No comments yet

गाउँ फर्क राष्ट्रिय अभियान एक चिन्तन

गाउँ फर्क राष्ट्रिय अभियान नेपालका पूर्व राजा महेन्द्रको अवधारणा थियो। विक्रम संवत २०२० को दशकमा आएको यो अवधारणाले यो पुष्टि गर्दथ्यो कि नेपालका गाउँहरू क्रमिक रुपमा रित्तिदै थिए र उपत्यका तथा समथर भूभागहरूमा शहरीकरणको विकास द्रूत रुपमा भइरहेको थियो। सदरमुकामहरू धमाधम टाकुराहरूबाट बेसीहरूमा झर्दै थिए। यस्तो स्थितिमा न राजा गोर्खा फर्कन सक्थे न जनता आ-आफ्ना गाउँहरूमा। यो संभव थिएन। विश्वका ८००० मी. भन्दा उचाईका २० हिमशिखरहरूमा नेपालमै १४ रहेको तथ्यले नेपाल उच्च पहाडी भुबनोटले बनेको स्पष्ट हुन्छ जहाँको जीवन यातायात तथा अन्य भौतिक विकासको दृष्टिले निकै चुनौतिपूर्ण हुन्छ। यस्तो स्थितिमा जनतालाई भावनात्मक राष्ट्रिय गीतहरू र भाषाणहरूले गाऊँ फिर्ता गराउन सकेनन् नता नीति नियमहरूले नै त्यो राष्ट्रिय योजनालाई संभव तुल्यायो। आखिर जनता कष्टकर जीवनबाट सहजकतातर्फ लागे नै।

नेपाली समाजमा सुधार अनि रंगरोगनको लेप देखिए पनि सामाजिक जीवनका वास्तविकता ज्यूंका त्यूं देखिन्छ। रोदी प्रणाली थप सभ्य र शहरीकृत गरिएको छ। तीज पर्व थप रोमांचकारी र आकर्षक बनाइएको छ। छटपर्व, उँभौली उँधौली, माघै संक्रान्ति आदिलाई भव्य बनाइएको छ। त्यस्तै अन्य चाड तथा पर्वहरूलाई थप परिमार्जन गरिएको छ, रंग दिइएको छ। त्यसरी नै धर्मविधि, संस्कारहरूलाई आकर्षक बनाइएको छ। तर जातिभेदको समस्या ज्यूंका त्यूं, बर्गभेदको समस्या ज्यूंका त्यूं, कुलत र भ्रष्टता ज्यूंका त्यूं। अनि किन तयार हुन्थे सबै जनता धार्मिक तथा साँस्कृतिक उत्थानका निम्ति आ-आफ्नो धर्म परम्परामै रहनु पर्छ, फर्कनुपर्छ भन्ने आह्वान मान्न। यो त उही गाउँफर्क अभियानकै नाराको चाल जस्तो भयो। ठूलो संख्यामा मानिसहरू स्वतन्त्र, शान्तिको बाटोमा लागे। येशू ख्रीष्टको सुसमाचारमा विश्वास गरे। रोक्ने छेक्ने प्रयासलाई तीब्र रुपमा पंचायत काल अर्थात् २०४६ (१९९०) अघि भएका थिए तर सफल भएन। अहिले पनि देशमा ईशाईहरूलाई सौतेनी व्यवहार छ तर उनीहरू स्वतन्त्र र शान्तिमा जीवन व्यतित गरिरहेका छन्। जातिभेद, बर्गभेद, भूतप्रेतको डर, अन्धोविश्वासको अन्त कहिँ भएको छ भने त्यो ईशाई समाजमै भएको छ। मानव जीवन सम्बन्धि शिक्षा सभ्यतामा उनीहरू अग्रपंक्तिमा छन्।

ईशाईहरू किन भिन्न भए त? ईशाई दर्शन तथा मार्गमा अन्यमा भन्दा अन्तर देखिन्छ। सबैले एक मतका साथ भनेका छन् मुक्ति शान्ति धर्मकर्म र श्रमबाट पाईन्छ। बाइबलीय शिक्षाको ठूलो अन्तरचाहिँ यो हो कि मुक्ति, शान्ति धर्म र कर्मबाट पाईदैन र संभव छैन। तर ख्रीष्ट येशूले मानिसको त्यो प्रबन्धको निम्ति अघि नै काम गरिसक्नुभयो। अब केवल विश्वासद्वारा परमेश्वरको त्यो प्रबन्धलाई ग्रहण गर्नुपर्दछ। अनि मुक्ति पछि असल फल फलाउन जिउनुपर्दछ। अब असल काम मुक्तिको निम्ति होइन तर इनामका निम्ति गरिन्छ। यसैले ईशाईहरूलाई भिन्न बनाएको हो। उनीहरू मुक्ति, शान्तिका निम्ति धर्मकर्ममा लीन नभएर मुक्ति, शान्ति पाई समाज सेवा अनि मानव सेवाका निम्ति लगनशील हुन्छन्। ईशाईहरू विरुद्ध डर, धम्की, हत्कण्डा त नेपालमा धेरै हुँदै आए तर गाउँफर्क अभियान चाहिँ सफल रहेन।

अन्तमा, यो भन्नुपर्छ ईशाईहरू समाजका एक महत्वपूर्ण ईकाई हुन्। तिनलाई उचित कदर, सम्मान गरेर समाजको सुन्दरता वृद्धि गराउन सकिन्छ। देश शान्ति र समुन्नतिमा अग्रसर हुन्छ। मानवलाई स्वस्फुर्त रुपमा आफ्नो ज्ञान र रुचि मुताविक विश्वास परिवर्तन, जीवन परिवर्तन गर्ने उसको नैसर्गिक अधिकारलाई प्रयोग गर्न दिनुपर्दछ। जवर्जस्त कुनै विश्वास वा मार्गमा थमथम्याउन वा फर्काउने जमर्को गर्नुहुँदैन। देखिएकै हो गाउँफर्क अभियान सफल भएन।

– पास्टर यू. जे. गुरुङ

Post a comment