थुप्रै सन्तान र आफन्त भएका; थुप्रै वर्ष वाँचेका मानिसको मृत्यु हुँदा उनको सम्मानित दफन गरिएन भने त्यो दु:खद हो भनिएको छ (उपदेशक ६:३)। यस मानेमा अनन्तताको वल्लो पाटाका अन्तिम उपलब्धि मृत अवस्थामा पाइने सम्मानित दफन देखिन्छ। परमेश्वर आफैंले प्रधानदूत माइकलद्वारा मोशाको शबलाई दफन गर्नुभई मोशाप्रतिको आफ्नो प्रेम र वास्ता प्रकट गर्नुभयो (व्यवस्था ३४:६; यहुदा ९)। अरिमथियाका युसुफले आफ्ना प्रभुका शवलाई आफ्ना निम्ति तयार पारिएको नयाँ कवरस्थानमा ससम्मान दफन गरे। मोशा जस्ता सम्मानित मानिस अनि प्रभु येशू ख्रीष्ट स्वयंको पार्थिव शवलाई दफन गरेर उहाँहरू प्रतिको सम्मान प्रकट गरिए। तर यसको ठिक विपरित राजा यहोयाकीमका शबलाई एउटा जनावरलाई झैं घिसारियो र शहर बाहिर फ्याँकियो। उनका निम्ति कोही रोएनन्। उनका निम्ति कसैले ‘हाय, मेरो दाज्यु’ भनेनन्, ‘हाय, उनका गौरव’ भनेनन् (यर्मिया २२:१८,१९)।
एउटा बगैंचा रुपी कवस्थानमा प्रिय जनलाई ससम्मान दफन गरियो र उनको स्मारक राखियो त उनका निम्ति त्यस स्थानमा संझना गरिने भयो। दफन रहनुको चित्रण, जलाइनु सकिनुको चित्रण हो तब। जलाइयो, खरानी भयो, सिद्धियो। जहाँ छँदै छैन त्यहाँ के को संझना? दफन छरिनुको चित्रण हो जो एकदिन उम्रनेछ, बौरनेछ तर जलाइनु समाप्तिको चित्रण। ख्रीष्टमा हुनेहरू एक दिन बौरनेछन् त्यस वास्वविकताको गवाही र चित्रण दफनले दिन्छ भने त्यो सुन्दर आशाको सन्देशका निम्ति पनि यो प्रकृया नै उत्तम हो। सबै ईशाईहरूको बुझाई र अभ्यास त यही नै हो। अब नेपाली ईशाईहरूले आफ्नो जीवन-कालमा थुप्रै स्वतन्त्रता र प्रवन्धहरू राष्ट्र र समाजवीच प्राप्त गरिरहे तापनि केही समय यता नेपाली ईशाईहरूको कटु अनुभवमा कवरस्थानको समस्या प्रमुख देखियो। यसको फलस्वरुप केही ईशाईहरू आफ्ना शवलाई पशुपतिमा जलाउन बाध्य भए। यो दु:खद घटना थियो। ईशाईहरूका आफ्नो कवरस्थान नभएका होइनन् तर त्यसको उपभोग गर्न पाइएन। त्यसमा समाज बाधक बने। स्थानीय प्रशासन मूक दर्शक बने। सामाजिक अवधारणा सकरात्मक बन्न केही समय अझै लाग्न सक्दछ। कवरस्थान व्यवस्थापन मण्डली सेवाकाईको एउटा महत्वपूर्ण पाटो नै बन्न पुगेको सन्दर्भमा अब मण्डलीहरू यस विषयमा सचेत बनिसकेको अवस्था छ। मण्डली भवनका निम्ति लगानी गरिए जस्तै कवरस्थानलाई पनि सम्मानित र मर्यादित बनाउन त्यस तर्फको लगानी पनि केही बढ्नै पर्ने चाहिँ पक्कै देखियो। यी सबै कुरामा हाम्रा परमेश्वरले प्रशस्त समझ दिनुभएको होस् मण्डलीहरूलाई। ललितपुरको लेले क्षेत्रमा एवेनेजरले आफ्ना शवहरू दफन गरेका करिव डेढ दशक पछि मात्र दफनमा समस्या आए। दफनमा त्यसवेला समस्या आयो जब शवहरूलाई विविध मण्डलीहरूले यत्रतत्र अनियन्त्रित रुपमा दफन गर्नथाले र कवरस्थानहरू अव्यस्थित र दुर्गन्धित बन्न थाले। तिनै स्थानहरूमा तिनै कवरस्थानहरूलाई पर्खालले घेरेर व्यवस्थित गर्दा के होला? अनि ती स्थानहरूलाई घाट होइन पार्कको रुप दिंदा के होला? दफनै त नथालिहालौं तर पार्क बनाउन थाल्दा कसो होला। यसले समाजमा सकरात्मक अवधारणा ल्याउनेछ र निकट भविष्यमा नै ती स्थानहरू दफनका निम्ति प्रयोग गरिन अनुकुल बन्न सक्छ। अर्को कुरा दिनमा १२ घण्टा हुन्छन् (यूहन्ना ११:९)। यदि ईशाईहरू ज्योतिमा हिंडे तिनले ठेस खानेछैनन्।
पा. यू. जे. गुरुङ अप्रिल २, २०११