OUR CHURCH

गर्भपतनद्वारा महिलाविरुद्ध विभेद

22 February 2018 · UJ Gurung

✝
← Back to archive

 

गर्भे वच्चालाई गर्भैबाट तुहाउनु सामान्य कदम वा हत्या? केवल गर्भपतन वा भ्रुणहत्या? बर्तमान समाजले यसलाई दुई कोणबाट हेरिएको देखिन्छ। एकातिर यसलाई जघन्य अपराध मान्दछन् त अर्कोतिर मातृस्वास्थ्यको निम्ति एउटा सामान्य उपचारविधि। लामो समयसम्म नेपालमा गर्भपतनका निम्ति कानूनी अड्चन रहँदै आएकोमा यसलाई २००३ (वि.सं. २०६०) बाट निश्चित प्रावधानका साथ वैध तुल्याइएको छ। जस अन्तर्गत जबर्जस्ती वा हाडनाता करणी भई गर्भधान रहेमा, आमाको स्वास्थ्य स्थिति खतरानाक देखिएमा गर्भवती महिलाको सहमतिले १२ हप्ता भन्दा कम उमेरको गर्भे वच्चालाई तुहाउन सक्ने कानूनी प्रावधान रहेको छ। आमाको स्वास्थ्य स्थिति खतरानक रहेको स्थितिमा भने विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकको सहायताले १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था उक्त कानूनमा राखिएको छ। उपरोक्त प्रावधान बाहेकका घटनाहरूलाई अवैध मान्नुको साथै दण्डनीय ठहरिन्छ। तर सन् २००३ अघि बारंबार गर्भपतनको विषयमा विभिन्न व्यक्तिहरू पक्राउ गरिएका तथा जेल चलान गरिएका घटना राष्ट्रिय समाचारमा आइरहने गरिएकोमा त्यस कानून बने यता कहिल्यै उक्त विषयमा कोही कतै पक्राउ परेको वा जेल सजाय तोकिएको देखिदैन। अबको समस्या भ्रूणहत्याको वृद्धि मात्र नभई लिंग पहिचान भई गर्भेवच्चीहरू भ्रूणहत्याको व्यापक निसाना बन्न थालेको देखिन्छ। यसबाट समाजको सन्तुलनमा खलल पर्न गई महिला अशुरक्षा बढ्ने र व्यापक रुपमा महिला विरुद्ध हिंसा, बलात्कार तथा अन्य सामाजिक समस्याहरू सृजना हुनेछन्। फलत: समाज अझ क्रूर अनि कष्टप्रद हुने देखिन्छ। सन् २०११ को जनगणनाले क्रमिक रुपमा लिंग पहिचान तथा गर्भेवच्चीहरूको भ्रूणहत्या क्रमिक रुपमा वृद्धि हुँदै गइरहेको देखाएको छ। उक्त जनगणनामा ‍पूर्ण जनसंख्या २,६४,९४,५०४ मध्येमा पुरुष १,२८,४९,०४१ र महिला १,३६,४५,४६३ देखिन्छ। यसले प्रत्येक २०० व्यक्तिमा ९४ पुरुष र १०६ महिला देखाउँछ। यही गणनामा गाउँमा प्रत्येक २०० मा ९२ पुरुष, १०८ महिला देखिन्छ भने शहरमा १०४ पुरुष तथा ९६ महिला देखिन्छ। यसले यो संकेत गर्दछ कि शहरहरूमा व्यापक रुपमा लिंग पहिचान र महिला गर्भपतन कार्य वृद्धि भएको देखिन्छ।  उक्त जनगणनामा २० वर्ष माथिका उमेर समूह (१९९१ अघि जन्मेका) मा प्रत्येक २०० मा पुरुष ८७ र महिला ११३ देखिएको छ। त्यसरी नै १५-१९ उमेर समुह (१९९२ अघि जन्मेका) मा प्रत्येक २०० मा पुरुष ९७ र महिला १०३ देखिएको छ भने १०-१४ उमेर समुह (१९९७ अघि जन्मेका) मा प्रत्येक २०० मा पुरुष १०३ र महिला ९७ देखिएको छ भने ५-९ उमेर समुह (२००२ अघि जन्मेका) मा प्रत्येक २०० मा पुरुष १०४ र महिला ९६ देखिएको छ। त्यसरी नै ०-४ उमेर समुह (२००७ अघि जन्मेका) मा प्रत्येक २०० मा पुरुष १०५ र महिला ९५ देखिएको छ।

यस तथ्यांकले क्रमिक रुपमा प्रत्येक २०० मा ११३, १०३, ९७, ९६, ९५ हुँदै महिला जन्मदर तिब्र रुपमा घटिरहेको देखाएको छ। यसले नेपाली समाजमा दक्षिण एशियाका कतिवटा राष्ट्रहरू तथा विश्वका अन्य राष्ट्रहरू जस्तै सामाजिक संतुलन विग्रदै गएको देखाएको छ। नेपालका टोल टोल भने जस्तै संचालन भइरहेका मेरीस्टोप्स जस्ता संस्थाहरूले मूलरुपमा गर्भपतनकै सेवा दिंदै आइरहेको छ। यस संस्थाको सकृयता बढेसंगै भ्रूणहत्या नेपालमा तिब्र रुपमा वृद्धि भइरहेको देखिन्छ। भ्रूणहत्याका सेवाका निम्ति सहयोगी तथा दातृ राष्ट्रहरूमा संयुक्त राज्य अमेरिका अग्रपंक्तिमै पर्दछ। तर खुशीको कुरा यही वर्ष २०१७ मा बाइबलमा हात राखी शपथ ग्रहण गरेका अमेरिकी नव राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेको पहिलो दिनमै सुरक्षित गर्भपतन गराउने तथा त्यससम्वन्धी सेवा दिने गैरसरकारी संस्थाहरुलाई दिने सहयोगमाथि प्रतिवन्ध लगाएका छन्। ट्रम्पको यो निर्णयले सुरक्षित गर्भपतनसम्वन्धी कार्यका लागि आइरहेको १ करोड डलर सहायता कटौती हुने अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले जनाएको छ। राष्ट्रपति ट्रम्पको यो आदेशले सुरक्षित गर्भपतनका लागि क्रियाशील नेपाल परिवार नियोजन संघ पनि प्रभावित हुने देखिन्छ। अब आम जनतामा मातृ स्वास्थ शुरक्षा र शुरक्षित गर्भपतनको नाममा भइरहेको बढ्दो महिला गर्भपतन विरुद्ध जनचेतना बढ्नु, बढाउनु पर्ने देखिएको छ। ताकि जन्मिसकेका महिलाहरू विरुद्ध मात्र होइन गर्भेमहिला विरुद्धको विभेद अन्त होस् र सामाजिक संतुलन कायम रहोस्।

“तरै पनि प्रभुमा न ता पुरुष स्रीविना हुन्छ, न स्त्री पुरुषबिना हुन्छे। जसरी स्त्री पुरुषबाटकी हो, उसरी नै पुरुष पनि स्त्रीद्वारा हो; तर सबै कुरा परमेश्वरबाटका हुन्”
(१ कोरिन्थी ११:११,१२)। कसैले छोरी नजन्माइ दिए अर्कोले कसरी बुहारी प्राप्त गर्छ? सबैले छोरा जन्माउने भए बुहारी कसले जन्माइदिने? ख्रीष्टिय परिवारहरूले यस्तो विभेदपूर्ण कार्य गर्नुहुँदैन। पुरुष र स्त्री दुबैको आफ्ना स्थानमा उत्तिकै महत्व रहन्छ। हामी विभेद नगरौं।

गर्भको भ्रुणलाई प्रस्थान २१:२२ मा वच्चा भनिएको छ। यदि गर्भे वच्चालाई हानी भए वा मारिए परमेश्वरले सजायको आज्ञा दिनुभएको छ (प्रस्थान २१:२२,२३)। मानिसको जीवन गर्भैबाट शुरु हुन्छ (अयुव १०:८-१२)। मानिसको रचना परमेश्वरले गर्नुहुन्छ र मानिस एक व्यक्तिको रुपमा गर्भैमा बनिसकेको हुन्छ (अयुव ३१:१५; भजन संग्रह १३९:१४-१६; यर्मिया १:५; लूका १:१५,४१)। यूहन्ना गर्भैमा छँदा पवित्र आत्माले भरिए (लूका १:१५,४१)। तसर्थ गर्भावस्थाको व्यक्तिको हत्या अपराध र दण्डनीय कार्य हो। भ्रूणहत्या गर्दै नगरौं। सो अपराधिक कार्य नगर्न सल्लाह र चेतावनी दिऔं। परमेश्वरले तपाईलाई आशिष दिऊन्।

यू. जे. गुरुङ

Thank you for reading and growing with our church family.Connect with us →