आत्मिक गीत संग्रहको उपादेयता
एवेनेजर तथा संगति मण्डलीहरू साथै अरु नेपाली भाषी ख्रीष्टिय मण्डलीहरूको प्रयोजनको उद्देश्यले ‘आत्मिक गीत संग्रह’ लाई एवेनेजर मण्डली, कोटेश्वर, काठमाडौंले सर्वप्रथम २०५५ जेष्ठ (१९९८) मा प्रकाशन गरेको थियो। यस भजन संग्रहको दोस्रो संस्करणलाई एवेनेजरले नै २०५९ साउन (२००२) मा प्रकाशन गरेको थियो। यस भजन संग्रहको प्रभावकारिता एवेनेजर तथा संगति मण्डलीहरूमा मात्र नभई अरु मण्डलीहरूमा पनि बढ्ने क्रममा रहेको थियो। यस संग्रहको तेस्रो संस्करणलाई अनुमति बमोजिम लाइट क्यास्ट प्रकाशनले २०६३ (२००६) मा प्रकाशन गरेको थियो। यस संग्रह अब एउटा मण्डलीको मात्र सम्पत्ति नभई सार्वजनिक भइसकेको अवस्थामा यसलाई एवेनेजर वा कुनै पनि मण्डलीले स्वैच्छिक रुपले संचालन गर्ने वा प्रकाशन गर्ने कार्य उपयुक्त नदेखिएकोले २०७१ भाद्र २२ मा आत्मिक गीत संग्रह प्रयोगकर्ता मण्डलीहरूका अगुवाहरू, एवेनेजर कारिन्दाहरू तथा एवेनेजर संगीत समूहको संयुक्त सभा एवेनेजर भवनमा बसी सुझाव संकलन गरिएको थियो। उक्त सभा अनुसार आत्मिक गीत संग्रहको स्तरोन्नति र विस्तारको निम्ति यसको आवश्यक संपादन गर्दै र समुचित प्रकाशनको निम्ति संयोजन गर्न ‘आत्मिक गीत संग्रह इडिटोरियल बोर्ड’ गठन गरिएको थियो। उक्त बोर्डले त्यस बेला देखि समय समयमा जुटी आत्मिक गीत संग्रहमा संग्रहित भजनहरूको अध्ययन गर्दै आवश्यक संशोधन सम्पन्न गरेको छ। तेस्रो संस्करणका प्रकाशक समयमै आत्मिक गीत संग्रहको प्रकाशनको जिम्मेवारी पूरा गर्न असमर्थ रहेको पाइएकोले बोर्डले आत्मिक गीत संग्रहलाई निरन्तरता दिन प्रयोगकर्ता मण्डलीहरूको अपेक्षा मुताविक यस भजन पुस्तकको प्रकाशन अब आफैं गर्ने निर्णय गरेको हो।
नेपालमा मण्डली नै पिच्छे भजन पुस्तकहरू हुने स्थिति नहोऊन् तर ख्रीष्टिय प्रेमको प्रतिकको रुपमा भजन पुस्तक पनि रहून् भन्ने कुरामा आत्मिक गीत संग्रह बोर्ड सचेत छ। त्यसैले मण्डलीहरूको सुझाब र मनोभावनालाई उच्च कदर गर्दै आगामी संस्करणहरूलाई थप परिस्कृत गर्दै लैजाने बोर्डको योजना रहेको छ। यहाँ सम्म आइपुग्दा आत्मिक गीत संग्रहले नेपाली ख्रीष्टिय जगतमा महत्वपूर्ण योगदान दिलाएको महसुस गरिएको छ। यस संग्रहको उपादेयता वृद्धि भइरहेको महसुस गरिएको छ। यसमा संग्रहित नयाँ भजनहरूलाई ठूलो संख्यामा ख्रीष्टिय भजनमा संग्रहित भएबाट यस कुराको पुष्टि हुन जान्छ। अपेक्षा गरौं आत्मिक गीत संग्रहले नेपाली ख्रीष्टिय मण्डलीहरूको मनसाय बमोजिम काम गर्दै एउटा सेवा पूरा गर्न सकून्। अनि नेपाली ख्रीष्टिय मण्डलीहरूमा परमेश्वरको महिमा होस्। आत्मिक गीत संग्रहमा स्तरिय भजनहरू थप्न वा कुनै सुझाव दिन चाहेमा जो कोहीले आत्मिक गीत संग्रह बोर्डलाई सम्पर्क राख्न सकिनेछ। सोका निम्ति एनोन पत्रिकामा उल्लेखित ठेगानामा सम्पर्क राख्न सकिने व्योहोरा अवगत गराइन्छ।
आत्मिक गीत संग्रहको उद्देश्य ख्रीष्टको वचन युक्त स्तरिय भजनहरूको छनोट, छाँटकाँट, प्रकाशन तथा प्रयोजन हो जसद्वारा सारा बुद्धिसित एकार्कालाई सिकाउने, सम्झाउने तथा अनुग्रहसाथ आफ्ना हृदयहरूमा प्रभुका निम्ति गाउन अभिप्रेरित गर्ने रहेको छ, जुन कुरालाई कलस्सीहरूलाई लेखिएको पत्रको अध्याय तीनको सोह्रौं पदमा पावल प्रेरितबाट स्पष्ट पारिएको छ। अन्तमा, आत्मिक गीत संग्रहको संपादन, प्रकाशन तथा प्रयोजनबाट नेपाली ख्रीष्टिय मण्डलीहरूमा परमेश्वरको इच्छा पूरा भएका होऊन् भन्ने शुभकामना व्यक्त गरिन्छ।