OUR CHURCH

मेरो विश्वास मेरो निश्चयता

19 March 2017 · UJ Gurung

✝
← Back to archive

संघर्ष धेरै गर्नुपर्छ, जुध्नुपर्छ, लड्नुपर्छ, भिड्नुपर्छ

भाग्नुपर्छ, भगाउनुपर्छ जिन्दगीका समस्याहरूसँग

कहिले राष्ट्रका घुन र धमिराहरूसँग

कहिले वनका जूकाहरूसँग

कहिले गर्मीका पसिना र मच्छेडहरूसँग

कहिले जाडोको हिउँ र कठ्याङ्ग्रीदो सिरेटोसँग

कहिले आँशुका थोपा थोपा र आँशुका धाराहरूसँग।

 

मैले  धेरै प्रयास गरें अन्धकार, अशिक्षा, अन्धविश्वास विरूद्ध

राजनीतिको सहारा लिएर टोल, समाज र देश सुधार्न

मैले धर्मकर्म गरें पाप पखाल्न

मैले धेरै प्रयास गरें विकाश गर्न

बाटो बनाएँ, ईनार खनाए, चौतारो बनाएँ

शीपमूलक तथा आयमूलक तालिम उपलब्ध गराएँ

जातिवादी छुवाछुत प्रथाको विरूद्धमा जनचेतना जगाएँ

तर सन्तुष्टि सहितको नतिजा भेटिनँ।

 

मोक्ष प्राप्ति मानिसको आकांक्षा

चौरासी लाख जुनीको जन्म र मरणको चक्रबाटको छुटकारा

पूर्वजन्मको अनवरत प्रक्रियाबाटको पूर्ण विराम

निर्वाण प्राप्ति मानवीय इच्छा र तृष्णामाथि अंकुस

लोभमाथि विजय

प्रतिपल क्षणिक शान्ति प्राप्ति

मृत्युपछिको आशाको विलय

मैन बत्ती निभे झैं भयो

पूर्वीय संस्कृतिको चिन्तन र मान्यता।

 

न ता पूर्वीय संस्कृति, नता पश्चिमा संस्कृति

न ता मानवीय उपाय, न ता निरन्तरको संघर्ष

एकै चोटिको बलिदान पर्याप्त

अपर्याप्त मानवीय उपायहरू

कहिले मुक्ति पाऊन मुक्तिनाथको यात्रा

कहिले गंगा नदीमा स्नान

तर ख्रीष्टमा यी सब व्यर्थ

न ता अखण्ड भजन किर्तन

केवल नासरतको येशू ख्रीष्टको नाउँमा मात्र छ

साँचो शान्ति, साँचो मुक्ति

पापको क्षमा, अनन्त जीवन।

 

अब भर पर्नु पर्दैन

मानवीय उपायमाथि

“हे सबै परिश्रम गर्ने र भारिले दबिएकाहरू हो,

मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिन्छु”, येशू भन्नुहुन्छ

पापहरूबाट मानिसलाई मुक्त गर्छु, उहाँले भन्नुहुन्छ

अब संघर्ष गर्नुपर्छ कि पर्दैन, म जान्दिन

तर म यति चाहिँ ठोकुवाका साथ भन्न सक्छु

यति चाहिँ हृदय खोलेर गाउन सक्छु

“जान्दिन म परमेश्वरले प्रेम किन गर्नुभो

वा ख्रीष्टले किन बचाए अयोग्य प्राण मेरो

तर कसमाथि विश्वास गरेँ सो जान्दछु म र निश्चय छु म

कि उनलाई जे मैले सुम्पेँ राख्नेछन् सुरक्षासाथ

जान्दिन के आइपर्नेछ म मर्न भन्दा अघि

कि हुन्छ मलाई दुःख वा सुख तृप्ति वा गरिबी

जान्दिन म कहिले कहाँ येशू फेरि आउँलान

कि मरेपछि भेटौंला कि भेटुँ आकाशमा।”

 

प्रवीण कुमार परियार

Thank you for reading and growing with our church family.Connect with us →