OUR CHURCH

हामी केवल धर्तीमा!

3 February 2022 · UJ Gurung

✝
← Back to archive

हामी केवल धर्तीमा, अँ, केवल धर्तीमा!

रातदिन यसैमा यसकै सेरोफेरोमा

सपना र जपना यसैमा

सबै थोक यसैमा।


यसैलाई हेर्‍यौं, यसैमा रमायौं

केवल यसकै निम्ति लड्यौं

वित्ता-वित्ताको निम्ति

इन्चि-इन्चिको निम्ति।


पसिना कति बगे, रगत बगे कति कति

मरिहत्ते गरियो यसैका निम्ति

आहूति दिइयो यसैको निम्ति

गरियो यसका निम्ति कति कति!


यसको निम्ति के मात्रै गरिएन,

केही भनेनौं, कोही भनेनौं

कसैलाई आफ्नो र आफन्त

मित्र, बन्धु केही भनेनौं।


तर छेवैको आकाशलाई भुल्यौं

हाम्रै शिरमाथिको आकाशलाई

एकै छिनलाई पनि नियालेनौं

अलिकति पनि विचार गरेनौं।


त्यसको विशालता, त्यसको सुन्दरता

त्यसको उदारता र गरिमाको ख्यालै गरेनौं

हामीले क्षणभंगुरतालाई हेर्‍यौं

तर अनन्ततालाई विर्स्यौं।


तेरो र मेरो दुनियाँमा लिप्त भयौं

विशालतालाई विर्स्यौं

म र मेरोमा सिमित भयौं

भातृत्व, बन्धुत्वलाई विर्स्यौं।


प्रतिस्पर्धा र हारजितमै घुमिरह्यौं

ओगट्नु र प्राप्तिमै केन्द्रित भइरह्यौं

तर प्रेम र मिलापलाई ध्यान दिएनौं

जीवन र यसको स्वादलाई ध्यान दिएनौं।


कहिले काहिँ आकाश मुनि बस्नु

त्यसको विशालतालाई हेर्नु

शान्त र उदारता सिक्नु

ती पनि त जीवनका एक पाटा थिए।


किन हामी मानसिक संकुचनमा जिइरहन्छौं?

किन हामी जीवनलाई जटिलताको बन्दी बनाउँछौं?

किन हामी जीवनको विशालतामा उक्लन्नौं?

कहिले काहिँ त यसो आकाशलाई हेरौं!

यू/२०१८, काठमाडौं

Thank you for reading and growing with our church family.Connect with us →