OUR CHURCH

म जन्मेको मौसम

22 December 2024 · UJ Gurung

✝
← Back to archive

आइतवार, पौष २७, २०२१ (Sunday, January 10, 1965)
                 चारैतिर मानिसहरू आज जाडो अनुभूति गरिरहेका थिए किनकि आजको दिन वर्षकै सबै भन्दा जाडोको दिन थियो। मेरी आमा गभी घले गुरुङलाई भने विहानै देखि असहजकता भइरहेको थियो। विजय दाई, मचिना दिदी, पूर्ण दाई आ-आफ्ना कार्य व्यस्ततामा थिए। देवी जंग दाई त केवल दुई वर्षको बालक खेल्नमै व्यस्त थिए। मेरा बुबा भिम पनि व्यस्त हुनुहुन्थ्यो। तरै पनि परिवारका सबै जनालाई थाहा भयो कि मेरी आमाको सुत्केरी बेथा शुरु भएको छ। मेरा हजुर बा र हजुर आमा लगायत मामा माइजूलाई पनि यस बारे थाहा भइसकेको थियो। त्यति मात्रै होइन माथिल्लो घरका साइला बा, साइली आमा लगायत नातागोता सबै नै कौतुहलतामा थिए। सबैको कौतुहलता थियो के जन्मने होला? छोरा कि छोरी? अन्तमा मेरी आमाले प्रसुति वेदना विच मलाई घरमै जन्माउनुभयो। संसारै खुशी भए। आमाले सबै कष्ट भुल्नुभयो किनकि मेरो जन्म भएको थियो। मलाई मेरी आमाले न्यानो लुगाले लपेट्नुभयो, मायाले स्याहार-सुसार गर्नुभयो। नेपालैभर त्यस रात बत्तीहरूको झिलिमिलि थियो, किनकि त्यस दिन पृथ्वी जयन्ती थियो। गोर्खाका राजा पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेको कारण त्यसदिन उनको जन्म जयन्ती मनाइन्थ्यो। म जन्मेको वर्ष पृथ्वीमा मानिसहरूको जनसंख्या ३ अरव, ३३ करोड, अठचालीस लाख ७४ हजार थियो। म भियनाम-अमेरिकी युद्धको ठीक विचमा जन्मेको थिएँ। नोवेम्वर १, १९५५ मा शुरु भएको यस युद्ध अप्रिल ३०, १९७५ मा अन्त भएको थियो। यही वर्ष शनिवार, माघ १७, २०२१ (Saturday, January 30, 1965) का दिन सर विन्स्टन चर्चिलको राजकीय अन्तेष्टि गरिएको थियो। इतिहासकै ठूलो जमात भेला भएको त्यो ऐतिहासिक दिन थियो। उनी दोस्रो विश्व युद्धमा अमेरिका, वेलायत लगायत पश्चिमा राष्ट्रहरूलाई विजयी गराउँदै दोस्रो विश्व युद्धलाई अन्त गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका वेलायती प्रधानमन्त्री एवं एक विश्व नेता थिए। उनको अन्तेस्टिको दिन चिसो मौसमको कारण घरी घरी आमाको न्यानोपना खोजिरहने म एक बालक बबुरो केवल २० दिनको मात्र थिएँ। ती दिनहरूमा कोदो कुट्ने, गुन्द्री बुन्ने, बस्तुभाउ चराउने जस्ता काम बाहेक परिवार लगायत छरछिमेकहरूलाई फुर्सतै थियो। फुर्सतिला दिनहरू भएकाले मैले ती दिनहरूमा धेरैका माया बटुलें।

Thank you for reading and growing with our church family.Connect with us →