OUR CHURCH

गर्भ पतन - एक निर्मम हत्या (गर्भ पतन किन पाप हो?)

22 February 2018 · UJ Gurung

✝
← Back to archive

आज संसारभर गर्भ पतन कुनै संकोचविनै ठूलो मात्रामा गर्ने गरिन्छ। धेरैले सोंच्छन् कि गर्भ पतन गर्नु महिलाको अधिकार हो। सोंच्ने गरिन्छ कि पाठेघरबाट बाहिर ननिक्लेसम्म त्यो बच्चा मानिस नै होइन। तर परमेश्वरको वचनले यस विषयमा के भन्दछ त? के गर्भ पतन उचित छ? कि यो चाहिँ घिनलाग्दो पाप हो?

बाइबलले हामीलाई प्रष्ट बताउँदछ कि गर्भ पतन चाहिँ एक घृणित पाप हो।

गर्भ पतन हत्या हो। गर्भ पतन हुँदा, एक मनुष्यको हत्या हुँदछ। बाइबलले सिकाउँदछ कि हरेक मानिस परमेश्वरले सृष्टि गर्नुभएको हो, र आमाको पेटभित्रै एक व्यक्ति जिउँदो अवस्थामा हुँदछ। लुका १:४१ को अनुसार, इलीशिबाको बालक गर्भमा उफ्रन्छ। अर्थात्, इलीशिबाको पेटभित्र भएको बालक जिउँदो अवस्थामा थियो। अझै, भजनसंग्रह १३९:१३-१६ को खण्डमा दाऊदले साक्षी दिन्छन् कि उनी आमाको गर्भमा हुँदा नै परमेश्वरले उनीसंग व्यवहार गर्न थाल्नुभयो। अनि यर्मियाको विषयमा परमेश्वरले यर्मिया १:५ मा यस्तो भन्नुभयो, “मैले तिमीलाई पेटमा रच्नुभन्दा पहिल्यै म तिमीलाई चिन्दथें; अनि तिमी गर्भबाट निस्कनुभन्दा पहिल्यै मैले तिमीलाई पवित्र गरें...”

यी सबै खण्डहरूबाट हामी प्रष्ट बुझ्छौं कि आमाको पेटमा बढ्दै गरेको बच्चा चाहिँ एक जीवित मानिस हो। उसको जीवन अन्त्य गर्नु भनेको हत्या हो! सर्वशक्तिमान परमेश्वरले भन्नुभएको छ - “तिमीले हत्या नगर्नू!” (प्रस्थान २०:१३) परमेश्वरको यो प्रष्ट आज्ञा उलंघन गर्नु पाप बाहेक अरु के हुन सक्छ र?

त्यति मात्रै होइन, गर्भ पतन गर्ने व्यक्तिमा “स्वाभाविक माया” हुँदैन
(२ तिमोथी ३:३)। गर्भ पतनले मानव जीवनको खिसी गर्दछ। परमेश्वरले मानिसलाई अरू सृष्टिभन्दा विशेष बनाउनु भएको थियो (उत्पत्ति १:२६-२८)। यस्तो विशेष सृष्टिलाई हल्का रुपमा लिंदा, परमेश्वरकै उद्देश्यलाई हल्का ठहराइन्छ। परमेश्वरले बारम्बार इस्राएलीहरूलाई हत्या सम्बन्धि कडा चेतावनी दिनुभएको थियो। “जीवनको सट्टा जीवन” लिइने थियो।

अनि गर्भपतनले निर्दोष व्यक्तिको ज्यान लिने काम गर्दछ। यस्तो कार्य गर्नेहरू श्रापित हुन्छन् (व्यवस्था २७:२५, हितोपदेश ६:१६, १७)।

धेरैले सोंच्छन् कि गर्भ पतन गर्नु महिलाको अधिकार हो। कसैको ज्यान लिनु जति एक महिला या पुरुषको अधिकार होइन, त्यति नै गर्भ पतन पनि महिलाको अधिकार होइन, एक घृणित पाप हो। मानिसहरूको यो अघोर दुष्टताको लेखा सर्वोच्च न्यायकर्ता परमेश्वरले अवश्य लिनुहुनेछ!

“तर...हत्याराहरू...को भागचाहिँ आगो र गन्धकले जलिरहेको झीलभित्र हुनेछ; यो दोस्रो मृत्यु हो।”  प्रकाश २१:८

 

Thank you for reading and growing with our church family.Connect with us →