
वर्ष २०२० र २०२१ लकडाउन र आफ्ना घरबासमा बितेका वर्षहरू थिए। सेवा संगति तथा विविध कार्यक्रमहरूका निम्ति एक ठाउँमा जुट्न अन्यलाई जस्तै ख्रीष्टियनहरूलाई पनि असंभव भयो। सरकारको लकडाउनको आज्ञालाई नेपालका ख्रीष्टियनहरूले गम्भीरताका साथ पालन गरे। करिव दुई वर्षसम्म घरमै सिमित हुँदा कति चुनौति हुँदो हो त्यो त भोग्नेहरूलाई नै थाहा हुने कुरा भयो। त्यही माथि कोही विरामी परे, कोही आर्थिक संकटमा परे विभिन्नै भए। सबैभन्दा बढी त धेरै चर्चहरूलाई सेवासंगतिको अभाव रह्यो। तर खुशीको कुरा काठमाडौं बप्तिस्ट मण्डली ‘एवेनेजर’ लगायत धेरै मण्डलीहरूले अनलाईन संगतिको प्रचुर अवसर लियो। यस अवधिमा एवेनेजर तथा यससंग संगतिमा रहेका संगति मण्डलीहरूले अनलाईन सेवा मार्फत प्रशस्त मात्रामा शिक्षा तथा संगति पाए। धेरै वटा बाइबलीय पुस्तकहरूको अध्ययन सम्पन्न गरियो जसका भिडियो रेकर्डहरू केबीसी एवेनेजरको युट्युव च्यानलमा आज पनि उपलब्ध छन्। यसबाट धेरै जनाले आशिष पाएका, उत्साही भएका गवाहीहरू प्राप्त भएका थिए। अनलाईन सेवा संभव गराउन एवेनेजरका अगुवा तथा युवा अगुवाहरूले आफ्नो ठाउँबाट ठूलो योगदान दिएका थिए। विश्वासीहरूमा अनलाईन संगतिको निम्ति ठूलो तृष्ण जागेको थियो। उहाँहरूले देश विदेशबाट अनलाइन सेवामा भाग लिएका थिए। सिकाउने शिक्षकहरूलाई पनि ठूलो उत्साह जागेको थियो। एकातर्फ सबैलाई फुर्सत हुनु, अर्को तर्फ आत्मिक भोक हुनुले अनलाइन मार्फतको सेवा निक्कै प्रभावकारी रह्यो। त्यति मात्र होइन अनलाईन मार्फत विश्वासीहरू विचमा जोडिने कार्यहरू पनि भए। फलस्वरुप मण्डलीका आवश्यकीय जिम्मेवारीहरू पूरा गर्न सहज बनेको थियो।
सामाजिक संजाल सम्बन्धमा विविध मानिसका विविध मूल्यांकन तथा मिस्रित प्रतिकृयाहरू रहेका छन्। तिनको सहि सदुपयोग गरे ती उपयोगी हुने र दुरुपयोग गरे अनुपयोगी हुने जायज हो। लकडाउन अवधिमा विशेष गरी फेसबुक अनलाइन र जुम अनलाइन निकै महत्वपूर्ण सावित भयो। एवेनेजरले यसको भरपुर सदुयोग गर्यो। विस्तारै एवेनेजर परिवार तथा यसका संगति मण्डली जनहरू कामहरूमा व्यस्त हुनुपरेको अवस्था भएतापनि आत्मिक भोक हुने तथा समय व्यवस्थापन गर्न सफल जनहरू ठूलो संख्यामा अझै पनि अनलाईन संगतिहरूमा निरन्तर लागिरहनुभएको छ। यसले विशेष गरी टाढा रही सेवा संगति नपाइरहेका जनहरूका निम्ति ठूलो सेवा प्रदान गरिरहेको अनुभूति हामीले गरिरहेका छौं। शुरुका दिनहरूमा फिटिक्कै बाहिर निस्कन नपाइने, घरभित्रै बस्नुपर्ने परिस्थितिमा पवित्र जनहरूले निक्कै कठिनाई व्योहोर्नुपरेको थियो। आर्थिक जटिलता त्यत्तिकै चुनौतिपूर्ण थियो। तर परमेश्वरले पवित्र जनहरूलाई उत्साह र राहत दिलाउनुभयो। सबै परिस्थितिहरूमा पवित्र जनहरू स्थिर रहे, खडा रहे। शिक्षा, संगीत, प्रविधिमा मण्डलीका विभिन्न व्यक्तित्व तथा युवाहरूले साथ र सहयोग दिएका थिए। त्यसरी सहयोगी हात बढाउन स्वदेश विदेशमा रहेका दाज्यूभाई दिदी बहिनीहरूले ठूलो योगदान गरेका थिए। एवेनेजर परिवार यस परिस्थितिमा एकै मन भई आफ्ना अग्रजहरूलाई साथ दिई अघि बढेकाले सेवाकाई गर्नेहरूलाई ठूलो उत्साह मिलेको थियो। यस विचमा केहीलाई विरामी तथा अन्य संकटहरू भए तर प्रभुले अनुग्रह गर्नुभयो। परमेश्वर एवेनेजर मण्डलीको साथमा हुनुभयो र ठूलो आशिषका हामी भागीदार भयौं। संगतिविहिन यस अवस्थामा प्रभुले भोज जुटाउनु भयो। शुरुका दिनहरूमा हरेक दिन विहान र साँझ गरी दुई पटक सभाहरू गरिए। साथै बाल सभा, युवा सभा, महिला सभालाई निरन्तरता दिइयो। महिला सभा, बाल सभाहरू अनलाइनबाटै संचालन गरिएका थिए। बाइबल कलेज क्लासहरू पनि संचालन गरियो। हामी पहिला भन्दा अझ व्यस्त रह्यौं। प्रभुले यी सबैमा ठूलो अनुग्रह गर्नुभयो। हामीहरू परमेश्वरमा र पवित्र जनहरूमा ज्यादै आभारी छौं। ती संकटका दिनहरूमा जे अनुग्रह मिल्यो त्यसको निम्ति परमेश्वरमा हामी ज्यादै धन्यवादी छौं। त्यसरी नै आर्थिक व्यवस्थापनका निम्ति पनि भाईहरूले ठूलो योगदान गर्नुभएको थियो। ती दिनहरूमा मण्डलीको आर्थिक भार बहन तथा सेवालाई निरन्तरता दिन धेरै पवित्र जनहरूले आफ्नो दशांशभेटी दिने कार्यलाई निरन्तरता दिई ठूलो योगदान दिएका थिए। फलस्वरूप मण्डलीको आर्थिक जिम्मेवारीहरूमा घटी हुन पाएको थिएन। साथै २०२१ को अन्तिम चार महिनाहरूमा मण्डली भवनलाई विस्तार गर्ने तथा महत्वपूर्ण निर्माण कार्यहरू सम्पन्न गरिएको थियो। एवेनेजर भवनको अहिले स्वरुप फेरिएको छ। लकडाउन र आर्थिक जटिलता विचमा पनि एवेनेजर मण्डलीका विश्वासयोग्य जनहरूको सहभागीतामा ठूलो खर्च प्रवन्धमा निर्माण कार्य सम्पन्न गरिएको छ। परमेश्वरले आफ्ना जनहरूको विश्वासनीयतामा आशिष दिनुभयो। ती योगदान दिनेहरूका नामावली र इतिहास हाम्रा अगाडी ठूला अक्षरहरूले लेखिएका छन्, मानसपटलमा कुंदिएका छन्। हाम्रा विचमा कति महत्वपूर्ण पवित्र जनहरूको बाक्लो उपस्थिति रहेको छ भन्ने कुरा यस संकटकालमा पुष्टि भएको थियो।
वर्ष २०२० र २०२१ आज एक इतिहास बन्न पुगेको छ। यो अन्तिम दिनहरूका निम्ति संकटको एक पूर्वाभ्यास बनेको थियो। संकटको दिनमा कसरी जिउने र त्यसको प्रतिवाद गर्ने सोको अभ्यास गर्ने एक सुन्दर अवसर थियो। यस परिस्थितिमा परमेश्वर स्वयंले हस्तक्षेप गर्नुभयो। परिस्थितिहरू सम्हाल्नुभयो। “अनि हामी जान्दछौं, परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाई नै उत्पन्न गर्दछन्, उनीहरूका निम्ति, जो उहाँकै मनसायअनुसार बोलाइएका छन्” (रोमी ८:२८)। सबै कुरा मिलेर एवेनेजर मण्डली तथा एवेनेजरसंग संगतिमा रहेका हाम्रा संगति मण्डलीहरूमा भलाई भएको छ। परमेश्वरलाई धन्यवाद। “संकटको दिनमा मलाई पुकार; म तिमीलाई छुटकारा दिनेछु र तिमीले मेरो बढाई गर्नेछौ”। हामी हाम्रा परमेश्वरको बढाइ गर्दछौं। उहाँको बढाई भएको छ। आमेन।
पा. यू. जे. गुरुङ