ख्रीष्टमा मैले नयाँ जीवन पाएँ

मेरो जन्म कास्कीको पोल्याङ भन्ने ठाउँमा भएको हो। २०५८ सालमा मेरो परिवारमा सु-समाचार आयो। त्यही समयमा नै मेरो बुबा, ममी, हजुरबुबा र हजुरआमाले परमेश्वरलाई पाउनुभयो जुन बेला म चार वर्षकी थिएँ। विस्तारै मेरो परिवारलाई सतावटहरू आउन थाल्यो। गाउँभरिको एक्लो विश्वासी परिवार भएको हुनाले मानिसहरूले गिल्ला गर्ने गर्थे। ‘पुर्खादेखिको धर्म छाडेर गाई खाने धर्म मान्ने’ भन्ने गर्दथे। तर मेरो परिवारले परमेश्वरमाथि विश्वास गर्न र उहाँमा भर पर्न कहिल्यै छाड्नु भएन। एक्लो भएता पनि प्रभु साथमा हुनुहुन्छ भनेर सधैं दृढताका साथ लागिरहनुभयो। घरमा संगति र प्रार्थना हुने हुँदा म पनि त्यसमा सधैं सहभागी हुने गर्थें। मलाई कुनै पनि धर्मको विषयमा थाहा नभएको हुनाले परिवारले जस्तो शिक्षा दिनुभयो त्यसैमा म हुर्कें।

एक्लो विश्वासी परिवार, त्यसमा पनि वरपर शिक्षा मिल्ने चर्च नभएकोले हामी संगतिको लागि लमजुङ जाने गर्थ्यौं। पहिलेको समयमा हामी हिड्दै त्यहाँ पुग्थ्यौं भने अहिले चाहि यातायातको सुविधा छ। एवेनेजर चर्चबाट पास्टर यू.जें. अंकल र अन्य विश्वासीहरुले पनि हामीलाई धेरै सहायता गर्नु भएको थियो। समय समयमा घरमा नै आएर संगति दिने गर्नुहुन्थ्यो। म बाइबल भने पढिरहन्थें। समय बित्दै गयो, बाइबल बुझ्दिनथें। परमेश्वरलाई नै विभिन्न प्रकारका प्रश्नहरू गर्दथें। ‘के तपाई नै सारा थोकहरू बनाउनुहुने र मलाई पनि बनाउनुहुने परमेश्वर हुनुहुन्छ? मेरा सामु आउनुहोस् र मेरा प्रश्नहरूका जवाफ दिनुहोस् अनि विभिन्न प्रकारका कामहरू गर्नुहोस्’ भन्ने जस्ता प्रश्नहरू गर्ने गर्दथें।

समय वित्दै गयो। तर पनि म पापी हुँ र मैले पश्चात्ताप गर्नुपर्दछ भन्ने कुरामा तयार भने भइन। त्यस्तै क्रममा एउटा चर्चमा म गएको थिएँ र त्यहाँ परमेश्वरको आउनेवाला राज्यको विषयमा सिकाइएको थियो। यो विषयले मेरो हृदयमा छुट्‌टै खालको महसुस हुन थाल्यो। प्रकाशको पुस्तकद्वारा प्रचार गरिंदा म डराएँ र सुसमाचारीय पदहरूद्वारा प्रचार गरिंदा म पापी छु भन्ने कुरा महसुस गर्न थालें। यूहन्ना ३:१६, रोमी ३:१०,२३ अनुसार साँच्चै नै मेरो हृदय पहिले जस्तो हठी भएन। यति वेला साँच्चै नै मेरो हृदयले परमेश्वरलाई खोज्यो र परमेश्वरले पनि मलाई त्यही बेला म पापी छु र मेरो अन्त्य चाहिँ नरक हो भनेर बुझ्न तयार बनाउनुभयो र प्रभु येशू ख्रीष्टमा जीवन छ भन्ने कुरा बुझें। म पापी हुँ मेरा पापहरूका निम्ति येशू ख्रीष्ट त्यस कलवरीको क्रूसमा हात-पाउमा काँटी ठोकी कोर्रा लगाई टाँगिनु भयो र उहाँ मरेको मरै हुनु भएन। तर उहाँ त तेस्रो दिनमा बौरेर उठ्नुभयो र आज सम्म पनि जिवित हुनुहुन्छ भन्ने कुरालाई मैले विश्वास गरें। मेरा पापहरूका निम्ति त्यही समयमा नै कायल हुँदै दुःखी हुँदै सबै पापहरूका निम्ति प्रभु येशू ख्रीष्टसंग क्षमा मागें। अनि त्यहि समयमा नै मैले मुक्ति पाएँ र परमेश्वरलाई धन्यवाद दिएँ। म जस्तो पापीलाई पनि परमेश्‍वरले प्रेम गर्नुभयो। पापको दलदलमा फसिरहेको म किशोर अवस्थाको आँखाका अभिलाषालाई हेर्ने म छुद्र र तुच्छ विचार भएको म साँच्चै नै पापी थिएँ। तर येशू ख्रीष्ट साँच्चै निर्दोष हुनुहुन्थ्यो, पापरहित हुनुहुन्थ्यो, पवित्र हुनुहुन्थ्यो। म जस्तो पापीका निम्ति बहुमूल्य रगतद्वारा जीवन दिनुहुने येशू ख्रीष्ट मात्र हुनुहुन्छ। उहाँ वाहेक कुनै पनि ईश्वरहरू छैनन्। संसारमा विभिन्न प्रकारका धर्महरू छन्, मूर्तिहरू छन्, जसका आँखाहरू छन् तर देख्दैनन्। कानहरू छन्, तर सुन्दैनन। खुट्टाहरू छन्, तर हिँड्दैनन। तर मैले विश्वास गरेको प्रभु येशू ख्रीष्ट चाहिँ आजसम्म पनि जीवित हुनुहुन्छ। उहाँ एक मात्र मुक्तिदाता हुनुहुन्छ। २ कोरिन्थी २:१७ अनुसार म नयाँ हुँदैगए प्रभुमा बढ्दै गएँ, वचनहरूलाई बुझ्दै गएँ। बाइबलमा भएका प्रत्येक पदलाई प्रेम गर्दै गएँ। बाइबलका पदहरू मेरा निम्ति जीवन, ज्योति, शिक्षा, असल साथी, सुनभन्दा पनि बहुमूल्य र महभन्दा पनि गुलिया वचनहरू हुन थाले। मेरो जीवन परिवर्तन हुँदै गयो। परमेश्वर मेरा साथी हुनुभयो मलाई थाहा छ एक दिन परमेश्वर मलाई लिन आउनुहुनेछ र त्यस अनन्त राज्यमा म प्रवेश गर्नेछु जहाँ कुनै पनि शोक चिन्ता, फिक्रि हुनेछैन र स्वर्गमा रमाउनेछु।

२०७३ साल भाद्र महिनामा मैले पानीको बप्तिस्मा पनि लिएँ र वेथेस्दा चर्च, लमजुङमा गाभिएँ। त्यस पछि प्रभुको काममा लागें। विस्तारै समय वित्दै गयो। मेरो हृदयमा जीवन साथीको निम्ति प्रार्थना गर्नुपर्दछ भन्ने विचार आयो र मैले प्रार्थना गर्न थालें। ‘असल र प्रभुको सेवामा नै रहेको तपाईंका इच्छा अनुसारको तपाईको समयमा मलाई दिनुहोस्’ भनी मैले परमेश्वरलाई निरन्तर प्रार्थना गर्न थालें। त्यसको जवाफ चार वर्षपछि पाएँ। साच्चै नै परमेश्वरले मलाई प्रभुमा रहनुभएको एउटा असल जीवन साथी दिनुभयो। प्रभुमा नै रहनु भएको एउटा असल परिवार पनि दिनुभयो। उहाँले मलाई उपहार स्वरूप छोरी पनि दिनुभयो। एउटा असल मण्डली पनि दिनुभयो वरपरका विश्वासी परिवारहरूले गर्दा मलाई प्रभुमा बढ्न झन सहायता मिलेको छ। परमेश्वरको इच्छा र योजनाले आज म काफलडाँडा ब्याप्टिष्ट चर्चको सदस्य भएको छु। अब मलाई कुनै पनि कुराको फिक्री छैन परमेश्वरलाई समयमा नै पाएको छु। जुन‌सुकै दुःख कष्ट आइपरेता पनि म पछि हटेर संसारतर्फ मन लगाउने छैन। किनकि मलाई उहाँले धेरै आशिष पनि दिनुभएको छ । त्यसैले म दृढताका साथ उहाँमा लागिरहन्छु।

संसारका थोकहरू वितिजान्छ र यसमा मन लगाउने पनि तर मेरा प्रभु येशू ख्रीष्टबाट म कहिल्यै पनि पछि हट्ने छैन। संसारमा रहुन्जेल विभिन्न प्रकारका कष्टहरु भोग्नु परेता पनि म भोग्नेछु तर संसारका नष्ट भई जाने कुराहरूमा म फर्कने छैन। परमेश्वरले सृष्टि गर्नु भएका कुराहरूलाई म पुज्दिन। तर संसारलाई सृष्टि गर्ने सृष्टिकर्तालाई म पुज्दछु। किनकि उहाँ महान हुनुहुन्छ। उहाँको महानताको अघि म केही पनि होइन। त्यसैले म सदा-सर्वदा उहाँको महिमा गर्दछु। आकाशका ताराहरूले, पहाडहरूले, हिमालहरूले, बोटविरुवाहरूले नदिनालाले र सबै सृष्टि गरिएका थोकहरूले उहाँको महिमा गर्दछन्। तर हामी मानव जाति जसको विवेक छ, असल र खराब छुट्‌याउन सक्छौं तर त्यही पुरानो मानिसलाई नै सधैं बोकेर हिडिरहेकाछौं। समय छँदा नै प्रभु येशूमा विश्वास गर्नु नै मृत्युबाट जीवनमा सर्नु हो।

एलिसा भुजेल विस्ट