OUR CHURCH

तिमी नारी

20 November 2016 · admin

✝
← Back to archive

अनेक रुपमा रुमलिँदै, अनुशासन र अधिनताको परिधिमा रहेर सबैलाई प्रेम, आदर, स्नेहर र माया दिने तिमी हौ नारी। परमेश्वरको इनाम स्वरुप हकको सम्पत्ति हुन जन्मसँगै सुरु हुन्छ तिम्रो अस्तित्त्व (भजनसंग्रह १२७:३; १४४:१२)। एक असल छोरीको चरित्र अँगाल्दै, ख्रीष्टको प्रेममा, बाबुआमाको अधिनमा हुर्कदै अनि बढ्दै जान्छौ। तिमी छोरी महलको समानतामा कुँदिएको कुने ढुङ्गो जस्तो (भजनसंग्रह १४४:१२), परिवारको आदरको भाग र ख्रीष्टको निम्ति एक असल साक्षी हुँदै जाऊ।

तिमी नारी लालमणीभन्दा पनि बढि बहुमूल्य छौ (हितोपदेश ३१:१०)। कसैकी पत्नि तिमी नारी आफ्नो पतिको भरोसा (हितोपदेश ३१:११), साथै पतिको आदरको मुकुट हौ (हितोपदेश १२:४)। सबै परिस्थितिसँग लड्दै आफ्नो पतिको अधिनमा उनलाई साथ दिने सहयात्री तिमी नारी। प्रार्थनामा घुँडा टेक्दै, ख्रीष्टीय प्रेम सबैतिर बाँड्दै आफ्नो पतिलाई साथ दिने सहयात्री तिमी नारी। पत्निय जिम्मेवारी सँगै ख्रीष्टको असल सेविका बन्दै जाऊ तिमी नारी।

सहनशिलताकी खानी तिमी नारी। प्रशुति पिडामा छट्पटिदैँ भएपनि आफ्नो सन्तानलाई नयाँ जीवन दिने साहसी तिमी नारी। आफ्नो पीडालाई बालकको जन्ममा खुशीमा बद्लिदिने तिमी नारी (यूहन्ना १६:२१)। आफ्नोभन्दा पहिला आफ्नो सन्तानको विषयमा सोच्ने ममताको खानी तिमी नारी। तिम्रो प्रेम र हप्कीमा हुर्किएका छोराछोरी तिम्रो शीरको मुकुट हुन सकोस्। नम्रता, दीनता र ख्रीष्टको असल चालचलनमा सबैको आशिषको कारण बन्दै जाऊ तिमी नारी।

आफ्नो जन्मघर छोडेर पराइ घर सम्हाल्ने तिमी नारी। आफ्नालाफ छोडी अरुलाई नै आफ्नो सम्झेर अडिग रहने तिमी नारी। बुद्धिले भरिपूर्ण भएर परिवारको स्थापना गरी सुन्दर घर बनाउने तिमी नारी (हितोपदेश १४:१)। रुथजस्तै आफ्नी सासुको एक असल बुहारी बन्दै घरलाई सुसज्जित र सुन्दर बनाउँदै जाऊ।

आफ्नो घर सम्हालेर सबैको लागि आशाको केन्द्र अनि मीठो वासना तिमी नारी। सबैको प्रेरणाको श्रोत र अनुभवले भरिएकी तिमी नारी, आफ्नी बुहारीको लागि नोआमी जस्तै एक असल सासु र प्रेरक बन्दै जाऊ। तिम्रो जीवनलाई पछ्याउँदै तिमी जस्तै बन्ने सङ्कल्प लिने प्रेरणा बन्दै जाऊ। तिम्रो निष्कपट विश्वास तिम्रो नातिनातिनीको लागि हौसला बनोस् जस्तो लोइस तिमोथीको लागि थिइन् (२ तिमोथी १:४)।
धोकापूर्ण मनोहरता अनि व्यर्थको सुन्दरतालाई लत्याउँदै परमेश्वरको भय मान्ने तिमी नारी सधैँ प्रशंसनीय छौ (हितोपदेश ३१:३०)। दीनता र नम्रतासाथ सहनशीलतासित एक अर्कालाई सहँदै, नम्र र शान्त आत्माको अविनाशी सिङ्गारले सिङ्गारिएकी तिमी नारी जसको मूल्य परमेश्वरको दृष्टिमा धेरै छ (एफेसी ४:२, १ पत्रुस ३:४)। असल नमुनाले भरिएर सधैँको लागि सबैको लागि असल साक्षी हुँदै जाऊ तिमी नारी।

- मेरी न्यौपाने

Thank you for reading and growing with our church family.Connect with us →