
सन्तान जन्म आशिष कि अभिषाप
सन्तान जन्माउनु आशिष कि अभिषाप? बुद्धिमानी कि मूर्खता? पछि परेका राष्ट्रहरूका महिलाहरूले धेरै जन्माउने र विकसित राष्ट्रहरूका महिलाहरूले थोरै जन्माउने भाष्य बनेको छ विश्वमा। कति हदमा त्यो सहि होलान् तर अहिले घट्दो जनसंख्या विकसित राष्ट्रहरूको निम्ति एक टाउको दुःखाई बनेको छ। विकिपिडियाका अनुसार सन् २०२३ मा सिंगापुर, चीन, थाइलैण्ड, जापान, भुटान, स्वीटजरलैण्ड, जर्मनी, अष्ट्रेलिया, उत्तर कोरिया, कतार, मलेसिया, फ्रान्स, बंगलादेश, नेपाल, भारत आदि राष्ट्रहरूमा जन्मदर घट्दो रहेको छ। यूए.एस.ए. र यू.के.मा अप्रवासीहरूको कारण जन्मदर सन्तुलनमा रहेका छन्। विकिपिडियाका अनुसार सन् २०२३ मा प्रति महिला शिशू जन्मदर हङकङमा ०.८ जना रहेको थियो अर्थात् हङकङमा एक महिला बराबर १ शिशू जन्मेनन्। यसको अर्थ ठूलो संख्यामा महिलाहरूले शिशू जन्माएनन्। जन्माएकाहरूले १ वा २ जना मात्र जन्माए। त्यसरी नै दक्षिण कोरियामा प्रति महिला शिशू जन्मदर ०.९, सिंगापुरमा १, चीनमा १.२, थाइलैण्डमा १.३, जापानमा १.३; रसिया, जर्मनी, क्यानडामा १.५ रहेका छन्। त्यसरी नै यू.के., ब्राजिल, अष्ट्रेलियामा १.६ रहेका छन्। यू.एस.ए.मा १.७, उत्तर कोरियामा १.८, न्युजिलैण्डमा १.८, भारतमा २, नेपालमा २, इस्रायलमा २.९; इथियोपियामा ४, चाडमा ६.१ रहेका छन्। सबै भन्दा बढि जन्माउने देश नाइजर रहेका छन् जहाँ एक महिलाले ६.७ जना शिशू जन्माउँछन्।
शिशू जन्मदर विकासमा मात्र होइन विश्वासमा पनि आधारित रहेको पाइन्छ। मुश्लिम राष्ट्रहरूका महिलाहरूले धेरै जन्माउने गरेको पाइएको छ। त्यसपछि यहूदी वा ख्रीष्टियन बाहूल्य राष्ट्रहरूका महिलाहरूले धेरै जन्माएको देखिन्छ। नाइजरमा ९९.३% जनसंख्या मुश्लिम रहेका छन्। चाडमा ५२.१% मुश्लिम, ४३% ख्रीष्टियन रहेका छन्। इथियोपियामा ६७.३% ख्रीष्टियन, ३१.३ मुश्लिम रहेका छन्। इस्रायलमा ७३.६ यहूदी, १८.१% मुश्लिम, १.९% ख्रीष्टियन रहेका छन्। भौतिकवाद उन्मुख, धर्ममा कम आस्था राख्ने वा धार्मिक शिक्षामा कम मात्रामा बसालिएका देशहरूमा महिलाहरूले कम शिशू जन्माउने गरेको देखिएको छ।
राज्यका आवश्यक तत्व जनसङ्ख्या, भूमि, सरकार, सम्प्रभुता हुन्। राज्यलाई नभई नहुने एक महत्वपूर्ण तत्व भनेको जनसंख्या हो। जनसंख्या विना राज्य मात्र होइन कुनै पनि समाज, सम्प्रदाय वा समूह वा परिवार रहँदैन। त्यसैले जापान, सिंगापुर, चीन लगायत युरोपियन राष्ट्रहरूले शिशू जन्मलाई प्रोत्साहन दिइरहेका छन्। १४ फेब्रुवरी २०२३ बाट लागु हुने गरी सिंगापुर सरकारले बेबि बोनस क्याश गिफ्ट दिने गरेको छ। पहिलो वच्चाको निम्ति सरकारले उक्त परिवारलाई $११,०००.०० दोस्रो वच्चाको निम्ति $ १४,०००.००, तेस्रो वच्चाको निम्ति १३,०००.००, चौथो बच्चा देखि माथिको संख्याको निम्ति वच्चै पिच्छे $१६,०००.०० दिने गर्दछ। त्यसरी नै बच्चा हुर्काउनको निम्ति सरकारले उक्त परिवारलाई ग्रान्ट दिने गर्दछ। सरकारले परिवारलाई पहिलो वच्चाको निम्ति $१२,०००.००, दोस्रो वच्चाको निम्ति $१५,०००.००, तेस्रो वच्चाको निम्ति $१६,०००.००, चौथो वच्चाको निम्ति $१६,०००.००, पाँचौं र सोमाथिको संख्यामा प्रति वच्चा $२२,०००.०० ग्रान्ट प्रदान गर्दछ।
जापान सरकारले बच्चा जन्माउने परिवारलाई बच्चाको उमेर ३ वर्ष भएसम्म प्रति महिना १५,०००.०० एन प्रदान गर्दछ। त्यसपछि १२ वर्षको उमेरसम्म परिवारलाई प्रति महिना १०,०००.०० एन प्रदान गर्दछ। तेस्रो वच्चाको १२ वर्षको उमेरसम्म निम्ति सरकारले १५,०००.०० प्रति महिना प्रदान गर्दछ। १२ देखि १५ वर्षको उमेरसम्म प्रति महिना १०,०००.०० एन प्रदान गर्दछ। न्युजिलैण्ड सरकारले वच्चा जन्माउने कर्मचारी अविभावकहरूलाई सरकार र संबन्धित कार्यरत कार्यालयबाट पेड प्यारेन्टल लिभ अर्थात् तलव सहित विदा प्रदान गर्दछ। साथै वच्चा भएका अविभावकहरूलाई प्रति वच्चा $६५.०० प्रति हप्ताको दरले तलवमान वृद्धि गर्दछ। नेपाल सरकारले पनि सुत्केरी खर्च स्वरुप तोकिएका सरकारी हस्पिटलमा जन्माएमा केही रकम सुत्केरीहरूलाई प्रदान गर्दछ। यसरी राष्ट्रहरूले परिवारहरूलाई सन्तान जन्माउन उत्साह दिइरहेको देखिन्छ। किनकि देशलाई जनताको आवश्यकता पर्दछ।
तर नेपाली समाजमा यस्तो भाष्य स्थापित भइसकेको छ कि २ भन्दा धेरै सन्तान जन्माउनु असभ्यता र मूर्खता हो। अरू त छोडि दिऊँ हस्पिटलका स्वास्थ्यकर्मीहरू नै तेस्रो सन्तान जन्माउन लागेका गर्भवती महिलाहरूलाई हप्काउने, दप्काउने, दुरुत्साहित पार्ने कार्य गर्दछन्, जसले गर्दा गर्भवती महिलाहरू हस्पिटल फेर्न वा सन्तान संख्या लुकाउन वाध्य महसुस गर्दछन्। यस्ता कार्यहरू स्वास्थ्यकर्मीहरूबाटै हुनु दुःखद हो। महिलाहरू तीन वा सो भन्दा बढी सन्तान जन्माउन चाहे पहिलो हप्काइको शिकार हस्पिटलका स्वास्थ्यकर्मीहरूबाटै हुनु परेका धेरै उदाहरणहरू रहेका छन्। उनीहरू अरूको पारीवारिक मामिलामा किन हस्तक्षेप गर्दछन्? उनको कर्तव्य शुरक्षित जन्मको लागि सहयोग गर्नु होइन? तिनै विरामीहरूको शुल्कले पालिने स्वास्थ्यकर्मीहरू किन त्यहाँसम्मको हर्कत गर्न उत्साहित हुन्छन्? यसमा राज्यले स्वास्थ्यकर्मीहरूलाई दीक्षित गर्नुपर्ने देखिन्छ, समाज शास्त्र बुझाउनु पर्ने देखिन्छ।
परमेश्वरले शिशू जन्मलाई महत्वपूर्ण ठहर्याउनुभएको छ। पवित्र शास्त्र बाइबलको भजन संग्रह १२७:३ मा लेखिएको छ, “हेर, छोराछोरीहरू परमप्रभुले दिनुभएको हकको सम्पत्ति हुन्; अनि गर्भको फलचाहिँ उहाँको इनाम हो।” सन्तान जन्म यसकारण परमेश्वरको इच्छा हो। मानव जातिको उत्पत्तिसंगै उहाँले मानिसलाई “फल्दफुल्दै र वृद्धि हुँदै जाओ!” भन्नुभएको थियो (उत्पत्ति १:२८)। करिव चार सय वर्षविचमा मिस्र देशमा इस्रायलका सन्तान भारी मात्रामा वृद्धि भएको थियो जसको जनसंख्याको कारण मिस्री राज्य शक्ति भयभित भएको थियो (प्रस्थान १:९)। इस्रायली कुलहरूमा सबैभन्दा धेरै जनसंख्या यहूदाको कुलको थियो। वीस वर्षमाथिका अनि युद्धमा जान सक्ने पुरुषहरूको संख्या मात्र ७४,६०० थियो। यसरी चार शताब्दी भित्र एकै कुलका यति धेरै योद्धा पुरुषहरू तयार भएका थिए। कुलहरूमा परमेश्वरले यहूदा कुललाई विशेष आशिष दिनुभएको थियो। आशिषका आधारमा इस्रायली कुलहरूका जनसंख्या वृद्धि भएको थियो। परमेश्वरका जनहरूका सन्तान वृद्धि उहाँ चाहानुहुन्छ। निश्चय देश सत्यताबाट विराना भएकाहरूले भरिनुभन्दा परमेश्वरका डर मान्नेहरूले भरिनु उचित हो।
अब, निष्कर्ष के हो त? परमेश्वरका जनहरूले सन्तान जन्माउनुपर्दछ। एक वा दुई होइन धेरै! परमेश्वर जसले भंगेराहरूको वास्ता गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ (मत्ती ६:२५)। सन्तान कसरि पाल्ने वा हुर्काउने कुरामा चिन्तित हुनुपर्दैन। परमेश्वर सबै कुराका मालिक हुनुहुन्छ, उहाँले आफ्ना जनहरूको सबै आवश्यकता पूरा गर्न सक्नुहुन्छ (फिलिप्पी ४:१९)। परमेश्वरका जनहरूले पनि ‘दुई मात्र सन्तान, ईश्वरको वरदान’ भन्ने भाष्य पाल्छन् भने त्यो मूर्खता बाहेक केही हुन सक्दैन। चेतना भया!