No comments yet

एउटा फिहरिस्ता

 

ख्रीष्टियनहरूको संख्या वृद्धिमा नेपाल विश्वमै अग्र पंक्तिमा पर्दछ। नेपालमा १२ जनाको संख्या देखि ३००० जना सम्मको सदस्यता रहेका स्थानीय मण्डलीहरू संचालित छन्। अधिकांश ठूला तथा नेतृत्वदायी मण्डलीहरू राजधानी तथा देशका प्रमुख शहरकेन्द्रित रहेका छन्। तर ग्रामीण क्षेत्रका मण्डलीहरूमा युवाहरूको भारी कमी आएको छ। शिक्षा तथा रोजगारीका निम्ति युवाहरू शहरकेन्द्रित हुन थालेपछि यो स्थिति आएको हो।

नेपालमा बाईबलीय स्वतन्त्र मण्डलीहरू, रोमन क्याथोलिक मण्डली र प्रोटेस्टेन्ट मण्डलीहरू गरी तीन किसिमका मण्डलीहरू रहेका छन्। संख्याको रुपमा प्रोटेस्टेन्ट मण्डलीहरू पहिलो, बाईबलीय स्वतन्त्र मण्डलीहरू दोस्रो र रोमन क्याथोलिक चर्च तेस्रो स्थानमा रहेका छन्। प्रोटेस्टेन्ट मण्डलीहरू रोमन क्याथोलिक चर्चबाट निस्कि आएकाले शिक्षा र अभ्यासमा केही समानताहरू पाइन्छन् जस्तै; बाल-बप्तिस्मा, छिट्काउ-बप्तिस्मा, बप्तिस्माद्वारा नयाँ जन्म (Baptismal Regeneration), पदीयक्रम (Hierarchy), राज्य-धर्म (State Church) आदि। तर बाइबलीय स्वतन्त्र मण्डलीहरूले भने यी शिक्षा तथा अभ्यासहरूलाई बाइबल सम्मत मान्दैनन्। नेपालका मण्डलीहरूका अधिकांश सदस्यहरू व्यक्तिगत साक्षीहरूमार्फत ख्रीष्टियन बनेको पाइन्छ भने करिब एक तिहाइले रोगको चंगाईद्वारा प्रभावित भई ख्रीष्टमा विश्वास गरेको पाइएको छ। नेपालका झण्डै आधा जनसंख्या ख्रीष्टियनहरूले मुक्ति गुमाउन सक्ने कुरामा विश्वास गर्दछन्। तर मुक्ति यदि स्थायी रुपमा पाइएको होइन भने ख्रीष्टिय विश्वासको अन्य धर्मबाट के अन्तर रहन्छ त? मुक्ति ज्याला नभई बरदान भएकोले यो स्थायी हुन्छ (एफिसी २:८,९)। नेपालका ख्रीष्टियनहरूमा ठूलो संख्याले आज अन्यभाषालाई जरुरी मान्दछन्। तर बाँकी ठूलो संख्याले भने अन्यभाषा चिन्ह वरदानहरू मध्ये एक रहेको र सो वरदान प्रेरितहरूको समयमा विश्वास नगर्नेहरूको निम्ति चिन्हको रुपमा दिइएको मान्दछन्। यसका निम्ति उनीहरूले १ कोरिन्थी १४:२२ लाई बलियो आधार मान्दछन्। साथै अन्यभाषाको वरदान कालान्तरमा बन्द हुने पनि जनाइएको थियो (१ कोरिन्थी १३:८)। बीसौं शताब्दीमा शुरु भएको अन्यभाषा वरदान अभियानमा बोलिने अन्यभाषाहरूको प्रकृति र प्रयोजन प्रेरित २:११ बमोजिम नरहेको पनि देखिन्छ। प्रेरित २:११ मा चेलाहरूले पवित्र आत्माको भरपुरीमा परमेश्वरका महान कार्यहरूको वर्णन निश्चित भाषाहरूमा गरेका थिए भने आज बोलिने अन्यभाषाहरूको प्रकृति र प्रयोजन भिन्न शैलीको देखिन्छ। नेपालका मण्डलीहरू मध्ये दुई-तिहाईले महिलाहरूलाई मण्डली सभा संचालन गर्न वा प्रवचन दिन अनुमति दिंदछन्। तर बाइबलीय स्वतन्त्र मण्डलीहरूले भने सो कार्य अमर्यादित र अबाइबलीय मान्दछन्। १ तिमोथी २:१२ र १ करिन्थी १४:३४ बमोजिम स्त्रीहरूलाई मण्डली सभाहरूमा सिकाउन वा अगुवाई गर्न अनुमति छैन।

नेपालका तीन चौथाइ मण्डलीहरू दफन सेवाका निम्ति प्रताडित छन्। कबरस्थान नहुनु अनि मण्डलीहरूको आफ्नै कबरस्थान रहेतापनि स्थानीय प्रशासनको असहयोगका कारण दफन सेवा मण्डलीहरूको निम्ति एक ठूलो चिन्ता बन्दै आएकोछ। मृतकको शबलाई दफन गर्नु बाइबलीय उदाहरण र सुन्दर चित्रणात्मक रहेकाले दफन कार्य मण्डलीहरूको सम्मानित संस्कृति हो।

यस वर्ष २०७३ का लागि सार्वजनिक विदाको सूचिबाट ख्रीष्टमसलाई कटौति गरिएको छ। यस दिन केवल ख्रीष्टियन कर्मचारीहरूलाई मात्र विदा दिइनेछ। यस कार्यबाट नेपाली ख्रीष्टियनहरूलाई अबमूल्यन गरिएको छ। त्यति मात्र होइन प्रस्तावित फौजदारी ऐनमा व्यवस्था भएको धारा १५६ अनुसार यदि कसैलाई धर्म परिवर्तन गराइएको पाइएमा ५ वर्षको कैद सजाय र रु. ५०,०००।– जरिवाना तोकेको छ। ख्रीष्टियनहरू प्रति लक्षित यो कानून पारित भएमा ख्रीष्टियन चर्च तथा व्यक्तित्वहरूमा धरपकड शुरु भई लामो समयपछि प्राप्त धार्मिक स्वतन्त्रताको अनुभूति पुन: समाप्त हुन जानेछ।

उपरोक्त संक्षिप्त फिहरिस्ताले नेपाली ईशाईहरू अझै संघर्षरत जीवन विताउँछन् भन्ने देखिन्छ। साथै नेपाली ईशाईहरूले अझै कडा मेहनत र धैर्यता राख्नुपर्ने देखिन्छ। अबको परिस्थिति र विश्व परिवेशलाई ध्यानमा राखी सचेत र जागा रहनुपर्ने आजको टड्कारो आवश्यकता देखिएको छ।

Post a comment