OUR CHURCH

झरी र वर्षा

2 September 2018 · UJ Gurung

✝
← Back to archive

दक्षिण एशियाली हिमालय शृंखलाको दक्षिणी ढालमा अहिले झरी र वर्षा जारी छ। बंगालको खाडी हुँदै उत्तरतिर लागेको बाक्लो बादलले यस भूभागमा वर्षा ल्याइरहेछ। अनि वर्षाको कारण पाकिस्तान, भारत, नेपाल, भूटान, पाकिस्तान, चीन, बर्मा लगायत राष्ट्रहरूमा अहिले घना वर्षा भइरहेको छ। माहोल वास्तवमै रमाइलो छ यस भेगमा। यत्र-तत्र बाक्लो हरियालीले छाएको छ। समग्र यस भेगमा धान रोपाई चलिरहेको छ। धान रोपाई निकै रमाईलो र किफायती खेती पनि हो। रमाईलो यस अर्थमा कि यस खेतीमा ठूलो जनसंख्याको सहभागीता रहन्छ र यसले समग्र भूभागलाई हरियालीमय तुल्याउँछ। निश्चितै रुपमा परिश्रमको ठूलो आवश्यकता रहन्छ यसमा। घाम, पानी, कडा परिश्रमको कारण यो मौसम निकै परिश्रम आवश्यक पर्ने मौसम पनि हो। तर असोज लागेपछि देखिने र पाइने प्रतिफल निकै सुन्दर र रमाईलो हुन्छ। त्यस प्रतिफलका कारण किसानहरू औधि परिश्रम गर्छन् यस मौसममा।

यशैया ५५:१०,११ मा लेखिएको छ, “किनकि जसरी आकाशबाट पानी र हिउँ झर्छ, र त्यतैतिर फर्कंदैन, तर पृथ्वीले छर्नेलाई बीउ र खानेलाई रोटी देओस् भनेर त्यसलाई सिंच्छ, र त्यसलाई उब्जनी दिने र कोपिला हाल्ने तुल्याउँछ, मेरो मुखबाट निस्केको मेरो वचन पनि त्यस्तै हुनेछ; त्यो मकहाँ रित्तो फर्किंदैन, तर त्यसले जे म चाहन्छु, सो पूरा गर्नेछ, अनि जुन कुराका निम्ति मैले त्यो पठाएको छु, त्यसमा त्यो सफल हुनेछ”। आज सुसमाचार प्रचारको सेवाकाईको असारे मौसम छ। प्रचार गर्नेहरू धन्य हुन्। पानी, झरी, घाम नभनी ख्रीष्टको सुसमाचार सुनाउनेहरू धन्य हुन्। ख्रीष्टियनहरू आपसमै मात्र होइन तर छिमेकी, साथी, आफन्तहरूकहाँ सुसमाचार सुनाउनलाई व्यस्त हुनुपर्ने समय हो। आपसमै धेरै समय दिंदा वा आपसी समस्याहरूमा नै अल्झिरहँदा हामी रोपाई जस्तो मौसममा घरमै अल्मलिएको अवस्था हुन्छ। आपसमा समय विताउने हो तर के का निम्ति? एकार्कालाई उत्साही तुल्याउन, बलियो पार्न ताकि नयाँ मित्रहरूलाई परमेश्वरको वचन सुनाउने, बताउने रुचि होस्। परमेश्वरको वचन आकाशबाट वर्षिने पानी र हिउँ जस्तै छ जो रित्तो फर्कंदैन तर त्यसले परमेश्वरको उद्देश्य पूरा गर्छ। वर्षा याममा रोप्नेहरू शरदमा रमाउँछन्। अब विश्वासीहरू आपसमै मात्र अधिक समय बिताउने होइन तर प्रभुको महान आज्ञा पूरा गर्न अग्रसर हुनुपर्दछ। आमेन?

मर्कूस १६:१५ मा प्रभु येशू ख्रीष्टको महान आज्ञा छ, “सारा संसारमा जाओ, र हरेक प्राणीलाई सुसमाचार प्रचार गर”। प्रार्थना गरौं कि हामीमा सुसमाचार सुनाउने बोझ होस्। हामीमा पवित्र आत्माको सामर्थ्य रहोस्, बुद्धि रहोस् कि हामी ठीकसंग ख्रीष्टको सुसमाचार सुनाउँ। आत्माहरू जितियोस्। आत्माहरूलाई परमेश्वरको महिमाको निम्ति बलियो र उत्साही बनाइयोस्। लेखिएको छ, “जसले आत्माहरू जित्छ, ऊ बुद्धिमान हो” (हितोपदेश ११:३०)।

यू. जे. गुरुङ

Thank you for reading and growing with our church family.Connect with us →