OUR CHURCH

म एक वर्ष पुगेको दिन

12 August 2025 · UJ Gurung

✝
← Back to archive

मंगलवार, पौष २७, २०२२ (Tuesday, January 11, 1966)

           मेरो आज एक वर्ष पुगेको जन्मदिन। आज मेरी आमाले मेरो जन्मोत्सव मनाउनु भए नभए संबन्धमा स्पष्ट नभए पनि पछिल्ला जन्म दिनहरूमा जन्म दिनको खुशियालीमा उहाँले मलाई अण्डा पकाएर खुवाउनुहुन्थ्यो। म उहाँको प्राण प्यारो थिएँ। माया खोसिएको थिएन, काखे बालकलाई दिइने माया बाँडिएको थिएन। चाहे घरमा चाहे खेतवारीमा उहाँले साथमै बोकेर वा डोलीमा राखेर लैजानुहुन्थ्यो। घरमा डोलीमा सुताएर राखिएको भए खेतबारीबाट आउनुहुँदा पहिला आगो छुने अनि मात्र मलाई छुने उहाँको चलन भएजस्तै आज पनि त्यसै गर्नुभयो। बाहिरबाट आउँदा आफ्ना बच्चालाई छुनअघि आजका आमाहरू हातमा स्यानिटाइजर लगाउँछन्। भाव वा सोंच त्यस्तै हो ऊ बेलाका आमाहरूका पनि। आफ्नो बच्चालाई हानी नहोस्, अशुरक्षा नहोस् भन्ने हेतूले पहिला आगो छुने अनि मात्र बच्चालाई छुने।  मेरी आमा अनि मेरा बुबा म कान्छो छोरोप्रति दंग हुनुहुन्थ्यो। उहाँहरूले ममा सपना देख्नुभएको थियो। छोरो ठूलो मान्छे होलान्, बुबा आमाको इज्जत राख्लान्, सुख देलान् भन्ने सपना उहाँहरूले पनि देख्नुभएको थियो। देवी जंग दाई पनि अब तीन वर्ष पुगि सक्नुभएको थियो। भाईलाई माया गर्थे, साथी पाइयो भनी दंग पर्थे। दिदी मचिना भाईको स्याहार-सुसार गर्नुहुन्थ्यो, आमाको अनुपस्थितिमा उहाँले नै आफ्नो शिशू कान्छो भाईको हेर-विचार, देख-भाल गर्नुहुन्थ्यो। उहाँले आफ्नो सानो भाईलाई धेरै माया गर्नुहुन्थ्यो। यसै वर्ष विश्वमा विविध महत्वपूर्ण घटनाहरू घटिरहेका थिए। भियतनाम युद्ध चलिरहकै थिए। सोभियत संघको अन्तरिक्ष यान ‘लूना ९’ चन्द्र धरातलमा विश्वकै प्रथम यानको रूपमा उत्रेका थिए र चन्द्र धरातलका फोटोहरू खिच्न सफल भएका थिए। यस वर्ष नेपालमा राजा महेन्द्रले पंचायत व्यवस्था अन्तर्गत सकृया राजाको रूपमा शासन गरिरहेका थिए।

Thank you for reading and growing with our church family.Connect with us →