
पा.डा. यू. जे. गुरुङ
“हेर, म तिमीहरूलाई बडो आनन्दको शुभ समाचार सुनाउँछु जुनचाहिँ सबै मानिसहरूका निम्ति हुनेछ; किनकि आज तिमीहरूका निम्ति दाऊदको शहरमा एकजना मुक्तिदाता जन्मिनुभएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ” (लूका २:१०,११)। यस खण्डमा तीन मूख्य तथ्यहरू रहेका छन्,
प्रभु येशू ख्रीष्ट इस्रायलमा जन्मनु भएको हो।
उहाँ संसारको मुक्तिदाता हुनुहुन्छ।
उहाँको जन्म सबैका निम्ति बडो आनन्दको शुभ समाचार हो।
येशू ख्रीष्टको जन्मको विषय दन्त्य-कथा होइन तर यो एक ऐतिहासिक दस्तावेज हो। इस्रायलमा यशैया नामक एक अगमवक्ताले ई.पू. ७०० मा मसिह वा ख्रीष्टको जन्म संबन्धमा यस्तो भविष्यवाणी गरेका थिए, “यसकारण प्रभु आफैंले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ; हेर, एउटी कन्या गर्भवती हुनेछिन् र तिनले एउटा छोरा जन्माउनेछिन् र उसको नाम इम्मानुएल राख्नेछिन्” (यशैया ७:१४)। जब समय पूरा भयो इस्रायलमा येशू ख्रीष्टको जन्म भयो (मर्कूस १:१५)। उहाँको जन्म इस्रायलको बेतलेहेममा हुने थप प्रकाश केही समयपछि नै मीका अगमवक्ताद्वारा दिइएको थियो, “तर तँचाहिँ, हे बेतलेहेम एफ्राता, तँ यहूदाका हजारौंको बीचमा सानो छस्; तापनि तँबाट मेरा निम्ति एकजना निस्केर आउनेछन्, जो इस्रायलका शासक हुनेछन्, जसका उद्गमहरू त प्राचीनकालदेखि, अँ, अनन्तकालदेखि नै हुन्” (मीका ५:२)। यूसुफ र कन्या मरियमको मगनी भएको थियो तर विवाह भइसकेको थिएन। उनीहरू दुबै नासरतमा बस्दथे। कन्या मरियम गर्भधान हुने संबन्धमा परमेश्वरको प्रकाश पाएको करिव तीन महिना पछि उनीहरू विवाह बन्धनमा बाँधिएका थिए। उनीहरू बसेको स्थान नासरतबाट मसिहको जन्म हुने भनिएको स्थान बेथलेहेम १५० कि.मि. दक्षिणमा पर्दथ्यो। तर परिस्थिति यसरी एकाएक बद्ली भएका थिए कि येशूको जन्म नासरतमा नभई बेतलेहेममा भएका थिए र येशू नै ख्रीष्ट भएको पुष्टि गर्दै बाइबल भविष्यवाणी अक्षरशः पूरा भएका थिए। परमेश्वर सबैका शासक हुनुहुन्छ। उहाँले आफ्नो उद्देश्यका निम्ति राजाहरू, राज्यधिकारहरू प्रयोग गर्न सक्नुहुन्छ। जब मरियमको जन्माउने दिनहरू पूरा हुँदैथियो तब रोमी सम्राट सिजर अगस्टसले आफ्ना संपूर्ण साम्राज्यमा जनगणना लिन उर्दी दिएका थिए। त्यसवेला सिरियाका राज्यपाल कुरेनियस थिए (लूका २:१,२)। यी दुबैजना ऐतिहासिक व्यक्तित्वहरू थिए। ऐतिहासिक प्रमाण अनुसार सिजर अगस्टस रोमी साम्राज्यमा एक वास्तविक सिजर थिए जसको पूरा नाम गैयस जुलियस सिजर अगस्टस थिए। उनको जन्म २३ सेप्टेम्बर ६३ ई.पू. र मृत्यु १९ अगस्ट इ.सं. १४ मा भएको थियो। उनी रोमन साम्राज्यका प्रवर्तक मानिन्छन्। उनका जेठा मामा जुलियस सिजरको इच्छा-पत्र बमोजिम उनी जुलियस सिजरका उत्तराधिकारी बनेका थिए। उनले आफ्नो साम्राज्यमा मिस्र, डाल्मातिया, पानोनिया, नोरिसियम, रेसिया, अफ्रिकाका विभिन्न भागहरूलाई मिसाएका थिए। उनले रोमी कर प्रणालीमा सुधार गर्नुका साथै यातायात संजालको विकास गरेका थिए। ७५ वर्षको उमेरमा उनको निधन भएको थियो। उनको मृत्युपछि उनका छोरा टाइवेरियसले शासन सम्हालेका थिए। उनकै उर्दी बमोजिम यूसुफ र मरियम जनगणनामा नाम लेखाउन बेतलेहेम गएका थिए। किनकि यूसुफको पुर्ख्याउली स्थलो बेतलेहेम थियो। त्यहीँ बस्दै गर्दा बेतलेहेममा येशूको जन्म भएको थियो। जब येशूको जन्म भयो यस विषयको जानाकारी एक स्वर्गदूतद्वारा सर्वप्रथम बेतलेहेमका गोठालाहरूलाई दिइएको थियो। त्यसवेला उक्त स्वर्गदूतले गोठालाहरूलाई भनेका थिए, “हेर, म तिमीहरूलाई बडो आनन्दको शुभ समाचार सुनाउँछु जुनचाहिँ सबै मानिसहरूका निम्ति हुनेछ; किनकि आज तिमीहरूका निम्ति दाऊदको शहरमा एकजना मुक्तिदाता जन्मिनुभएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ”। यसरी येशू सामान्य मानिस नभएको तर संसारको मुक्तिदाता भएको जानाकारी उनीहरूलाई दिइएको थियो। जब येशू बयस्क हुनुभयो तब उहाँले आफू परमेश्वर अनि संसारको मुक्तिदाता भएको घोषणा गर्नुभयो। उहाँले मानिसहरूका पापहरूको क्षमाको निम्ति वलिदान हुने र तेस्रो दिनमा पुनर्जिवित हुने घोषणा गर्नुभएको थियो। उहाँले ती अचम्भित घोषणाहरूलाई आफ्ना कामहरूद्वारा पुष्टि गर्नुभयो। उहाँले चंगाई, चिन्ह, चमत्कार जस्ता अद्भुत कार्यहरू गर्नुभयो। उहाँले जन्मैका अन्धाहरूलाई देख्ने तुल्याउनुभयो, जन्मैका लंगडाहरूलाई सामान्य बनाउनुभई हिँड्ने तुल्याउनुभयो। सुकेका हात भएकालाई सामान्य अवस्थामा ल्याउनुभयो। जन्मैका गुंगाहरूलाई बोल्ने तुल्याउनुभयो। पक्षघात रोग लागेकाहरूलाई हिँड्ने तुल्याउनुभयो। भुतहरू लागेकाहरूबाट भुतहरू निकाल्नुभयो। सबै किसिमका रोगहरूबाट चंगाई दिनुभयो। मृतकहरूलाई जीवित पार्नुभयो। पानी माथि हिँड्नुहुन्थ्यो। समुद्रमा चलिरहेको भिषण आँधिबेह्रीलाई शान्त बनाउनुभयो। पाँच रोटीबाट ५००० भन्दा बढि मानिसहरूलाई खुवाउनुभयो। यसरी उहाँमा रोग, मृत्यु, सृष्टि, शैतान सबैमाथि अधिकार थियो जसले उहाँ परमेश्वर हुनुहुन्छ भन्ने पुष्टि गर्दथ्यो। अन्तमा उहाँ क्रूसमा टंगाइएर मारियो तर तेस्रो दिनमा उहाँ पुनर्जिवित हुनुभयो। मृत्युपछि भएको उहाँको पुनर्जिवनले उहाँ परमेश्वर र मुक्तिदाता भएको पुष्टि भएको थियो (रोमी १:४)।
यहूदीहरूमा धेरैले उहाँलाई मुक्तिदाताको रूपमा विश्वास गरे (प्रेरित २:४२)। सामारीहरूले येशू संसारको मुक्तिदाता ख्रीष्ट भनी चिने (यूहन्ना ४:४२)। साँढे तीन वर्ष येशूख्रीष्टसंगै हिँडेका उहाँका चेलाहरू अर्थात् प्रेरितहरूले ‘येशू ख्रीष्ट पाप क्षमा गर्नुहुने मुक्तिदाता’ भनी यहूदीहरूको सामाजिक तथा धार्मिक पक्ष हेर्ने महासभा (सानहेड्रिन) सामु गवाही दिएका थिए (प्रेरित ५:३१)। यहूदीहरूमध्ये एक विद्वान पावलले पिसिडियाको एन्टिओकमा यहूदीहरूका विचमा येशू मुक्तिदाता भएको प्रचार गरेका थिए (प्रेरित १३:२३)। येशू ख्रीष्ट मुक्तिदाता हुनुहुन्छ जसले मृत्युलाई हटाइदिनुभएको छ र सुसमाचारद्वारा जीवन र अमरतालाई ज्योतिमा ल्याउनुभएको छ (२ तिमोथी १:१०)। येशूका एक चेला यूहन्नाले पनि गवाही दिएका थिए कि परमेश्वरले पुत्र येशूलाई संसारको मुक्तिदाता हुनको निम्ति पठाउनुभयो (१ यूहन्ना ४:१४)। येशू ख्रीष्ट उहाँलाई प्रभु र मुक्तिदाताको रूपमा विश्वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ (१ तिमोथी ४:१०)। उहाँद्वारा मात्र मानिसले मुक्ति पाउन सक्दछन् (यूहन्ना १४:६)।
तब मानिसले उहाँद्वारा कसरी मुक्ति पाउन सक्दछन्? येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाताको रूपमा विश्वास गरेर मानिसले मुक्ति पाउँदछ (प्रेरित २०:२१)। येशू माथि राखिएको विश्वासद्वारा मानिसहरूले पापहरूको क्षमा प्राप्त गर्दछन् (प्रेरित २६:१८)। येशू ख्रीष्टमाथि राखिएको विश्वासद्वारा मानिस सित्तैमा धर्मी ठहरिन्छन् (रोमी ३:२२, २५-२८)। विश्वासद्वारा परमेश्वरसंग मानिसको मिलाप हुन्छ (रोमी ५:१)। विश्वास सुनाईद्वारा र सुनाई परमेश्वरको वचनद्वारा आउँछ (रोमी १०:१७)। ज्योति छँदै ज्योतिमा विश्वास गर्नुपर्दछ अनि मानिस ज्योतिका सन्तान हुन्छन् (यूहन्ना १२:३६)। येशूमा विश्वास गरेर उहाँमा जीवन प्राप्त हुन्छ।
तसर्थ ख्रीष्ट येशूको जन्म सबै मानिसहरूको निम्ति बडो आनन्दको शुभ समाचार हो। उहाँको जन्मदिनलाई मानिसहरू ख्रीष्टमस भन्दछन्। ख्रीष्टमसको अर्थ हुन्छ ‘ख्रीष्टको मास’ अर्थात् ‘ख्रीष्टको आफैंलाई दिने कार्य’ (to give up Christ’s very self) हो। विश्वभर ख्रीष्टमस सामान्यतया डिसेम्बर २५ मा मनाउने गर्दछन्। यस चाडलाई रोमन क्याथोलिक चर्चले प्रश्रय दिएका थिए। यो नयाँ वर्षसंग संबन्धित रहेको छ। सूर्य दक्षिण गोलार्धबाट उत्तर फर्केको पहिलो दिनसंग डिसेम्बर २५ संबन्धित रहेको छ। त्यसैसंग संबन्धित रहेर सतुर्नालीय चाड युरोपमा मनाइने एक प्राचीन चाड थियो जुन चाड डिसेम्वर १७ देखि २४ सम्म जारी रहन्थ्यो। सम्राट आउरेलियनले सन् २७४ मा डिसेम्बर २५ लाई सर्वप्रथम सूर्य पर्वको रूपमा स्थापना गरेका थिए। जनवरी ६ का दिनलाई डायोनिसस चाडको रूपमा मान्ने चलन थियो। सम्राट कन्स्टेन्टाइनद्वारा यी दुवै चाडहरूलाई क्रमशः ख्रीष्टमस र इपिफानी चाडको रूपमा परिवर्तन गरेका थिए। बत्तीहरूको झिलिमिली, हरियाली, विशेष खानाहरू ख्रीष्टमससंग जोडिए भने उपहार दिने कार्यहरू, सन्तक्लाउस आदि जनवरी ६ मा मनाइने इपीफानी पर्वमा मिसिए।
ख्रीष्टमस आज पश्चिमा जगतमा पारीवारिक मिलन र खुशियाली दिवसको रूपमा स्थापित भएको छ। यसमा कुनै समस्या देखिदैन। ख्रीष्टियनहरू यस अवसरमा ख्रीष्टको प्रचार गर्दछन्। यसमा पनि आपत्ति रहेन तर यससंग जोडिएका मानवीय दर्शन, रीतिथिति आदिको शिकार भने बन्नुहुँदैन (कलस्सी २:८)। घर-घरमा क्यारोल खेल्ने, रूख सजाउने, सन्तक्लाउस सजाउने, नाचागान गर्ने, सांसारिक गतिविधि गर्ने लगायतका गलत अभ्यास र विचारहरूबाट हामी सचेत र अलग बस्नुपर्दछ। सो नभए यसले हानी गर्न सक्दछ। विश्वव्यापी रूपमा यस समयमा ख्रीष्ट-जन्मको चर्चा भइरहँदा अनि नयाँ आगन्तुक छिमेकी तथा मित्रहरू ख्रीष्टको विषयमा जान्न इच्छुक भइरहँदा समयको अवसर लिई नयाँहरूलाई भेला गराई सुसमाचारीय सभाहरू गर्नु, मण्डली परिवार विच आत्मिक संगतिको समय लिनु राम्रै हो। नयाँ नियम मण्डलीहरूले ख्रीष्टको जन्मदिन मनाएका थिएनन् तर उहाँको मृत्युको संझना प्रभुभोज विधिद्वारा र उहाँको मृत्यु र बौरिउठाईको संझना बप्तिस्माद्वारा गराइएका थिए। ती कुराहरूको निरन्तरता आज पनि मण्डलीहरूमा जारी छन्।
अतः यस मौसममा विश्व ख्रीष्टको जन्मलाई संझिरहेका छन् जुन जन्मको घटनालाई परमेश्वरले बडो आनन्दको शुभ समाचार भनी उद्घोष गर्नुभएको थियो। आनन्दको शुभ समाचार यो थियो कि येशू संसारको मुक्तिदाता हुनुहुन्छ। हामीले पर्व वा रीतिविधिलाई होइन ख्रीष्ट येशू मुक्तिदातालाई चिन्नुपर्दछ र उहाँमा विश्वास गरी प्रतिज्ञाहरूको भागीदार बन्नुपर्दछ। मानिसहरूलाई यस अवसरमा ख्रीष्टको प्रेम बताइनुपर्दछ, व्यक्त गरिनुपर्दछ।