जीवनको एक अभिन्न अवसर विवाह हो। “जसले पत्नी पाउँछ, उसले असल कुरा पाउँछ” (हितोपदेश १८:२२)। पर्याप्त पूर्व तयारी र बुद्धिका साथ विवाह सम्पन्न गरिए यसले जीवनलाई प्रेरणा प्रदान गर्दछ। पहिला तयारी अनि मात्र विवाह (हितोपदेश २४:२७)। विवाहले नयाँ परिवारको सृजना गर्दछ। नयाँ परिवारको शिरले अब आफ्नो शरीरको पालनपोषण र हेरचाहा गर्नुपर्दछ (१ तिमोथी ५:८)। तसर्थ पहिला अध्ययन, तालिम, पेशा अनि मात्र विवाह। पत्नी छनौट एक चुनौतिपूर्ण कार्य हो। गुणवती स्त्री पाउनु मणि वा रत्न पाउनु हो (हितोपदेश १९:१४; ३१:१०)। यहाँ रुपमति किन भनिएन तर गुणवती भनियो? मनोहरता वा सुन्दरतालाई भन्दा परमप्रभुको भय मान्नेको किन प्रशंसा गरियो (हितोपदेश ३१:३०)। दुलही छान्ने कार्य चुनौतिपूर्ण हुन्छ। देखिरहेकाहरूलाई सामान्य लाग्नु तर अकल झुकल देखिएकाहरूमा आकर्षण हुनु स्वाभाविक हो तर जीवनको यथार्थ धरातलमा उत्रिंदा र वास्तविक स्वरुप देखिंदा पछुतो हुन सक्दछ (हितोपदेश १९:१३)। सरल रुपमा भनिंदा पत्नीहरू गम्भीर, बदनामी नगर्ने, सतर्क, सबै कुरामा विश्वासयोग्य; नम्र र शान्त आत्माको हुनु विवाह जीवनको निम्ति ठूलो आशिष हो (१ तिमोथी ३:११)१ पत्रुस ३:४)। यही गुण नै मुगा, मोति वा रत्न हो। यस्तो अवस्थामा निर्णय लिन अघि उक्त व्यक्ति सम्बन्धमा लामो समय देखि अध्ययन हुनु राम्रो हो। अपरिचित व्यक्तिलाई झट्ट छनोट गर्दा गलत फन्दामा पनि पर्न सक्दछ। पत्नी छनोट कार्यमा आफ्ना अविभावक, पास्टर, अनुभवी तथा सक्षम अगुवाहरूको भूमिका महत्वपूर्ण हुन सक्दछ। पत्नी छनोटमा निर्णय लिन अघि यस्ता व्यक्तित्वहरूको राय सुझाव लिए निर्णयमा ठूलो मद्दत हुन्छ। तथापि निर्णय भने व्यक्ति स्वयंकै हो र परिणामको जिम्मेवार पनि स्वयं हुन्छ। पवित्र जनहरूले विवाह केवल प्रभुमा मात्र गर्नुपर्दछ (१ कोरिन्थी ७:३९)। अविश्वासीहरूसंग विवाह बन्धनमा बाँधिनु असमान जुवामा बाँधिनु हो जो निकै कष्टप्रद र हैरानीपूर्ण हुन्छ एक पवित्र जनका निम्ति। किनकि त्यहाँ तात्विक भिन्नता हुन्छ र एकता असंभव हुन्छ। उज्यालो र अँध्यारो एक साथ जान सक्दैन। यस्तो बन्धनमा प्रवेश नगर्नु परमेश्वरको इच्छा हो (२ कोरिन्थी ६:१४)।
विवाह तामझाम भन्दा पनि प्रिय आफन्तहरूमाझ खुशी बाँड्ने एक पवित्र प्रकृया हो, कार्यक्रम हो। विवाह पोशाक, साजसज्जा सबै भद्र हुनु आवश्यक हुन्छ। आधुनिक ख्रीष्टियन विवाहहरूमा परमेश्वरको वचन प्रचारलाई २० मिनेटमा सिमित पारिएको देखिन्छ जबकि विवाह कार्यक्रम २ घण्टा वा सो भन्दा बढि समय लम्ब्याइएको हुन्छ। अन्य समय के का निम्ति प्रयोग गरिन्छन् त? विवाह प्रकृयामा लामो समय खर्चिएको हुन्छ। उदाहरणको निम्ति औंठी लगाइदिने कार्यक्रमलाई लिन सकिन्छ। यसलाई अनावश्यक रुपमा लम्ब्याइएको देखिन्छ। औंठीको आकार-प्रकार, रुप-रंग, सुन्दरता, मूल्य, अर्थ, बखान अझ नपुगेर औंठीको निम्ति प्रार्थना आदि कार्य गरेर विवाह दिनेले अधिक समय खर्चन्छन्। त्यसपछि हुने विविध कार्यक्रमहरूले अधिक समय लिइरहेको अवस्था छ। तर परमेश्वरको वचनलाई २० मिनेट, त्यो पनि विवाह विधिपछि, विवाह सकिएपछि, काम सकिएपछि, जुनवेला पाहुनाहरू, आगन्तुकहरू उठ्न थाल्छन्, हिंड्न थाल्छन्। परमेश्वरको वचन अन्धकारमा बलिरहेको दियो हो जसलाई ध्यान दिएर असल गरिन्छ (२ पत्रुस १:१९)। प्रत्येक सभा-समारोह तथा जुटाइहरू परमेश्वरको वचन सुनाइ वा प्रचारको निम्ति महत्वपूर्ण अवसर हो। प्रत्येक मानिसलाई परमेश्वरको वचनको आवश्यकता छ। दियोको जरुरत सबैलाई हुन्छ। विवाह अघि प्रवचन दिंदा श्रोताको ध्यान परमेश्वरको वचनमा रहन्छ। विवाह पछिको प्रवचनमा श्रोताको कम ध्यान रहन्छ। कार्यक्रमको प्रमुख आकर्षण धेरैको निम्ति विवाह कार्यक्रम हुन्छ। विवाह कार्यक्रमपछि कार्यक्रम सकिएको आभास हुन्छ। फलतः वचन प्रचारमा मानिसहरूको ध्यान घट्न जाँदछ। तर विवाह कार्यक्रममा विवाह जोडीले परमेश्वरको वचन सुन्नु जरुरी हुन्छ। साथै त्यस अवसरमा मण्डली तथा पाहुना समूहले परमेश्वरको वचन सुन्नु राम्रो अवसर हुन्छ। परमेश्वरको वचन कम्तिमा पनि ३० मिनेट हुनु राम्रो हो, नभए ४५ मिनेट सम्म जानुलाई सामान्य मान्नुपर्छ।
विवाहहरूमा विवाह जोडीको विवाह हुन सक्ने वा नसक्ने विषयमा विवाह स्थलमै प्रश्न राख्ने गरिएको पाइन्छ। तर यो प्रकृया संदेहमूलक छ। यदि त्यस विवाह कार्यक्रममा कसैले उक्त विवाह सम्बन्धमा प्रश्न उठाएमा वा विवाह रोक्ने प्रायस गरेमा कति ठूलो भद्रगोल र विवाद हुन सक्दथ्यो? ठूलो प्रश्न त यो रहन्थ्यो कि त्यो प्रश्न पहिला नै किन उठाइएन? व्यक्तिगत रुपमा उठान गर्नु पर्ने विषय सार्वजनिक रुपमा किन उठाइयो? तर त्यस्ता प्रश्नहरू सोध्नुपर्ने हो भने मगनी अघि सोधिनु राम्रो हुन्छ। सोधनीपछि मण्डलीमा अगुवाहरूले विवाह सम्बन्धमा जानाकारी गराउँदा त्यस्ता प्रश्न केही रहे मगनी अघि मण्डली अगुवाहरूलाई जानाकारी गराउन सूचना प्रसारण गर्न सकिन्छ। परमेश्वर शान्तिका परमेश्वर हुनुहुन्छ (१ कोरिन्थी १४:३३,४०)। पवित्र शास्त्र बाइबल गर्व देखाउने, गर्व गर्ने कुनै पनि गतिविधिलाई अस्वीकार गर्दछ। सुन, भड्किला पोशाक, केशको शृंगार आदिको सम्बन्धमा बाइबलले कडा चेतावनी दिएको छ कि त्यस्ता पोशाक वा पहिरन नलगाइयोस्, नदेखायोस् (१ पत्रुस ३:१-६; १ तिमोथी २:९,१०)। यसैले विवाह समारोहमा प्रेम र बन्धनको चिन्ह स्वरुप लगाउने वा लगाइने सामान्य गोलाकार औंठी बाहेक अन्य गहना लगाइदिने कार्यले परमेश्वरको वचनलाई आदर गर्ने देखिदैन।
विवाह पछि दुलाहाले आफ्नी नवविवाहिता दुलहीलाई विशेष समय दिनु बाइबल सम्मत छ। काम, रोजगार वा अन्य जिम्मेवारीहरूबाट केही समयलाई मुक्त भई आफ्नी पत्नीसंग समय विताउनाले जोडीले प्रेमको अनुभूत गर्दछ जसले बाँकी जीवनको निम्ति दुबै सकृया भएर काम गर्न अभिप्रेरित गर्दछ। लेखिएको छ, “कुनै मानिसले भर्खरै विवाह गरेको छ भने त्यो लडाईँमा नजाओस्, नता त्यसमाथि कुनै कामको भार लगाइयोस्, तर त्यो घरमा एक वर्ष छुट्टीमा रहोस् र आफूले विवाह गरेको आफ्नी स्वस्नीलाई आनन्दित तुल्याओस्” (व्यवस्था २४:५)। याकूबले नव पत्नी लेआसंग एक साता पूर्ण समय विताए (उत्पत्ति २९:२७)। यो विवाह साता थियो आधुनिक भाषामा ‘हनिमुन’ भनिन्छ। सायद हामी यसलाई ‘चाँदनी दिनहरू’ भनौंला। श्रेष्ठगीतमा जो दुलाहा दुलहीको प्रेम गीत हो, लेखिएको छ, “राजाले मलाई आफ्ना कोठाहरूमा ल्याउनुभएको छ; तपाईंमा हामी रमाउँनेछौं र आनन्द गर्नेछौं (श्रेष्ठगीत १:४)। विवाह पूर्व नै एक पुरुषले आफ्नो नयाँ परिवारको निम्ति उपयुक्त वातावरणसहितको बासस्थान प्रवन्ध गर्नु राम्रो हुन्छ जहाँ उनीहरूले आफ्नो नयाँ परिवार सहज रुपमा संचालन गर्न सक्दछन्। अव नयाँ परिवारको शुरुआत भएको हुन्छ अर्थात् नयाँ प्रशासन, नयाँ उमंग र नयाँ जीवन प्रकृयाहरू। यसको कमीले धेरै जोडीहरू प्रताडित हुन्छन्, कुण्ठित हुन्छन्। फलत: नयाँ परिवार पूर्ण सफल हुन सक्दैन। विवाहपछि दुलाहा दुलही टाढा टाढा बस्ने वा अलग्गिएर बस्ने कुरालाई बाइबलले निशेध गरेको छ
(१ कोरिन्थी ७:५)। यसो गरिए उक्त परिवारले त्यही मुताविक परिणाम भोग्नु पर्ने देखिन्छ। छोटो अवधिका निम्ति दुबैको सहमतिमा बाहेक वैवाहिक जोडी अलग्गिएर बस्नुहुँदैन। किनकि ती अब एकार्काका जीवनसाथी हुन् (मलाकी २:१४)। परमेश्वरले हाम्रा युवाहरूका विवाहहरूमा प्रशस्त आशिष दिनुभएको होस्।
यू. जे. गुरुङ
Comment(1)
Alex Tamu says:
February 9, 2019 at 6:17 amExcellent! Love to you visit KBC Ebenezer family one day, God bless all.