नेपाल एयरपोर्टमा जहाज उत्रिन अघि
9 November 2026 · डा. यू. जे. गुरुङ

बुधवार, पौष २७, २०२३ (Wednesday, January 11, 1967) आज मेरो दोस्रो वर्ष पुगेको दिन। सदा झैं यस दिन पनि निकै जाडो अनुभूति भइरहेको थियो। मेरी आमाले आफ्नो कान्छो छोरालाई न्यानो लुगा लगाइदिनुभएको थियो। जन्म दिनको उपलक्षमा अण्डा खुवाउनुभएको थियो। मेरी दिदी मचिना मेरो वास्ता गर्नुको साथै मेरी बहिनी लालकाशीको स्याहार सुसार गर्नुहुन्थ्यो। मलाई दाई देवी जंगले पनि माया गर्नुहुन्थ्यो। पूर्ण दाईले पनि माया गर्नुहुन्थ्यो। विजय दाईले पनि माया गर्नुहुन्थ्यो। बुबा पनि मसंग दंग पर्नुहुन्थ्यो। परिवारकै सबैभन्दा सानो भएकोले म सबैको प्यारो भएको थिएँ। आज पनि देशैभरि बत्तीहरूको झिलिमिली छ किनकि आज पृथ्वी जयन्ती हो। यही वर्ष सोमवार, जून ५, १९६७ का दिन ‘छ दिने इस्रायल-अरव युद्ध’ प्रारम्भ भएको थियो। यस युद्ध जून १० मा नै अन्त भएकोले यसलाई छ दिने युद्ध पनि भनिन्छ। यस युद्धमा इस्रायलले ठूलो जीत हाँसिल गरेका थिए। इस्रायलले सिनै क्षेत्र, यरुशलेम, पश्चिम किनारा, गोलन हाइट क्षेत्रलाई कब्जा गरेका थिए। यस युद्ध शुरु हुँदा म हल्का हिँड्न सक्ने करिव २ वर्ष ५ महिनाको सानो केटो थिएँ। यही वर्षको अगस्ट ८ तारिखका दिन इन्डोनेसिया, मलेशिया, फिलिपिन्स, सिंगापुर र थाइलैण्ड गरी पाँच राष्ट्रहरू मिलेर आशियन (ASEAN: the Association of Southeast Asian Nations to promote regional cooperation) को स्थापना गरेका थिए। यसै वर्षको पहिलो महिना जनवरी २७ का दिन यू.एस.ए., यू.के. र यू.एस.एस.आर. मिलेर अन्तरिक्षमा आणविक हतियारहरूलाई प्रतिबन्ध लगाउने सहमति गरेका थिए। पिस्कोर प्रोग्राममा नेपाल आउनुभएका एक जे.टि.ए. माइकेल गिलका अनुसार त्यसवर्ष काठमाडौंमा रहेको विमानस्थलमा जहाज उत्रिन अघि विभिन्न ठूलो आवाजमा बाजाहरू बजाएर गाइवस्तुहरू धपाइन्थ्यो। काठमाडौंमा करिव २०० वटा जति मात्र गाडीहरू गुड्थ्यो। काठमाडौंको बाटोमा गाडी भन्दा गाइवस्तु धेरै थियो। काठमाडौंमा करिव ३ लाख जति मात्र जनसंख्या थियो। मानिसहरू आ-आफ्नो गाउँमा बस्दथे। बसाइ सराई कम हुन्थ्यो। परिवारहरूले आफ्नो खाँचोको ७० प्रतिशत जति आफैं उत्पादन गर्दथे। कृषिमा मानिसहरू अत्यन्तै निर्भर थिए। काठमाडौं उपत्यकाको उर्वर जमिनको प्रायः भागमा खेतीपाती हुन्थ्यो। मेरा बुबा र आमा कृषि जीवन विताउनुहुन्थ्यो। उहाँहरू ज्यादै कर्मठ व्यक्तित्वहरू हुनुहुन्थ्यो।
