ई.पू. ३००० मा उत्तर-पूर्वी चीनको एक स्थान हामीन मांघामा फैलिएको महामारीद्वारा त्यस शहर र वरिपरिका वस्तीहरूमा ठूलो संख्यामा मानिसहरू मारिएपछि बाँकीले त्यस स्थानलाई छोडेका थिए र ती स्थानहरू निर्जन बनेका थिए। विगतमा महामारीद्वारा मानव वस्तीहरू निर्जन बन्ने गरेका थिए। नेपालमा घुमन्ते (Nomad) शैलीमा जिउने राउटे जाति बसोबास गरिरहेको स्थानमा कोही मरेमा त्यस स्थानमा फेरि कहिल्यै बसोबास गर्दैनन्। विश्वका घनाजंगलहरूमा, समुद्र मनि तथा अन्य स्थानहरूमा प्राचीन खण्डहर निर्जन शहर र वस्तीहरू अहिले विभिन्न राष्ट्रहरूमा पाइएको छ। यसका पछाडी थुप्रै कारण होलान् तर एउटा कारण महामारी पनि थियो।
विश्वमा समय समयमा विभिन्न रोगहरूद्वारा महामारी फैलिएका र ठूलो संख्यामा मानव जीवन लिएका इतिहासहरू छन्। तिनले मानव समाजमा केही न केही असर वा परिणामहरू छोडेका थिए। इ.सं. १६५ देखि १८० गरि १५ वर्षसम्म फैलिएको महामारीलाई एन्टोनाइन महामारी भनिन्छ। यस महामारीद्वारा रोमी साम्राज्यमा ५० लाख मानिसको ज्यान गएको थियो। यसले रोमी साम्राज्यको शान्ति हरण गरेको थियो। यसपछि यस साम्राज्य आन्तरिक रुपमा विद्रोह र युद्धहरूमा फसेको थियो। मानिसहरू यस समयमा साँचो शान्तिको खोजिमा लागे र ठूलो संख्यामा मानिसहरू ख्रीष्टियन बनेका थिए।
सन् २५० देखि २७१ मा फैलिएको साइप्रियन महामारीद्वारा रोममा दैनिक रुपमा ५००० मानिसहरू मर्ने गरेको इतिहास छ। यसलाई ट्युनिसियाका एक विशपले संसारको अन्तको चिन्ह भनेका थिए। सन् ५४१ देखि ५४२ सम्म फैलिएको महामारीलाई जस्टिनियन महामारी भनियो। यसले विश्वको १०% जनसंख्याको जीवन लिएको मानिन्छ। यस महामारीले बाइजेन्टाइन साम्राज्य पतन ल्याएको थियो।
सन् १३४६ देखि १३५३ सम्म युरोपमा फैलिएको महामारीलाई कालो महामारी (Black Plague) भनिन्छ। यसले युरोपको आधा जनसंख्याको जीवन लिएको थियो। यसले युरोपमा भारीमात्रामा कामदारहरूको अभाव हुन गएको थियो। यसले कामदारहरूको ज्याला वृद्धि गरेको थियो। साथै यस महामारीले नयाँ नयाँ प्रविधिहरूको विकास गर्न सोंचहरूको विकास गराएको थियो।
सोह्रौं सताब्दीमा उत्तर र दक्षिण अमेरिकामा भयानक महामारी फैलियो जसलाई अमेरिकन महामारी भनिन्छ। यस महामारीद्वारा उत्तर र दक्षिण अमेरिकाका प्राचीन आदिवासी सभ्यताको अन्त गरेको थियो। यसले अमेरिकामा विकास भएको इन्का सभ्यता र एज्टेक सभ्यताहरूलाई समाप्त गरेको थियो। यस महामारीद्वारा उत्तर तथा दक्षिणका ९०% आदिवासीहरू मारिएका थिए। युरोपियनहरूसंगै गएका रोगले त्यहाँका आदिवासीहरूमा महामारीको रुप लिएको थियो। यस महामारी पछि धरासायी बनेका आदिवासी सैन्य सामर्थ्यलाई सजिलैसंग दक्षिणमा स्पेनिसहरूद्वारा र उत्तरमा ब्रिटिस तथा अन्य युरोपियनहरूद्वारा नियन्त्रण गरिएको थियो।
१७७० देखि १७७२ सम्म रुसमा फैलिएको महामारीलाई रसियन महामारी भनिन्छ। यस महामारी अवधिमा आर्क विशप एम्ब्रोसियसले भीडहरूलाई आराधनाका निम्ति नजुट्न सल्लाह दिएका थिए। पछि उनलाई भीडहरूद्वारा मारिएका थिए। १८८९ देखि १८९० सम्म फैलिएको महामारीलाई रुघाखोकी महामारी भनियो। यस महामारी रसियाबाट शुरु भएर सारा युरोपमा फैलिएको थियो। आधुनिक यातायातका कारण यस महामारी विश्वभर फैलिएको थियो। यस महामारीद्वारा १० लाख मानिसहरूको जीवन गएको थियो।
यसरी विश्वमा विश्वव्यापी रुपमा महामारीहरू फैलिन शुरु भएको थियो जसद्वारा ठूलो संख्यामा मानिसहरूको जीवन लिएको थियो। १९१८ देखि १९२० सम्म फैलिएको स्पेनिस रुघाद्वारा १० लाखको जीवन गएको थियो भने १९५७ देखि १९५८ मा फैलिएको एशियन रुघाद्वारा १० लाख मानिसको जीवन गएको थियो। त्यसरी नै १९८१ मा पश्चिम अफ्रिकाबाट फैलिएको एड्स रोगले विश्वमा महामारीको रुप लिएको थियो जसद्वारा विश्वका तीन करोड पचास लाखको जीवन लिएको थियो। यस महामारी मूलत: अवैध यौन सम्बन्धहरू मार्फत व्यापक रुपमा प्रसारण भएको थियो। यस पछि विश्व यौनको मामिलामा एक पटक झस्किएको थियो। मेक्सिको देखि शुरु भई सन् २००९ देखि २०१० सम्म फैलिएको स्वाइन रुघाले ५ लाख मानिसको जीवन लिएको थियो। त्यसरी नै पश्चिम अफ्रिकाबाट सन् २०१४ मा शुरु भई २०१६ सम्म फैलिएको इबोला महामारीद्वारा पनि हजारौंको जीवन लिएको थियो।
विश्वका सबै भाग र सबै मानिसलाई प्रभावित बनाएको कोरोना महामारीले अहिले सम्मकै सबैभन्दा अमिट छाप छोडेको देखिन्छ। यसले यस मितिसम्ममा २ करोड भन्दा बढि जनसंख्यालाई संक्रमित बनाएको छ भने करिव आठ लाख जनजंख्याको जीवन लिइसकेको अवस्था छ। गत डिसेम्वर २०१९ देखि चीनबाट शुरु भएको यस महामारीले उत्तर र दक्षिण अमेरिका, सम्पूर्ण युरोप, भारत लगायत एशिया, अफ्रिका, अष्ट्रेलियालाई नराम्रारी प्रभावित पारिरहेको अवस्था छ। अहिले सम्ममा कोरोना वा कोभिड भाइरसद्वारा विश्वमा ३७ करोड, ९६ लाख, ८३ हजार ३४० जना संक्रमित भएका छन् भने ५६ लाख, ९४ हजार, १३२ जनाको मृत्यु भएको छ। यस महामारी मत्थर भइसकेको छैन। यसले आगामी महिनाहरू मात्र होइन वर्षहरू सम्म पनि विश्वका मानव समाजलाई आतंकित पारिरहन सक्दछ। यातायातको प्रचुर सुविधाले ल्याएको व्यापाक मानव यात्रा र ओहोरदोहोरले यस महामारीलाई विश्वव्यापी बनाउन व्यापक साथ दियो भने विकसित सामाजिक संजालले सूचनाको व्यापक प्रसारणको कारण मानव जाति अहिले सम्मकै सबैभन्दा वेसी आतंकित रहेको देखिन्छ। यसले आउने दिनहरूमा आउने ठूला ठूला महामारीहरूद्वारा विश्व कसरी सजिलैसंग आतंकित हुनेछ सो कुरालाई सजिलै आँकलन गर्न सकिन्छ। ठाउँ ठाउँमा भइरहेको महामारीहरू कसरी विश्वव्यापी भइरहेका छन् सो जान्नु कति महत्वपूर्ण संकेत हो। अन्तिम दिनहरूमा महामारीहरू हुने तथ्यलाई बाइबलले स्पष्ट रुपमा उल्लेख गरेका छन् (मत्ती २४:७)।
महामारीहरू त हुन्छन् नै तर हामीहरू महामारीहरूका दिनहरूमा कसरी जिउने सो महत्वपूर्ण हुनेछन्। हामीले परमेश्वरको निर्देशन मान्न आवश्यक छ। परमेश्वरको वचनको ज्ञानमा बढ्नु वा उहाँको इच्छा जान्नु एक महत्वपूर्ण कर्तव्य हुन्छ। किनकि समयहरूको सम्बन्धमा उहाँले तथ्यहरूलाई प्रकाश पार्नुभएको छ। उहाँको इच्छा जान्दा तदानुसार हामी आफूलाई आत्मिक रुपमा अनि शारीरिक रुपमा तयार पार्दछौं। भक्तिमय अनि प्रार्थनामय जीवन ज्यादै महत्वपूर्ण हुन्छ। संकटका दिनहरूमा हामी उहाँलाई पुकार्न सक्दछौं अनि उहाँले हामीहरूलाई छुटकारा दिन सक्नुहुन्छ (भजन संग्रह ५०:१५)। साथै हाम्रो शुरक्षा र हितका निम्ति परमेश्वरले सरकारलाई जिम्मा दिनुभएको छ। सरकारको उचित सल्लाह र निर्देशनलाई गम्भीरता साथ पालन गर्नु पनि हाम्रो कर्तव्य हुन्छ। सरकारमा बसेका उच्च ओहोदामा रहनेहरूका निम्ति उचित आदर र प्रार्थना गर्नु हाम्रो महत्वपूर्ण कर्तव्य हो (रोमी १३:४)। अत: महामारी अहिले विश्वमा चलिरहेको छ। सचेत होऔं। साथै आउने दिनहरूमा ठूला र थप जटिल महामारीहरू आउनेछन्। तर यी सबैका बाबजुद हामी शुरक्षित र आशिषित हुनेछौं उहाँको अनुग्रहले।
पा. यू. जे. गुरुङ