
स्कटलैण्डका महारानी मेरीका छोरा जेम्स प्रथम इंगलैण्डका राजा बनेपछि एक हजार जना प्युरिटनहरूले राजा समक्ष एक विन्तीपत्र चढाएका थिए जसलाई इतिहासमा हजारीय विन्तीपत्र (The Millenary Petition) भनिन्छ। त्यस विन्तीपत्रमा उल्लेखित विषयहरूमा छलफलका गर्नका निम्ति एक सम्मेलनको आयोजना गरिएको थियो जसलाई ह्याम्पटन कोर्ट कन्फेरेन्स (The Hampton Court Conference) भनिन्छ। कन्फेरेन्स प्युरिटनहरूको विपक्षमा अघि बढे पनि डा. जोन रेनोल्डको एउटा सल्लाहले राजा जेम्स प्रथमको ध्यानाकर्षण भएको थियो। उनले “इंगलैण्डका चर्चहरूका आराधना सभाहरूमा प्रयोग गर्न प्रथम भाषाका बाइबलहरू अर्थात् हिब्रू र ग्रीकभाषाबाट एउटा राम्रो बाइबल अनुवाद गरियोस् र प्रकाशन गरियोस् जसमा कुनै टिप्पणीहरू नहोस्” भनेका थिए। कारण यो थियो कि ख्रीष्टियन सम्प्रदायहरूले आफ्नो बाइबल प्रकाशन गर्दा आ-आफ्नो बुझाई बमोजिमका टिप्पणीहरू बाइबलमा संग्रहित गर्दथे जुन टिप्पणी वा व्याख्या अर्को सम्प्रदायका निम्ति ग्राह्य हुँदैनथ्यो। फलस्वरूप ख्रीष्टियनहरूका माझमा कुन बाइबल प्रयोग गर्ने भन्ने संबन्धमा अधिक विवादहरू उत्पन्न भएका थिए। बाइबल अनुवादका निम्ति प्रयोग गरिने श्रोतहरूमा पनि विभिधता थियो। उक्त सल्लाहलाई राजा जेम्स प्रथमले मन पराए र जुलाई २२, १६०४ मा उनले नयाँ बाइबल अनुवाद गर्न ५४ जना अनुवादकहरूको नाम घोषणा गरे र अनुवाद कार्य सन् १६०७ मा प्रारम्भ भएको थियो। उक्त समूहद्वारा अनुबादित उक्त बाइबल सन् १६११ मा प्रकाशन गरिएको थियो जसलाई किंग जेम्स बाइबल (KJV) भनिन्छ। यस बाइबल अनुवादका प्रमुख श्रोत हिब्रू मेसोरेटिक टेक्स्ट र ग्रीक टेक्स्टस रिसेप्टस थियो। यस बाइबल यति प्रभावकारी रह्यो कि अंग्रेजी भाषीहरूका विचमा यस बाइबलका प्रयोगकर्ताहरू विगत चार सय वर्षदेखि अहिलेसम्म पहिलो स्थानमा रहँदै आएको छ। यही कारण पनि पुरानो नियम हिब्रू मेसोरेटिक बाइबल, नयाँ नियम ग्रीक टेक्स्टस रिसेप्टस अनि अंग्रेजी केजेभी बाइबललाई विभिन्न भाषाहरूमा अनुवाद र प्रकाशन गर्न नेतृत्व प्रदान गर्दै आइरहेको ट्रिनिटेरियन बाइबल सोसाइटीले आफ्ना बाइबलहरूमा कहिल्यै टिप्पणीहरू राख्दैनन्। टिप्पणीहरू राख्दाको समस्याको एक ज्वलन्त उदाहरण नेपाल बाइबल सोसाइटीद्वारा प्रकाशित अनि नेपालीहरू माझ ठूलो संख्यामा वितरित नेपाली न्यु रिभाइज्ड भर्जन (NNRV) लाई लिन सकिन्छ।
नेपाली न्यु रिभाइज्ड भर्जन (NNRV) मा हरेक पुस्तक अघि राखिएका पुस्तक परिचय ठीकै स्तरको रहेको छ। यसले सामान्य मात्रामा परिचय दिएको छ। तर कतिपया पुस्तकहरूको परिचय संतोषजनक नभएको पनि पाइएको छ। ती मध्ये पुस्तक श्रेष्ठगीतको परिचयात्मक लेख एक हो। समस्या पुस्तक परिचयहरूको भन्दा उक्त बाइबलको पछाडी राखिएका शब्दार्थ सूचीमा रहेको छ। ‘मण्डली’को परिभाषामा केही समस्याहरू रहेका छन्। यसमा मण्डली शब्दको अर्थ दुई वटा दिइएको छ। “पहिलो चाहिँ, मण्डलीचाहिँ कुनै एक ठाउँमा विश्वासीहरूको एउटा स्थनीय संगति वा मण्डली हो। दोस्रो, मण्डली ख्रीष्टियनहरूको विश्वव्यापी अदृष्य आत्मिक संगति हो।” पहिलो व्याख्या राम्रै देखिएपनि पछिल्लो व्याख्याले रोमन क्याथोलिक मण्डलीको व्याख्यालाई समर्थन गर्दछ। रोमन क्याथोलिकहरूले स्थानीय मण्डलीलाई ‘मण्डली’ भन्दैन। उक्त चर्चको व्याख्या अनुसार विश्वव्यापी रूपमा उनको एक मात्र मण्डली रहेको हुन्छ जसको एक मात्र पास्टर हुन्छ, जो ‘पोप’ हुन्। तर बाइबलमा सामान्यतया मण्डली शब्द कुनै एक स्थानमा नियमित रूपमा भेला हुने ख्रीष्टियनहरूको सभालाई ‘मण्डली’ भनी उल्लेख गरिएको छ। ग्रीक शब्द एक्लेसिया ‘एक’ र ‘कलेओ’ बाट बनेको हो। ‘एक’ को अर्थ हुन्छ ‘बाहिर’ अनि ‘कलेओ’ को अर्थ हुन्छ ‘म बोलाउँछु’। तसर्थ ‘एक्लेसिया’ शब्दको अर्थ हुन्छ बाहिर बोलाइएको। अनि प्रयोगमा ‘एक्लेसिया’ शब्दको अर्थ हुन्छ ‘सभा’ वा ‘समूह’। तसर्थ ‘एक्लेसिया’ एक व्यवस्थित सभा वा समूह हो जसका सदस्यहरू संसारबाट परमेश्वरको महिमाको निम्ति बाहिर बोलाइएको हुन्छ। १ कोरिन्थी ११:१८ मा लेखिएको छ, “किनकि सबभन्दा पहिला म सुन्दछु, तिमीहरू मण्डलीमा भेला हुँदा तिमीहरूका वीचमा फाटो हुन्छ अरे..”। यसरी ख्रीष्टियनहरू एक ठाउँमा वा मण्डली जुट्ने स्थानमा एक साथ भेला गर्दथे। तसर्थ एक्लेसियाको अर्थ नयाँ नियममा एक ठाउँमा भेला हुने विश्वासीहरूको समूह भन्ने बुझिन्छ। नयाँ नियममा ‘मण्डली’ वा ‘मण्डलीहरू’ शब्दहरू ११४ पटक दोहोरिएको छ। नयाँ नियममा प्रयोग गरिएको मण्डली शब्दको प्रयोजन अनुसार मण्डली ‘सभा’ हो। नयाँ नियमको अर्थ र प्रयोजन अनुसार मण्डली स्थानीय हुन्छ (प्रेरित ८:१; १३:१; १ कोरिन्थी १:२)। मण्डली दृष्य हुन्छ (२ कोरिन्थी १:१,१५,१६; १ थिस्सलोनिकी ३:१०)। मण्डली संगठित हुन्छ (१ कोरिन्थी १४:४०; कलस्सी २:५; तीतस १:५; १ तिमोथी ३:१५)। मण्डली व्यवस्थित हुन्छ। मण्डली वैधानिक हुन्छ। मण्डली बाइबलीय आधारमा बसालिएको हुन्छ। नयाँ नियम मण्डली सम्बन्धमा माथि उल्लेखित व्याख्याले प्रचलित कतिपया मण्डलीहरूलाई समावेश गर्दैन, जस्तै विश्वव्यापी मण्डली, अदृश्य मण्डली आदि। विश्वव्यापी मण्डली शिक्षा कार्थेजका विशप साइप्रियन (२००-२५८) बाट शुरु भएको थियो। उनका अनुसार संसारभरका सबै ख्रीष्टियनहरू मिलेर एउटा मण्डली बनेको हुन्छ। त्यस शिक्षाले रोमन क्याथोलिक चर्चको स्वरुप निर्माण गरेको हो। रोमन क्याथोलिक चर्चले सिकाउँदछ मण्डली अदृश्य र विश्वव्यापी हुन्छ।
यसरी नै नेपाली बाइबल एन.एन.आर.भी. मा बप्तिस्मा संबन्धमा त्रुटिपूर्ण व्यख्या भएको छ। यसमा लेखिएको छ, “पुरानो करारमा गरिएको प्रयोग अनुसार बप्तिस्माको अर्थ सफा अथवा सफा-सुग्घर गर्ने काम हो।” “नयाँ करारमा भएको प्रयोग अनुसार, बप्तिस्माचाहिँ ख्रीष्टको नाउँमा अथवा पिता, पुत्र र पवित्र आत्माको नाउँमा विश्वास गर्नेमाथि पानी हाल्ने उत्सव हो। पानी छर्केर वा खन्याएर हाल्न सकिन्छ, अथवा बप्तिस्मा लिने व्यक्तिलाई पानीमै डुबाउन सकिन्छ।” बप्तिस्माद्वारा मुक्ति पाईदैन भनिएको छ, तर यो पनि भनिएको छ, “छोटकरीमा बप्तिस्मा हामीले मुक्ति पाउने एउटा चिन्ह हो।” बप्तिस्मा संबन्धमा यसले यसरी व्याख्या गर्यो, ‘बप्तिस्मा सफा-सुग्घर गर्ने काम हो; पिता, पुत्र र पवित्र आत्मामाथि विश्वास गर्नेमाथि पानी हाल्ने उत्सव हो; बप्तिस्मा पानी छर्केर वा खन्याएर लिन सकिन्छ, पानीमै डुबाउन पनि सकिन्छ, बप्तिस्मा मुक्ति पाउने एउटा चिन्ह हो। यस व्याख्याले छिटकाउद्वारा बप्तिस्मा दिनेहरूलाई बल मद्दत गरेको छ। बप्तिस्माले ख्रीष्टसंग गाडिएको र बौरिएको चित्रण दिंदछ। बप्तिस्मालाई गडाई भनिएको छ (कलस्सी २:१२)। उहाँसंगै बप्तिस्माद्वारा मृत्युभित्र गाडिएको चित्रण बप्तिस्माले दिंदछ (रोमी ६:४)। गाडिनुलाई केले चित्रण गर्दछ, डुबाउनुले कि छिट्काउनुले? डुबाउनुले। बप्तिस्मा दिने यूहन्नाले कहाँ बप्तिस्मा दिने गर्दथे? यर्दन नदीमा (मत्ती ३:६)। बप्तिस्मा दिने यूहन्नाले एनोनमा बप्तिस्मा दिनुको कारण के थियो? त्यहाँ प्रशस्त पानी थियो (यूहन्ना ३:२३)। येशूले बप्तिस्मा लिनुभएपछि उहाँ केबाट निस्कनुभयो? पानीबाट (मर्कूस १:१०)। फिलिपले इथोपियाका मानिसलाई बप्तिस्मा दिने समयमा दुबैजना पानी भित्र के गरे? दुवै पानीभित्र पसे (प्रेरित ८:३८,३९)। यी पदहरूको अध्ययनबाट, बप्तिस्माको सहि तरिका के रहेको पाइयो? छिट्काउनु, खन्याउनु कि डुबाउनु? निश्चय रूपमा डुबाउनु नै बप्तिस्माको सहि तरिका थियो। ‘बप्तिस्मा’ शब्द ग्रीक शब्द “व्याप्टिजो” बाट साभार गरिएको हो जसको अर्थ “डुबाउनु” हो। ७५४ ई.सं. मा पोप स्टेफन दोस्रोले बिरामीहरूले “खन्याउने” विधिबाट बप्तिस्मा लिन सक्छन् भनी घोषणा गरेका थिए। १३११ ई.सं. मा रभिनाका रोमन क्याथोलिक काउन्सिलले प्रथम पटक छिट्काउको बप्तिस्मालाई औपचारिक मान्यता दिएका थिए। यी समयहरूभन्दा अघि डुबाइ नै बप्तिस्माको विधि थियो। अठारौं शताब्दी सम्ममा पनि रोमन क्याथोलिकका केही समूहहरूले डुबाएर नै बप्तिस्मा दिने गर्दथे।
तसर्थ बाइबलमा टिप्पणीहरू नराख्नु राम्रो, राखेमा पनि ज्यादै बुद्धिमानीसाथ लेखिएका सामाग्रीहरू मात्र राख्नु उचित हुन्छ। सो नभए बाइबलको प्रसारणमा सहयोग होइन तर बाधा हुन्छ। फलस्वरूप लक्ष हाँसिल गर्न मुश्किल हुन्छ।
पास्टर डा. यू. जे. गुरुङ