मिसनरी परिचय – एमी कारमाइकल
एमी कारमाइकल आइरल्यान्डमा जन्मेकि मिसनरी हुन्। उनले भारतमा ५५ वर्ष मिसनरीको रूपमा सेवा गरिन्। उनले मिसनरी सेवाकाइको विषयमा केहि किताबहरू पनि लेखिन्। एमीले सन् १९०१ मा दोनाभुर संगति शुरू गरिन्। दोनाभुर तमिल नाडुमा पर्छ। यस दोनाभुर संगति पछि गएर एक अद्भूत सेवाकाइमा परिणत भयो। समय बित्दै जाँदा यस संगतिमा सहभागि विश्वासीहरू र एमी मिलेर अनाथ तथा त्यागिएका नानीहरूलाई हेरचाहा गर्न थाले। त्यस ठाउँमा नानीहरूलाई मन्दिरमा जिउँदो बलिदानको रूपमा चढाउने चलन थियो। यी नानीहरूलाई व्यभिचारका लागि समेत प्रयोग गरिन्थ्यो। ईश्वरबाट केहि आशिष पाउन सकिन्छ कि भन्ने आशामा आमाबुबाले नानीहरूलाई मन्दिरमा चढाउने गर्थे। एकदिन एमीले मन्दिरबाट भाग्दै गरेकी एक सानो केटि प्रेनालाई भेट्छिन्। प्रेनाको अवस्था देखेर एमी ठूलो दया र बोझले भरिन्छन्। त्यसपछि उनी यस्ता पिडित नानीहरूलाई आफैसँग राखी हुर्काउन थाल्छिन्। उनले यी नानीहरूलाई बस्ने ठाउँ र खानाको व्यवस्था गरिदिनुको साथै, उनीहरूलाई परमेश्वरको वचनबाट सिकाउने कार्य पनि गर्थिन्। एमी यी आमाविहिन नानीहरूकालागि आमा बनिन्। सबै नानीहरूले उनलाई ‘आमा’ भनी बोलाउँथे। यो सेवाकाइ बढ्दै गयो र उनले हजारौं नानीहरूलाई सत्यतामा डोर्याउने अवसर पाइन्।
भारतको संस्कृतिलाई आदर गर्दै उनले त्यहीँको पहिरन पनि लाउँथिन्। सन् १९१२ मा बेलायतको रानी मेरिले एमीलाई दोनाभुरमा एउटा हस्पिटल खोल्न मद्दत गरिन्। सन् १९१३ सम्ममा एमी र उनका सहयोगिहरूले १३० साना केटिहरूको हेरचाहा गरिरहेका थिए। सन् १९१८ मा एमीले साना केटाहरूको पनि हेरचाहा गर्न थालिन्। जब एमी ८३ वर्षको उमेरमा भारतमा मरिन् उनको चिहानमा एउटा शब्द मात्र लेखिएको थियो – “आमा”। उनी साँच्चै धेरै नानीहरूको आमा भइन् र उनीहरूलाई सत्यतामा डोर्याइन्। आजसम्म पनि उनले शुरू गरेको कार्य अघि बढिरहेकोछ।