No comments yet

जनगणना नतिजामा ख्रीष्टियनहरू

            प्रत्येक दस वर्षमा हुने जनगणना गत वर्ष २०२१ मा संपन्न भएको छ। गणक अधिकारीहरू तपाईको घरमा आए। सही र पर्याप्त सूचनाको अपेक्षा गर्दै परिवार सदस्य संख्या, आर्थिक अवस्था, धार्मिक आस्था लगायतका तथ्यांकका निम्ति प्रश्नहरू सोधेका छन्। देशमा विद्यमान अवस्थाको सत्यतथ्य जानाकारी सरकारले जनगणनाद्वारा प्राप्त गर्नेछन्। यस प्रतिवेदनले देशको राष्ट्रिय नीति तथा योजना तर्जुमा गर्न सहायता पुग्दछ। यसले सरकार र जनतामा निहित विविध पक्षमा रहेको चासो, जिज्ञासा पूरा गर्न मद्दत गर्दछ। ती थुप्रै चासो र जिज्ञासाहरूमा देशको विद्यमान धार्मिक अवस्था र विविध धर्महरूको जनसंख्या विवरण पनि एक हो। विश्वका जुनसुकै देशमा जस्तै नेपालमा पनि स्वेच्छाले एउटाबाट अर्को धर्ममा धर्मान्तरण वा धर्मपरिवर्तन (conversion) भइरहेको अवस्था छ। हिन्दूबाट बौद्धमा, बौद्धबाट हिन्दूमा धर्मान्तरण भइरहेका छन्। त्यसरी नै अन्यबाट ख्रीष्टियन वा मुश्लिममा धर्मान्तरण भइरहेका छन्। फरक यति हो कि कुन मात्रामा कुन धर्ममा वेसी वा कम धर्मान्तरण भइरहेका छन्। देखिएको र जनता माझ फैलिएको बुझाईमा सबैभन्दा बढिमात्रामा अन्य धर्मावलम्वीहरू ख्रीष्टिय विश्वासमा गइरहेको भन्ने रहेको छ। यस कुरालाई गत जनगणनाहरूमा पाइएको तथ्यांकले पनि पुष्टि गर्दछ, जस्तै,

जनगणना          ख्रीष्टयनसंख्या प्रतिशत                 वृद्धिदर

१९५४              ०

१९६१              ४५८                            

१९७१              २५४१              ०.०२%            ४५५%

१९८१              ३८९१              ०.०३%             ५३%

१९९१              ३१,२८९           ०.१७%            ७०.४%

२००१              १,०१,९७६       ०.७५%            २२६%

२०११              ३,७५,६९९       १.४२%            २६८%

२०२१              ?                      ?                      ?                     

            ख्रीष्टियन जनसंख्या १९५२-१९५४ को जनगणनामा देखिएको छैन। १९६१ को जनगणनामा ख्रीष्टियनहरूको संख्या ४५८ देखिएको छ। त्यसपछिका दशकहरूमा यो संख्या ठूलो मात्रामा वृद्धि हुँदै आइरहेको पाइएको छ। ख्रीष्टियन जनसंख्या १९७१ मा २५४१ थियो भने  १९८१ मा ३८९१ पाइएको छ। त्यसरी नै १९९१ मा ख्रीष्टियन जनसंख्या ३१२८९ पाइएको थियो भने २००१ मा १०१९७६ पाइएको छ। २०११ मा भने यो संख्या बढेर ३,७५,६९९ (तीन लाख पचहत्तर हजार छ सय उनन्सय) पुगेको छ। २०११ मा देशको जम्मै जनसंख्यामा ख्रीष्टियनहरूको जनसंख्या अनुपात १.४२% रहेको छ भने ख्रीष्टियन जनसंख्या वृद्धिदर २६८% देखिएको छ। अब हेरौं २०२१ को जनगणनाले कस्तो प्रतिवेदन दिंदछ।

            सन् २००७ मा ख्रीष्टियनहरूको संस्था नेपाल रिसर्च एण्ड नेटवर्कले गरेको ख्रीष्टियन जनगणनामा ख्रीष्टियन जनसंख्या २,५९,६३० देखिएको थियो। ख्रीष्टियनहरू आफ्नो जनसंख्या छुटाएको ठान्दछन्। तसर्थ यसै वर्ष ख्रीष्टियनहरूले आफ्नो छुट्टै जनगणना थालेका छन्। जनगणनाले थुप्रै तथ्यहरू प्रकाश पार्दछन्। सन् २०११ मा नेपाल सरकारले लिएको जनगणना अनुसार महिला ख्रीष्टियनहरूको संख्या २ लाख २ सय २९ (१.४७%) थियो भने पुरुष ख्रीष्टियनहरूको संख्या  १ लाख ७५ हजार ४ सय ७० (१.३७%) थियो। त्यसरी नै विकाश क्षेत्रको आधारमा ख्रीष्टियनहरूको सबैभन्दा बढि जनसंख्या राजधानी रहेको मध्यमाञ्चलमा १,६५,५६९ (१.७१%) रहेको थियो भने सबै भन्दा कम सुदुर पश्चिमाञ्चलमा २७,८०६ (१.०९%) थियो। त्यसरी नै ख्रीष्टियनहरू शहरी क्षेत्रमा १.९०% बसोबास गर्दछन् भने ग्रामीण क्षेत्रमा १.३२% बसोबास गर्दछन्। त्यसरी नै हिमाली क्षेत्रमा १.०३%, तराईमा १.०३% र  मध्यपहाडमा १.९३% ख्रीष्टियनहरू बसोबास गर्दछन्।

            जिल्लागत रुपमा २०११ को जनगणना बमोजिम सबैभन्दा बढि ख्रीष्टियन जनसंख्या भएका प्रमुख दस जिल्लाहरूमा क्रमश: काठमाडौं ४०,५९२; ललितपुर २३,४८९; धादिङ २१,२४३; मकवानपुर २०,३५४; चितवन १९,६८२; मोरङ १५,८४९; झापा १५,७४३; कैलाली १४,४९३; सुर्खेत १२,०२२; कंचनपुर ११,९६२ रहेका छन्। ठूला शहरहरू रहेका कास्कीमा १०,५३८ ख्रीष्टियन जनसंख्या रही तेह्रौं जिल्लाको स्थान लिएको छ भने सुनसरीमा ११,३९९ ख्रीष्टियन जनसंख्या रही एघाह्रौं जिल्लाको स्थान लिएको छ। यसरी राष्ट्रिय जनगणनाले थुप्रै चाखलाग्दा तथ्यहरू उजागर गरेको हुन्छ। यसबाट प्रष्ट हुन्छ कि मानिसले स्वतन्त्र रुपमा अध्ययन गरी स्वैच्छिक रुपले धर्मान्तरण गर्ने कार्य शहरी वातावरण बढि अनुकुल हुने गर्दछ। तुलनात्मक रुपमा ग्रामीण क्षेत्रमा भन्दा शहरमा मानिसले स्वतन्त्र जीवन जिउने अवसर पाउने गर्दछन्। अर्को तर्फ यो पनि संकेत गर्दछन् कि ख्रीष्टियन मण्डली तथा मिसिनरीहरू बढि मात्रामा शहरकेन्द्रित सेवाकाई गर्दछन्। सुदुर पश्चिम हिमाली क्षेत्र ०.०४% तथा बर्तमान प्रदेश नं. २ का दक्षिणी जिल्लाहरू ०.५६% मात्र ख्रीष्टियनहरू रहेको पाइएबाट यो पनि देखिएको छ कि यी क्षेत्रहरूमा मण्डली तथा मिसिनरीहरूको सेवाकाई अत्यन्तै न्युन रहेकोछ। 

            उपरोक्त विश्लेषणबाट थुप्रै शिक्षाहरू हासिल हुन सक्दछन्। नेपाल एक सहिष्णुतात्मक (सजिलै घुलमिल हुनसक्ने, Tolerancy) चरित्र भएको समाजले बनेको छ। साथै बर्तमान संविधानले धर्मनिरपेक्षात्मक चरित्र बोकेकोले पनि नेपाली जनताले वास्तविक स्वतन्त्रताको अनुभूति गर्न पाएका छन्। संविधान अहिले समाज सुहाउँदो देखिएको छ। तर यसले थुप्रै विकृति ल्याउने तर्फ पनि सबै नै सचेत हुनुपर्दछ। सहि र सत्य मार्गमा जान रोकतोक हुनुहुँदैन तर झूटा, भ्रमित तथा मानव जीवनलाई हानी पुर्‍याउने धर्म, पंथ (Cult), वा समूहहरूद्वारा समाज नभाँडिऊन् भन्ने तर्फ पनि संपूर्ण देश, ख्रीष्टियन प्रवुद्ध बर्ग सचेत हुनुपर्ने हुन्छ। अपेक्षा गर्दछौं कि सन् २०२१ मा संपन्न भएको जनगणनाले देशवाशीमा नयाँ आशा सृजना गर्नेछन्।

पा. यू. जे. गुरुङ

Post a comment