा महिलाहरूलाई अगुवाई वा प्रचार गर्न दिनु अबाइबलीय मान्दछन् (१ कोरिन्थी १४:३४; १ तिमोथी २:१२-१४)। बाँकी एक चौथाई भन्दा कम ख्रीष्टिय जनसंख्याले भने यसबारे अनभिज्ञता प्रकट गर्दछन्।

तीन चौथाई ख्रीष्टियन मण्डलीहरू आर्थिक रुपमा आत्मा निर्भर देखिन्छन्। उनीहरूको आयश्रोत मण्डलीका दशांश भेटीहरू देखिन्छन्। त्यसैबाट मण्डलीका सम्पूर्ण व्ययभार सम्हालेको देखिन्छ। करिब २० प्रतिशत मण्डलीहरू परनिर्भर देखिन्छन् भने बाँकी मण्डलीहरू अर्ध आत्मा निर्भर देखिन्छन्। आधा भन्दा केही बेसी नेपालका मण्डलीहरूका आफ्नै मण्डली भवन देखिन्छन् भने एक चौथाई मण्डलीहरूले भाडाका घरहरूमा मण्डली कार्यक्रमहरू चलाइरहेको देखिन्छ। अनि बाँकी मण्डलीहरूले नीजि घरहरूमा मण्डली सभाहरू संचालन गरिरहेको देखिन्छ। नेपालका आधा भन्दा वेसी मण्डलीहरूले दफन कार्यमा समस्या भोगिरहेका छन्। कब्रस्तानको अभावले दफन कार्य सधैं चुनौतिको विषय बन्दै आइरहेको देखिन्छ। एक चौथाई मण्डलीहरूले मात्र आफ्नै कब्रस्तानको प्रयोग गर्न पाइरहेको देखिन्छ। थोरै मण्डलीहरूले आफ्नो नीजि जग्गामा दफन गरिरहेका छन् भने करिब ५% मण्डलीहरूले आफ्ना शबहरूलाई कब्रस्तानको अभावले दफनको सट्टामा दहन गर्न थालेको देखिएको छ।

नेपालका करिब ६०% मण्डलीहरूले कुनै न कुनै रुपमा सरकार वा समाजबाट विगतमा मानसिक रुपले वा भौतिक रुपले दबाब वा ताडना खेपेका थिए। बाँकी ४०% मण्डलीहरू भने ठूलो सतावटमा परेका थिएनन्। प्रारम्भिक समयमा अधिकांश मण्डलीहरूले सामाजिक मिलनमा समस्या भोगेको देखिन्छ भने विस्तारै ती मण्डलीहरू समाजमा राम्रो सम्बन्धमा रहेको देखिन्छ। नेपालका दुई तिहाई मण्डलीहरू सामाजिक सेवामा कुनै न कुनै रुपमा संलग्न छन् भने बाँकी एक तिहाईको भने मण्डली भित्रको समाज सेवामा रहेको देखिन्छ।

नेपाली ख्रीष्टियनहरू आज समाजको एक महत्वपूर्ण भागको रुपमा स्थापित भएको देखिन्छ। उनीहरू समाजका निम्ति आततायी वा हानिकारक समुदायको रुपमा नभई एक मिलनसार अनि सभ्य समाजको रुपमा नेपाली समाजमा स्थापित भएको देखिन्छ। नेपाली ख्रीष्टियनहरू समाज र राष्ट्रको निम्ति एक सहयोगी र शान्त समाजको रुपमा स्थापित भएको पाइनु निश्चय नै नेपालको निम्ति आशाको विषय हो।

 

 

चौध

 सुसमाचारको उन्नतिको दशक

 

राजा बीरेन्द्र नेपालका शाहवंशीय राजाहरूमा सबैभन्दा शिक्षित राजा थिए। उनले आफ्नो उच्च शिक्षा इटन कलेज, यू.के.मा प्राप्त गरेका थिए।  उनी राजा भए लगत्तै उनले देशको शिक्षा पद्दतिमा सुधार ल्याए। उनी ३१ जनवरी १९७२ मा नेपालका राजा भएका थिए। उनले नयाँ शिक्षा पद्दति लागु गरे जो २०२८-२०३२ अर्थात् १९७२-१९७६ मा लागु गरिसक्नुपर्ने चौवर्षीय योजना थियो। यस अघि नेपालको शिक्षा पद्दति हिन्दू-वैदिक शिक्षा पद्दतिमा आधारित थियो। विद्यार्थीहरूले संस्कृतका मन्त्रहरू, हिन्दू शास्त्रहरू कण्ठस्थ गर्नुपर्दथ्यो। घोकन्थे शिक्षा प्रणाली थियो। नयाँ शिक्षा लागु भएपछि कक्षा ४ देखि १० कक्षा सम्मका विद्यार्थीहरूलाई अंग्रेजी विषय अनिवार्य बनाइयो। बोर्डिङ स्कुलहरू खोल्न पाउने भए। यसले १९८० का दशकका विद्यार्थीहरूमाझ पुनर्जागरण (Renaissance) ल्याइदियो। अब विद्यार्थीहरू नयाँ सोंचाईका साथ अघि बढ्ने भए। नयाँ नयाँ शिक्षा, अवधारणाहरू, दर्शनशास्त्रहरू सिक्ने भए। यकिन भएका विषयहरुमा स्वस्फर्त अघि बढ्ने भए। फलस्वरुप १९८० को दशकमा ठूलो संख्यामा नयाँ पुस्ताका युवाहरू माझ ख्रीष्टिय विश्वास प्रभावकारी रुपमा अघि बढ्यो। यही दशकमा नेपालमा क्याम्पस क्रुसेड फर क्राइस्ट, युथ फर क्राइस्ट, एभ्रिहोम कन्सर्न, जीवन मार्ग पत्राचार लगायतका युवा केन्द्रित सुसमाचारीय सेवाकाईहरू अघि बढिरहेका थिए। ठूलो संख्यामा ख्रीष्टमा विश्वास गरेका युवाहरूका कारण पाटन चर्च, आराधना चर्च, बेरेका मण्डली, काठमाडौं बप्तिस्ट मण्डली लगायत थुप्रै मण्डलीहरूको स्थापना भयो। लेखक स्वयं पनि १९७२ मा कक्षा १ मा भर्ना भई १९८२ मा काठमाडौं ठमेल स्थित अमृत साइन्स कलेजको एक विद्यार्थीको रुपमा अध्ययनरत थिए जुन वेला लेखक एक नयाँ ख्रीष्टियनको रुपमा उभिएको थियो। १९८० को दशकको पूर्वार्धमा ठूलो संख्यामा ख्रीष्टमा आएका युवाहरूको कारण नेपाल सरकार र तात्कालीन समाज झस्किएको थियो। फलत: १९८० को उत्तरार्धमा राज्य तर्फबाट ईशाई विरोधी अभियानलाई अघि बढाइएको देखिन्छ। १९८७ मा आराधना चर्चका पास्टर निकानोर तामाङ पक्राउ गरिएको थियो। नीज भारतीय नागरिक भएकाले नीजलाई देश निकाला गरिएको थियो। त्यसरी नै उही वर्ष १९८७ मा पाटन चर्चका अगुवाहरू एडोन रोंगोग लगायत धेरैलाई पक्राउ गरिएको थियो। उही वर्ष बेरेका चर्च जसलाई पछिबाट कनान चर्च भनियो, का अगुवाहरू माथि धरपकड गरिएको थियो। १९८८ मा काठमाडौं बप्तिस्ट मण्डलीका तात्कालीन अगुवाहरू डेविड क्लाउड, म्याकन सांग्लीर, थोमस काफ्मन तथा यू. जे. गुरुङका विरुद्ध केही पत्र पत्रिकाहरूमा ‘एक कप चियामा धर्म परिवर्तन’ शीर्षकमा लेखहरू छापिएको थियो। त्यस लगत्तै ती अगुवाहरूलाई पक्रा गर्न राज्यले उक्त चर्चमा धरपकड गरे। तात्कालीन समयमा आत्मासमर्पण गर्नु उपयुक्त नदेखिएकोले मण्डलीको निर्णय अनुसार नै काठमाडौं बप्तिस्ट मण्डली भूमिगत भएका थिए। उक्त मण्डलीका सेवाकाईहरू काठमाडौं उपत्यकाका विभिन्न भागहरूमा साना साना समूहरूमा विभाजन गरी संचालन गरिएको थियो। एक सभाको प्रभुभोज सेवाको निम्ति नागार्जनु डांडामा उक्त मण्डली जुटेको थियो।

१९८० को दशकको अन्तमा चारैतिर संत्रासको वातावरण थियो नेपालका ईशाईहरूका निम्ति। काठमाडौं बप्तिस्ट मण्डलीले मण्डली सभा भवन पाएको थिएन। यस जटिल परिस्थितिमा यू. जे. गुरुङ तथा गणेश तामाङद्वारा नेपालका प्रख्यात उपन्यासकार डायमण्ड शमशेर ज.ब.रा.कहाँ पुगी नीजको भवन परिसरमा मण्डली सभाघर बनाइदिन आग्रह गरिएको थियो। उक्त आग्रहलाई सहजै स्वीकार गरी डायमण्ड शमशेरले आफ्नो कुपण्डोल स्थित भवन परिसरमा काठमाडौं बप्तिस्ट मण्डलीका निम्ति एक सभा भवन बनाइदिएका थिए। उनको उक्त कदम सम्बन्धमा तात्कालीन नेपाल दरबारबाट प्रश्न उठाइएको थियो। तर उनले दरबारलाई उचित जवाफ दिई काठमाडौं बप्तिस्ट मण्डलीको बचाउ गरेका थिए। उक्त भवनमा नै यू. जे. गुरुङलाई मार्च ४, १९८९ मा काठमाडौं बप्तिस्ट मण्डलीको पास्टरको रुपमा अभिषेक गरिएको थियो। ती दिनहरू नेपालका ख्रीष्टियन मिसिनरीहरूका निम्ति निगरानी बढाइरहेको अवस्था थियो। फलत: नेपालमा पर्यटक भिसामा रही मिसिनरीको रुपमा सेवारत ख्रीष्टियन मिसिनरीहरूले ठूलो संख्यामा नेपाल छाडेका थिए। नेपाल छाड्नेहरूमा यस मण्डलीमा कार्यरत मिसिनरीहरू समेत पर्दथे। त्यसपछि काठमाडौं बप्तिस्ट मण्डलीको संचालन र नेतृत्व पास्टर लगायत नेपाली अगुवाहरूले गर्दै आइरहेका थिए।

१९८९ मा नै नेपालकै एक पुरानो मण्डली भक्तपुर मण्डलीका पास्टर तीर बहादुर राई लगायत अन्य अगुवा तथा विश्वासीहरूलाई भक्तपुर प्रहरी प्रशासनले धरपकट गर्‍यो र प्रहरी हिरासत पुर्‍यायो। ८० वर्ष नाघेका बयोवृद्ध पास्टरलाई प्रहरीले निर्घात कुट्यो। फलत: नीजले मानसिक संतुलन गुमायो। बयोवृद्ध पास्टरलाई कैद सजाय तोकिएको थियो। तर मानसिक सन्तुलन बिग्रेकाले नीजलाई चाँडै नै कैद मुक्त गरिएको थियो। यस्तै सतावटहरू देशैभरि जारी थियो। तर १९९० को जन आन्दोलनले देशको हावापानी, माटो सुहाउँदो भनिएको तात्कालीन पंचायती राज्य व्यवस्थालाई फाल्यो र देशमा ईशाई विरोधीको अभियानको समेत अन्त भयो।

 

 

पन्ध्र

सुसमाचार प्रचारको दशक

 

१९५१ मा आएको राजनीतिक परिवर्तन पछि नेपालमा सुसमाचारको ढोका खुलेको हो। त्यस यता नेपालका प्रमुख शहरहरूमा मण्डलीहरू स्थापित हुँदै गए। सुसमाचारको कारण मानिसहरूको जीवन परिवर्तन भयो तर बाइबलीय शिक्षाको पक्ष कमजोर देखियो। फलस्वरुप मण्डलीहरूको शिक्षामा परिवर्तन भइरह्यो। १९६० को दशकमा प्रवेश भएको अन्यभाषाको अभ्यास देखि १९८० को दशकको टोरोन्टो ब्लेसिङसम्मका अनुभूति नेपाली मण्डलीहरूले गरे। बिभिन्न किसिमका शिक्षा तथा सम्प्रादायहरूले नेपाली मण्डलीहरूलाई प्रभावित बनाए। तर सन् १९८० शुरुतिर काठमाडौं बप्तिस्ट मण्डली, बेरेका मण्डली लगायतका बाइबलीय मण्डलीहरूको स्थापना भए यता भने बाइबलीय शिक्षाको जग बसालिएको देखिन्छ। बाइबलीय शिक्षाको जगलाई थप सुदृढ बनाउने उद्देश्यले काठमाडौं बप्तिस्ट मण्डली, ‘बेरेका’ जसलाई पछिबाट कनान प्रार्थना घर भनियो, तथा एल-शद्दाई, कालिम्पोङ मिलेर अंग्रेजी किंग जेम्स भर्जनबाट नेपालीमा अनुबाद गर्ने कार्यको थालनी १९८५ मा गरिएको थियो। उक्त बाइबलको पूरै खण्ड सर्वप्रथम सन् २०१२ मा प्रकाशन गरिएको थियो।

सन् १९९२ मा काठमाडौं बप्तिस्ट मण्डलीले काठमाडौं कोटेश्वरमा एक मण्डली भवन निर्माण गर्‍यो जुन कार्य विश्वासको महत्वपूर्ण कदम थियो। यस कदममा दिइएको विजयको स्मारक नाम स्वरुप मण्डलीको नाम काठमाडौं बप्तिस्ट मण्डली ‘एवेनेजर’ राखिएको थियो। नेपाली ख्रीष्टिय इतिहासमा काठमाडौं बप्तिस्ट मण्डली ‘एवेनेजर’को महत्वपूर्ण योगदान रहेको छ। बाइबलीय शिक्षा, स्वतन्त्र, स्वावलम्बी, मण्डलीहरूको स्थापना, मण्डलीहरूलाई सबल पार्न शिक्षण, अध्यापन तथा व्यवस्थापन कार्यमा यस मण्डलीले नेपालमा एउटा उदाहरण बसालेको छ। यस मण्डलीद्वारा १९९० को दशकमा नेपालका विभिन्न स्थानहरूमा स्थानीय मण्डलीहरू स्थापना भए। एलोहिम बप्तिस्ट मण्डली, पोखरी, संखुवासभा; एल-बेथेल मण्डली, चिउरी बगैंचा, मकवानपुर; एल-एलियोन मण्डली, महादेववेसी, धादिङ; बेथेस्दा मण्डली बेसीशहर, लमजुङ; महनैम मण्डली, आफरडांडा, पाल्पा; मारानाथा मण्डली, धनगढि, कैलाली केही उदाहरणहरू हुन्। त्यसबाहेक पनिएल मण्डली, माझीगाउँ, नुवाकोट; कर्थली संगति, सिन्धुपाल्चोक; गेतसमनी मण्डली, गेरगाउँ; फिरकोट संगति, फिर्कोट, नुवाकोट; रुपाकोट संगति, रुपाकोट, रामेछाप; बाघखोर देउराली संगति, बाघखोर, दोलखा; बुङनम संगति, ओखलढुंगा; पहरेछाप संगति, पहरेछाप, धादिङ; बेथेल मण्डली, जगडांडा, मकवानपुर; बसेरी संगति, बसेरी, मकवानपुर; जीवन ज्योति मण्डली, कालीटार, मकवानपुर; हेटौंडा बेथेल मण्डली, हेटौंडा, मकवानपुर; सर्दी संगति, सर्दी, नवलपरासी; टिस्टुङ चर्च, टिस्टुङ, मकवानपुर; शितलनगर संगति, शितलनगर, रुपन्देही; अनुग्रह मण्डली, बाह्रविसे, संखुवासभा, बतासे संगति, बतासे, संखुवासभा; अनुग्रह मण्डली, धनगढी, कैलाली लगायत स्थानहरूमा सेवाकाईहरू एवेनेजर तथा संगति मण्डलीहरूबाट शुरु भएका थिए। त्यसरी नै भावी दिनहरूमा एवेनेजरले जुम्ला, पोखरा लगायतका स्थानहरूमा सेवाकाई अघि बढाउनु पर्ने देखिन्छ। यसका अलवा एवेनेजरले बाइबल कलेजको सेवाकाईद्वारा योग्य खेतालाहरू तयार गरी विश्वासद्वारा जिउने थुप्रै शिक्षक, प्रचारकहरू तयार पारी सेवाकाईहरूमा अघि बढाउनुको साथै स्थापित सेवाकाई तथा मण्डलीहरूलाई सुदृढ पार्नका निम्ति परिचालन गर्नुपर्ने देखिन्छ। साथै ख्रीष्टको नामको खातिर मण्डलीहरूलाई आपसी संगतिमा कायम राखी सुसमाचारको उन्नतिका निम्ति थप सकृय हुनुपर्ने देखिन्छ।

 

 

सोह्र

 सहस्राब्दीको अन्त

 

नेपालमा १९९० देखि सन् २००० सम्मको नेपाली ख्रीष्टिय इतिहासको ज्यादै ठूलो महत्व रहेको छ। यस दशक नेपाली ईशाईहरूको स्वतन्त्रताको परिक्षणकाल रहेको थियो। भारी सतावटबाट उत्रेका नेपाली ईशाई मण्डलीहरूले स्वतन्त्रताको उपयोगीताको अभ्यास गरेका थिए यस दशकमा। कति सफल भए कति असफल भए यसको प्रयोगमा। चारैतिर नयाँ मण्डलीहरूको स्थापना भइरहेको थियो। मिसिनरीहरू नेपाल आउने क्रम जारी थियो। यस क्रममा यस शताब्दीको शुरुतिर संयुक्त राज्य अमेरिकाबाट एक मिसिनरी परिवार जो तथा टाना कलिन्स् नेपाल आई एवेनेजर मण्डलीसंग संगति तथा सेवाकाईमा अघि बढिरहेका थिए। उहाँहरू तथा एवेनेजर मण्डलीको सहकार्यमा बौद्धमा सुसमाचारीय सेवाकाई प्रारम्भ भएको थियो। एवेनेजरबाट हरेक हप्ता पालैसंग उक्त सुसमाचारीय सभामा सिकाउन पालो तोकिएको थियो। सेवाकाईमा प्रगति थियो। अगुवाहरूको एउटा प्रार्थना सभामा जो कलिन्सले दुई हप्ताको विदा मनाउन सपरिवार थाइलैण्ड जान लाग्नुभएको जानाकारी एवेनेजर अगुवाहरूलाई गराउनुभएको थियो। तर दु:खको कुरा उहाँहरूले दुई हप्ताको विदा पछि फर्कदै गर्दा थाई जहाज दुर्घटना व्योहोरी सदालाई विदा लिनुभयो। एवनेजर मण्डली, कुपोन्डोलमा उहाँहरूको सम्झना सभा गरिएको थियो। उक्त कार्यक्रममा टाना कलिन्सका बुबा-आमा तथा दिदी भाईहरू सहभागी थिए। त्यसपछिका समयहरूमा बौद्ध सेवाकाई सम्बन्धमा अन्यौलता शुरु भयो। टाना कलिन्सका अविभावकहरूले उक्त सेवाकाई पूर्ण रुपमा कलिन्स परिवारको सेवाकाई भनी एवेनेजरको सहभागितालाई अवरुद्ध पारे। त्यही समयमा बौद्ध संगतिलाई मण्डलीको रुपमा स्थापना गरी एवेनेजरका एक डिकनलाई बौद्ध व्याप्टिस्ट चर्चका पास्टरको रुपमा अभिषेक गरिएको थियो जस सम्बन्धमा एवेनेजर अनिभिज्ञ थियो। यो घटना पछि एवेनेजर र बौद्ध मण्डलीवीचको संगतिमा दुरी बढ्यो। तर पछिबाट उक्त मण्डलीका पास्टरले एवेनेजर पास्टर तथा अगुवाहरू समक्ष आफ्नो गल्ती स्वीकारेपछि भने सम्बन्ध सामान्य बनेको थियो। उक्त घटना पछि नीजको नाममा समेत रहेको एवेनेजर मण्डली भण्डारीको स्वामित्व एवेनेजरकै एक अर्का सदस्यको नाममा नामसारी गरिएको थियो। नामसारीको उक्त निर्णय जुलाई २८, १९९९ मा बसेको एवेनेजर पास्टर तथा अगुवाहरूको बैठकले गरेको थियो। एवेनेजर मण्डलीले प्रयोग गर्दै आईरहेको लेले स्थित कब्रस्तानमा दफन कार्य सुचारु हुँदै आइरहेकोमा लेले क्षेत्रका बासिन्दाहरूको दबाबका कारण दफन कार्यमा चुनौति भोग्न शुरु भइसकेको थियो। यस्तो चुनौति एवेनेजरका अलवा अन्य मण्डलीहरूले समेत गर्न शुरु गरेका थिए। यसको बैकल्पिक स्थानको रुपमा एल-एलियोन मण्डलीसंगै महादेववेसीमा कब्रस्तान किन्न प्राथमिकता दिने निर्णय २०५६ कार्तिक ३० मा एवेनेजर पास्टर तथा अगुवाहरूको बैठकले गरेको थियो। त्यस समयमा गणेश लामा परिवार धनगढीमा सेवारत हुनुहुन्थ्यो। यसरी यस सहस्राब्दी नेपाली ईशाईहरूका निम्ति विभिन्न चुनौति तथा कब्रस्तानको जटिल परिस्थिति संगै गुज्रेको थियो।

U. J. Gurung, Ph. D. Student in History, Tribhuvan University, Kathmandu, Nepal

 

[1] Filippo De Filippi, ed. An Account of Tibet: The Travels of Ippolito Desideri of Pistoia, S.J. 1712-1727 (London: George Routledge and Sons Ltd., 1932) 69.

[2] Ibid., p.3.

[3] Ibid. p.11.

[4] Cindy Perry, A Biographical History of the Church in Nepal (Kathmandu: Nepal Church History Project, 2000) 2.

[5] Tulsi Ram Vaidya, Nepal: A Study of Socio-Economic and Political Changes (New Delhi: Anmol Publications, 1992) 83.

[6] Sylvain Levi, “European Documents”, Ancient Nepal, No. 25, 1974.

[7] Percival Landon, Nepal, Vol. 2 (London: Constable & Co. Ltd., 1928 Appendix XVI) 236.

[8] Naresh Duwal. “In Search of Christian Newars banished from Nepal 244 years ago”.

http://nepalchurch.com/8440/in-search-of-christian-newars-banished-from-nepal-244-years-ago. 01/21/2016.

[9] Interview with Gyani Shah. Kathmandu, 6/20/2005.

[10] Lily M. O’Hanlon, Into Nepal, 1973, pp.1-2.

[11] “The Vision”, INF Serving the People of Nepal for fourty years 1952–1992 (Pokhara: INF, 1992) 3.

[12] Interview with Philip Gurung. Pokhara, 29/5/2005.

[13] “The Vision”, INF Serving the People of Nepal for Forty Years 1952-1992 (Pokhara: INF, 1992) 18.

[14] Interview with Devu Singh Dahal. Pokhara, 5/28/2005.

[15] Ibid.

[16] O’Hanlon, op.cit., p.49.

[17] Greetings from Nepal (Kathmandu: United Mission to Nepal, 1972) 16.

[18] Ibid., p.12.

[19]  Interview with Dipendra Gautam, Pokhara, 29/5/2005.

[20]  Dahal, op.cit.

[21]  Gautam, op.cit.

[22]  Ibid.

[23]  Interview with Yuhanna Shahi. Pokhara, 17/5/2005.

[24]  Interview with Tika Kumari Thapa Magar. Pokhara, 27/5/2005.

[25]  Shah, op.cit.

[26]  Interview with Attan Lama. Kathmandu, 31/5/2005.

[27]  Interview with Bhim Kumari Gurung. Kathmandu, 8/6/2005.

[28]  Interview with Premi Gurung. Kathmandu, 3/6/2005.

[29]  Tom Hale and Mark Arnett, “INF and Ramghat Church: together growing towards the Light”, Smarika Pachasau Barshikotsab (Golden Jubilee Memoranda) 1952-2002 (Pokhara: Ramghat Church, 2002) 74.

[30]  Dahal, op.cit.

[31]  Shah, op.cit.

[32]  Bhim Kumari Gurung, op.cit.

Post a comment