व्यवस्था युगमा परमेश्वरले पुजाहारी, राजा, अगमवक्ता लगायतका जिम्मेवारपूर्ण ओहोदाहरूका निम्ति योग्य व्यक्तिहरूलाई अभिषेक गर्नुहुन्थ्यो र सो कामको निम्ति नियुक्त गर्नुहुन्थ्यो। त्यसरी नै मण्डली युगमा उहाँले प्रेरितहरू, पास्टर शिक्षकहरू तथा प्रचारकहरूलाई अभिषेक गर्नुभई उहाँका कामको निम्ति नियुक्त गर्नुभयो। उनीहरूले मण्डली युगमा स्थानीय मण्डलीहरूका पुजाहारीहरूको रुपमा काम गर्दथे। उनीहरूले स्थानीय मण्डलीमा सिकाउने, बप्तिस्मा दिने, प्रभुभोज लगायतका सेवाहरू गर्दथे। अभिषेक गर्ने कार्य परमेश्वरको मन्दिरमा वा नयाँ नियम मण्डलीहरूमा सेवाका जिम्मेवारीहरूका निम्ति योग्य व्यक्तिहरूलाई नियुक्त गर्ने परमेश्वरको विशेष प्रकृया थियो। व्यवस्था युगमा पुजाहारीहरू हारूनको परिवारका योग्य पुरुषहरूमध्येबाट छानिन्थे भने नयाँ नियम मण्डलीहरूका निम्ति पास्टर शिक्षक वा प्रचारकहरू ख्रीष्टमा बचाइएका, स्थानीय मण्डली अनि अन्य मण्डलीहरू माझ राम्रो नाम चलेका योग्य व्यक्तिहरू मध्येबाट छानिन्थे र तिनलाई संस्थापक मण्डली वा उक्त स्थानीय मण्डलीका अभिषिक्त पास्टरहरू वा एल्डरहरूद्वारा अभिषेक गरिन्थे। यदि कोहि आफैं-आफ पास्टर शिक्षक वा प्रचारक बन्ने वा मण्डलीमा पुजाहारीले गर्ने कार्यहरू गर्दछन् भने त्यो जवर्जस्त कार्य हुन्थ्यो र विद्रोह ठहरिन्थ्यो। तीमाथि परमेश्वरको न्याय आउन सक्दथ्यो। गलत व्यक्तिलाई मानवीय विचार र तौरतरिकाले अभिषेक गर्दा राम्रो परिणाम भएको थिएन (२ राजा २३:३०-३३)।
परमेश्वरको मन्दिरमा सेवा गर्नका निम्ति साथै इस्रायलमा मानिसहरूलाई धार्मिकता र सत्यतामा डोर्याउन हारून र उनका छोराहरूलाई परमेश्वरको इच्छा र आज्ञा बमोजिम उहाँको समयमा मोशाले पुजाहारीहरूको सेवाको निम्ति अभिषेक गर्न कार्यदेश पाएका थिए। पुजाहारीहरूका निम्ति परमेश्वरबाट विशेष पोसाकको निर्देशन भएको थियो जसलाई आज रोमन क्याथोलिक चर्च, अर्थोडक्स चर्च, एङलिकन चर्च, प्रेस्वेटेरियन चर्च लगायतले पछ्याएको पाइन्छ। यस किसिमका पोसाकहरू नयाँ नियम मण्डलीहरूका पास्टरहरूले लगाउनुपर्ने निर्देशन नयाँ नियममा काहिँ कतै पाइदैन (प्रस्थान २८:४०-४३, ३०:३०)। उनीहरूले गर्ने कार्यहरू अरुहरूले गर्दा ती मारिएका थिए। गलत व्यक्तिहरू वा गलत विधिले परमेश्वर सामु बलिदान चढाउँदा ती मारिएका थिए (लेवी १६:१; गन्ती ३:१-४)। तसर्थ परमेश्वरका विशेष विशेष जिम्मेवारीहरू जो कोहीले गर्न हुँदैनथ्यो। परमेश्वरबाट चुनिएका र अभिषेक गरिएका अभिषिक्त जनहरूबाट मात्र परमेश्वरबाट तोकिएका सेवाहरू गर्नुपर्दथ्यो जुन कुराहरू नयाँ नियम मण्डलीहरूमा पनि सत्य थिए।
पुजाहारीहरू मात्र होइन तर राजाहरूलाई पनि परमेश्वरले अभिषेक गराउनुहुन्थ्यो। शाऊललाई इस्रायलको राजाको रूपमा अभिषेक गरिएको थियो (१ शमूएल १५:१)। तर शाऊल थोरै समयमै आफ्ना ओहोदाका निम्ति अयोग्य भएका थिए। अयोग्य व्यक्तिहरू पास्टर शिक्षकका कामहरू गर्दछन् भने यस्ता व्यक्तिहरू र तिनका कार्यहरू परमेश्वर र उहाँका मण्डलीहरूमा अस्वीकार्य हुन्छ। त्यसैले स्वघोषित पास्टर, एल्डर अगुवाहरूबाट सचेत हुनुपर्दछ। धेरै जना पहिला हुन चाहानेहरू छन्, पास्टर बन्न चाहानेहरू छन् जुन सोंचाई चाहिँ खतरनाक महत्वकांक्षा हो। त्यसले परमेश्वरका मण्डलीहरूलाई हानी गर्दछ। आफ्ना अभिषिक्त पास्टरहरूको अधिनमा नबस्ने, विरोध गर्ने, मण्डलीका सिधासादा जनहरूलाई बिगार्ने, भड्काउने जस्ता कार्यहरू तिनले गर्दछन्। तर परमेश्वरको वचनमा अभिषिक्त जनहरूलाई आदर गर्ने गरिएका उदाहरणहरू छन्। दाउदले शाऊल विरुद्ध कार्य गरेनन् किनकि शाऊल एक अभिषिक्त राजा थिए (१ शमूएल २४:१०; २६:९,११,१६)। परमेश्वरका अभिषिक्त जनहरूलाई छुनुहुँदैन भनिएको छ (१ इतिहास १६:२२)। तर हामी अन्तिम दिनहरूमा छौं, जसमा मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, स्वार्थ-केन्द्रित, सेखीबाज, घमण्डी, निन्दा गर्ने, झूटा दोष लगाउने, कठोर, असललाई घृणा गर्ने, विश्वासघाती, जिद्दीवाल, अधिनमा नबस्ने रोग लागेकाहरू हुन्छन्। समय खराव छ। यस्ताहरूबाट पर बस्नुपर्दछ (२ तिमोथी ३:१-५)।