OUR CHURCH

नेपालमा सच्चाई अभियान

30 January 2023 · UJ Gurung

✝
← Back to archive

            सच्चाई नामक एक समूह अहिले नेपालका विभिन्न भागहरूमा फैलिएको पाइन्छ। लामो समयसम्म सच्चाई समूहमा आवद्ध भई सकृया कार्यकर्ताको भूमिका निर्वाह गरिसक्नुभएका दुई व्यक्तित्व विवेक खनाल, काठमाडौं तथा हुकुम परियार, पोखराका अनुसार संगत सिं बेन्च र ब्यटिस बेन्चद्वारा यो शिक्षा भारतमा प्रवेश गराइएको थियो। संगत सिं बेन्च भारतीय हुन् जसले क्याथोलिक चर्च आबद्ध एक स्कुलमा अध्ययन गरेका थिए। नेपालमा संजय तथा ज्ञानूद्वारा सर्वप्रथम यो शिक्षा भित्रिएको थियो भन्ने भनाई विवेक खनाल र हुकुम परियारको रहेको छ। ज्योति भण्डारी तथा सुरेश भण्डारीद्वारा पोखरामा यो शिक्षा भित्रिएको थियो। पोखराबाट देशका विभिन्न भागहरूमा यो शिक्षा द्रूततर रुपमा फैलिएको थियो। त्यसरी नै श्री कृष्ण आलेद्वारा चितवनमा यस शिक्षालाई व्यापक रुपमा फैलाइएको थियो। प्रकाश गैरे तथा सुशिला कट्टेल गैरेद्वारा पोखरामा ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाइ केन्द्र’ दर्ता गरी संस्थागत रुपमा यसलाई अघि बढाइएको थियो।

            भारतको नर्थ इण्डियामा तीन प्रकारका येशू सत्संगहरू थिए, येशू भक्ति सत्संग, आर्य समाज येशू सत्संग, शिख येशू सत्संग। येशू भक्ति सत्संग र शिख येशू सत्संग धेरै कुरामा ख्रीष्टियनहरूसंग मेल खान्छन्। ती समूहहरूले बप्तिस्मा, प्रभुभोज, पापक्षमा, परमेश्वरको प्रेम, स्वर्ग र नरकको विषय जस्ता बाइबलीय शिक्षाहरू सिकाउँदछन्। तर आर्य समाज येशू सत्संगले भने परमेश्वरको प्रेम, क्षमा र शक्तिको विषय जस्ता केही विषय लगायत आफ्नो दर्शन अनुकुलका निम्ति बाइबलका केही भागहरूको प्रयोग गरिएको पाइन्छ। नेपालमा प्रकाश दिप गैरेद्वारा सन् २०१४ मा संस्थापित समूह नर्थ इन्डियाको आर्य समाज येशू सत्संगसंग मिल्दोजुल्दो देखिन्छ। बाइबललाई यस समूहले सत्य वचन मान्दछ तर यस संस्थाले तोकि दिएका खण्डबाहेकका भागहरू पढ्न सर्वसाधारणलाई मनाही गरिएको हुन्छ। यस समूहले मुक्ति येशू ख्रीष्टबाट पाइन्छ भन्ने शिक्षा सिकाउँदैनन्। येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाताको रुपमा विश्वास गर्दैनन्। येशू अदृश्य गुरुको रुपमा मान्दछन्। उहाँ पनि एक साधारण मानिस नै भएको मान्दछन्। तर यस समूहमा प्रवेश गर्न रोमी १०:९ अनुसार ग्रहण गर्न लगाइन्छ। यस समूहले परमेश्वरलाई पिता र येशूलाई प्रभु तथा गुरु मान्दछन्। तर पछिल्ला समयहरूमा येशूलाई प्रभुको सट्टामा गुरु भनी सिकाउँदछन्। यूहन्ना १:१२ अनुसार ग्रहण गर्नेहरू परमेश्वरको सन्तान बनेको घोषणा गर्दछन् भने प्रेरित १:८ अनुसार परमेश्वरका सन्तान हुने सबैले शक्ति पाउने दावी गर्दछन्।

            विवेक खनाल तथा हुकुम परियारका अनुसार मानिसहरू यस समूहमा आकर्षित हुनुको मूल कारण चंगाई र आश्चर्य कर्म हुन्। उनीहरू यी कुराहरूमा जोड दिन्छन्। येशूको नाममा चंगाईको दावी गर्दछन्। मानिसहरू निको भएको दाबी गर्दछन् र मानिसहरू ठूलो संख्यामा भ्रममा परिरहेका छन्। साथै यस समूहमा लचकता पनि हुन्छ। जसले जे गर्दा पनि हुन्छ, जे पुज्दा पनि हुन्छ। यस समूहले सिकाउँदछन् कि सुख, संवृद्धि, शान्ति, उन्नति नै स्वर्गीय जीवन हो। राम्रो काम गरे स्वर्ग पुगिन्छ भनी सिकाउँदछन्। तर यस समूहले नरकको विषयमा सिकाउँदैनन्। विवेक खनाल तथा हुकुम परियारका अनुसार सच्चाईहरू आफूलाई ख्रीष्टियन भन्दैनन् तर हिन्दू नै भन्दछन्। उनीहरूले राष्ट्रिय जन गणनामा हिन्दू नै लेखे। उनीहरू दशैं तिहार मान्दछन्। “ईश्वरलाई चिज-वस्तुमा होइन, ढुंगा-माटोमा होइन, मन्दिर मूर्तिमा होइन, स्वयं आफूमा खोज्ने र पाउने विश्वास राख्दछौं” भन्ने यस समूहको शिक्षा रहेको छ। तथापि यस समूहले मूर्तिपूजा नगर्नू भन्दैनन्। सच्चाई अनुयायीहरू कुलपूजा गर्दछन्, मठ मन्दिर जान्छन्। सोंचलाई हिमाल जस्तै अग्लो बनाउन अर्थात् लचक अनि उदार बन्न प्रोत्साहन दिन्छन्। मनलाई दुनियासंग होइन तर ईश्वरसंग सदा लगाई राख्न शिक्षा दिन्छन्। गैरे समूहका आफ्नो वेभसाईट https://sachchaikendranepal.org.np/ मा सच्चाई बारे यस्तो लेखिएको छ,

            “के हो त सच्चाई? सच्चाई शब्दको अर्थ सत्य हो। सच्चाई सकरात्मक सोचको ज्योति हो। जहाँ सच्चाई छ, त्यहाँ सत्यको नै जित हुन्छ। हामी ईश्वरको प्रार्थना गर्छौं। ईश्वरलाई चिज-वस्तुमा होइन, ढुंगा-माटोमा होइन, मन्दिर मूर्तिमा होइन, स्वयं आफूमा खोज्ने र पाउने विश्वास राख्दछौं। हामी ईश्वरको संझनामा मन लगाइराख्छौं र यस अमूल्य जीवनको लागि करोड करोड धन्यवाद चढाउँदछौं। हामी मानिसको सोचको सम्मान गर्छौं र समाजमा बसेको नकरात्मक सोचलाई सकरात्मक बनाउन सधैं अग्रसर हुन्छौं। हिमाल भन्दा पनि अग्लो सोच, विचार अनि मन बनाउनुस्। तुफान भन्दा पनि तेज जोस जाँगर राख्नुस्। दुनिया सबै स्वार्थी छन्। दुनियासंग होइन, मन सदा ईश्वरसंग लगाई राख्नुस्”।

             विवेक खनाल तथा हुकुम परियारका अनुसार प्रमुख शिक्षक तथा अगुवाहरूको तालिम कार्यक्रमहरू हुन्छन्। भारतमा सिकेकाहरूले सिकाउँछन्। अनुयायीहरूलाई दिनका निम्ति उत्साह दिन्छन्। उनीहरू दशांश अर्थात् १०% मात्रा होइन २०%, ३०% दिन उक्साउँछन्। हरेक दिन संगति हुन्छ र हरेक संगतिमा भेटी संकलन कार्य गर्छन्। हुकुम परियारका अनुसार सबै सच्चाई केन्द्रहरूमा जम्मा गरिएका भेटी रकम पोखरा केन्द्रमा जम्मा गरिन्थ्यो त्यसपछि त्यो पैसा कता जान्थ्यो, केमा खर्च हुन्थ्यो कसैलाई थाहा हुँदैनथ्यो। हुकुम परियारले मात्र तनहुंमा १०० जति स्थानहरूमा सच्चाइ केन्द्रहरूको स्थापना गरेका थिए। सच्चाई अगुवाहरूले आर्थिकको विषयमा लेखाजोखा गर्नुहुँदैन भनेर सिकाउँदथे। पैसा सच्चाई केन्द्रका प्रमुख अगुवाहरूको हातमा राखिएको हुन्छ।

            विवेक तथा हुकुमका अनुसार सच्चाईहरू आफ्नै सभाघरहरू बनाउँदैनन्। तर कसैको घरमा, वा टहरामा, पार्टी प्यालेसमा संचालन गर्दछन्। घरमा गरिने सभाका निम्ति घरकैले खर्च गर्दछन्। घर घरमा जुट्नेलाई सच्चाई भनिन्छ भने ठूला ठूला केन्द्रिय भेलालाई फेलोशिप भनिन्छ। फेलोशिपहरूका निम्ति भारतबाट शिक्षकहरू आउँदछन्। उहाँहरू दुईकै अनुसार नेपालका सच्चाईहरू विभिन्न समूहरूमा विभाजित रहेका छन् जस्तै, प्रकाश दिप गैरे तथा सुशिला कट्टेल समूह – पोखरा, श्री कृष्ण आले समूह – चितवन, सुरेश भण्डारी तथा ज्योति भण्डारी समूह – पोखरा, संजय तथा ज्ञानू समूह आदि। उनीहरू विचमा शिक्षामा अन्तर रहेको छ। कुनैले बाइबलका आंशिक खण्डहरू पढ्न अनुमति दिन्छन् भने कुनैले बाइबल पढ्न दिंदैनन्। शुरु शुरुमा बाइबल पढ्न दिइन्थ्यो भने पछिल्ला समयहरूमा बाइबल पढ्न धेरैले दिएको छैन। जब सच्चाईले येशूको नाम नलिएर शुरुमा प्रभु त्यसपछि गुरु भन्ने निर्णय गरे धेरैले सच्चाई समूह छोडी चर्चहरू खोजेर गएका थिए। प्रार्थना गर्दा येशूको नाममा होइन तर गुरुको नाममा प्रार्थना गर्दछन्। विवेक तथा हुकुमकै अनुसार पोखरामा सच्चाइका एक अगुवा विक्रम श्रेष्ठले सच्चाईका एक ठूलो समूह लगेर वि.सं. २०७६ मा एक चर्च शुरु गरेका थिए जसलाई निस्सी सामुदायिक चर्च भनिन्छ। यस चर्चले आज सच्चाई समूहकाहरूलाई ख्रीष्टमा ल्याउने कार्य गर्दछ। लमजुङ वेसीशहरको शेरामा पनि सच्चाई छोडेकाहरूले एक चर्च शुरु गरेका छन्। त्यसरी नै तनहुँको दमौलीमा पनि यस समूहबाट निस्केकाहरूले एक चर्च स्थापना गरेका छन्। काठमाडौंमा पनि ठूलो संख्यामा सच्चाई समूहकाहरू ख्रीष्टियन चर्चहरूमा गइरहेका छन्।

            बिवेक खनालका अनुसार विगत वर्षहरूमा सच्चाई समूहहरूमा न्यू इन्टर्न्यासनल भर्जन (NIV) बाइबल ठूलो मात्रामा विक्री भएको थियो। सच्चाइहरू आफ्नो ठूलो प्रतिद्वन्दीको रुपमा ख्रीष्टियनहरूलाई लिंदछन्। यस समूह विश्वास गर्दछन् सच्चाईहरूद्वारा बोलिने वचन नै नयाँ प्रकाशको रुपमा विश्वास गर्दछन्। उनीहरू अन्यभाषा पनि बोल्दछन्। नेपाली भाषाका विभिन्न अक्षरहरू दोहोर्‍याउने र अक्षरहरू जोडी नयाँ नयाँ शब्दहरू दोहोर्‍याउने, तेहर्‍याउने गर्दछन्। यसरी अभ्यास गरेका नया नयाँ शब्दहरू दोहोर्‍याउँछन् र अन्यभाषा बोलिएको दाबी गर्दछन्। उनीहरू अन्यभाषा बोल्ने तालिम दिंदछन्। कतिपय सच्चाइहरू भक्तिमय तथा अनुशासित जीवन विताउँछन् भने कतिपया चाहिँ यसको विपरित जीवन जिउँछन् त कति त कुलतमा जिइरहेका हुन्छन्। पुस्तक पुस्तिकाहरू प्रकाशन गर्दैनन्। भजन पुस्तक चाहिँ छाप्दछन् जसमा लोक दोहोरी खालका भजनहरू हुन्छन्। अधिकांश भजनहरू प्रकाश तथा सुशिला गैरेद्वारा लेखिएका छन्।

            सच्चाई केन्द्रले बाइबल प्रयोग गरेको तर आफ्नो अनुकुलका निम्ति तोकिएका खण्डहरूलाई मात्र प्रयोग गरिरेहको पाइएको छ। परमेश्वर पिता, पवित्र आत्मा र येशू मसिहको नाम लिने गरेको तर सो प्रयोग बाइबलको आधारमा नभएर आफ्नो अनुकुल पार्दै हिन्दू शिक्षासंग मिलान गर्दै प्रयोग गर्न खोजिएको देखियो। शिक्षा र दर्शनलाई गहिरो र ओजनदार बनाउन बाइबलका शिक्षाको सहारा लिएको पाइयो। सच्चाईहरूका शिक्षा र दर्शन बाइबल र हिन्दू शिक्षा र दर्शनको मिस्रणको रुपमा अघि बढाइएको पाइयो। परमेश्वर पिता र मसिह येशूको नाम बारंबार लिइरहेतापनि बाइबलले बताए जस्तै परमेश्वरको पवित्रता, पापप्रतिको उहाँको घृणा र पापको ज्याला अनन्त नरकबारे शिक्षा दिंदैनन्। येशू मसिहको कुरा गरे पनि उहाँको वलिदान र वौरिउठाइको विषय उठान नगरेको पाइयो। एक अन्तर्वार्तामा ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्रका उपप्रमुख सुशिला कट्टेल गैरेले एक अन्तर्वार्तामा किन तपाईहरू बारंबार येशू मसिहको नाम लिनुहुन्छ भन्ने प्रश्नको जवाफमा भनेका छन् जुन नामबाट सबैलाई सुख शान्ति मिल्छ त्यो नाम लिने अधिकार सबैलाई छ भन्ने जवाफ दिएका थिए। त्यसो भए के तपाईहरू येशूलाई परमेश्वरको रुपमा विश्वास गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले भनेका छन् 'येशू हामी मानिस जस्तै व्यक्ति हो। हामीले उहाँलाई होइन तर उहाँलाई र हामीलाई सृष्टि गर्ने परमेश्वरलाई पुज्नुपर्दछ' भनेका थिए। उक्त अन्तर्वार्तामै उक्त सच्चाई केन्द्रका प्रमुख प्रकाश दिप गैरेलाई 'के तपाईहरू ख्रीष्टियन हो' भनी सोधिएको प्रश्नको जवाफमा 'हामी एकले अर्कोलाई तिमी ख्रीष्टियन, तिमी मुश्लिम, तिमी हिन्दू भनी अपमान गर्नुहुँदैन' भन्दै आफूहरू ख्रीष्टियन नभएको स्वीकार गरेका थिए। यी सबै धर्महरू अटाउने धर्मको रुपमा नीजले अभिव्यक्त गरेका थिए।

            त्यसैले सच्चाई शिक्षा सत्य शिक्षा नभई बाइबलको शिक्षाको नाममा भ्रामक भाषण र हल्ला फैलाउने, भीड बढाउने र आर्थिक गतिविधि बढाउने एक मार्ग देखिएको छ। केही समय अघि काठमाडौं कपनमा रहेको यस संस्थाको साखालाई बन्द गर्न स्थानीयले उजुरी दिएका थिए। छिमेकमा बारंबार मानिसहरूलाई यो वा त्यो रोग जेछ सबै निको हुन्छ भन्दै मानिसहरूलाई बोलाउने, ठूला ठूला माइकहरू लगाएर शनिवार, सोमबार र बुधबार नियमित रुपमा ठूलो आवाजमा कार्यक्रम गर्ने, हल्ला गर्ने कार्य गरेकाले उक्त सच्चाइ केन्द्रको साखा विरुद्ध उजुरी गरी बन्द गर्न लगाएका थिए। यस मार्ग नेपाली समाजको निम्ति इमान्दार र सच्चा देखिएन। नेपाली मण्डलीहरू र नेपाली समाज यसको खतरानक अभियान प्रति सचेत हुनुपर्दछ ताकि कोहि नठगियून्। 

डा. यू. जे. गुरुङ

Thank you for reading and growing with our church family.Connect with us →