No comments yet

टिस्टा पारीको देश, कालिम्पोङ

सिलीगुडीको उखुम गर्मी, चर्को गुञ्जन र चहलपहललाई मत्थर पार्ने घना बन्य क्षेत्र शुरु हुन्छ। तब विस्तारै सेवकबाटको पहाडी भूभागमा यात्राले नयाँ मोड लिन्छ। स-साना उकाली-ओराली अनि नटुंगिने बन्यक्षेत्र भएर गइरहेछ सिक्किमसम्मै जोडिएको यो बाटो। कला र सजावटले बगैंचावीच बनाइएका झैं देखिने स-साना काठेघरहरूका वस्तीहरू परदेशीहरूको स्वागत गर्दैछन्। पश्चिमको दार्जिलिङ र पूर्वको कालिम्पोङका पहाडी सृंखलाहरूका शीरहरू निकै माथि होलान्। नांगो आँखाबाट ओझेल छन् ती। म त केवल टिस्टालाई अनि सुन्दर वस्तीहरूलाई हेरिरहेछु। अँ त टिस्टा वसन्तमा पनि होनहार ठूला भई बगिरहिछन्। प्यारो टिस्टा, सानै देखि गाइने गरेको राष्ट्रिय गीतको टिस्टा, “पूर्वमा टिस्टा पुगेथ्यौं”!

 

अब टिस्टा वारीको देश छोडी पारीको देश उक्लिरहेछु। १४ कि.मि. को उकाली, घुम्तीहरू हुँदै उक्लिरहेछु। बनवाटिका छोडी पुष्पवाटिका हुँदै उक्लिने यो घुम्तिमय उकाली यात्राले एउटा नबिर्सने झल्को बसाइरहेछ। अब त डाँडामाथिको शहर कालिम्पोङ आइपुग्यो। पहाडको फराकिलो छातीमा अटेसमटेस भइबसेको यो विशाल कालिम्पोङ! हेर्नमा राम्रो त हुँदै हो तर यहाँको माटो नै सुगन्धित लाग्छ। त्यसैले त यो देश पराइको देश होइन यो टिस्टा पारीको देश वास्तवमा स्वदेश झैं लाग्छ। यहाँका वासिन्दाहरू अथवा टिस्टा वारीपारीका वासिन्दाहरूमा स्वेदेशीहरूको बासना छ।

 

यो देश राजनीतिक आँखाले देख्न नभ्याउने टाढाको देश जस्तो कसैलाई लागे पनि अब म नजिकै आएको छु, नियालेको छु यसलाई। मेरा आँखा सामुन्ने अब कुनै डाँडा छैन नता कंचनजंगा, तर समथर मैदान त्यसैले त म यस्तो देख्दैछु। यहाँकाहरू नेपाल सुन्छन्, नेपाल बोल्छन्, नेपालकै चिन्तन गर्छन्। यहाँ मैले नेपाली मुटु पाएँ, नेपाली माटो पाएँ। यो कालिम्पोङ, हाम्रै कालिम्पोङ जहाँ हाम्राहरूको वासना छ, अपनत्व छ।

यू/१३ अप्रिल १९९४

Post a comment