No comments yet

एवेनेजर इतिहास KBC Ebenezer History

.     परिचय

“एवेनेजर” काठमाडौं बप्तिस्ट मण्डलीको आदर्श नाम हो। यो नाम सन् १९९२ मा राखिएको हो, जसको अर्थ “परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हो” (१ शमूएल ७:१५)। सन् १९९२ मा यस मण्डलीले विश्वासद्वारा आफ्नो एक भवन निर्माण गर्‍यो। यो निर्माण कार्यमा कुनै पनि व्यक्ति, मण्डली वा संस्थासंग आर्थिक सहायता मागिएको थिएन नता भरोसा नै गरिएको थियो। तर परमेश्वरमा गरिएको भरोसा र आशाद्वारा यो विश्वासको महत्वपूर्ण कदममा परमेश्वरको सहायता पाइएको थियो। परमेश्वरले त्यहाँसम्म हामीलाई सहायता गर्नुभएकोले त्यस कुराको सम्झना स्वरुप यस मण्डलीको नाम ‘एवेनेजर’ राखिएको थियो। यस मण्डलीको स्थापना सन् १९८३ मा भएको हो। यस मण्डलीको स्थापनाको निम्ति परमेश्वरले विभिन्न ब्यक्तिहरूलाई प्रयोग गर्नुभएको थियो।

प्रारम्भिक चरणमा परमेश्वरले आफ्नो मण्डलीको स्थापना कार्यको निम्ति डेविड क्लाउड, म्याक सांगलीर, माइक भेम, गणेश बहादुर तामाङ, फर्क मगर, एलिया प्रधान, दल बहादुर लामालाई विभिन्न तरिकाले प्रयोग गर्नुभएको थियो। औपचारिक रुपमा १९८३ मा मण्डलीको स्थापना भइसकेपछि यस मण्डलीको विकास र परिपक्वताको निम्ति डेविड क्लाउड, म्याक साँगलीर, यू. जे. गुरुङ, थोमस काफ्मन र गणेश बहादुर तामाङलाई परमेश्वरले प्रयोग गर्नुभयो। यस मण्डलीको स्थापना कार्यमा प्रारम्भिक चरणमा म्याक साँगलीरको अग्रणी भुमिका रहेको थियो। १९८३ देखि १९८९ मार्च ४ सम्मको अवधिमा पास्टर (गोठालो) को भूमिका उहाँले नै निभाउनुभएको थियो। यस अविधमा औपचारिक रुपमा पास्टरको स्थानमा कोही पनि नियुक्त गरिएको थिएन। १९८९ मार्च ४  तदानुसार २०४५ फागुन २१ का दिन यू. जे. गुरुङलाई औपचारिक रुपमा यस मण्डलीको पास्टरको रुपमा अभिषेक गरिएको थियो। त्यसबेलादेखि यस दिनसम्म उहाँले नै यस मण्डलीको पास्टरको रुपमा जिम्मेवार बहन गर्दै आउनुभएको छ।

२. प्रारम्भिक चरण (सन् १९७९-१९८३)

२.१ जावलाखेल

डेविड क्लाउड

          डेविड क्लाउड नेपालमा फेब्रुवरी १९७९ (माघ २०३६) मा आउनुभएको हो। प्रारम्भमा उहाँ नेपालका मण्डलीहरुको साझा संस्था एन. सी. एफ. (नेपाल ख्रीष्टियन फेलोशिप) मा रही काम गर्नुहुन्थ्यो। उहाँले नेपालका मण्डलीहरूका निम्ति नेपाली भाषामा विभिन्न पुस्तकहरूको प्रकाशन गर्नुभयो। उहाँले दुई अंकसम्म प्रकाशन गर्नुभएको ‘ज्योति’ पत्रिका नेपालकै पहिलो ईशाई पत्रिका मानिन्छ। उहाँले प्रकाशन गर्नुभएका पुस्तकहरूमा यूहन्नाको पुस्तकको टिप्पणी, उत्पत्तिको पुस्तकको टिप्पणी, मण्डली अगुवाहरूको निम्ति सहयोगी पुस्तक, नयाँ नियम मण्डली अनुशासन, बाइबल अध्ययन सहयोगी, झूटो शिक्षाका जालहरू तथा भविश्यवाणी सम्बन्धि पुस्तकहरू थिए। ती मध्ये बाइबल अध्ययन सहयोगी, झूटो शिक्षाका जालहरू नेपालका मण्डलीहरूले मनपराएका पुस्तकहरू हुन्। ‘बाइबल अध्ययन सहयोगी’ नेपालमा निक्कै प्रयोगमा आएका छन्। यस पुस्तककी लेखिका श्रीमति लिण्डा क्लाउड हुन्।

डेविड क्लाउड निर्भिक प्रचारक भएकोले नेपाली मण्डलीहरूमा उहाँले उथलपुथल ल्याउनुभएको थियो। धरानमा भएको एन. सी. एफ. सभामा उहाँले दुई वा सो भन्दा बढी पत्नीका पति पास्टर हुन नसक्ने प्रचार गरेपछि एन. सी. एफ. सँग खटपट शुरु भएको थियो। सन् १९८२ अर्थात् २०३९ मा उहाँले ‘लोकप्रिय बाइबल’मा भएका त्रुटीहरू औंल्याउँदै एक पर्चा प्रकाशन गर्नुभएपछि त्यसको प्रतिक्रिया स्वरुप नेपालमा सुसमाचार प्रचारमा सेवारत स्वीस सँस्था ‘न्यु लाइफ मिशन’का निर्देशक श्री मर्कूस र आराधना चर्चका एक अगुवा चार्ल्स मेन्डिजले आफुसँग भएका लोक प्रिय बाइबलहरुलाई नेपाल बाइबल सोसाइटीमा फिर्ता लैजाँदा फिर्ता नलिएपछि ती प्रतिहरुलाई जलाएका थिए। चार्ल्स मेन्डिज पनि यस कार्यमा सहभागी रहेको तथ्य श्री लोकनाथ मनेनले रहस्योद्घाटन गर्नुभएको थियो। यस घटनापछि नेपालका १० ख्रीष्टियन अगुवाहरूले सो कार्यप्रति आफ्नो असहमति जनाउँदै उहाँलाई तुरुन्तै देश छाड्न एक संयुक्त पत्र पठाएका थिए। त्यस समयपछि उहाँले एन. सी. एफ. सँग सेवाकाइ गर्न बन्द गर्नुभएको थियो। एवेनेजरलाई बाइबलीय शिक्षामा बसाल्ने काममा उहाँको ठूलो योगदान रहेको छ। उहाँ १९८९ मा आफ्ना परिवारका साथ अमेरिका जानुभयो।

लिण्डा क्लाउड

श्रीमति लिण्डा क्लाउड श्री डेविड क्लाउडकी पत्नी हुनुहुन्छ। उहाँ सन् १९७५ (२०३२) मा नेपाल आउनुभई उहाँले डडेलधुरा जिल्लाको पोखरा स्थित हस्पीटलमा नर्सको रुपमा काम गर्नुभएको थियो। नेपालमा सुसमाचार सुनाउन बोझ उठाउनु भएका श्रीमती लिन्डा क्लाउडले एवेनेजरको स्थापनामा महत्वपूर्ण भूमिका निभाउनुभएको थियो। बाल तथा महिलाहरुका बिच सेवाकाई गर्नेहरुलाई उत्साह दिने, विश्वासीहरु, विरामीहरुलाई भेटघाट गर्ने सेवाहरुमा उहाँ नमूना   हुनुहुन्थ्यो। आफ्ना श्रीमान डेविड क्लाउडसंगै १९८९ मा अमेरिका नफर्केसम्म एवेनेजरमा उहाँको भूमिका राम्रो थियो।

म्याक साँगलीर

          उत्तर-पूर्वी भारतको नागालैण्डमा जन्मनुभएका म्याक सांगलीर अप्रिल १५, १९७६ को भयानक दुर्घटनापछि आफ्नो बागी जीवनबाट प्रभुमा आउनुभएको हो। त्यस समयदेखि उहाँको हृदयमा हराएकाहरुलाई सुसमाचार सुनाउन परमेश्वरले इच्छा र बोझ दिनुभएको थियो। कलकत्तामा बाइबल कलेज अध्ययन पछि मिशिनरीको रुपमा नेपाल जान प्रभुले ढोका खोलिदिनुभयो र जनवरी १९८२ मा उहाँ नेपाल आउनुभयो। म्याक साँगलीर एवेनेजरलाई स्थापना गर्नमा परमेश्वरद्वारा प्रयोग गरिएको एक व्यक्ति हुनुहुन्थ्यो। उहाँको प्रचार र व्यक्तिगत सम्पर्कद्वारा सेवाकाइमा नयाँ अध्याय नै शुरुभएको थियो। उहाँमा  प्रचारकको वरदान थियो। उहाँ मूल रुपमा सुसमाचार प्रचार गर्न, नयाँहरूलाई व्यक्तिगत सम्पर्क राखी हुर्काउने काम गर्न, बाइबल अध्ययन सभाहरू सञ्चालन गर्न समर्पित हुनुहुन्थ्यो। उहाँ आउनुभएपछि नै यस समूहमा विश्वासीहरुको संख्या बढ्न थालेको थियो। उहाँको सेवाकाईले एवेनेजरको स्थापनामा महत्वपूर्ण जग बसालेको थियो। म्याक साँगलीर नै एवेनेजरको यस्तो व्यक्ति हुनुहुन्थ्यो जसले त्यस सानो बगालको सुखदुखहरूमा साथ दिनुभयो। एवेनेजरको प्रारम्भिक चरणदेखि प्रथम पास्टरको नियुक्तिसम्म उहाँले यस बगालको गोठालाको भूमिका निभाउनुभएको थियो। उहाँ एक समर्पित सेवक हुनुहुन्थ्यो।

फर्क मगर

सर्वप्रथम यस समूहको सेवाकाइबाट फर्क मगरले ख्रीष्ट येशूलाई विश्वास गरेका थिए। फर्क मगर यस सेवाकाइको निम्ति प्रारम्भिक चरणमा एक महत्वपूर्ण व्यक्ति हुनुहुन्थ्यो। उहाँले सबै प्रचार तथा प्रवचनहरूलाई अनुवाद गर्ने काम गर्नुहुन्थ्यो। रूकुम जिल्लामा जन्मेका फर्क मगर छात्रवृत्ति पाई बुढानीलकण्ठ स्कूल, काठमाडौंमा अध्ययन गर्नुभएका एक सक्षम अनुवादक हुनुहुन्थ्यो। फर्क मगरद्वारा नै गणेश बहादुर तामाङ ख्रीष्टमा डोर्‍याइएको थियो। सन् १९८७ सम्म एवेनेजरमा उहाँको भूमिका सकृया थियो।

गणेश बहादुर तामाङ

गणेश बहादुर तामाङलाई सुसमाचार सुनाउने फर्क मगर हुनुहुन्थ्यो भने सुसमाचार बुझाउने काममा एलिया प्रधानको ठूलो योगदान रहेको थियो। उहाँले २०३८ मंसीरमा ख्रीष्टलाई ग्रहण गर्नु भई त्यही वर्षको पौष महिनामा बप्तिस्मा लिनुभएको हो। २०३९ को असार महिनामा डेविड क्लाउडद्वारा शुरु गरिएको बाइबल स्कुलमा भर्ना भई उहाँले २०३९ मंसीरमा अध्ययन पूरा गर्नुभएको थियो। २०३९ पौष महिनाको शुरुतिर गणेश बहादुर तामाङ र चन्द्रवीर गुरुङ सुसमाचारीय पुस्तिकाहरु बाँड्दै गर्दा गणेश बहादुर तामाङलाई बाघबजार मोडमा प्रहरीले पक्राउ गर्‍यो र कमलपोखरी ठानामा राख्यो। त्यसपछि फर्क मगर, विजय राईलाई समेत पक्राउ गरी तीनै जनालाई हनुमान ढोकामा राखिएको थियो। त्यसपछि उहाँहरुलाई डिल्लीबजार खोरमा सारिएको थियो। २०३९ माघमा उहाँहरु धरौटीमा छुट्नुभयो। अरु दुईले मुद्दा खेपेनन् तर गणेश बहादुर तामाङले भने मुद्दा खेपिरहनुभयो। अन्तमा उहाँलाई अदालतले सफाई दिएको थियो।

त्यसपछि आफ्नै नीजि बेकरीमा काम गर्दै ख्रीष्टको काममा लाग्नुभएका श्री गणेश बहादुर तामाङले यू. जे. गुरुङसंगै २०४१ मा पूर्णकालीन रुपमा ख्रीष्टको सेवाका निम्ति आफूलाई सुम्पनुभएको थियो। गणेश बहादुर तामाङ एवेनेजर सेवाकाईको एक अनमोल आधारको रुपमा यस दिनसम्मै खडा भइरहनुभएको छ। प्रारम्भिक र प्रथम चरणसम्म उहाँको दरिलो साक्षी र प्रचारले मानिसहरु आशिषित भएका थिए। दोश्रो चरणमा उहाँ एवेनेजरको मण्डली स्थापना दर्शन अनुसार उहाँ चिउरी बगैंचा, धनगढीमा लामो समयसम्म सेवारत हुनुभयो र उहाँको सेवाकाईमा परमेश्वरले आशिष दिनुभयो र मण्डलीहरु शुरु भए। हाल उहाँ आफ्नो परिवारका साथ हेटौंडामा सेवारत हुनुहुन्छ।

मीना गुरुङ

मीना गुरुङलाई ख्रीष्टमा डोर्‍याउने काम गणेश बहादुर तामाङले गर्नुभएको थियो। उहाँलाई सुसमाचार बुझाउने काममा लिण्डा क्लाउड तथा सुस्मा के. सी. को योगदान रहेको थियो। गणेश बहादुर तामाङपछि आजको दिनसम्म एवेनेजर सेवाकाईमा अत्यन्तै विश्वासयोग्यसाथ समर्पित भई सेवामा लागिरहनेहरुमा मीना गुरुङको नाम आउँछ। मीना गुरुङ एवेनेजरकी एक महत्वपूर्ण खाँवा हुनुहुन्छ। प्रारम्भिक चरणदेखि लगातार आजको दिनसम्म उहाँ ख्रीष्टको साक्षी बनिरहनुभएको छ। बाल तथा महिलाहरुको सेवालाई निरन्तर रुपमा अघि बढाइरहनुभएका मीना गुरुङको २०४५ मा यू. जे. गुरुङसंग विवाह भएपछि उहाँको साथमा रही आजको दिनसम्म एवेनेजरमा सेवा गरिरहनुभएको छ।

यस चरणपछि एवेनेजर सेवाकाईमा एक समूह बनेको थियो। डेविड क्लाउड, लिण्डा क्लाउड, म्याक सांगलीर, माइक भेम, फर्क मगर, गणेश बहादुर तामाङ र मीना गुरुङको एक संयुक्त समूहको सक्रियतामा यस समूहको सेवाकाईमा नयाँ अध्याय थपिएको थियो। उक्त सेवाकाइमा एलिया प्रधान र दल बहादुर लामाको पनि सहभागिता रहेको थियो विशेष गरेर पत्राचार स्कुल संचालन कार्यमा। मण्डलीलाई मानिसले स्थापना गर्न सक्दैन तर ख्रीष्टले गर्नुहुन्छ। मण्डली मानिसको होइन तर ख्रीष्टको हो। उहाँले आफ्नो मण्डली स्थापना गर्नको निम्ति विभिन्न मानिसहरुलाई प्रयोग गर्नुहुन्छ। मण्डली स्थापनामा उहाँले नै महिमा लिनुहुन्छ, जस्तो लेखिएको छ, ”म आफ्नो मण्डली बनाउनेछु, अनि नरकका ढोकाहरु यसमाथी विजयी हुनेछैनन्।” मत्ती १६:१८।

यस समूहद्वारा जीवन मार्ग पत्राचार अध्ययन सञ्चालन भइरहेको थियो। यस अध्ययन मार्फत विभिन्न स्थानहरुबाट बाइबल अध्ययन गरिरहेका थिए। यू. जे. गुरुङले पनि यस अध्ययन मार्फत १९८२ मा ख्रीष्टको विषयमा अध्ययन गरिरहनुभएको थियो। यस समूहद्वारा जावलाखेलमा एक बाइबल स्कूलको सञ्चालन गरिएको थियो। यसको शुरुआत २०३९ असारमा भएको थियो र यसले छ महिने अध्ययन समापन गरेको थियो। बाइबल स्कुलमा जम्मा विद्यार्थीहरु १० जना जति थिए। ती विद्यार्थीहरुमा फर्क मगर, गणेश बहादुर तामाङ, चन्द्रवीर गुरुङ, मोहन क्षेत्री र विजय राई आदि थिए। शिक्षकहरुमा डेविड क्लाउड, म्याक सांगलीर, लिण्डा क्लाउड, क्लेमेन्ट थिए भने अनुवाद गर्नेहरुमा एलिया प्रधान र फर्क मगर हुनुहुन्थ्यो। बाइबल स्कूलको साथ साथै त्यही भवनको एक सानो कोठामा बाइबल अध्ययन संगति हुन्थ्यो। ती दिनहरुमा थोरै मानिसहरु जुट्दथे। बाइबल स्कुलका विद्यार्थीहरु बाहेक मीना गुरुङ, पूर्णिमा श्रेष्ठ, बन्धुदेव पाण्डे आदिहरु पनि संगतिमा जुट्ने गर्दथे। यस संगति अघि डेविड क्लाउडको घरमा केही समय संगति सञ्चालित थियो जसमा केही मानिसहरुले बाइबल अध्ययनहरुमा भाग लिन्थे। तर कसैले पनि विश्वास गरेनन्। तर क्लाउड परिवार लगायत म्याक साँगलीर ज्ञानेश्वर मण्डली जाने गर्नुहुन्थ्यो। विश्वासीहरुलाई प्रभुमा हुर्काउने कार्य विशेष गरी म्याक सांगलीर, लिण्डा क्लाउडले गरिरहनुभएको थियो भने साथ दिनेहरुमा गणेश बहादुर तामाङ, मीना गुरुङ आदि थिए। एउटा टिमको रुपमा काम भइरहेको थियो। बाइबल स्कूलको अध्ययन २०३९ मंसीरमा समाप्त भएको थियो। बाइबल स्कूल समाप्त भएपछि गणेश बहादुर तामाङ र चन्द्रवीर गुरुङ सुसमाचारीय पुस्तिकाहरुको वितरण गर्ने क्रममा गणेश बहादुर तामाङलाई बाघबजार मोडमा प्रहरीले पक्राउ गरी कमलपोखरी स्थित प्रहरी ठानामा पुर्‍याएका थिए। पछि फर्क मगर, विजय राईलाई पनि बाइबल स्कूलबाट पक्राउ गरिएको थियो। प्रहरी हिरासतमा बस्दा प्राय: खाना ल्याइदिने काम चन्द्रवीर गुरुङले गर्नुभएको थियो। साथै मीना गुरुङ, एलिया प्रधान, ज्ञानी एन्डरसन, स्याण्डी एन्डरसनले बेला बेलामा खाना पुर्‍याउने र भेट्ने गर्नुहुन्थ्यो। त्यस अवधिमा एलिया प्रधान र चन्द्रवीर गुरुङको विशेष भूमिका रहेको थियो। यस अवधिमा क्लाउड परिवार र म्याक साँगलीरलाई पनि प्रहरीले पक्राउ पुर्जी काटेको थियो। नियमित संगतिहरु बन्द भएका थिए। विश्वासीजनहरु अलमल्लमा परेका थिए। यही अल्मलिएको समयमा जीवन मार्ग पत्राचार स्कुलबाट सम्पर्कमा आउनुभएका यू. जे. गुरुङ यस संगतिलाई खोज्दै आउनुभएको थियो। तर ठेगाना नभेट्टाएपछि उहाँ लोक थापा र एलिया प्रधानको सम्पर्कमा आई आराधना चर्च जानुभएको थियो। त्यही क्रममा उहाँ क्याम्पस क्रुसेड तालिममा प्रवेश गर्नुभएको थियो। म्याक साँगलीरले त्यस सानो बगाललाई सम्हाल्ने काम गरिरहनुभयो। एक महिनापछि माघ महिनामा  गणेश बहादुर तामाङ लगायत  अरुहरु धरौटीमा छुट्नुभयो। धरौटी चुक्त गर्ने काम एलिया प्रधानले गर्नुभएको थियो। ती दिनहरुमा डेविड क्लाउड परिवार केही महिनाको निम्ति देश बाहिर जानुभएको थियो। परिस्थिति जटिल थियो तर परमेश्वरले बगाललाई हेरिरहनुभएको थियो। परमेश्वरले आफ्नो बाहुबलद्वारा बगाललाई शुरक्षा प्रदान गर्नुभयो।

२.२  झम्सीखेल

त्यो अन्यौलको समयपछि म्याक साँगलीर, माइक भेम, फर्क मगर, गणेश बहादुर तामाङ, मीना गुरुङ तथा समूहका अन्य विश्वासी दाज्युभाइ दिदीबहिनीहरू बिच २०३९ फागुनको अन्ततिर झम्सीखेलमा संगति शुरु भयो। झम्सीखेलमा माइक भेमको घरमा म्याक साँगलीर र माइक भेमद्वारा त्यहाँ नियमित संगतिहरू संचालित भइरहेका थिए। त्यहाँ संगति  शुरु भएको ५ हप्तापछितिर यू. जे. गुरुङ पनि दुई चार पटक लाजिम्पाटबाट संगतिमा आउनुभएको थियो। उहाँ ती दिनहरूमा आशिष मण्डलीमा सुन्दर थापासंगै रही क्याम्पस क्रुसेडमा काम गर्नुहुन्थ्यो। झम्सीखेलमा संचालित संगति नै एवेनेजर मण्डलीको कोषेढुङ्गा साबित भएको थियो। यस समयमा गणेश बराल, राजेन्द्र थापा, जनक भण्डारी थपिएका थिए। झम्सीखेलको संगतिलाई करिब छ महिनापछि भाद्र २०४० मा मीनभवन क्याम्पस मार्गमा सारिएको थियो।

३‍.     एवेनेजरको स्थापना र प्रथम चरण (१९८३-१९८९)

३.१ मीन भवन

प्रारम्भिक चरणमा रहेको यस झुण्डलाई म्याक साँगलीरले नेतृत्व गरिरहनुभएको थियो। डेविड क्लाउड परिवार पुन: नेपाल आउनुभएपछि परमेश्वरले उहाँहरूका साथमा माइक भेम, म्याक साँगलीर, फर्क मगर, गणेश बहादुर तामाङ लगायत समूहका अन्य दाज्यू भाइ दिदीबहिनीहरूका साथ आफ्नो मण्डली एवेनेजरको स्थापना सन् १९८३ को अन्ततिर अर्थात् वि. सं० २०४० पौषमा  मीन भवनमा गर्नुभयो। एवेनेजरको स्थापनामा व्यक्तिविशेषको भन्दा समूहको रुपमा सेवाकाई भएको पाइन्छ। मण्डलीको रुपमा संगठित हुँदा प्रथम सदस्यहरुमा सूचि अनुसार क्रमश: म्याक सांगलीर, फर्क मगर, गणेश बराल, राजेन्द्र थापा, जनक बहादुर भण्डारी, बाल कृष्ण दाहाल, हरिहर महर्जन, गणेश बहादुर तामाङ, कुमार प्रसाद दाहाल, दल बहादुर लामा, राज कुमारी लामा, लिण्डा क्लाउड, डेविड क्लाउड, रमिला जोशी, कर्ण जोशी र मीना गुरुङ हुनुहुन्थ्यो। मण्डली स्थापना गर्दा सदस्य संख्या १६ मात्र थियो। उहाँहरुमा फर्क मगर अनुवादकको रुपमा लामो समयसम्म सेवारत हुनुभयो। हरिहर महर्जनलाई पछिबाट डिकनको रुपमा नियुक्त गरिएको थियो। उहाँले मण्डलीको आर्थिक समूहमा रहेर लामो समयसम्म सेवा गर्नुभएको थियो। गणेश बहादुर तामाङ एवेनेजरको एक खाँबो हुनुहुन्थ्यो। दल बहादुर लामाले लामो समयसम्म जीवन मार्ग पत्राचारमा काम गरी सेवा पुर्‍याउनुभएको थियो। मीना गुरुङ प्रारम्भिक चरणदेखि लगातार आजको दिनसम्म महिला तथा बालबालिकाहरुबीच सेवारत हुनुहुन्छ। साथै २०४५ मा यू. जे. गुरुङसंग विवाह भएपछि उहाँलाई आजको दिनसम्म एवेनेजरको नेतृत्वमा साथ दिइरहनुभएको छ।

यू. जे. गुरुङ

२०४० मा यू. जे. गुरुङ याने उदि जंग गुरुङ एवेनेजर मण्डलीमा आउनुभयो। त्यही वर्षको फागुन महिनामा उहाँले एवेनेजरमा बप्तिस्मा लिनुभयो र एक सदस्यको रुपमा थपिनुभयो। उहाँ एवेनेजरकै जीवनमार्ग पत्राचार कार्यक्रम अन्तर्गत ख्रीष्टमा आउनुभएको थियो। तर एवेनेजरको स्थापना नभएको र यस समूह तितरबितर रहेको अवस्थाबाट भर्खरै मात्र नयाँ संगतिको रुपमा जुट्न थालेकोले सम्पर्कमा आउन नसक्दा उहाँ केही समयका निम्ति क्याम्पस क्रुसेड अन्तर्गत रही आशिष मण्डली लाजिम्पाटमा सेवाकाई गरिरहनुभएको थियो।

पौष २७, २०२१ मा नाल्मा १, ज्यार्खाङमा जन्मनुभएका श्री यू. जे. गुरुङले सुसमाचारीय पुस्तिकाहरुको प्याकेट एक विदेशी मिशिनरीबाट फागुन २०३८ मा लमजुङ भोटेवडारमा पाउनुभएको थियो। उहाँले २०३९ चैत्र महिनामा प्रभु येशूलाई प्रभु र मुक्तिदाताको रुपमा ग्रहण गर्नुभएको थियो। अमृत साइन्स कलेजमा अध्ययनरत श्री गुरुङले २९ फेब्रुअरी १९८४ अर्थात् फागुन १५, २०४० मा सुन्दरीजलमा एवेनेजरको तात्कालीन एक अगुवा माइक भेमबाट बप्तिस्मा लिनुभयो। २०४१ श्रावण १० (१९८४ अगस्ट) मा उहाँ एवेनेजरमा पूर्णकालीन सेवकको रुपमा समर्पित हुनुभएको थियो। उहाँलाई २०४५ फागुन २१ (१९८९ मार्च ४) का दिन डेविड क्लाउड, म्याक सांगलीर, म्याक्स डिविसन, थोमस कफ्मनले पास्टरको रुपमा अभिषेक गरेका थिए। उहाँले जिम्मेवारी सम्हाल्नु भएको केही समयपछि नै देशमा राजनीतिक उतारचढाव आयो र सबै मिशिनरीहरु आ-आफ्नो देश जानुपर्ने स्थिति भयो। मिशिनरीहरु आ-आफ्नो देश फर्के पछि उहाँको नेतृत्वमा मण्डलीलाई अघि बढाइयो। आजको दिनसम्म उहाँ आफ्नी पत्नी मीना गुरुङ, छोरी यूनिया गुरुङ, छोराहरु आदर्श जंग गुरुङ, विवेक जंग गुरुङ, अनन्त जंग गुरुङका साथ एवेनेजरमा परमेश्वरको सेवा गरिरहनुभएको छ।

मीनभवन सेवाकाईकै चरणमा थोमस काफ्मन एवेनेजरमा एक पूर्णकालीन कारिन्दाको रुपमा थपिनुभयो। साथै गणेश बहादुर तामाङ पनि पूर्णकालीन कारिन्दाको रुपमा समर्पित हुनुभयो। यसपछि एवेनेजर सेवाकाईमा नयाँ चरणको प्रारम्भ भएको थियो।

थोमस कफ्मन

स्वीस नागरिक थोमस कफ्मन रोमन क्याथोलिक परिवारमा जन्मनु भएको हो। उहाँ ख्रीष्टमा आउनुभएपछि ख्रीष्टको सुसमाचार प्रचार गर्ने दर्शनका साथ ‘न्यु लाइफ मिशन’ अन्तर्गत नेपाल आउनुभएको थियो। उहाँले नेपालका गाउँ गाउँ गई सुसमाचारीय पुस्तक पुस्तिकाहरु विक्री वितरण गर्ने कार्य गर्नुभयो। सो क्रममा २०३८ मा लमजुङ भोटेवडार क्षेत्रमा वितरण गर्दा केही विद्यार्थीहरुलाई पुस्तिकाहरु बेच्नुभयो।  खासै नेपाली नआउने थोमसले विद्यार्थीहरुलाई थोरै मूल्यमा पुस्तकहरु बेच्नुभएको थियो। यू. जे. गुरुङले पनि त्यही साल भोटेवडारमा एक विदेशीबाट पुस्तिकाहरु किन्नुभएको थियो। उहाँका  अनुसार उक्त विदेशीले ‘नमस्ते’ र ‘धन्यवाद’ मात्र भनेका सुनेका थिए। पछिबाट यू. जे. गुरुङले यस विषयमा थोमससंग छलफल गर्दा थोमसले उक्त विदेशी मानिस उहाँ आफैं रहेको बताउनुभएको थोयो।

सन् १९८४ देखि थोमस काफ्मन न्यु लाइफ मिसन छोडि एवेनेजरमा थपिनुभएको थियो। त्यसवेला देखि उहाँले यू. जे. गुरुङ, गणेश बहादुर तामाङसंगै रही मीन भवन, बत्तीस पुतली र भिमसेनगोला सेवाकाईहरुमा एवेनेजरलाई साथ दिनुभयो। प्राय: सुसमाचार सुनाइरहने, विश्वासीहरुलाई भेटघाट गरिरहने थोमस यात्राहरुमा पनि गइरहनुहुन्थ्यो। उहाँले एवेनेजरमै रहँदा स्वीस नागारिक उलरिकेसंग मगनी गरी आफ्नो देशमा जानुभई उहाँसंग विवाह गर्नुभयो। १९९० पछिका राजनितिक उथल पुथलहरुमा भिसाको समस्या र बाइबल अनुवाद गर्ने जिम्मेवारी पूरा गर्ने उद्देश्यले उहाँ आफ्नो परिवारका साथ कालिम्पोङ जानुभयो। त्यसवेला देखि उहाँ बाइबल अनुवाद गर्ने र नेपाली बाइबल करेस्पोन्डेन्स इन्स्टिच्युट संचालन गर्ने कार्यका निम्ति कालिम्पोङमा बसिरहनुभएको छ।

मीन भवनको सेवाकाई समयमा स्यान्डी एन्डरसन, ज्ञानी एन्डरसन, यू. जे. गुरुङ, नील एन्डरसन, कौशिला राई, धन बहादुर थापा, सानु विस्ट, राम शरण भण्डारी, सावित्री भन्डारी, धन कुमारी थापा, धन लामा, त्रिचन्द्र श्रेष्ठ, पुष्प रत्न मानन्धर, किरन राय, थोमस कफमन, देवी लाल लिम्बु, नानू श्रेष्ठ, पूर्ण केसरी श्रेष्ठ, महिमा गुरुङ, दुर्गासिं गुरुङ, दल बहादुर भण्डारी, मैया भण्डारी, आफुटी राई, फूल कुमारी लिम्बु एवेनेजरमा थपिनुभएको थियो। यो समयसम्म आइपुग्दा  सदस्य संख्या ३९ पुगेको थियो। उहाँहरूमा राम भण्डारीले एवेनेजर सेवाकाईमा  महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँ डेविड क्लाउडसंग रही काम गर्नुहुन्थ्यो। उहाँलाई १९८९ मा एवेनेजरको एक डिकनको रुपमा नियुक्त गरिएको थियो। उहाँ मण्डलीको पूर्णकालीन सेवकको रुपमा रहेर पनि केही समय सेवारत हुनुभयो। हाल उहाँ बौद्ध बप्तिस्ट मण्डलीको पास्टरको रुपमा सेवारत हुनुहुन्छ। उहाँ आफ्नी श्रीमती सावित्री भन्डारीका साथ एवेनेजर इतिहासको प्रथम चरणमा विश्वासनीय सेवकको रुपमा  रहनुभएको थियो। सावित्री भन्डारीले बाल तथा महिलाहरुको वीचमा सेवा गर्नुभएको थियो। धन कुमारी थापा एवेनेजरको सबै परिस्थितिमा स्थिर रहनुभएको अर्का महत्वपूर्ण साक्षी हुनुहुन्छ। महिलाहरुबीच राम्रो साक्षी बन्नुभएका धन कुमारी एवेनेजरको एक महत्वपूर्ण सदस्य हुनुहुन्छ। ख्रीष्टको सत्यतामा निरन्तर उभिरहनुभएका धन कुमारीको विवाह यसै मण्डलीमा श्री शिलास थापासंग भएको हो।

देवी लाल लिम्बु

मीन भवन सेवाकाइका अर्का पुराना खाँवा देवी लाल लिम्बु हुनुहुन्छ। उहाँ एवेनेजरको एक डिकनको रुपमा नियुक्त हुनुभएको सेवक हुनुहुन्थ्यो। सेवाको वरदान पाएको देव बहादुरले मण्डलीको सेवाकाईमा सहयोगीको भूमिका निर्वाह गर्दै आउनुभएको छ। जीवनका अनेक संघर्षहरुमा उहाँले स्थिरताका साथ आफू र परिवारलाई अघि बढाउने प्रयत्न गरिरहनुभयो। आजको दिनसम्म उहाँ आफ्ना नानीहरु मनोज लिम्बु, मनिका लिम्बु, तीतस लिम्बु तथा अरु नानीहरुका साथ एवेनेजरमा सेवारत हुनुहुन्छ। उहाँकी छोरी मनिका लिम्बुको पवित्र विवाह यसै मण्डलीका सदस्य संजीत कुमार राईसंग भएको थियो।

नानू श्रेष्ठ

          काठमाडौं नरदेवीमा हुर्कनु भएका नानू श्रेष्ठ आफ्ना दाज्यू त्रिचन्द्र श्रेष्ठद्वारा ख्रीष्टमा आउनुभएको थियो। उहाँ लगायत आफ्नी आमा पूर्ण केशरी तथा भाइ बहिनीहरु सरिता, सुमित्रा, राजु, अनिल ख्रीष्टमा  आउनुभएको थियो। सानै उमेरमा प्रभुलाई पाउनु भएका नानू श्रेष्ठले विभिध परिस्थितिहरुका बाबजुद ख्रीष्ट र आफ्नो मण्डलीको निम्ति खडा हुदै आइरहनुभएको थियो। यू. जे. गुरुङद्वारा संचालित एवेनेजर बाइबल इन्स्टिच्युटका एक विद्यार्थीका रुपमा रही उहाँले अध्ययन गर्नुभएको थियो। उहाँ १९९१ देखि मण्डलीको पूर्णकालीन सदस्यको रुपमा सेवारत हुनुहुन्थ्यो। पछिबाट प्रदेश श्रेष्ठसंग विवाह भएपछि मण्डली नेतृत्वमा आफ्ना पतिलाई साथ दिंदै सेवाकाईमा लागिरहनुभयो। परमेश्वरको अगुवाई भए मुताविक उहाँ आफ्ना पति प्रदेश र नानीहरु सोफिया, उपासना र सम्पूर्णसंगै विगत दुई वर्षदेखि मण्डली स्थापना कार्यका निम्ति मकवानपुरको पालुङमा सेवारत हुनुहुन्छ।

त्यसरी नै दुर्गासीं गुरुङ र महिमा गुरुङ एवेनेजरको पुराना विश्वासीको रुपमा स्थिर हुनुहुन्छ। जीवनका अनेक संघर्षहरुमा स्थिर रहँदै आजको दिनसम्म आफ्ना छोरा मीन बहादुर गुरुङ, बुहारी आशा गुरुङ, छोरीहरु दबी गुरुङ र मन कुमारी गुरुङ तथा अरु नानीहरुका साथ एवेनेजरमा सेवारत हुनुहुन्छ। यो स्पष्ट हुन्छ कि परमेश्वरले मीन भवन सेवाकाईमा एवेनेजरलाई फलदायी बनाउनुभयो। सभास्थल सानो भएपछि मण्डली बत्तीसपुतलीमा जुट्न थालेको थियो।

३.२  बत्तीस पुतली

एवेनेजर सेवाकाईको अत्यन्त महत्पूर्ण अवधि बत्तीस पुतलीको सेवाकाईलाई मान्न सकिन्छ। यस अवधिमा सुसमाचार प्रचार गर्ने र विश्वासीहरूलाई भेटघाट गर्ने अत्यन्तै सफल समूह तयार भएको थियो। त्यस समूहमा पूर्णकालीन कारिन्दाहरू म्याक साँगलीर, यू. जे. गुरुङ, थोमस काफमन र गणेश बहादुर तामाङ हुनुहुन्थ्यो। उहाँहरू बाहेक क्लाउड परिवार, मीना गुरुङ र दल बहादुर लामाको परिवार सेवाकाईमा लागिरहनुभएको थियो। यस अवधिमा शान्ति राई, सुन्दर राई, पवित्र राई, शिलास थापा, श्याम राई, अमर भण्डारी, सान्त्वना भन्डारी,  बेटी थामी, सानी भन्डारी, दया राई, काशी नाथ शाही, मान बहादुर तामाङ, बीर बहादुर भन्डारी आदि एवेनेजरमा थपिनुभएको थियो। यस बेलासम्म आइपुग्दा एवेनेजरको सदस्य संख्या ५४ पुगेको थियो। यही स्थानको सेवाकाईकालमा म्याक सांगलीरले नागालैन्डकी नरोलासंग पुतली सडक चर्चमा विवाह गर्नुभयो। उहाँ पनि यस मण्डलीमा थपिनुभयो। यस चरणमा सेवाकाई क्षेत्रको विस्तार भएको थियो।

शान्ति राई

यू. जे. गुरुङद्वारा बाँडिएको सुसमाचारीय पुस्तिकाद्वारा ख्रीष्टमा डोरिएको थियो। अनि उहाँद्वारा पवित्र राई, श्याम राई तथा सुन्दर मान राई ख्रीष्टमा डोरिएका थिए। शान्ति राई ख्रीष्टका निम्ति बलियो साक्षी हुनुहुन्थ्यो। हाल उहाँ पूर्वी नेपालमा एक जना पास्टरको श्रीमतिको रुपमा मण्डलीमा सेवारत हुनुहुन्छ।

सुन्दर मान राई

एवेनेजरको अर्का महत्वपूर्ण साक्षी हुनुहुन्छ। ‘घ्यू राई’ नामले चिनिने सुन्दर मान राईमा प्रचारकको वरदान थियो। सबैसंग मिल्ने बोल्ने सुन्दर मानले जीवनमा अनेक चुनौतिहरु पनि भोग्नुभयो तैपनि उहाँ यसदिन सम्म ख्रीष्टका निम्ति खडा भइरहनुभएको छ। यू. जे. गुरुङद्वारा संचालित एवेनेजर बाइबल इन्स्टिच्युटका एक विद्यार्थीका रुपमा रही उहाँले अध्ययन गर्नुभएको थियो। उहाँ एवेनेजरको एक डिकनको रुपमा समेत सेवारत हुनुहुन्थ्यो। उहाँ आफ्ना पत्नी पवित्र राई, छोरीहरु एस्तर राई, रुथ राई र आशिष राईका साथ परमेश्वरको साक्षी बनि रहनुभएको छ।

शिलास थापा

          बत्तीस पुतलीको सेवाकाईमा ख्रीष्टमा जितिएको अर्को महत्वपूर्ण व्यक्ति शिलास थापा हुनुहुन्थ्यो। फर्क मगरद्वारा ख्रीष्टमा डोरिएको शिलास थापाले पनि विभिध परिस्थितिहरु माझ आफूलाई ख्रीष्टका निम्ति स्थिर राख्नुभयो। यू. जे. गुरुङद्वारा संचालित एवेनेजर बाइबल इन्स्टिच्युटका एक विद्यार्थीका रुपमा रही उहाँले अध्ययन गर्नुभएको थियो। एलएलियोन मण्डली महादेववेसीको प्रारम्भिक चरणमा उहाँको योगदान रहेको थियो। यस दिनसम्म नै उहाँ आफनी पत्नि धन कुमारी थापा, छोरी ज्योति थापासंग एवेनेजरमा ख्रीष्टको सेवा गरिरहनुभएको छ।

श्याम राई

          श्याम राई ख्रीष्टका निम्ति एक बलिया साक्षी हुनुहुन्थ्यो। उहाँको जीवनमा ज्योति आएपछि परिवारै ख्रीष्टमा आउनुभएको थियो। उहाँको पत्नि दया राई ख्रीष्टमा आउनुभएपछि सपरिवार ख्रीष्टको सेवामा लागिरहनुभएको थियो। सन् १९९० मा उहाँ आफ्नो परिवारका साथ संखुवासभा फर्कनुभयो र त्यहाँ ख्रीष्टको निम्ति बलियो साक्षी बन्नुभयो। फलस्वरुप संखुवा सभाको पोखरीमा एक मण्डलीको स्थापना भयो। जहाँबाट संखुवासभाकै बाह्रबिसेमा अर्को मण्डली स्थापना गरियो।  परमेश्वरले उहाँलाई सेवाकाईमा प्रशस्त अनुग्रह गर्नुभयो। उहाँ आफ्ना श्रीमति दया राई, छोरा सेवक राई, बुहारी निर्मला राई, छोरा सच्चिन राई, छोरी सुनिता राईका साथ परमेश्वरको सेवा गरिरहनुभएको छ।

          अम्बर भन्डारी पनि एवेनेजरको एक विश्वासयोग्य सेवकको रुपमा रहिरहनुभयो। उहाँ आफ्नी पत्नी सान्त्वना भन्डारीका साथमा आफ्नै घर भिमान रही ख्रीष्टको साक्षी बनिरहनुभएको छ। बत्तीस पुतलीको सेवाकाईमा परमेश्वरले ठूलो अनुग्रह राख्नुभयो।

३.३ भिमसेनगोला

भिमसेनगोला सेवाकाईमा पनि परमेश्वरले प्रशस्त अनुग्रह गर्नुभयो। यस स्थानको सेवाकाईमा यू. जे. गुरुङ, थोमस कफ्मन, गणेश बहादुर तामाङ मण्डली भवनमा संगै बस्थे। आफैं पकाउँथे, भाँडा माझ्थे। साइकलहरुमा सुसमाचार प्रचार र भेटघाटहरुमा दौढधुप गर्थे। जीवन र सेवाकाई आशिषमय थियो। यस क्षेत्रको सेवाकाईमा अमृता क्षेत्री, मकर बहादुर मगर, कुल बहादुर मगर, श्याम देवी श्रेष्ठ, सीन राई, चन्द्र कुमारी गुरुङ, इन्दिरा दाहाल, अब्राहाम थापा, सारा थापा, बेल बहादुर गुरुङ, पूर्ण श्रेष्ठ, खड्ग राई, फ्रेडी सेर, बनी सेर, भिम बहादुर गुरुङ, यूहन्ना मौरती,  गोविन्द राज पौडेल, अनिता श्रेष्ठ, रामजी भन्डारी, मदन हिङमाङ, तुलसी नगरकोटी, अर्जुन कुमार तामाङ, गंगा मगर, सरीता श्रेष्ठ, मैया मगर, रमा मगर भिमसेनगोला सेवाकाईमा ख्रीष्टमा आउनुभएको थियो। रमा मगरको सदस्यता नं. ८१ थियो। यो चरणमा एवेनेजरले धेरै आशिषहरु पायो। फर्क मगरको पवित्र विवाह निर्मला बस्नेतसंग यसै स्थानमा सम्पन्न भयो। साथै यू. जे. गुरुङको पवित्र विवाह मीना गुरुङसंग यसै  स्थानमा सम्पन्न भयो। आशिषका साथ साथै धेरै संघर्षहरू पनि एवेनेजरले यस स्थानमा गर्नुपर्‍यो। यस अवधिमा दल बहादुर लामाको परिवारले क्लाउड परिवारसंग मिलेर सेवाकाई गर्न छोडे। साथै  केही भाइहरुका कारण यस अवधिमा मण्डलीको विषयमा गलत आरोपहरुका साथ विभिन्न साप्ताहिक पत्रिकाहरूमा प्रकाशन गर्ने कार्यहरु भयो। फलस्वरुप पञ्चायत सरकारले धरपकड गर्‍यो। डेविड क्लाउड, म्याक सांगलीर, थोमस कफ्मन र यू. जे. गुरुङ प्रहरीको तारो बन्यो। फलस्वरुप  एवेनेजरले ठाउँ छोड्नुपर्‍यो। केही महिनाहरू एवेनेजरले भूमिगत रुपमा संगतिहरु संचालन गर्‍यो। एक पटकको मण्डली प्रभुभोज नागार्जुन डाँडामा गर्नुपरेको थियो। यसपछि गणेश बहादुर तामाङ र यू. जे. गुरुङको सक्रियतामा डायमण्ड शमशेरले आफ्नो घर कम्पाउण्ड, कुपन्डोलमा एवेनेजरको निम्ति सभाघर बनाइदिएका थिए। डायमण्ड शमशेरको अनुसार उनको उक्त कदममा असंतुष्ट बनी नेपालको तात्कालीन बडामहारानी ऐश्वर्याले ईशाईहरुलाई चर्च घर बनाइदिएको सन्दर्भमा प्रश्न उठाएका थिए। तर उनले एवेनेजरको बचाउ गरेका थिए। यी सबै कार्यहरु परमेश्वरका कार्यहरु थिए। अप्ठ्यारा परिस्थितिहरुमा आफ्ना जनहरुलाई शुरक्षा दिने परमेश्वरको तरिका कति अद्भुत!

३.४ कुपन्डोल

यो चरण एवेनेजर पूर्ण रुपमा स्वतन्त्र मण्डली बनेको चरण थियो। यो चरणमा एवेनेजरको आफ्नै स्थानीय पास्टर थियो। वि. सं. २०४५ फागुन २१ मा एवेनेजरको अगुवाहरूले एवेनेजरको पास्टरको रुपमा यू. जे. गुरुङलाई अभिषेक गरेका थिए। साथै राम भण्डारीलाई डीकनको रुपमा नियुक्त गरिएको थियो। अभिषेक कार्यक्रमपछि क्लाउड परिवार र म्याक साँगलीर परिवार आफ्नो देश फर्कनुभएको थियो।  यस स्थानको सेवाकाईमा पनि परमेश्वरले आशिष दिनुभएको थियो। यस स्थानको सेवाकाईमा नानी थापा, युसुफ गुरुङ, अराम सुनुवार, ठूली माया थापा, विमला सुनुवार, मंगली गुरुङ, सनम लामा, जी. बी. न्यौपाने, सजना बस्नेत, रमा पाठक, तारा राई, राम बहादुर थापा, जमूना थापा, झप्ट बहादुर मादेन, बिष्णु कुमारी घिमिरे, गंगा नेपाली, मीन बहादुर गुरुङ, कल्याणी नेपाल, सानु मैया नेपाल, शान्ति के. सी., बिमा लामा, तिर्थी माया मगर, डी. बी. अधिकारी, नीर बहादुर घिमिरे, हरी खड्का, मीरा बिस्ट, रीता श्रेष्ठ, माया राई, पद्म कुमारी न्यौपाने, चम्पा कुमारी शर्मा, अम्बिका लामा, तुलसी डंगोल, विष्णु राई, सुरेश थापा, दल बहादुर राना, सुवेल भन्डारी, सुमित्रा श्रेष्ठ, लक्ष्मी गुरुङ, मन कुमारी गुरुङ, नन्द कुमारी मौरती, मूना कुमारी थापा, पंच माया लामा, विष्णु कुमारी मगर, प्रदेश श्रेष्ठ, अमृत कुमार राई, कृष्ण बहादुर लामा, फिलिप लामा, टेक बहादुर आले, मीठू आले, बाटुली लामा, लक्ष्मी तामाङ, आनन्द कुमारी गुरुङ, बसन्त अधिकारी, जमूना कार्की, शान्ति लामा, सानु थापा, देवी भुजेल, ठूली माया लामा, लक्ष्मी भन्डारी, मैना लामा, दीपा मगर, फुल माया मगर, दीपा न्यौपाने, अमर बहादुर आले, सुरेन्द्र प्रकाश तामाङ, अविमाया  मगर, रुकमणी मगर, फिवी मगर, हिरा माया मगर, केसाङ निमा, पेमा डोमा, प्रशु राम भन्डारी, मीना राई, गणेश बहादुर थापा, सन्त बहादुर तामाङ, रमेश नेपाली, सोम बहादुर थापा, पासाङ लामा, भुपेन्द्र कुमार राई, गोपाल खतिवडा, जीन माया राना, संगीता सुब्बा, पवित्र कुमारी थापा, मैना थापा, पार्वती पाण्डे, देवी माया तामाङ, मखमली तामाङ, माया थुलुङ, सरिता नेपाली, सीता मौरती, बाल कुमारी राई, ठूली माया तामाङ, चनिसरा थापा एवेनेजरमा थपिएका थिए। यस बेलासम्म मण्डलीको सदस्य संख्या १७५ थियो। तुलनात्मक रुपमा यस अघिका सेवाकाईहरुमा सबै भन्दा बढि वृद्धि भएको स्थान कुपन्डोल थियो। यसै चरणमा पास्टर यू. जे. गुरुङको नेतृत्वमा कोटेश्वरमा एवेनेजरले विश्वासद्वारा आफ्नै मण्डली भवन बनाएको थियो। यही चरणमा अमिरिकी मिसिनरी जो कलिन्स नेपाल आएका थिए जससँग मिलेर एवेनेजरले बौद्धमा एक सेवाकाई शुरु गरेको थियो। यही सेवाकाई नै आजको बौद्ध ब्याप्टिष्ट चर्चको जग थियो। तर यस चरणमा नै जो कलिन्सको मृत्यु भयो।

युसुफ गुरुङ

यस अवधिमा महत्वपूर्ण व्यक्तिहरु मण्डलीमा थपिए। ती मध्ये युसुफ गुरुङ एक हुनुहुन्थ्यो। उहाँ यू. जे. गुरुङद्वारा संचालित एवेनेजर बाइबल इन्स्टिच्युटका एक विद्यार्थी हुनुहुन्थ्यो। उहाँ परमेश्वरलाई प्रेम गर्ने, मानिसको भन्दा परमेश्वरको डर मान्ने, अडान राख्ने सेवक हुनुहुन्थ्यो। उहाँको पवित्र विवाह चन्द्र कुमारी लिम्बुसंग भएको थियो। उहाँलाई एवेनेजरको डिकनको रुपमा नियुक्ति गरिएको थियो। पछिबाट उहाँलाई एवेनेजरको एल्डरको रुपमा पनि नियुक्त गरियो।

अराम सनुवार

          कुपोन्डोल सेवाकाईमा थपिनुभएको अर्का महत्वपूर्ण व्यक्ति अराम सुनुवार हुनुहुन्थ्यो। उहाँ पनि एवेनजेर बाइबल इन्स्टिच्युटका एक विद्यार्थी हुनुहुन्थ्यो। उहाँसंगै उहाँकी श्रीमति विमला सनुवार ख्रीष्टमा आउनुभएको थियो। उहाँहरुको परिवार वेसीशहर, लमजुङमा सेवाकाई गर्न जानुभएको थियो। बेथेस्दा मण्डलीको स्थापनामा अराम परिवारको योगदान रहेको थियो। उहाँहरु ५ वर्षको बसाइपछि काठमाडौ फर्कनुभएको थियो। अराम सुनुवारलाई एल्डरको रुपमा अभिषेक गरिएको छ। हाल उहाँहरु एवेनेजरमा सेवारत हुनुहुन्छ।

त्यसरी नै जी. बी. न्यौपाने शुरुदेखि नै खडा भइरहनुभएको एवेनेजर सदस्य हुनुहुन्छ। उहाँ पनि एवेनेजर बाइबल इन्स्टिच्युटका एक विद्यार्थो हुनुहुन्थ्यो। उहाँको पवित्र विवाह सुर्खेत मण्डलीकी दीपा अधिकारीसंग भएको थियो। सनम लामा माइक भेमको सेवाकाईबाट ख्रीष्टमा आउनुभएको हो। उहाँ हालसम्म एवेनेजरमा संगीतमा सेवा गरिरहनुभएको छ।

२०४६ चैत्रमा परस्पर संगति तथा एकदिने यात्राका निम्ति सात जनाको टोली टोखा जाँदा सातै जना शिवपुरी बनमा हराएका थिए। त्यो समय देश अत्यन्तै संवेदनशील अवस्थामा थियो। बल्लतल्ल एक घरमा बास बस्न पाएका थिए मित्रहरुले। हराएका सात जनामा यू. जे. गुरुङ, युसुफ गुरुङ, अराम सनुवार, सुन्दर मान राई, शिलास थापा, जी. बी. न्यौपाने र सनम लामा थिए। यहि सातै भाइ सेवाकाईमा सकृय थिए, झण्डै पंचायती झोंकमा परेनन् ठिटाहरु।

झप्ट बहादुर मादेन अर्का सकृय सदस्य हुन् जो यस दिनसम्म एवेनेजरमा विश्वासयोग्य साथ अघि बढिरहनुभएको छ। साथै कल्याणी नेपाल ख्रीष्टको निम्ति जोश जाँगर भएकी एक सदस्य हुनुहुन्थ्यो। उहाँले यस चरणमा बाल तथा महिलाहरुको बीचमा राम्रो काम गर्नु भएको थियो। उहाँको पवित्र विवाह एवेनेजरको एक भाइ युवराज सिंखडासंग भएको थियो।

प्रदेश श्रेष्ठ

कुपन्डोल सेवाकाईमा थपिनुभएका अर्का महत्वपूर्ण सेवक प्रदेश श्रेष्ठ हुनुहुन्थ्यो। उहाँले प्रभु येशूलाई अध्ययनको क्रममा अमेरिकामा पाउनुभएको थियो। त्यहाँ नै उहाँको आत्मिक जीवनको हुर्काई, तयारी सम्पन्न भएको थियो। उहाँको थप्ने कार्यबाट एवेनेजरले धेरै आशिषहरु प्राप्त गर्‍यो। संगीतमा ठूलो सेवा पुर्‍याउनुका साथै मण्डलीलाई बाइबलीय शिक्षा सिकाउन ठूलो सहयोग पुर्‍याउनुभयो। उहाँको पवित्र विवाह नानू श्रेष्ठसंग भएको थियो। उहाँलाई एवेनेजरको एल्डरको रुपमा अभिषेक गरिएको थियो। लामो अवधिसम्म एवेनेजरमा सेवारत प्रदेश श्रेष्ठ आफ्ना परिवारका साथ २०६३ मा मण्डली स्थापना गर्ने दर्शनका साथ मकवानपुरको पालुङमा सेवारत हुनुहुन्छ।

राम बहादुर थापाको साक्षीमा चिउरी बगैंचामा एक मण्डली स्थापना भयो। जसमा कृष्ण बहादुर लामाअमर लामाले सेवाकाईलाई अघि बढाइरहनुभएको छ। राम बहादुर थापा र कृष्ण बहादुर लामाको आर्थिक सहयोगमा परमेश्वरले आशिष दिनुभयो र एल-बेथेल भवन किन्न सफल भएको थियो। त्यसरी नै टेक बहादुर आले  साक्षीमा महादेववेसीमा एक मण्डली स्थापना भएको छ। सुरेद्र प्रकाश (लरेन्स् मार्क) तामाङले प्रभुलाई एवेनेजरको सेवाकाईमा महादेववेसीमा पाउनुभयो। त्यसपछि अध्ययनको क्रममा भारत जानुभयो। बाइबल कलेज अध्ययन पछि उहाँ नेपालमा मण्डली स्थापना कार्यका निम्ति फर्कनुभएको छ। यस अवधिमा ख्रीष्टमा आउनुभएका महत्वपूर्ण साक्षीहरुमा सोम बहादुर थापा चनिसरा थापा हुनुहुन्छ। उहाँहरुले एवेनेजरमा लामो समयसम्म सेवाकाई गर्नुभयो। हाल उहाँहरु शितल नगर, बुटवलमा आफ्नो घरमा सेवारत हुनुहुन्छ। त्यहाँ नियमित संगति शुरु भइसकेको छ। त्यसरी नै सरिता नेपाली, बाल कुमारी राई एवेनेजरका महत्वपूर्ण साक्षीहरुको रुपमा यस दिनसम्म खडा भइरहनुभएको छ।

कुपन्डोलको सेवाकाईमा परमेश्वरले प्रशस्त आशिष दिनुभयो, साथै एलोहिम मण्डली, संखुवा सभा; एल-वेथेल मण्डली, चिउरी बगैंचा; एल-एलियोन मण्डली, महादेववेसी; वेथेस्था मण्डली, वेसीशहरका लागि आधारशिला तयार गर्‍यो। कुपोन्डोलमा रहँदा एवेनेजरले पा. यू. जे. गुरुङको परिवारलाई एक महिना आराम गर्नका निम्ति भारतको गोआमा पठाएको थियो। त्यस समयमा उहाँको परिवारले गोआमा मण्डली भवन बनाउने दर्शन पाउनुभयो। त्यस दर्शनलाई मण्डलीमा बाँडिएको थियो। त्यस दर्शनमा मण्डलीका सारा अगुवाहरु तथा मण्डली परिवार सहमत भए। दुई वर्ष भित्रमा भवनको निम्ति जग्गा किन्ने र भवन निर्माण गर्ने अठोट लिइएको थियो। सारा बगाले विश्वासैद्वारा कदम उठाए। मण्डलीको कोषमा पैसा थिएन जग्गा र भवनको निम्ति। तर परमेश्वरले मण्डली परिवारमा दुवै इच्छा गर्ने र काम गर्ने मन दिनुभयो, जस्तो लेखिएको छ, “तिमीहरुभित्र आफ्नो शुभ इच्छाअनुसार दुवै इच्छा गर्ने र काम गर्ने मन दिनुहुने परमेश्वर नै हुनुहुन्छ,“ फिलिप्पी २:१३। भवन डेढ वर्ष भित्र तयार भयो। त्यसपछि कोटेश्वरमा बनेको उक्त भवनमा हर्षोल्लासका साथ सरियो।

४. तेश्रो चरण (सन् १९८९-२००८)

४.१  कोटेश्वर

कोटेश्वरको सेवाकाई नै एवेनेजरको चरम उन्नतिको अवस्था हो। सारा बगाल मिलेर आफ्ना धन सम्पत्ति र श्रम खर्च गरेर एवेनेजरले आफ्नो सभा भवन बनायो। यस भवन निर्माण कार्यमा परमेश्वरको महिमा भएको थियो। भवन निर्माण कार्यमा एवेनेजर तत्कालीन अगुवाहरू पा‍स्टर यू. जे. गुरुङ, एल्डर गणेश बहादुर तामाङ, एल्डर थोमस काफ्मन, एल्डर प्रदेश श्रेष्ठ, डीकन राम भण्डारी र डीकन देब बहादुर लिम्बुको विशेष योगदान रहेको थियो। साथै सारा मण्डली परिवारको उत्तिकै सहभागिता र योगदान थियो। यस चरणमा अधिराज्यको विभिन्न ठाऊँहरूमा गरी स्थानीय मण्डलीहरु स्थापित भए।  एलोहिम मण्डली, संखुवा सभा; एल-वेथेल मण्डली, चिउरी बगैंचा; एल-एलियोन मण्डली, महादेववेसी; वेथेस्था मण्डली, वेसीशहर;  महनैम मण्डली, पाल्पा; अनुग्रह मण्डली, संखुवासभा; मारानाथा मण्डली, धनगढी; अनुग्रह मण्डली, धनगढी; बेथेल मण्डली, जगेडाँडा, पालुङ मण्डली, यसबाहेक ओखलढूंगा, हेटौंडा, सर्दी, सुवर्णपुर, टिस्टुङ, राजाबास, कालीटार, शितलनगरमा नियमित सेवा संगतिहरु भइरहेका छन्। निकट भविष्यमा ती स्थानहरुमा स्वतन्त्र मण्डलीहरु बसालिने अवस्थामा छन्। त्यस बाहेक भिमान र सर्लाहीमा एवेनेजरकै सदस्यहरुद्वारा मण्डलीहरु संचालित भइरहेका छन् यद्यपि ती मण्डलीहरु एवेनेजरसंग आवद्ध रहेका छैनन्।

१९८९ देखि २००८ अप्रिलसम्ममा एवेनेजरमा ३०५ जनाले बप्तिस्मा लिई सदस्यता लिएको थियो। जस मध्ये हर्क बहादुर राई, लाजरस तामाङ, मनोज लिम्बु, दबी गुरुङ, रमेश तामाङ, कल्पना विंडारी, भिमा तामाङ, मंगली तामाङ, प्रेम गुरुङ, हर्ष बहादुर थापा, जनक कुमारी राना, कृष्ण बहादुर राई, प्रेम बहादुर आले, सानुकाजी आले, बीर बहादुर माझी, राम बहादुर आले, नेत्र बहादुर बस्नेत, अर्जुन आले, टिकाराज लुंगेली, गीता बस्नेत, आमोस तामाङ, हरिचन राई, चन्द्र कुमार बैजू, राम तामाङ, ईवराज सिंखडा, नच्छे बहादुर कटुवाल, खेम बहादुर कार्की, गंगा कुमार राई, चन्द्र लामा, संजित कुमार राई, राजु कार्की, निर्मल कुमार राई, राजेन्द्र नेपाल, सोम लिम्बु, छली माया राई, काशी माया श्रेष्ठ, जयन्ती सापकोटा, तबिता थगुन्ना, हसना लिम्बु, प्रवीण कुमार परियार, बिन्दा नेपाली, सुरेन्द्र परियार, अनिल श्रेष्ठ, राजु श्रेष्ठ, मैया बलामी, कल्पना बानिया, निर्मल कुमार परियार, ज्ञानू बस्नेत, बाल कृष्ण न्यौपाने, काली बहादुर बलामी, शर्मिला मगर, बल बहादुर मगर, गणेश बहादुर शारु, शोभा के. सी., नैना श्रेष्ठ, चनमती तामाङ, उमा राना, लक्ष्मी श्रेष्ठ, प्रकाश थापा, इन्द्र बहादुर राना, बाबु राम श्रेष्ठ, शिद्धान्त बुढाथोकी, चित्र माया आले, सुमित्रा थापा, मन माया चौलागाई, सन्ज माया तामाङ, प्रिस्किला मौरती, प्रज्ज्वल कार्की, चन्द्र माया राई, प्रदिप सापकोटा, नन्दी माया मगर, इन्द्र बहादुर बुढाथोकी, विभा मगर, मोहन बहादुर राना, राजेश नेपाल, निरु कुशुवार, संगीता घिमिरे, लक्ष्मण कार्की, गणेश सिं थगुन्ना, जीवन थापा, मोनिका राई, तीतस लिम्बु, निर्मला लिम्बु, कविता सापकोटा, गुप्त बहादुर मगर, बिनू बलामी, निशा लामा,  सबिना परियार, एस्तर राई, रुथ राई, सम्झना नेपाली, बासुदेव सापकोटा, नर बहादुर लामा, नीर बहादुर आले, विमल मगर थिए।

त्यसरी नै यस अवधिमा एवेनेजरमा थपिनेहरुमा धन परियार, जितिश परियार, मन परियार, मीना परियार, दिलिप परियार, अशोक परियार, जीता परियार, रमा परियार, बेली लामा, काईली तामाङ, लाल बहादुर मगर, सिम्पल तामाङ, लेख बहादुर राना, केशव नारायण श्रेष्ठ, सन्दिप कुमार परियार, श्री लामा, प्रदिप कुमार परियार, मोहन महर्जन, चक्र बहादुर मगर, बाबु राम थापा, लिला बहादुर चौलागाई, चन्द्र गुरुङ, फूलमाया कार्की, रिबेका अधिकारी, सुकमाया लामा, मंगल डोल्मा लामा, प्रशान्त कार्की, ईश्वरी थापा, एन्जी तामाङ, पविरत्न राई, मंगल माया श्रेष्ठ, सरिता कार्की, बुद्धि बहादुर घिमिरे, विष्णु माया श्रेष्ठ, यूनिया गुरुङ, सोनी गुरुङ, आदर्श जंग गुरुङ, अनिता थापा, मीना गुरुङ, आशा राना, शान्ति लामा, फूल कुमारी गिरी, ईश्वरी थापा, सुनिता श्रेष्ठ, श्री कृष्ण गिरी, राजु थापा, रुबेन नगरकोटी, केशरी श्रेष्ठ, प्रकाश सापकोटा, अन्जना नेपाली, संतोषी थापा मगर, गणेश कुमारी परियार, सबिता घिमिरे, सुमन माझी, ज्ञानू माझी, रीता बैजू, एस. बी. अधिकारी, गम्भीर बहादुर मगर, आशिम राई, आशिष राई, लोइस थापा, चन्द्र माया मगर, करन दर्लामी, भगवती दर्लामी, बिमल मगर, याकुव तामाङ, तविता तामाङ, बाबुकाजी ढकाल, अनू लामा लक्ष्मी श्रेष्ठ, रेखा राना, विमला मगर, कमल बहादुर शारू, मिलन राना मगर, हर्क मगर, अस्मिता निरौला, दीर्घ बहादुर निरौला, सिता निरौला, बबिता राई, आशा गुरुङ, निर्मला श्रेष्ठ, आमोस कार्की, मन्जु भट्ट, लाल बहादुर गुरुङ, रिना भुसाल, पवन सुनार, लक्ष्मी मल्ल, रत्न देवी सीं, भरत थापा, प्रवेश बुढाथोकी, शरु बुढाथोकी, लिला बुढाथोकी, लक्ष्मी विश्वकर्मा, कल्पना बस्नेत, कविता अग्रवाल, चन्द्र माया मगर, शान्ति शाही, पार्वती थापा, मन मल्ल ठकुरी, विमला मगर, मीना दाहाल, विमला श्रेष्ठ, निर्मला मोक्तान, ज्योति थापा, मूना गुरुङ, हिरा लाल तामाङ, विश्वास बुढाथोकी, संजय अग्रवाल, कृष्ण बहादुर श्रेष्ठ, राजेश मगर, दुर्ग बहादुर थापा, कान्छा परियार, विद्या सिं भुसाल, मूना तामाङ आदि हुनुहुन्थ्यो।

उपरोक्त सदस्यहरुमा लाजरस तामाङ डिकनको रुपमा नियुक्त हुनुभएका, केही समय पूर्णकालीन सेवामा संलग्न हुनुभएका ख्रीष्टका असल गवाही हुनुहुन्थ्यो। भीमा तामाङ परमेश्वरको सेवाका निम्ति निरन्तर प्रार्थना र प्रबन्धद्वारा सेवा गरिरहनुभएको छ। प्रेम गुरुङ बेथेस्दा मण्डली, वेसीशहरमा मण्डलीको गोठालो हुनुहुन्छ। कृष्ण बहादुर राई एवेनेजरमा डिकनको रुपमा सेवारत हुनुहुन्छ। प्रेम बहादुर आले र सानु काजी (विश्वास) आले एल-एलियोन, महादेववेसीमा अगुवाहरुको रुपमा सेवारत हुनुहुन्छ। त्यसरी नै बीर बहादुर माझी पनिएल मण्डली, त्रिशुलीमा अगुवाको रुपमा सेवारत हुनुहुन्छ। त्यसरी नै नच्छे बहादुर कटुवाल एवेनेजरको डिकनको रुपमा सेवारत हुनुहुन्थ्यो। गंगा कुमार राई घरेलु संगति शिक्षकको रुपमा सेवारत हुनुहुन्छ। राजु कार्की एवेनेजरको डिकनको रुपमा सेवारत हुनुहुन्छ। सोम लिम्बु एवेनेजरको बाइबल स्कुल शिक्षकको रुपमा सेवारत हुनुहुन्छ। प्रवीण कुमार परियार संगीत तथा युवा सेवामा सेवारत हुनुहुन्छ। गणेश बहादुर शारु मण्डलीको संगीतमा विश्वासयोग्यसाथ सेवा गरिरहनुभएको छ। प्रकाश थापाले मण्डलीको निर्माण कार्यहरुमा सहयोग गरिरहनुभएको छ। प्रिस्किला मौरती बाइबल स्कुल तथा संगीतमा सेवारत हुनुहुन्छ। मोहन बहादुर राना मण्डलीको एक कारिन्दाको रुपमा सेवारत हुनुहुन्छ। दिलिप परियार पालुङ चर्चमा एक अगुवाको रुपमा सेवारत हुनुहुन्छ। श्री लामा एवेनेजरको संगीतमा सेवारत हुनुहुन्छ। त्यसरी नै याकुव तामाङ तथा प्रदिप परियार संगीतमा सेवारत हुनुहुन्छ। ईश्वरी थापा तथा अनिता थापा संगीतमा सेवारत हुनुहुन्छ। यूनिया गुरुङ संगीतमा सेवारत हुनुहुन्छ। आदर्श जंग गुरुङ संगीतमा सेवारत हुनुहुन्छ। यसरी एवेनेजरमा परमेश्वरले विश्वासयोग्य कारिन्दाहरु दिनुभएको छ जसले मानिसमा होइन परमेश्वरमा भरोसा गर्दछन्। जस्तो लेखिएको छ, “मानिसमाथि भरोसा पर्नुभन्दा परमप्रभुमाथि भरोसा राख्नु उत्तम हो।” परमेश्वरले आफ्नो मण्डलीप्रति आफ्नो विश्वासनीयता देखाउनुभयो र अहिले पनि देखाउँदै हुनुहुन्छ।
एवेनेजरले आफ्ना नियमित मण्डली सभाहरु तथा सुसमाचारीय कार्यक्रमहरु बाहेक नानीहरुको निम्ति एवेनेजर बाइबल स्कुल, बयस्कहरुका निम्ति साउथ एशिया प्रिचर्स कलेज हाल यसको नाम परिवर्तन गरी क्राउन नेपाल बाइबल कलेजको रुपमा संचालन गर्दै आइरहेको छ।  साथै नियमित महिला सभाहरु, बृद्धा सभाहरु संचालन गर्दै आइरहेका छन्।  परमेश्वर यस मण्डलीका साथ रहनुभयो र आशिष दिनुभयो।

U. J. Gurung, 2008

 

Post a comment