OUR CHURCH
✝हामी किन क्रिष्टमस मनाउँदैनौं?
17 December 2017 · admin
← Back to archive
आज नेपाली ईसाई जगतमा क्रिष्टमस मनाउने प्रवृत्ति बढ्दो छ। डिसेम्बर २५ लाई ख्रीष्ट येशूको जन्म भएको दिन भन्दै धुमधामसाथ क्रिष्टमस मनाउने गरिन्छ। एक हिसाबले हुन पनि हो...हामी मान्छेको जन्म दिन त कस्तो धुमधामसाथ मनाउँछौं भने झन् ख्रीष्ट राजाको जन्मोत्सव त अवश्य नै भव्य हुनै पर्यो नि। त्यसैले क्रिष्टमस आउन धेरै अघिदेखि नै सबै तयारीहरू गरिन्छ – मण्डली भवन डेकोरेसन, संगीत अभ्यास, नाटक, आदि इत्यादि। हिन्दुहरूको दशैंतिहार, बुद्धिस्टहरूको बुद्ध जयन्ती, मुसलमानहरूको ईद, अनि हामी ईसाईहरू चाहिँ के कम नि? हाम्रो चाहिँ क्रिष्टमस!
क्रिष्टमसलाई विशेष चाडको रूपमा संसारभर मनाइन्छ - क्रिष्टमस रूख सजाएर, एक अर्कालाई उपहार दिएर, मिठो-मिठो भोजन खाएर, घर-घर गई क्रिष्टमस गीतहरू गाएर, अनि झिलिमिली बत्तीहरू बालेर। कसै-कसैले त सान्ता क्लजको प्रतिक्षा पनि गर्छन्। सान्ता क्लजले उपहारहरू ल्याइदिन्छन् भन्ने विश्वास पनि गरेको पाइयो। क्रिष्टमसलाई येशू ख्रीष्टको नामसँग जोडिएको त हुन्छ, तर धेरैजसो संसारिक मोजमज्जालाई नै प्राथमिकता दिइन्छ। ख्रीष्टको नाम संसारको मनोरन्जनमा रमाउने एउटा वाहाना मात्रै हुन पुग्छ। त्यसैले नै होला सायद, क्रिष्टमस विश्वासीहरूले मात्रै होइन संसारभर धेरै अविश्वासीहरूले पनि मनाउने गर्छन्। अविश्वासीहरूलाई क्रिष्टमस मनाउन अफ्ठ्यारो हुँदैन। किन होला? कहिल्यै चर्च नआउने हाम्रा अविश्वासी मित्रहरू पनि क्रिष्टमसको दिनमा चर्च आउन आँतुर गर्छन्। किन होला?
क्रिष्टमस विश्वभर ठूलो संख्याका मानिसहरूले मनाउने गर्छन्। तर सबैले मनायो भन्दैमा मनाउने कुरा त भएन नि। प्रश्न सोध्नै पर्छ – के क्रिष्टमस मनाउनु उचित हो? किन हो? किन होइन? के क्रिष्टमस मनाउनु बाइबलीय हो? के यो परमेश्वरको इच्छा हो? यी प्रश्नहरूको उपयुक्त र सन्तोषजनक उत्तरहरू नभेटिकन, बहुमतको लहलहीमा लाग्नु ठूलो भूल हुँदछ।
सत्यता यो हो कि बाइबलमा कतै पनि येशू ख्रीष्टको जन्मको दिन तोकिएको छैन। त्यसैगरी, हामीले क्रिष्टमस मनाउनु पर्छ भनी बाइबलमा कतै पनि लेखिएको छैन। सच्चा हृदयले यदि कसैले परमेश्वरको वचनलाई अध्ययन गर्छ भने उसले क्रिष्टमस चाडको औचित्य कतै पनि भेट्ने छैन। तब हामी विश्वासीहरू किन अन्धा-धुन्धा संसारिक विचारहरूका पछि लागेका छौं त?
क्रिष्टमसमा गरिने धेरै कुराहरूको श्रोत बाइबल होइन तर संसारको रितीथिती हो। क्रिष्टमसको रूख सजाउने कुरा कहाँबाट आयो? घर-घर गई गीत गाउने कसरी शुरू भयो? झिलीमिली बत्ती बाल्नु पर्ने चलन कसले ल्यायो? दुखको कुरा हामी यस्ता प्रश्नहरूलाई ध्यान नदिई क्रिष्टमसको रमाइलोमा होमिन पुग्छौं। खोज-तलास गर्दै जाँदा यी सबै क्रिष्टमसमा गरिने कार्यहरू संसारका रितीथितीबाट आएको पुष्टि हुँदछ। आज हाम्रा मण्डलीहरूमा क्रिष्टमसको दिनमा संसारले आफ्नो प्रभाव भित्राउने अवसर पाउँदछ। यो तीतो विडम्बना हो।
तलका केहि तथ्यहरूलाई विचार गर्नुहोस् –
- ख्रीष्टको जन्म डिसेम्बर २५ मा भएको थिएन! यो मिती कुनै मानिसले तोकेको मिती हो। ख्रीष्ट जन्मिँदा गोठालाहरूले भेडाहरू चराउने समय थियो। गोठालाहरू बाहिर चौरमा चराइरहेका थिए। जाडो याममा यो असम्भव हुनेथियो। डिसेम्बर महिनाको चिसो समयमा बाहिर चौरमा भेडा चराउने कुरा हुँदैन थियो। ख्रीष्टको जन्म गर्मी या वसन्तयाम तिर भएको हुनुपर्छ। त्यसैगरी, ख्रीष्टको जन्मको समयमा रोमी सरकारले जनगणनाको आदेश दिएको थियो। सबै मानिसहरू आ-आफ्ना शहर या गाउँहरूमा जानु पर्ने थियो। धेरैले टाढा-टाढा यात्रा गर्नुपर्ने थियो। रोमीहरू सिपालु शासकहरू थिए। जाडो महिनामा यात्रा गर्न गाह्रो हुने थियो र रोमीहरूले यसो गर्ने थिएनन्। कतिले ख्रीष्टको जन्म जनवरी ६ का दिन मनाउने गर्छन्। ख्रीष्टको जन्म ठ्याक्कै कहिले भयो कसैलाई थाहा छैन।
- ‘साटुर्नालिया’ (Saturnalia) नामक रोमीहरूको चाड डिसेम्बर १७-२३ को समयमा मनाउने गरिन्थ्यो। यो चाडमा रोमीहरूको ‘स्याटर्न्’ (Saturn) नामक ईश्वरको पूजा गरिन्थ्यो। (Dies Natalis Solis) ‘डाइस नाटालिस सोलिस’ को अर्थ ‘विजयी शूर्यको जन्मदिन’ भन्ने हुन्छ, र यो विशेष चाड रोमीहरूले डिसेम्बेर २५ मा मनाउने गर्थे। इतिहास हेर्ने हो भने, रोमीहरूको यहि चाडहरूबाट बिस्तारै बिस्तारै ‘क्रिस्टमस’को शुरूवात भएको देखिन्छ। संसारका चाडवाडबाट शुरू भएको क्रिस्टमस पर्व मनाउनु उचित होइन।
- सान्ता क्लजको वास्तविक नाम सेन्ट निकोलस थियो। सेन्ट निकोलस २७० A.D. मा टर्किमा जन्मिएका थिए। उनी एक क्याथलिक पूजारी थिए। उनी स्थानीय नानीहरूको जुत्ताहरूमा चक्लेटहरू र पैसाहरू राखिदिने गर्थे। उनले गरीबहरूलाई उपहारहरू दिने गर्थे। असल कामहरूद्वारा मुक्ति पाउने आशा गर्दै उनले यो गरेको हुनुपर्छ। यसरी, एक मानिसको बढाइ गर्दै मनाइने चाड ठीक होइन।
- क्रिष्टमस रूखको लागि सदाबहार रूख छानिन्छ। क्रिष्टमसको चाडमा क्रिष्टमस रूख सजाउने गरिन्छ। सदाबहार रूखहरूले अनन्त जीवनको चित्रण दिन्छ भनी मिश्रीहरू, चाइनिजहरू, हिब्रूहरू, र पछि यूरोपियनहरूले पनि विश्वास गरेको पाइन्छ। रोमीहरूको ‘साटुर्नालिया’ चाडको समयमा घरहरू सदाबहार रूखका हाँगाहरूले सजाउने गरिन्थ्यो। यसरी, संसारिक सोचविचार र रिती-थितीबाट शुरू भएको क्रिष्टमस रूख सजाउने चलन उचित देखिन्न। बाइबलमा कतै पनि यसको आधार भेटिन्न।
- शूर्यलाई पूज्ने चाड ‘सोल्टिस’ का दिन रमाइलो गर्न गीतहरू गाउँदै नाच्ने गरिन्थ्यो। यसलाई क्यारोल भनिन्छ। क्यारोल (Carol) को वास्तविक अर्थ रमाहाटसाथ गाउनु या नाच्नु भन्ने हुन्छ। यसैबाट पछि क्रिष्टमसको दिन ख्रीष्टको लागि गाउने चलन आएको देखिन्छ। समय बित्दै जाँदा धेरै विश्वासीहरूबीच क्रिष्टमसको समयमा क्रिष्टमस क्यारोल गाउने चलन बढ्यो। यसमा पनि बाइबलीय आधार देखिन्न। ख्रीष्टको लागि हामी हरेक दिन नै गाउन सक्छौं! ख्रीष्टको जन्मको रमाहट हामी सधैं गर्न सक्छौं; कुनै तोकिएको दिनमा मात्रै विशेष रूपमा गर्नु कति को उचित हो?
- बाइबलमा हामीलाई जम्मा दुई कुराहरू रीति पूर्वक गर्नुपर्छ भनी बताइएको छ। यी दुई कुराहरू हुन् – बप्तिष्मा र प्रभु भोज। यी दुवै कुराहरूमा येशू ख्रीष्ट स्वयम सहभागि हुनुभयो र हामीलाई नमुना छोड्नुभएको छ। क्रिष्टमस रूख सजाउने, सान्ता क्लस मान्ने, क्यारोल गाउँदै हिँड्ने जस्ता कार्यहरू येशू ख्रीष्टले गरेको देखिँदैन।
Thank you for reading and growing with our church family.Connect with us →
