OUR CHURCH

पछिल्ला संचार माध्यमहरू र तपाई

6 February 2017 · UJ Gurung

✝
← Back to archive

 

फेसबुक, ब्लग तथा वेभसाइट सूचना आदान-प्रदानको एक प्रभावकारी पछिल्ला संचार माध्यमहरू हुन्। तर यिनको कमजोरी तथा चुनौतिहरू भनेकै व्यक्तिगत सूचनाको शुरक्षा खतराहरू रहेका छन्। यी माध्यमहरूका कारण नजीक वा टाढा रहेका मित्र आफन्तहरू माझ छिटो छरितो रुपमा सूचना तथा संचार आदानप्रदान भई प्रभावकारी सम्बन्धहरू कायम भएका छन् भने यसद्वारा उचित सन्देश वा सूचना प्रसारणको माध्यमबाट सार्वजनिक सेवा तथा सहयोगको अभिवृद्धि भएको छ। तर यिनका सही सदुपयोग नभएको अवस्थामा भने व्यक्तिगत, पारीवारिक वा संस्थागत आन्तरिक तथा गोप्य सूचना चुवाहट भई ठूलो हानी नोक्सानी निम्तिने सम्मका कार्यहरू भएका छन्। एक पटक आफ्नो स्ट्याटस, लेख-रचना, फोटो, भिडियो यी संचार माध्यमहरूमा राखिसकेपछि त्यो तपाईको व्यक्तिगत वा समूहगत नियन्त्रण बाहिर पुग्दछ। कुनै पनि व्यक्ति वा समूहबाट ती सामाग्रीहरूलाई अनावश्यक रुपमा दुरुपयोग गर्ने गराउने देखि लिएर चरित्र हत्यासम्मका काम कारवाही हुन सक्दछ। यद्यपि ती सामाग्रीहरूलाई तपाई पछिबाट आफ्नो फेसबुक, ब्लग वा वेभसाइटबाट हटाउनुहुन्छ ती सम्पूर्ण रुपमा सारा संजालबाट तपाईले हटाउन वा रद्द गर्न सक्नुहुनेछैन। तसर्थ प्रयोगकर्ताले यी संचारमाध्यमहरू मार्फत आफूले प्रकाशन गर्ने फोटो, भिडियो, स्ट्याटस वा लेखरचना कुनै एक मित्र वा समूहको लागि सोचिएको भए पनि सो नभई ती सामाग्रीहरू समग्र विश्व सामु पस्किदै भन्ने हेक्का राख्नु पर्दछ। साथै त्यसले ल्याउने प्रतिफल वा परिणामहरूको भागीदार हुन व्यक्ति तयार हुनुपर्दछ। यी संचार माध्यमहरूका कारण परिवारहरू तोडिएका छन्, जागीर वा जिम्मेवारी गुमाएका छन्, अनेकौं घटना, दुर्घटनाहरू भएका छन्। यी माध्यमहरूको सही सदुपयोग गरिए यी फाइदाजनक छन् अन्यथा अभिशाप पनि बन्न सक्दछन्।

लेखिएको छ, “हरेक मानिस सुन्नालाई छिटो, बोल्नामा ढिलो, सिकाउनमा ढिलो होओस्” (याकूब १:१९)। यी संचार माध्यमहरू हाम्रो मुखपत्र बन्न सक्दछन्। तपाईले आफ्नो फेसबुक, ब्लग वा वेभसाइटमा जे स्ट्याटस वा विचार राख्नुभएको हुन्छ त्यो तपाईको बोली हो, अभिव्यक्ति हो। तसर्थ तपाईले आफ्नो मनमा जे आउँछ, वा उठ्छ सो आफ्नो फेसबुक वा ब्लगमार्फत उगेल्नु राम्रो हुँदैन। ती अभिव्यक्तिहरू मार्फत व्यक्तिको हृदय जाँच हुन्छ, चरित्र जोखिन्छ। धेरै सिक्नुहोस् उचित मात्रामा सिकाउनुहोस्। धेरै सुन्नुहोस् कम बोल्नुहोस्। फेरि लेखिएको छ, “जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ पापको अभाव हुँदैन; तर जसले आफ्ना ओठहरूमा लगाम लगाउँछ, ऊ बुद्धिमान हो” (हितोपदेश १०:१९)। फेसबुक एक खाले वेभसाइट हो जसमा जनसाधारणको सहज पहुँचको व्यवस्था छ। व्यक्तिले आफ्ना विचार, अभिव्यक्ति सहज रुपमा स्ट्याटस, फोटो वा भिडियो मार्फत प्रकाशन गर्न सक्दछ। याद गर्नुस् तपाई जति बोल्नुहुन्छ त्यत्ति नै मात्रामा पाप गर्न सक्ने संभावना बढ्दछ। जत्ति मात्रामा तपाई आफ्नो फेसबुक, ब्लग मार्फत आफ्नो विचार अभिव्यक्त गर्नुहुन्छ उति नै मात्रामा तपाई पाप गर्ने संभावनामा रहनुहुन्छ। यी माध्यमहरू मार्फत मित्रहरूको वस्तुस्थितिको जानाकारी लिनुहोस्, प्रार्थना गर्नुहोस्। केही व्यक्तिगत सल्लाह, सुझाब छ इमेल वा म्यासेज मार्फत संचार गर्नुहोस्। गरिएका आन्तरिक पत्रहरूको आदान-प्रदानलाई गोप्य राख्नुहोस्, प्रकाशन नगर्नुहोस्। त्यसो गर्नु ब्ल्याकमेलिङ हो, मित्र विरुद्धको चरित्र-हत्या हो। यस कार्यले पनि तपाई जोखिनुहुन्छ, तौलिनुहुन्छ। परमेश्वरले तपाईलाई प्रशस्त मात्रामा समझ दिनुभएको होस्।

“अन्तमा भाइहरूहो, जे जे कुरा सत्य छन् जे जे कुरा आदरयोग्य छन्, जे जे कुरा न्यायसंगत छन्, जे जे कुरा चोखा छन, जे जे कुरा मनोहर छन, जे जे कुरा तारिफ गर्न लायकका छन्; यदि कुनै सद्गुण छ भने, यदि कुने प्रशंसा छ भने यी कुराहरूमा ध्यान देओ। जुन कुराहरू तिमीहरूले सिक्यौ, ग्रहण गर्‍यौ, सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर र शान्तिका परमेश्वर तिमीहरूको साथमा रहनुहुनेछ” (फिलिप्पी ४:८,९)।

Thank you for reading and growing with our church family.Connect with us →