बैसाख १३, २०६९ मा नेपाल एयरलाइन्सको ट्वीन अटर विमान त्रिभुवन विमानस्थलबाट तोकिएको समय भन्दा २ घण्टाले ढिला १:३० बजे जुम्लाको निम्ति उड्यो। उक्त विमान पोखरा विमानस्थलमा दिउँसोको २:०८ मा उत्र्यो। पोखरा विमानस्थलबाट उक्त विमानले जुम्लाका निम्ति २:२० मा उडान लियो। विमान जाजारकोट, दैलेख हुँदै अघि बढ्ने क्रममा दैलेखको पहाडी भागमा घनाघोर वर्षाका कारण अरू अघि बढ्न सकेनन् र सुर्खेतको विशाल उपत्यका हुँदै विमान नेपालगंजको राँजा विमानस्थलमा साँझ ३:३० मा उत्र्यो। नेपालगंज भारत सिमाना जोडिएको नेपाली शहर हो जहाँ ठूलो संख्यामा मुश्लिमहरूको पुरानो बसोबास रहेको छ। नेपालमा सुसमाचार प्रवेश गरेको पुराना शहरमध्येको एक पनि हो। यो क्रमश: आधुनिकतातर्फ उन्मुख भइरहेको शहरको रूपमा हामीले पायौं। मौसम निक्कै गर्मी थियो।
भोलिपल्टै विमान रांजाबाट जुम्लाका निम्ति विहान ६:५० मा उड्यो। विमान सुर्खेत हुँदै दैलेख अनि कालीकोटका अग्ला पहाडहरू छिचोल्दै जुम्ला उपत्यका छिर्यो र विहानको ७:३८ मा जुम्ला विमानस्थलमा अवतरण गर्यो। विमानस्थलमा म र साथी वीललाई स्वागतार्थ भाई टोप नारायण पाण्डे आउनुभएको थियो। जुम्लाको खलंगा उपत्यका त्यस विहान ज्यादै सुन्दर र शितल (कुल) थियो। २३७० मि. उचाईमा अवस्थित जुम्ला खलंगाको हावापानी वैसाखको मध्यमा पनि अत्यन्तै चिसो थियो। खलंगा जुम्ला जिल्ला तथा कर्णाली अंचलकै प्रमुख शहर हो। यस शहर भएर तिला नदी बग्दछ। यसलाई जुम्ला कर्णाली पनि भनिन्छ। यस नदी हिमनदीबाट बनेको हुँदा निकै चिसो र तिब्र समेत छ। कमै मात्रामा होटेल रहेको जुम्लामा होटेल स्नोल्याण्डले हामीलाई राम्रो सत्कार दियो। दिउँसो देवराज राईको परिवारको आयोजनामा स्थानीय व्यक्तिहरूलाई भेला गराई ख्रीष्टिय भिडियो मार्फत सुसमाचार प्रचार गर्ने मौका लियौं। देवराज धनगढी मारानाथा मण्डलीका पास्टर हर्क राईका छोरा हुनुहुन्छ जो नेपाली सेनामा सेवारत हुनुहुन्छ। जुम्ला बसाईको पहिलो दिन हाम्रो निम्ति अत्यन्तै उत्साहजनक र आशिषमय बनेको अनुभूति गर्यौं। जुम्लामा प्रभुको इच्छा जान्न हामीहरूले प्रार्थना गर्यौं। यो लामो समय देखिको प्रार्थना पछि खुलेको यात्रा थियो।
बैसाख १५ मा खलंगाको तापक्रम शुन्य डिग्री छेउछाउ थियो। विहानै देखि अत्यन्तै जाडो थियो। हामी कालीकोट फोईतर्फ लाग्यौं। जाने क्रममा हाम्रो गाडीमा समस्या देखा परेपछि बाटोमा केही घण्टा कुराई भयो। तिला नदि नजीकैबाट तिब्र गतिमा आफ्नो गन्तव्यतर्फ लागिरहेको थियो। माथि ठूलो भीर अनि चारैतर्फ पहाडले घेरिएको यो स्थान अनि तिला नदी र त्यसमा राखिएको प्राचीन कलात्मक काठे पुल आदिले हामीलाई कर्णालीको परिचय दिइरहेको भान हुन्थ्यो। नाग्मासंग बसमा गएपछि पदलै उकालो चढ्यौं। जाँदै गर्दा कासुवडामा विर्ख बोगटी र उहाँको परिवारलाई भेट्यौं। उहाँहरू सपरिवार ख्रीष्टमा हुनुहुंदो रहेछ। ८३ वर्षे विर्ख भन्नुहुन्थ्यो कि उहाँ ख्रीष्टमा आउनुको कारण रोगको चंगाई नभएर उहाँको वैराग भाव थियो। धेरै श्रीमति विवाह गरेर पनि छोरा जन्मन नसक्दा समाजले उहाँलाई खिसी टिउरी गर्थे। उनी बैरागिएर नेपालगंजतिर लाग्दा उतै ख्रीष्टमा आउने अवसर पाएका थिए। ख्रीष्टमा आएपछि भने उनका छोरा जन्मेका थिए। हाल उनका २ वर्षे छोरा रहेको छ। त्यसपछि हामी टोप नारायण पाण्डेको गाउँ फोई पुग्यौं। उहाँको बुबा र भाईसंग भेटघाट भयो। टोप नारायण तथा स्थानीय युवाहरूको जमातले हामीहरूलाई फोई क्षेत्रको भ्रमण गराई त्यहाँको बस्तुस्थिति र भु-बनोटको परिचय गराए। त्यस सांझ करिव ६० जनावीच सुसमाचारीय फिल्म प्रदर्शन गर्दै सुसमाचार प्रचार गर्यौं। रातको ठिहीमा पनि मानिसहरू चासोका साथ कार्यक्रममा भाग लिएका थिए।
विहानै हामीहरू यात्रामा अघि बढ्यौं। विर्ख बोगटीको घरमा हुने शनिवारीय आराधना सभामा भाग लियौं र त्यस सानो झुण्डलाई उत्साह दिने काम गर्यौं। बाहिरबाट विश्वासीहरू विरलै पुग्ने त्यस क्षेत्रमा हामीहरूको उपस्थितिले उहाँहरूमा ठूलो उत्साह ल्याएको थियो। उहाँहरूको प्रेमिलो संगति र भोजनपछि हामी नाग्मा झर्यौं। सिंजा जाने गाडीको कुराईमा हामीहरू थियौं। गाडी नपाउने पक्का भइसकेको थियो। हामीहरू हिंड्दै जाने सोंचमा बाटो लाग्यौं। नाग्मा बजार पार भइसकेपछि सिंजा तर्फ जान तयारी अवस्थामा रहेको एक रिजर्भड् गाडी भेटियो। त्यसैमा चढी हामीहरू नरकोट पुग्यौं। केही वेर हामी नरकोट बजारमा चियापान गर्नलाई बस्यौं। पुस्तिका वितरण कार्य गर्यौं। जुम्लावासीका रहन सहन परम्पराहरू पृथक थियो। सम्पन्न मानिसहरू अझै पनि घोडाहरूमा यात्रा गर्दछन्। सामान्य मानिसहरू लगभग घोडासंगै हिंड्न सक्दछन्। हामी प्राचीन खसान राज्यको शक्ति केन्द्र सिंजा क्षेत्रमा यात्रा गरिरहेका थियौं। सिंजा सम्पूर्ण कर्णाली प्रदेशकै राजधानी र शक्तिकेन्द्र थियो। यो स्थान अत्यन्तै जाडो ठाउँ भइकन पनि मुगु कर्णाली नदीका कारण फाँटिला अनि खेतीयोग्य जमीनहरूले भरिएका छन्। हामी यिनै फाँटहरू हुँदै अनि मुगु कर्णालीलाई पछ्याउँदै सिंजातिर लाग्यौं। सिमसिमे पानी परिरहेकाले यात्रा चुनौतिपूर्ण रह्यो। साँझमा हामीहरू पाण्डुगुफा पुग्यौं र बास बस्यौं। बासका निम्ति तीन जनालाई तीन खाट उपलब्ध थियो। चिसो ठाउँ भएकोले होला लामखुट्टे, उडुस पाइएन। कोठालाई तताउन कोठाकै सिधामुनि रहेको भान्साको धुंवा पाइप कोठाकै वीचबाट माथितिर लगिएको थियो। पाइप तातिंदा कोठा न्यानो हुन्थ्यो। बाहिर पानी परिरहेकै थियो। तल भान्सामा दुईजनाको लामो विवादले झगडाको रूप लिंदा अलिक खल्लो अनुभव भयो। एक जना एमाले समर्थक अर्को नेपाली काँग्रेस कार्यकर्ता थिए। नेपाली काँग्रेसलाई लगातार रूपमा सामन्ती र शोषक भनिरहेका मात समेत लागेका एमाले समर्थकलाई गलहत्याएर बाहिर तिर लगेको सुनियो। त्यसपछि वातावरण रात शान्त रह्यो। रात राम्रैसंग विताइयो।
बैसाख १७ को झिसममिसेमै हामीहरूले यात्रालाई अघि बढायौं। त्यही दिन रारा पुग्ने हाम्रो योजना रहेकोले हामी उत्साही थियौं। एकाध घण्टा पछि हामीहरू गोठीज्युला पुग्यौं। त्यहाँ चियापान गर्यौं। पहिलो चुस्कीमा हाम्रो साथी वीललाई चिया निल्नु न ओकल्नु भयो। भएछ के भन्दा स्थानीय जडीबुटी चियामा कफि, चिया, नुन र चिनी सबै मिसाइएको रहेछ। हामीलाई पनि चिया निल्न गाह्रो भयो। त्यसपछिका समयमा हामीले यात जडीबुटी चिया मात्रै यात चिया मात्र पकाउन हामीले अघिबाटै भन्ने गर्न थाल्यौं। गोठीज्यूलाबाट मुगु जाने मोटरबाटो छोडेर हामीहरू ठाडै उकालो लाग्यौं। उकालो चढ्न हामीहरूलाई कम गाह्रो चाहिँ भएन। तर नयाँ संस्कृति, नयाँ वातारणले हामीहरूलाई उत्साही भने बनाइरहेको थियो। यहाँका गाउँहरू एकै ठाउँमा एकिकृत रहेर बनिएको पाइयो। छानाहरू माटाले छापेका पायौं। ती छानाहरू सम्म परेका आँगनको रूपमा बनाइएका थिए, बसेर सभा बैठक बस्न सकिने किसिमको बलियो छाना। माथिबाट हेर्दा छाना माथि छाना नभई खेतका गह्रामाथि गह्रा मिलेर रहेका खेत जस्ता देखिन्थे। यहाँका छानाहरू बनाइदा पहिला ढुंगाका गाह्रामाथि बलिया बलिया देवदारका बलोहरू तेर्साइन्छ। त्यसमाथि देवदारका फलेकहरू टम्म पारेर राखिन्छ। ती फलेकमाथि सल्लाका पातहरू बाक्लो गरी राखिन्छ। अनि सल्लाका पातमाथि माटो विछ्याइन्छ र सम्याइन्छ। त्यसो गर्दा भान्साका धुवांको पाइप माथि देखिने गरी राखिन्छ। यस क्षेत्र हिमाली क्षेत्रमा पर्ने हुँदा पानी पर्न साथ हिऊँ पर्ने गर्दछ। तसर्थ पानीले हतपत माटोलाई बगाउँदैन र छाना रहिरहन्छ। वर्षको अधिकांश समय जाडो हुने हुँदा दाउरा बाली आगो ताप्ने कार्य पनि अधिक मात्रामा हुने गर्दछ। खरको छाना त्यस्तो अवस्थामा आगलागीका लागि पनि खतरापूर्ण रहने हुँदा पनि यस किसिमको छानो लाभकारी हुन्छ। तर बढ्दो शहरीकरणको क्रममा छानाहरू क्रमश: जस्ताको छाना हुँदै सिमेन्ट ढलान तर्फ अघि बढिरहेको देख्न पाइन्छ विशेषत: खलंगा तथा अन्य शहर तथा बजारहरूमा।
लगभग चार घण्टा हिंडेपछि गोठीज्युलाबाट नजीकै देखिएको ओखरपाटी पुग्यौं। खस बुढा जातिको गाउँ ओखरपाटीले प्राचीन जुम्ला गाउँको सम्झना गराउँथ्यो। चौतारीमा बसेर हामीहरू पुस्तिकाहरू र खेलौनाहरू बाँड्न थालेपछि लगभग पूरै गाऊका नानीहरू भेला भए। देवदारका फलेकको छानो भएका घरमाथि घरले भरिएको लगभग पचास घर रहेको बाक्लो ओखरपाटी गाउँले हामीलाई अर्कै संसारमा आइपुगेको अनुभूति गरायो। प्रत्येक घर बुढाबुढी, आमाहरू र काखे नानीहरूले भरिभराउ थिए। लगभग काठैकाठको प्रयोग गरिएको गाउँ साँच्चै नेपालका अन्य गाऊँभन्दा भिन्न थियो। नानीहरू थुप्रै ठाउँमा टालेका कट्टु तथा पेन्ट लगाएका हुन्थे। ती माया लाग्दा अबोध नानीहरू स्कुल पढ्न एक घण्टा तल ठाडै ओरालो गोठीज्युला पुग्नुपर्दथ्यो। एका-विहानै ती नानीहरू बनमा गई स्याउला, दाउरा जम्मा गरी घर फर्कि सकेका थिए। अब खान खाई कोही स्कुल जाने त कोही भेडा, गधा, खच्चड चराउन जाने तर्खरमा थिए। नानीहरू र आमाहरू हामीलाई घेरिरहेका थिए। अभिवादन आदानप्रदान पछि हामीहरू विस्तारै गाउँको विचबाट उकालो लाग्यौं। देवदारका फलेकले चारैतिर घेरिएको खुल्ला खोरहरूमा कतै घोडाहरू थिए, कतै भेडाहरू थिए त कतै अन्यन्य जन्तुहरू थिए। स्थानीय कुखुराका भालेहरू बग्रेल्ती देखिन्थे। गाउँको माथि पुगिसक्दा समेत हामीहरूलाई एक हुल नानीहरूले पछ्याइरहे। हामीले उनीहरूसंगै केही फोटो खिच्यौं र विदा भयौं। बाटाहरू र सल्लाका हाँगाहरू हिउँले ढाकिएका थिए। बाटाका दुबैतिर ठूला ठूला देवदारका रूखहरू, सल्लाका रूखहरू टम्म थिए। ठाउँ ठाउँमा गुराँस फुलिरहेका थिए। रमाइला दृश्यहरू देख्न पाइन्थ्यो। एक घण्टाको उकालो पछि लमकाँध भञ्ज्याङ पुग्यौं। भोकले अब हाम्रो भाउन्न छुट्न लागिरहेथ्यो। नजीकै काठैकाठको थुप्रो देख्यौं। त्यो चाहिँ अरू केही नभएर रारा राष्ट्रिय निकुन्ज क्षेत्रमा बनाइएको फास्टफुड रेस्टुरेन्ट थियो। यो पनि छक्क लाग्दो कुरा थियो। निकुन्ज क्षेत्रमा स्थायी घर वा टहरो बनाउन नमिल्ने हुँदा त्यसो गरिएको थियो। रेस्टुरेन्ट साहु दिनभरि फास्टफुड रेस्टुरेन्टमा काम गर्थे तर साँझमा नजीकैको पालमा सुत्थे। किनकि उनको रेस्टुरेन्टमा सुत्ने ठाऊँ थिएन। त्यहाँ हामीले स्थानीय जडीबुटी चिया र अम्लेट खायौं। एक अम्लेटको रू. २५ को दरले पैसा तिर्यौं। हामी जस्तै केही यात्रूहरू त्यहाँ भेटिए। उहाँहरूले ल्याएका कोदाको रोटी तताएर खायौं। भोजन बडो स्वादिष्ट सावित भयो। हामीलाई खच्चर चराउने स्थानीय गोठालाहरूले सुझाए कि हामीहरू त्यस दिन रारा पुग्न सक्दैनौं। हाम्रो हिंडाई अनुसार उहाँहरूको मुल्यांकन सही देखिन्थ्यो। त्यसैले हामीले यात्रालाई अघि बढाउँदै चुच्चेमारा लेकको फेदीमा रहेको निर्विकल्प काठे छाप्रोमा रात विताउने निधो गर्यौं। समय लगभग तीन मात्र बजेको हूंदो हो हामीले विश्राम लियौं। करिव १० घण्टा हिंडिसकेको र अत्यन्तै अग्लो लमकाँध भञ्ज्याङ चढेको हुनाले हामीहरू थकित पनि भइसकेका थियौं। मुगुबाट जुम्ला, कालीकोट जाने महत्वपूर्ण नाकामा रहेकाले हाम्रो यस लज भएर थुप्रै यात्रीहरू, खच्चडहरू तथा भेडाबाख्राहरू ओहोरदोहोर गर्दथे। उनीहरूलाई सुसमाचारीय पुस्तिकाहरू बाँड्ने र छलफल गर्ने मौका हामीलाई मिल्यो। त्यस भेकका धेरै मानिसहरूमा ख्रीष्ट येशूको बारेमा सतही रूपमा ज्ञान भएको पाइयो। छिट्पुट रूपमा मानिसहरू ईशाईहरूको सम्पर्कमा आएको पनि पाइयो। तर धेरै भ्रमहरू थिए उनीहरूको वीचमा। यदाकदा ईशाई मित्रहरूको गलत जीवनको नकरात्मक असर त्यस क्षेत्रका मानिसहरूमा परेको पाइयो। मानिसहरू आफ्नो प्राचीन परम्परा र संस्कृतिका पक्षमा बलियो रूपमा उभिएको पनि पाइयो। हाम्रो ओछ्यान फलेकले बनेको र तिनका सतह नमिलेको हुँदा छेउछाउ सुत्ने दुई मित्रहरूलाई रात विताउन कठिन भएछ। त्यस रात निकै जाडो पनि थियो। हामीहरूलाई प्रशस्तै पुग्ने गरी चाइनीज ब्लैंकेटहरूको व्यवस्था गरिएको थियो। तर मेरा दुई मित्रहरूलाई एकातिर जाडो अर्को तिर फकेकले विजाउनाले रात निकै लामो भएछ। मेरो भने त्यो रात छोटो र मीठो रह्यो।
रातभर हिउँ परेकोले हाम्रो टहरो हिउँले ढाकिएको थियो। हिउँले ढाकिएर चारैतिर सेताम्मे र मनमोहक बनेको थियो। विहानै हामीहरू चुच्चेमारा लेक तर्फ लाग्यौ। चारैतिरका रूख तथा पोथ्राहरू सेताम्मे भएको दृश्य ज्यादै मनमोहक थियो। लेकको फेदीबाट लगभग ठाडै उकालो त्यसमा पनि हिउले ढाकिएकाले हिंड्न निक्कै जोखिमपूर्ण थियो। हामीहरू १ घण्टाको यात्रापछि चुच्चेमारा लेक पुग्यौं। यो लेक ४०८८ मि उचाईमा अवस्थित रहेको छ। यस उचाईबाट कर्णाली क्षेत्रका हिमालय शृंखला ज्यादै नजीक र सुन्दर देखिन्थ्यो। यस लेकमा चारैतिर बाक्लो हिउँ जमिरहेको थियो। वातावरण सुन्दर र गजव थियो। रारा ताल देख्नका निम्ति मुगुको पल्लो डाँडातिर लाग्ने क्रममा बाक्ला हिउँहरूमा हाम्रा खुट्टाहरू डुबेका थिए। पथ प्रदर्शकले झैं बाटो देखाउन हाम्रा अघि अघि एउटा फ्याउरो विना भय गइरहेको थियो। चुच्चेमारा लेकको पल्लो पाटाबाट मुगुको रारा ताल स्पष्ट देखियो। विहानी घामसंगै यो सुन्दर रूपमा चम्किरहेको थियो। नेपालकै सबैभन्दा ठूलो अनि ३०६० मी उचाईमा अवस्थित यो ताल सुन्दर अनि मनमोहक पनि छ। परमेश्वरको सृष्टि कति सुन्दर छ। यो उहाँको हातको कला थियो। त्यसपछि हामीहरू आफ्नै वेसक्याम्म तिर फर्क्यौं जहाँ हामीहरूले अघिल्लो रात बिताएका थियौं। खानपान पछि हामीहरू सिंजातर्फ लाग्यौं। बाटो ज्यादै रमाइलो र मनमोहक थियो। चिसो अनि कृस्टल क्लियर पानीका खोलो कल कल बगिरहँदा मन आनन्दले विभोर हुन्थ्यो। वरिपरिका ठूला ठूला सल्लाका रूखहरू, प्राकृतिक छटा आदिले हामीलाई निरन्तर परमेश्वरप्रति धन्यवादी बनाइरह्यो। परमेश्वर कति बुद्धिमान जसले सृष्टिको प्रत्येक स्थान मनमोहक र बस्तियोग्य बनाउनुभएको छ। किनकि मानिसलाई पृथ्वीमा भरिदै जानु भन्ने परमेश्वरको आज्ञा थियो (उत्पत्ति १:२८)। ठूला ठूला खर्कहरूमा भेडाहरू, घोडाहरू चरिरहेका थिए। गोठालाहरू समूह समूहमा बसिरहेका थिए। हाम्रो समूहले उहाँहरूलाई सुसमाचारीय पुस्तकहरू वितरण गरी सुसमाचार बाड्यो। विविध झरना, खेतवारी, पानी घट्टाहरू हुँदै हामीहरू एक स्थानीय माध्यमिक विद्यालयमा आइपुग्यौं जहाँ हामीहरूलाई विद्यार्थीहरूले घेरे। हामीहरूले विद्यार्थी तथा शिक्षकहरूलाई सुसमाचारीय पुस्तिकाहरू वितरण गर्यौं। साथै एक फुटबल पनि विद्यालयलाई प्रदान गर्यौं। शिक्षकहरूले हामीहरूसंग राम्रो व्यवहार गरे। हामीहरूलाई त्यस रात उनीहरूसंगै विताउन समेत अनुरोध गरे। उहाँहरूसंग विदावाजी भइसकेपचि हामीहरू मुगु जाने कच्ची मोटरबाटोमा आइपुग्यौं। त्यो बाटो नेपाली सेनाले खनेको बाटो थियो। त्यही बाटो भएर हामीहरू मुगु कर्णाली किनारै किनार दक्षिण लाग्यौ। यात्रा लामै गरिसकेकाले खुट्टाहरू थकित हुँदै थिए। सिमसिमे पानी र हुरीले यात्रालाई केही असहज बनाइरहेको थियो। हामीहरू अन्तत: प्राचीन कर्णाली राज्यको राजधानी सिंजा आइपुग्यौं। यो प्राचीन राजधानी दुई नदी मुगु कर्णाली र डोरी लेकबाट झर्ने नदीको दोभानमा नदीहरूको शुरक्षा घेरामा रहेको अग्लो गढीमा अवस्थित रहेको छ। यस गढीमा प्राचीन खण्डहर दरवार र कनका सुन्दरी मन्दिर अझै पनि अवस्थित छ। स्थानीय खुद्रा व्यापारीका अनुसार गढी वरपरका क्षेत्रमा प्राचीन दरवारका अवशेषहरू, सिढिहरू, शिला मुर्ति तथा अन्य बस्तुहरू भूमिगत रूपमा दबिएर बसेका छन्। त्यस क्षेत्रको शुरक्षाका निम्ति नेपाल प्रहरीको एक पोस्ट त्यस ठाउँमा तैनाथ गरिएको छ। त्यसपछि हामीहरू डोरी लेकलाई ताक्दै अघि बढ्यौं। खुट्टाहरू साह्रै थकित थिए। पुस्तिकाहरू बाँड्दै अघि बढियो। कोटा पुग्नै हामीलाई हम्मे परिरहेथ्यो। राम्रो लज पाउन ज्यादै चुनौति हुने यस मार्गमा यात्राको विसर्जनको निर्णय गर्नै हम्मे पर्थ्यो। कोटामा खोला किनारमा एक घर मात्र थियो। हामीले सोध्यौं लजको व्यवस्था थियो कि भनेर। लजको व्यवस्था छ भन्ने जवाफ पाएपछि वेड अनि कपडाको अवस्थाबारे सोधपुछ गर्यौं। जवाफ चित्तबुझ्दो पाएपछि रात त्यहीँ विताउने निर्णय गर्यौं। वातावरण ज्यादै मनमोहनक थियो। वरिपरि सल्ला र देवदारका रूखहरूको घना जंगल थियो। नजीकै क्रिस्टल क्लियर खोला बगिरहेको थियो। उफ्रेर नदी अनि वरपर भ्रमण गर्नलाई मनले भन्यो तर खुट्टाले मानेन। यात्रामा खुट्टाको निर्णय महत्वपूर्ण हुन्छ। गइएन कतै, आराम गरियो। हाम्रा लज मालिकले हामीलाई बेलैमा सुझाएका थिए कि हामीले ट्वाइलेट प्रयोग गर्नुपर्दा घर अगाडीको जंगल होइन पछाडीको जंगल प्रयोग गर्नुपर्छ भनेर। मानिसहरू राम्रै जुटेका थिए। परिचय, सुसमाचार प्रचार, छलफल गर्दै गर्दा रातको १० बजि सकेको थियो। खाना पनि तयार भइसकेको थियो। तर खाना खुवाउन भन्दा पनि हाम्रा लज मालिक गफ गर्नमै रूचि राख्थे। धेरै विषयमा कुरा गरियो। उनी भुगोलका कुरा, राजनीतिका कुरा, जन-जीवनका कुरा, कृषिका कुरा, अमेरिका तथा विश्वका कुरा सबै निकाल्थे र जिज्ञासु भएर हाम्रा मित्र वीललाई प्रश्नहरू तेर्साउँथे। उहाँले जवाफ दिनुहुन्थ्यो, म अनुवाद गरिदिन्थें। उनी नेपाल मज्दुर किसान पार्टीका सदस्य पनि रहेछन्। परिवारको खाजा स्वरूप उसिनेको आलु वीललाई मन पर्यो। उहाँलाई एक थाल आलु दिइयो। धेरै दिनपछि त्यस रात उहाँले मन लगाएर आलुरूपि भोजन खानुभयो। आलु नै उहाँको भोजन बन्यो। अन्तत: हामी सबैले खाना खायौं। सुत्नका लागि हामीलाई सुत्ने कोठातिर लगियो। तीन जनालाई तीन खाट त थियो तर पर्याप्त कपडा थिएन। एक एक वटा राडी ओडी रात कटाउनु पर्ने भयो। रातभर झ्यालबाट सिरेटो चलिरह्यो। राडीका छिद्रबाट सिरेटो छिरि नै रह्यो। साथीहरू लगभग निदाइसकेका थिए। मेरो खाट विचमा थियो जो झ्यालकै छेउमा थियो। सिरेटोले मलाई शास्ती दियो। डबल पेन्ट लगाएँ, शर्टमाथि शर्ट अनि ज्याकेट लगाएँ। शरीर बाक्लो कपडाले टसमस भयो तर न्यानो भएन। रातमा कैयौं पटक जाडोले विउँझी रहें। अघिल्ला रातका दुई मित्रहरूकै हविगतमा त्यस रात म पनि पुगेछु। भाले कहिल्यै बासेन, विहान कहिल्यै आएन। आउनलाई आयो सदा भन्दा धेरै ढिला।
बैसाख १९ नै त्यो विहान थियो जुन विहान हामी सायद सबैभन्दा चाँडो यात्रा प्रारम्भ गर्यौं। यात्रा प्रारम्भ गर्दा ५:३० बजेको थियो। शान्त विहान, सल्ला र देवदारका अग्ला रूखहरू, सफा अझ भनौं क्रिस्टल क्लियर हिउँ पग्लेर बगिरहेको नदि हुँदै हामी अघि बढिरह्यौं। बाटाहरूमा बारंबार भेटिने काठका पुलहरू तर्दै अघि बढिरह्यौं। ती पुलहरू वरफले ढाकिएका हुँदा चिप्ला र खतरानक भएका थिए। यी सबै हुँदै बढि रह्यौं। बाटो तेर्सो अनि क्रमश: उकालो लागिरहेकोले यात्रा कठिन थिएन। अनि हामी आइपुग्यौं छालाचौर। यहाँ कोटाको भन्दा लजको राम्रो प्रवन्ध रहेछ। तर कोटाबाट हामीलाई अघिल्लो साँझ छालाचौर आइपुग्न सायद डेढ घण्टा लाग्ने थियो यद्यपि त्यस विहान हामीलाई एक घण्टा लाग्यो। चियापन, जलपान पछि हामी विस्तारै उकालो लाग्यौं। करिब २ घण्टा पछि हामीहरू जलजला आइपुग्यौं। जलजला अर्को राम्रो लजको व्यवस्था भएको स्थान हो। यो मनमोहक सानो उपत्यका हो। त्यस समग्र क्षेत्रमा यो एक मात्र निर्विकल्प मिनि होटल थियो। जाडोमा आगो ताप्न र लोकल जडिबुटी चिया खान सजिलो होस् भनेर भान्सा कोठाको चारैतिर फलेकको वेन्चले घेरिएको थियो। यहाँ बाह्रै महिना जाडो हुन्छ। छेउछाउको जंगलहरूमा बैसाखको मध्यमा पनि हिउँले ढाकिएकै थिए। राराबाट फर्कने पर्यटकहरू जुम्ला खलंगा जाने क्रममा यहीँ बास बस्ने गर्दछन्। उनीहरूलाई ओछ्याउन राडीको व्यवस्था गरिन्छ। स्लिपिङ ब्याग चाहिँ आफ्नै प्रयोग गर्नुपर्ने हुन्छ। नभए हविगत उस्तै हुन वेर लाउँदैन। यहाँ चाइनीज ब्लैंकेटको प्रवन्ध छैन। ट्वैलेट त आफैंले खोज्नुपर्ने हुन्छ। वरिपरि घना कोणधारी जंगल त छँदै थियो।
खानाको अर्डर गरियो। घामसाम तापियो। त्यहाँ पाइएको फ्याउरोको जस्तै लामो र झ्याम्म परेको पुच्छर भएको कुकुर हाम्रो साथी वीललाई मन पर्यो। केही वेरमा खानाको अर्डर गर्न पाण्डुगुफामा भेटिएको हिमाली बाख्राका व्यापारीहरू आइपुगे। हामीहरू बाख्राभन्दा केही छिटा हिंड्दा रहेछौं। अनि केही क्षणमै स्थानीय घोडाचढी तिर्थालु आइपुगे जसलाई हामीहरूले अघिल्ला दिन सिंजामा भेटेका थियौं। उनी संसार डुलेर पनि जलजलामा टुप्लुकै आइपुगि हाले। जलजलापछि करिब तीन घण्टा लामो यात्रा पछि मात्र अर्को होटल पाउन सकिन्थ्यो। खाना पछि हामीहरू डोरी लेकतर्फ लाग्यौं यो लेक ४१६० मि. उचाइमा अवस्थित छ। उकालो कम चुनौतिपूर्ण थिएन तर चारैतर्फ हिउँले ढाकिएका रूखहरू, हिउँले ढाकिएका बाटो तथा पाखा भित्ताहरू अत्यन्तै रमणीय थियो। कोटामा बग्ने खोलाको अब मुहानतिर हामी आउँदै थियौं। यो अब सानो खोलीको रूपमा देखिंदैथियो। यो उही खोली थियो जो कोटामा खोला र सिंजामा पुग्दा नदीको रूप धारण गर्छ। डोरी लेक आइपुग्दा हिमपात भइरहेको थियो। टाकुराहरू हिऊँले ढाकिएका थिए। विस्तारै हामीहरू ओरालो लाग्यौं। अनि लामो हिंडाईपछि हामीहरू एक होटलमा आइपुग्यौं जहाँ हामीले जलजलामा भेटेका घोडाचढी तिर्थालुलाई आफ्ना टोलीका साथ असिना पसिना गर्दै अगेना वरिपरि बसेर खाना खाइरहेका भेट्टायौं। हामीले चियाको अर्डर गर्यौं। चियालाई पर्खंदा पर्खंदै भारी हिमपात शुरू भयो। भेडाहरू आफ्नो खोरतिर फर्किरहेका थिए। यात्रूहरू ठाउँ ठाऊँमा ओत लागेर बसिरहेका थिए। हेर्दा हेर्दै जगतै सेताम्मे बन्यो। मनै रमाइलो भयो। हिमपात रोकिए पछि यात्रा त शुरू भयो बाटो चिप्लेरै हिंड्न सकिएन। तै म त निकै परसम्म हिंड्न सफल भएँ। वील चाहिँ टाढैबाट आत्तिएर मलाई ‘“पास्टर’” ‘“पास्टर’” भन्दै गुहार्दै थिए। ओरालोमा सन्तुलन राख्न उहाँलाई हम्मे परेको थियो। त्यसैले मित्र अलिक आत्तिएका थिए। हामी जुम्ला खलंगा उपत्यकामा झर्दै थियौं। त्यस क्रममा डाँफे लेक भएर रारा जाने बाटोमा हामी आइपुग्यौं। ठाउँ ठाउँमा घोडाहरू चरिरहेका थिए। अब विस्तारै बस्ती बाक्लिदै गइरहेको थियो। अनि हामी यू. एम. एन. द्वारा संस्थापित कर्णाली टेक्निकल स्कुल (के. टि. एस.) आइपुग्यौं। यो निक्कै राम्रो र व्यवस्थित स्कुल हो। सुन्दर भवनहरू, बगैंचा, खेल मैदान आदिले यसको स्तर निकै उच्च रहेको देखाउँदछ। यस स्कुलले ओभरसियर, नर्स तथा अन्य प्राविधिकहरू कर्णालीका निम्ति उत्पादन गर्दछ। यू. एम. एन. ले नेपालका निम्ति सामाजिक सेवा तथा विकासका निम्ति ठूलो धनराशी खर्च गरिसकेको छ। यो संस्था वास्तवमै मिसिनरी सेवा संस्था हो जसको खास काम भनेको ख्रीष्टको महान आज्ञा पूरा गर्नु हो। प्रारम्भमा नै नेपालको कानुनमा अनुबन्धित भएकोले यस संस्थाले सोझै सुसमाचारको काम गर्न सक्दैन। हामीहरू खलंगा झरिसकेका थियौं। समथर मैदानमा हिंड्न सहज भए पनि थकाइले गर्दा हिंडाईमा गति आइरहेको थिएन। साँझको ४:४५ मा हामीहरू आफ्नै होटल स्नोल्याण्ड आइपुग्यौं। थकाई भारी थियो हामीले विश्राम पायौं। यो अचम्मको अनुभूति थियो, विश्रामको अनुभूति।
अघिल्लो रात ८:३० मै सुतेकोले विहान पाँचै बजे निद्राले छोड्यो। मौसम त्यस विहान जुम्लामा सफा र घमाइलो थियो। जुम्ला यात्राको त्यो दिन विश्राम दिन थियो। त्यो न ता शनिवारको दिन न ता आइतवारको दिन तर यात्रा समप्तिपछिको विश्राम दिन। हामीहरू मध्यान्हसम्मै विश्राम लिइरह्यौं। त्यसपछि देवराज राईको घरमा गई भेटघाटहरू गरियो। नेपाली सेल तरकारीले विश्राममा ताजापन थपिदियो। आर. ए. आएर पनि गयो। भोलि पुन: आउनेवाला थियो। मौसम विग्रे वा कारणवश विमान नआए जुम्ला बसाई लम्विने थियो। तथापि हाम्रो काठमाडौं उडान भोलि। पुन: हामी फर्क्यौं उही स्नोल्याण्डमा।
बैसाख २१, जुम्ला यात्राको अन्तिम दिन। निद्राले विहान ५:४५ तिरै विदा लिए पछि ओछ्यानबाट उठियो। त्यस दिन आर. ए. आउँदैछ ११ बजे। होटल स्नोल्याण्डका मालिक ललित जंग महत जो माउन्ट पटराशी टुर्स एण्ड ट्राभल्सका एजेन्ट पनि हुनुहुन्छ, ले हामीहरूलाई आफ्नो जीपमा एयरपोर्ट पुर्याइदिनुभयो। भाई टोप नारायण पाण्डेसंग विदा भई हामीहरू ट्वीन अटरबाट काठमाडौंका लागि उड्यौं। खलंगाबाट दक्षिण-पश्चिमको गल्छि हुँदै हामीहरू कालीकोटका अग्ला पर्वतहरूतिर आकाशियौं। ट्वीन अटर कहिले आकाशिन्थ्यो त कहिले चापरहित आकाशीय खाडलमा भासिन्थ्यो। अग्लो डाँडासम्म आकाशिदै जाने हाम्रो विमान डाँडो सकिन साथै भासिन्थ्यो। यी सबै चाहिँ बायु चापले ल्याउने उतारचढाव थियो। बायुले चाप दिइरह्यो आकाशिरह्यो चाप दिन छाड्यो भासियो। कालीकोटका लेकहरूपछि दैलेखका पहाडहरू छिचोल्दै विमान निरन्तर दक्षिणी निशानामा अघि बढिरह्यो। सुर्खेत-जुम्ला मार्ग स्पष्टै देख्न सकिन्थ्यो। कर्णालीलाई पछ्याएको यो मार्ग कहिले नदि तीरै तीर अघि बढिरहेथ्यो त कहिले सिधै पहाडको टाकुरामा पुग्थ्यो। विमान अब क्रमश: पूर्वी निशानामा अघि बढिरहेथ्यो। जति पूर्व आयो उति नै पहाडहरूमा बस्ती बाक्लिदै गइरहेको थियो। बाग्लुङतिर आइपुग्दा विमान निकै होचिसकेको थियो। काली नदी स्पष्टै देखिन्थ्यो। बाग्लुङ बजार व्यस्त तर सुन्दर देखिन्थ्यो। केही समयमै स्यांजाका उपत्यकाहरू, माछापुछ्रे अनि पोखरा देखा पर्यो। अनि विमान पोखरा विमानास्थल उत्र्यो।
हामीहरू केही मिनेटमै पुन: काठमाडौंका लागि उड्यौं। पोखराबाट विदाई हुँदै बेगनाश र रूपातालको रूप नियाल्दै हामीहरू कास्की, लमजुङ, तनहुँका पहाडहरू चढ्दै रह्यौं। लमजुङको भोर्लेटार, कास्की लमजुङका सिमाना, तनहुँका भूभाग हुँदै अघि बढ्यौं। मादी, मर्स्याङदी अनि लमजुङ तथा गोर्खाका हिमश्रंखलाहरूको दृश्यावलोकन गर्दै हामीहरू क्रमश: पूर्वतर्फ लागिरह्यौ। त्यसपछि समय समयमा त्रिशुलीसंग लुकामारी गर्दै धादिङ तथा मकवानपुरका पहाडहरू चढ्दै चम्पादेवी डाँडा काट्यौं र काठमाडौं उपत्यका छिर्यौं। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, भैसिपाटी, सात दोवाटो, कोटेश्वर हुँदै विमान दिउँसोको २ बजे तिर त्रिभुवन विमानस्थल उत्र्यो। त्यसपछि हामीहरू आफ्नो घरतर्फ रवाना भयौं। यात्रा अत्यन्तै सफल र सार्थक रह्यो। यो जुम्ला यात्रा थियो, अविस्मरणीय अनि पुनर्निमन्त्रणा प्राप्त यात्रा थियो।
येशूले भन्नुभयो, “सारा संसारमा जाओ र हरेक प्राणीलाई सुसमाचार प्रचार गर” (मर्कूस १५)। नेपालमा कर्णाली क्षेत्र त्यो क्षेत्र हो जहाँ सुसमाचार सबै ठाऊँमा पुगिसकेको छैन। जुम्लामा केही साना मण्डलीहरू छन्। त्यसरी नै अन्य जिल्लाका सदरमुकामहरूमा एका-दुई साना मण्डलीहरू छन्। त्यस बाहेक यस क्षेत्रमा विरलैले सुसमाचार सुन्न पाएका छन्। मानिसहरूलाई ज्योति चाहिएको छ, प्रचारकहरू चाहिएको छ, प्रार्थनाहरू चाहिएको छ। परमेश्वरले यस भेकका जनतालाई आशिष दिऊन्।
यू. जे. गुरुङ, २०१२