OUR CHURCH

कोरोना भाइरस र बाइबल

13 May 2021 · admin

✝
← Back to archive

चाइनाको वुहान शहरबाट शुरू भएको कोरोना भाइरसको चर्चा जता ततै छ। चाइना लगायत अन्य केहि देशहरूमा पनि यस भाइरस देखा परेको छ। नेपालमा पनि यो देखा परेको छ। यो सरूवा रोग भएको आशंका गरी सबैलाई सचेत हुन विभिन्‍न मुलुकका सरकारहरूले सूचना जारि गरिसकेको छ। रूघा-खोकि जस्तै गरी शुरू हुने र बिरामीलाई च्याप्दै ल्याउने र अन्तत मृत्युसम्म पुर्‍याउन सक्‍ने यो घातक भाइरसको कारण संसारभर आज त्रास पइदा भएको छ। मानिसहरू अवश्य आँत्तिएका र भयभित छन्। कोरोना भाइरस र बाइबलको सम्बन्ध चाहिँ के छ त?

बाइबलले अन्तिम दिनहरूमा युद्ध, अनिकाल, प्राकृतिक प्रकोपहरू तथा महामारि फैलिने चेतावनी दिएको छ। लूका २१:११ को खण्डमा लेखिएको छ, “अनि ठाउँ-ठाउँमा ठूला-ठूला भुइँचाला, अनिकाल र महामारीहरू हुनेछन्; अनि आकाशबाट डरलाग्दा-डरलाग्दा दृष्य र बडे-बडे चिन्हहरू हुनेछन्।” छिट्टै परमेश्वरको क्रोध यस पृथ्वीमाथि दन्किँदै छ। महासंकष्ट कालको समयमा पृथ्वी परमेश्वरको क्रोधले ठूलो विनाशमा पर्नेछ। त्यस समयको सानो झलक अन्तिम दिनहरूमा देख्‍न सकिन्छ। धेरै मानिसहरूले पृथ्वीलाई सुन्दर र संरक्षित राख्‍न चाहान्छन्। हामीले अवश्य पृथ्वीको सहि उपभोग गर्नुपर्छ, तर सत्यता यो हो कि यस पृथ्वीको कुनै आशा छैन। मानिसहरू आफ्नो पाप र दुष्टतामा क्रोधको कचौरा भरिरहेका छन्। त्यसो भए आशा के मा छ त? कोरोना भाइरस जस्ता महामारीहरू अन्तिम दिनहरूमा सामान्य हुनेछन्, लाखौंको ज्यान जाने डरलाग्दा महामारीहरू अपेक्षा गर्न सकिन्छ। तर यी सबैबीचमा आशा छ! हाम्रो जिउँदो आशा येशू ख्रीष्ट नै हुनुहुन्छ! आफ्नो पापहरूबाट पश्‍चताप गर्दै येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनी विश्वास गर्नेहरूको लागि ख्रीष्टमा आशा र सान्त्‍वना छ। पहिलो कुरा त, सबै कुरा मिलेर परमेश्वरले आफ्ना प्रियहरूको लागि भलाइ नै गर्नुहुन्छ (रोमी ८:२८) हामी निश्‍चिन्त हुन सक्छौं कि सबै महामारीहरूबीचमा पनि हाम्रा स्वर्गीय पिताले हाम्रो वास्ता गर्नुहुनेछ। एक मानवीय पिताले त आफ्नो छोराछोरीको कति वास्ता गर्छ भने के हाम्रा स्वर्गीय पिताले अझ बढि गर्नुहुन्‍न होला र? उहाँले हामीलाई यस्ता महामारीहरूबाट जोगाउन सक्‍नुहुन्छ। यदि यस्ता महामारीहरू हामीले भोग्‍नुपर्ने उहाँको इच्छा छ भने पनि हामी आँत्तिनुपर्दैन। अन्तत सबै मिलेर उहाँले भलाइ नै गर्नुहुनेछ। दोस्रो कुरा, हामी विश्वासीहरूले मृत्युलाई नयाँ दृष्टिकोणले हेर्न सिकेका छौं। मृत्यु अन्त्य होइन, तर एक ढोका हो। पृथ्वीमा अनुपस्थित तर स्वर्गमा उपस्थित। जिउनु हाम्रो लागि ख्रीष्ट हुनुहुन्छ, तर मर्नु चाहिँ लाभ हो (फिलिप्पी १:२१)। त हामी किन त्रसित हौं? हाम्रो भविष्य सुनिश्‍चित छ!

कोरोना भाइरस भन्दा घातक महामारी पाप नै हो। संसारभर मानिसहरू पापको कारणले दिनहुँ अनन्त विनाशतिर गईरहेका छन्। भयभीत र त्रसित हुनुको साटो एक विश्वासीले अन्तिम दिनहरूमा ख्रीष्टमा दृढ भई सुसमचार प्रचार र परमेश्वरको सेवामा परिश्रम गर्नुपर्दछ। आउन लागेको भयानक क्रोध र अनन्त विनाशको बारेमा हरेकलाई प्रेममा चेतावनी दिनुपर्दछ। यस्ता माहामारीहरू अझै बढ्नेछन् भनी बुझेर, यस संसारमा हामी रहुन्जेल यत्‍नसाथ नयाँ आत्माहरू ख्रीष्टमा जित्‍नु र प्रभुको महिमाको लागि जिउनु नै हाम्रो बोझ हुनपर्दछ!

  • आदर्श गुरूङ
Thank you for reading and growing with our church family.Connect with us →