सधैं अलगपनताको शिक्षा सुनिरहेका ख्रीष्टियनहरूलाई ‘संझौता’ शब्द अप्रिय र अस्वीकार्य हुन सक्दछ। तर जीवन संझौताहरू विना चल्दैन। संझौता अरुको भिन्न विचार वा मार्गलाई पनि स्वीकार्नु वा अपनाउनु हो। बुबा-आमासंग छोरा-छोरीको कैयौं मतभेदहरूमा संझौता हुन्छ। त्यसरी नै बुबा-आमाको छोरा-छोरीसंग कैयौं मतभेदहरूमा संझौता भइरहेको हुन्छ। विवाहको दिन देखि नै बग्रल्ति विषयहरूमा पति-पत्नी विच संझौताहरू भइरहेको हुन्छ। अनगिन्ती मतभेदहरू अनि छनोटहरूको अन्तरका विच साझा जीवन जिइरहेका पति-पत्नी विच कैयौं संझौताहरू भएका हुन्छन्। मण्डलीका अगुवाहरू, कारिन्दाहरू वर्षौंसम्म एकसाथ सेवाकाई गर्न सक्दछन् भने त्यो संझौताको सफल कार्यन्वयनको कारण भएको हो। तर बारंबार अगुवाहरू विभाजित हुन्छन्, मण्डली विभाजित हुन्छन् भने त्यो कुनै न कुनै पक्ष वा व्यक्तिको असझदारी वा घमण्डको कारणले हुन्छ, उचित संझौताको अभावले हुन्छ। समाज, व्यापार-व्यवसाय, राजनीति लगायत सबै क्षेत्रमा संझौता नभए जीवन एक्लो र अस्वीकार्य हुन सक्दछ। त्यसैले संझौता शब्दको अर्थ र मर्म नबुझी त्यसलाई अछुत मान्नु अज्ञानता हुन्छ। तपाईको बुझाई, इच्छा वा छनोट नै सर्वश्रेष्ठ र सही भन्ने सोंच धेरै पटक गलत हुन्छ। अर्कोतिर अलगपनता जीवनको एक अभिन्न शिद्धान्त हो। सबै व्यक्ति वा पक्षसंग एक समान भएर अघि बढ्न सकिंदैन। शिक्षा, शिद्धान्त, व्यवहार आदिको अन्तरले जीवनलाई भडखालोमा पुर्याउन सक्दछ; जीवन अनि शुद्धताको श्रेष्ठता गुमाउन सक्दछ। तसर्थ उचित अनि पुष्टि भएका तथ्य वा पक्षबाट अलग हुनु परमेश्वरको इच्छा र हाम्रो शुद्ध विवेकको आह्वान हुन्छ। तसर्थ एक ख्रीष्टियनले अलगपनता र संझौताको संतुलन कायम राखी जिउनुपर्दछ। सो नभए व्यक्ति विफल, फलहिन अनि अर्थहिन जीवन जिउन विवस हुनुपर्ने हुन्छ जुन दुःखद हो।
संझौताको एक अत्यन्तै खराव घटना मानव जातिमा त्यस वेला भयो जब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई विवाह गरे (उत्पत्ति ६)। यो गलत संझौता थियो। किनकि सेतका सन्तान जो परमेश्वरका छोराहरू थिए उनीहरू परमेश्वरसंग प्रार्थना गर्नेहरू, उहाँको वचनमा जिउनेहरू थिए। तर मानिसका सन्तान परमेश्वरलाई चिन्दैन थिए। जे उनीहरूलाई लाग्दथ्यो त्यही गर्दथे। उनीहरू शरीर अनुसार जिउँथे, पाप गर्थे। ती दुई समूह विच अलगपनता हुनु परमेश्वरको इच्छा थियो। लेखिएको छ, “अविश्वासीहरूसँग समान भएर एउटै जुवामा ननारिओ; किनकि धार्मिकताको अधर्मसँग के संगति? अनि उज्यालोको अँध्यारोसँग के सहभागिता?” (२ कोरिन्थी ६:१४)। उक्त अलगपनता तोडिएपछि पृथ्वीमा परमेश्वरका पवित्र जनहरूका अभाव खड्कियो। पृथ्वी दुष्टताले भरियो। फलस्वरुप परमेश्वरले पृथ्वीमा न्याय ल्याउनुभयो। यसरी आज मण्डलीहरूले विवाहवारीमा अलगपनतामा ध्यान दिनुपर्दछ। ख्रीष्टियनले गैह्र-ख्रीष्टियनलाई विवाह गर्दाको परिणाम त हामीले उत्पत्ति ६ को विवरणबाटै स्पष्ट हुन्छ। त्यति मात्रै होइन आज ख्रीष्टियन मण्डलीहरू अपोस्टसी वा सत्यताबाट द्रूतरूपमा टाढिदै गइरहेको अवस्था छ। मण्डलीहरूमा सांसारिकताको प्रवेश छ। प्रायः मण्डलीहरू क्यारिस्मेटिक गतिविधिहरू, नृत्य, सांसारिक पोसाक, सांसारिकता मानसिकतामा अघि बढिरहेको अवस्था छ। त्यस्तो अवस्थामा नयाँ नियम मण्डलीका ख्रीष्टियनहरूले कतिपया यस्ता गतिविधि गर्ने मण्डलीहरूका ख्रीष्टियनहरूसंग विवाहवारी गर्नु उचित हुँदैन। किनकि त्यस्ता कार्यले सत्यता जोगिदैन बरु तिनले गोलमडोल रुपमा अभक्तितर्फ जान, सांसारिकतातर्फ जान अभिप्रेरित गर्दछ र उत्पत्ति छ कै अवस्थातर्फ लैजान सक्दछ। त्यसैले जहाँ अलगपनता जरूरी छ त्यहाँ अलगपनता हुनुपर्दछ, नभए त्यसको परिणति हामीले भोग्नुपर्ने हुन्छ।
एकातर्फ अलगपनता जरूरी र महत्वपूर्ण हो भने अर्को तर्फ संझौता पनि जरुरी हुन्छ। धेरै अलगपनताको वकालत गर्नेहरू कम समझदारी पनि पाइएका छन्। ती अरूसंग मिल्न नसक्ने, एकलकाँटे, अरूको न्याय र आलोचना गर्ने तथा अव्यवहारिक ख्रीष्टियन जीवन जिउँछन्। कैयौं पक्ष छन् जसमा ख्रीष्टियनहरू आफ्नो छनोट वा रोजाईका निम्ति स्वतन्त्र छन् जस्तै खानपानको विषय, दिन मान्ने विषय आदि (रोमी १४)। लेखिएको छ, “तर तिमी किन आफ्नो भाईको न्याय गर्दछौ? अथवा तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्दछौ? किनकि हामी सबैजना ख्रीष्टको न्यायआसनको सामु उभिनेछौं” (रोमी १४:१०)। यो पनि लेखिएको छ, “तब हामी बलियाहरूले कमजोरहरूका दुर्बलताहरू सहनुपर्दछ र आफैंलाई खुशी पार्नुहुँदैन” (रोमी १५:१)। जहाँसम्म संभव हुन्छ, बलियाले वा शिक्षा बुझेकाले कमजोरलाई सिकाउने हो, उठाउने हो; न्याय गर्ने, तिरस्कार गर्ने होइन। यसले केही फाइदा गर्दैन, कसैको उन्नति हुँदैन उल्टै न्यायको दिनमा हप्की खानुपर्ने अवस्था आउँछ।
तसर्थ, हामी ख्रीष्टियनहरू बुद्धिमान हुनुपर्दछ। अलगपनता र संझौताको संतुलन कायम राख्नुपर्दछ जसमा नै परमेश्वरको महिमा र आदर हुन्छ। “यसकारण चाहे तिमीहरू खाओ, चाहे पिओ, चाहे तिमीहरू जेसुकै गर, सबै कुराहरू परमेश्वरकै महिमाका निम्ति गर!” (१ कोरिन्थी १०:३१)।