OUR CHURCH

खुशी मानिसहरू

17 June 2024 · UJ Gurung

✝
← Back to archive

              वर्ल्ड पपुलेसन रिभ्युका अनुसार विश्वका सबै भन्दा खुशी दस देशहरूमा क्रमशः फिन्लैण्ड, डेन्मार्क, आइसलैण्ड, स्वीडेन, इस्रायल, नेदरलैण्ड, नर्वे, लक्जेम्वर्ग, स्वीजरलैण्ड र अष्ट्रेलिया रहेका छन्। इस्रायल बाहेक यी सबै देशहरूमा ख्रीष्टियनहरूको जनसंख्या अधिक रहेका छन्। फिन्लैण्डमा ६५.२%, डेन्मार्कमा ७३.८% आइसलैण्डमा ६९.५५%, स्वीडेनमा ६४%, इस्रायलमा ७३.६% (यहूदी), नेदरलैण्डमा ५४.१%, नर्वेमा ८४.७%, लक्जेम्वर्गमा ७३.२%, स्वीजरलैण्डमा ६१.२%, अष्ट्रेलियामा ४३.९% रहेका छन्। मानिस खुशी हुनुमा उक्त देशका देशवासीको विश्वास, जीवन संबन्धि अवधारणा पनि प्रमुख कारण रहेका हुन्छन्। यी दस देशहरूको प्रतिव्यक्ति आय पनि उच्च रहेको छ। खुशी हुनलाई आर्थिक मात्र कारण रहँदैन तर मानिसहरूको सतुष्टता र शान्तिमा पनि निर्भर हुन्छ। उदाहरणको निम्ति इस्रायललाई लिन सकिन्छ। इस्रायल खुशी देशहरूको सूचिमा चौथो स्थानमा पर्दछ जसको प्रतिव्यक्ति वार्षिक आय $४४,०६०/- रहेको छ जबकि खुशी देशहरूको सूचिमा २८औं स्थानमा रहेको साउदी अरेबीयाको प्रतिव्यक्ति वार्षिक आय $४६,१३०/- रहेको छ। खुशी देशहरूको सूचिमा यू.के. २०औं स्थानमा, संयुक्त राज्य अमेरिका २३औं स्थानमा, चीन ६०औं स्थानमा, रसिया ७२ औं स्थानमा, नेपाल ९३औं स्थानमा, इरान १०० औं स्थानमा, पाकिस्तान १०८औं स्थानमा, भारत १२६औं स्थानमा रहेको छ। नेपालको भन्दा आर्थिक स्थिति भारतको राम्रो भएता पनि खुशी देशको सूचिमा भारत नेपाल भन्दा पछाडी रहेको छ।

         खुशी के हो? संतुष्टता खुशीको मूल आधार हो। मानिससंग जे छ त्यसमा संतुष्ट रहनु खुशी हो। परमेश्वर बुद्धिमान हुनुहुन्छ। उहाँका शिक्षा, विचार उच्च रहेका छन्। पार्थिव यात्रामा मानिस कसरी खुशी रहन सक्दछन् सो उहाँले सिकाउनुभएको छ। ख्रीष्टियनहरूले यस सत्यतालाई सिक्दै आइरहेका छन् र अधिकांशले यस सत्यता अवलम्वन गर्दछन्। लेखिएको छ, “सन्तुष्टता सहितको भक्ति नै ठूलो लाभ हो” (१ तिमोथी ६:६)। “हामीसंग खानेकुरा र वस्त्र छन् भने हामी त्यसैमा सन्तुष्ट होऔं” (१ तिमोथी ६:८)। सन्तुष्टता छैन भने  प्रशस्त धन भएर पनि मानिस वेखुशी हुने गर्दछ। महत्वाकांक्षा मानव सुखको ठूलो बाधक हो। लेखिएको छ, “तर जतिले धनी हुन चाहन्छन्, तिनीहरूचाहिँ परीक्षा र पासो, अनि अनेकौं मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्छन्, जसले मानिसहरूलाई बरबादी र विनाशभित्र डुबाउँछन्। किनकि रुपियाँ-पैसाको प्रेमचाहिँ सबै खराबीको जरा हो; जुन कुराको लालच गर्दा कतिजना विश्वासबाट भड्किएका छन्, र यस्ताहरूले आफैंलाई अनेकौं पीडाहरूले छेंडैछेंड पारेका छन्” (१ तिमोथी ६:९,१०)। जब मानिस रुपिया पैसामा कहिल्यै संतुष्ट हुँदैनन् तब मानिस खुशी हुँदैनन्। उनी अनेकौं मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्छन्। ती अनेकौं पीडाहरूले पिडित हुन्छन्। तिनले खुशी गुमाउँछन्। खुशी पैसाबाट मात्र आउँदैन। पैसा-प्रमुख जीवन जिउनेहरू दुःखी जीवन जिइरहेका हुन्छन्। ठूला र सुन्दर महलभित्र छेंडैछेंडेले पिडित भइरहेका हुन्छन्। धन चंचल हुन्छ। मानिसले चंचले धनमाथि होइन तर जीवित परमेश्वरमाथि भरोसा राख्नुपर्दछ (१ तिमोथी ६:१७,१८)। एक विवेकी अनि सत्यता सिकेका मानिसको प्रार्थना अनि चाहना असाध्यै धनी हुनुमा हुँदैन। उनका निम्ति धन असाध्यै महत्वपूर्ण हुँदैन। धन उसको ईश्वर होइन। उनले यसरी प्रार्थना गर्दछ, “तपाईबाट मैले दुईवटा कुरा मागेको छु, म मर्नुभन्दा पहिले ती कुराहरू मलाई दिन इन्कार नगर्नुहोस्; धोका र झूट मबाट टाढो हटाइदिनुहोस; मलाई गरिबी नदिनुहोस्, न धनसम्पत्ति नै; मलाई मेरा निम्ति ठहराइएको भोजन दिनुहोस्; नत्र प्रशस्त भएर म तपाईलाई इन्कार गरुँला र भनुँलाः ‘परमप्रभु को हो र? अथवा गरिब भएर म चोरुँला र मेरा परमेश्वरको नाम व्यर्थमा लिउँला” (हितोपदेश ३०:७-९)। संपत्ति संबन्धमा यहूदी तथा ख्रीष्टियन शिद्धान्त यही हो। यसर्थ उनीहरू अरू भन्दा वेसी खुशी हुन सक्दछन्।

         फिलिप्पीमा रहेको तात्कालीन मण्डली गरिबी भएर नै गइरहेका थिए। गरिबीमा पनि उनीहरूले परमेश्वरको कामको निम्ति पावललाई दिए (२ कोरिन्थी ८:१-४)। तर उनीहरू खुशी थिए, आनन्दित थिए। प्रभुमा आनन्दित हुन उनीहरूलाई पावलले बारंबार उत्साह दिए। लेखिएको छ, “प्रभुमा आनन्द गर; म फेरि भन्दछु, आनन्द गर!” (फिलिप्पी ४:४)। हामी जे अवस्थामा छौं त्यसमा खुशी होऔं। कसले चिन्ता गरेर के गर्न सक्दछ र। गरिबी छ, जटिलता छ, जीवित र सत्य परमेश्वरमा सहायताको निम्ति प्रार्थना गरौं तर चिन्तित नहोऔं। परमेश्वरले समयमा छुटकारा र विजय दिन सक्नुहुन्छ। परमेश्वरलाई धन्यवाद यस उच्च शिक्षा र विचारको निम्ति। हामी सदा खुशी होऔं। हाम्रा समाज, देश खुशी होऊन्।

Thank you for reading and growing with our church family.Connect with us →