OUR CHURCH

ख्रीष्टमा सुतेकाहरू

25 April 2016 · UJ Gurung

✝
← Back to archive
१ थिस्सलोनिकी ४:१३-१८   थिस्सलोनिकीहरू विश्वासका खातिर भारी सतावटमा थिए। उनीहरूलाई सान्त्वना दिन यस पत्र लेखिएको हो। सान्त्वनाका थुप्रै आधारहरूमध्ये उनले ख्रीष्टको दोस्रो आगमनलाई पनि लिएका छन्। उहाँको दोस्रो आगमन आज प्रत्येक विश्वासीका निम्ति सान्त्वनाको महत्वपूर्ण आधार हो। यस खण्डमा पुनरुत्थान, उठाइ लगिने र पुर्नमिलनका महत्वपूर्ण विषयहरू समावेश भएका छन्।  
  • पुनरुत्थान (४:१३-१५)
       सुतिजानेहरूः सुत्नु अचेतनामा जानु होइन। प्राण सुताई हुँदैन। प्राण चेतनामै हुँदछ। ख्रीष्टमा मरेकाहरू ख्रीष्टसंग रहनेछन् (फिलिप्पी १:२३, २ कोरिन्थी ५:७)। त्यसैले येशूमा सुतेकाहरूलाई उहाँले आफ्नो साथमा ल्याउनुहुनेछ (१ थिस्सलोनिकी ४:१४)। हाम्रो शरीर डेरारूपी पृथ्वीको घर हो। यो ढल्यो भने हामीले सदा रहिरहने परमेश्वरबाटको भवन पाउनेछौं (२ कोरिन्थी ५:१)। हामी यस डेराबाट फुकाइन चाहाँदैनौं तर ओढाइन चाहान्छौं (२ कोरिन्थी ५:४)। परमेश्वरले हामीलाई यसैका निम्ति तयार पार्नुभयो जसको बैना स्वरुप पवित्र आत्मा दिनुभयो (२ कोरिन्थी ५:५)। स्वर्गमा धेरै बासस्थानहरू छन् (यूहन्ना १४:१)। केवल बासस्थान मात्र होइन धार्मिकताको मुकुट पनि तयार गरिएको छ (२ तिमोथी ४:८)। हाम्रो यस महान आशाको कारण येशू ख्रीष्टको वलिदान र बौरिउठाई हो (१ पत्रुस २:२४, १ कोरिन्थी १५:१७-२०; रोमी ४:२५)। तर जत्ति जना ख्रीष्टको आगमनसम्म जिवित रहनेछन् उनीहरूले मृत्यु चाख्न पर्नेछैन तर उनीहरूको परिवर्तन हुनेछ (१ थिस्सलोनिकी ४:१५)।
  • उठाईलगिने(४:१६-१७)
ख्रीष्टको आवाजमा मरेकाहरू त्यस दिन बौरिउठ्नेछन् र जीवितहरू उठाइलगिनेछन्। उहाँको आवाजमा मरेकाहरू बौरन्छन् (यूहन्ना ५:२५)। यही आवाजमा लाजरस चिहानबाट बौरेका थिए (यूहन्ना ११:४३)। प्रधान दूतको आवाज र परमेश्वरको तुरहीका साथ ख्रीष्ट आउनुहुन्छ (४:१६)। उठाईलगिने कार्य केवल विश्वासीहरूका निम्ति हो। यस कारण यहाँ “हामी” शब्द प्रयोग भएको छ (४:१७)।
  • पुनर्मिलन (४:१७-१८)
“उनीहरूसित एकसाथ बादलहरूमा उठाइनेछौं” भन्ने बाक्यंशले मरेकाहरू र जीवितहरू वीच अर्थात् विश्वासीहरूवीच मिलन हुन्छ। (४:१७; १ कोरिन्थी १५:५१,४२)। त्यहाँ फेरि मृत्यु, शोक, रुवाई, पीडा हुनेछैन (प्रकाश २१:४)। तसर्थ यी सत्यताहरूले हामीलाई सान्त्वना दिऊन् (१ थिस्सलोनिकी ४:१८)।   यू. जे. गुरुङ
Thank you for reading and growing with our church family.Connect with us →