OUR CHURCH

समग्र पोखरा निदाइरहँदा

23 October 2017 · UJ Gurung

✝
← Back to archive

समग्र पोखरा निदाइरहँदा

हामी सराङकोट उक्लिरहेथ्यौं

पूर्वी क्षितिजमा लाली नचढ्दै

अँ समग्र धर्ती नब्युँझदै।

 

यात्रा उक्लिंदै गर्दा

सरल सहज मार्गहरूमा

अचानकै बाहन रोकियो

व्यवधान र अड्चनहरूमा।

 

टाकुरी र गन्तव्यतर्फ

यात्रा पुन: बढ्यो!

कस्तो सुन्दर क्षण अनि मनमोहक

मानौं विश्व लोलाएको छ।

 

अब क्षितीजमा लाली पोतिएको छ

अनि हाम्रा हृदय मानस पटल

हाम्रा तन, नशा तरंग

तरंगिएको छ, जुरमुराएको छ।

 

गन्तव्यमा अँ टाकुरामा

असंख्या भीड मानौं सारा विश्व नै

बटुलिएको छ, जुटेको छ

सुर्योदयको प्रतिक्षामा, पर्खाइमा।

 

समग्र धर्ती कालो, चौपट्टै अँध्यारो

तर आकाश उज्यालिएको छ

क्रमश: सिंगारिएको छ

किनकि चाँडै अँ उदय हुँदैछ।

 

अचानक, अँ अचानकै

अन्नपूर्णमा अनि माछापुछ्रेमा

लाल रोशनीले छोयो

अनि सारा भीड रमायो!

 

क्लिक क्लिक क्यामेरा करायो

जनध्वनी आकाशैभरि उचालियो

आगमनको चिन्ह देखियो

अब आगमन तत्काल हुनेभो।

 

नजरहरू उत्तरमै हराइरहँदा

अचानक पूर्वमा आगमन भो

प्रतिक्षारत सूर्योदय भो

सारा भीड रमायो गज्जबै भो।

 

क्लिक क्लिक क्लाक क्लाकहरूमा

हर्षोल्लास र रमाहटहरूमा

एक पटक भीड विछट्टै रमायो

पर्खनेहरूमा आनन्द पूर्ण भो।

 

प्रतिक्षारत हज्जारौं हज्जार, लाखौं लाख

कति रमाउँदो हो आनन्दित हुँदो हो

जब उहाँको अचानक आगमन हुन्छ

बादलहरुमा अनि महिमामा।

 

U/2012

Thank you for reading and growing with our church family.Connect with us →