OUR CHURCH

जीवनको गोरेटोमा

7 June 2016 · UJ Gurung

✝
← Back to archive

मेरो जन्म २०५२ माघ १४ गतेका दिन ललितपुर स्थित पाटन अस्पतालमा भएको थियो। सानै देखि मनलागेको कुरा नपाए मन दुखाएर बस्ने, बाहिर प्रकट गर्न नखोज्ने प्रवृत्तिको थिएँ। झगडा गर्न र रिसाउन पछि पर्दिन थिए। रिसाउने त बानी नै भईसकेको थियो। मेरो जीवनमा सानै देखि नै केही अवस्मरणीय घटनाहरू घट्न पुगे, जस मध्ये एक थियो, बाइक दुर्घटना। बाईकमा स्कुल जाँदै गर्दा बाटोमा दुर्घटना हुन पुग्यो। दुर्घटनामा मेरो अनुहार बाटोमा धिस्रेर रत्ताम्मे भएको थियो। त्यति बेला राम्रोसँग होशमा थिईन। बेलाबेलामा होश हराउँथ्यो। मेरो कम्जोरीमा परमेश्वरको अनुग्रह ममाथि भएकोले उपचारपछि म घर फर्कन सकें।

मैले सानै देखि परमेश्वरको ज्ञान हाँसिल गर्ने मौका पाएको थिएँ। तर मैले त्यो ज्ञानलाई हल्का रुपमा लिएको थिएँ। मैले त्यो ज्ञान लिएर आफ्नो जीवनमा उतार्दिन थिएँ। प्रवचनमा मन लगाउँदिन थिएँ। सुने पनि एउटा कानबाट सुनेर अर्को कानबाट उडाउने गर्थें। तर कुनै कुनै प्रवचन ह्रदयस्पर्शी हुन्थ्यो र म धेरै समयसम्म पनि मनमा लिइरहन्थें। तर मेरो सांसारिक मनले आत्मिक मनलाई जित्दथ्यो र म फेरि पुरानै बाटोमा लाग्दथें।

सानोमा मलाई सबै भन्दा डरलाग्ने विषय भनेको अँध्यारो र मृत्यु थियो। उमेर बढ्दै गएपछि अँध्यारोको डर त हराउँदै गयो तर मृत्युको डर भने अझै रहिरह्यो। म जति मृत्युको बारेमा सोच्दथें, त्यति नै धेरै भयवित हुन्थें किनकि मृत्यु पछि मेरो लागि कुनै आशा हुँदैन। पछि थाहा पाएँ मेरो लागि आशा छ। ‘अनन्त जीवन’ भन्ने शब्दावली पहिले लेखाई वा भनाईमा मात्रै सिमित थियो तर पछि त्यो शब्द अर्थपूर्ण बन्यो। अनन्त जीवनको अर्थ बुझेर मैले यसको महत्व थाहा पाएँ। तर अनन्त जीवन कसरी प्राप्त गर्ने? थाहा गरें, ‘प्रभु येशू ख्रीष्टमाथि विश्वास गरेर’। त्यसैले अन्तमा पुरानो जीवन त्यागी येशू ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाता भनी विश्वास गरें। त्यसको ४-५ महिना पछि परमेश्वरको आज्ञालाई मान्दै र उहाँको मृत्यु र बौरिउठाइको साक्षी स्वरुप वि.सं. २०६७ बैशख १ गते पानीको बप्तिस्मा लिएँ।

त्यस पछि पनि धेरै परिक्षाहरू आए। कतिमा सफल तर कतिमा असफल भएँ। तर परमेश्वरको अनुग्रह र उहाँको प्रेमले गर्दा मैले क्षमा पाएँ। स्कुलमा दुईजना सरहरू हुनुहुन्थ्यो जसले बाईबल बारे जान्न चाहानुहुन्थ्यो। उहाँहरू मलाई बाइबलका कुराहरू बुझाओस् भन्ने आशयले प्रश्नहरू गर्नुहुन्थ्यो। धेरै जसो प्रश्नहरू सजिला हुन्थे र म र्निधक्क रुपमा उहाँहरूलाई बताउँथे। तर कुनै प्रश्न अप्ठ्यारो हुन्थ्यो र आफूले चित्त बुज्दो जवाफ नदिएको महसुस हुन्थ्यो। त्यसले देखाउँथ्यो कि मलाई अझै परमेश्वरको ज्ञानको खाँचो छ। त्यसैले म लगातार बाईबल अध्ययनमा लागिरहेकोछु।

तपाईहरू मध्ये कति जना अझै पनि पुरानो जीवन विताई रहनुभएको छ होला। पुरानो जीवन कति उदास र शान्ति विहिन हुन्छ। ख्रीष्ट विना तपाईको जीवनको अर्थ हुँदैन। त्यसैले अफ्नो जीवनलाई अर्थपूर्ण बनाउनुहोस्। पाप क्षमा माग्नलाई ढिलो भइसकेको छैन। अहिले समय छ। परमेश्वर सधैं तपाईको पश्चात्तापको प्रतिक्षामा हुनुहुन्छ। परमेश्वर हामी पापीलाई बचाउन २००० वर्ष अघि यस संसारमा आउनु भई हामी पापीहरूको पाप उठाई क्रूसमा मर्नुभयो। उहाँको महान प्रेमलाई त्यसै टलेर जान नदिऔं। उहाँको अनमोल रगतको धारा बगिरहेछ त्यसलाई त्यसै बग्न नदिऔं। उहाँको रगतमा धोईएर, आफ्नो पाप मानिलिएर, उहाँमाथि विश्वास गरेर अनन्त जीवनको भागिदार बनौं।

विवेक गुरुङ, काठमाडौं

Thank you for reading and growing with our church family.Connect with us →