1

नेपालमा सियोन, वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड (आङ साङहोङ)

हालैका वर्षहरुमा कोरियाली आन साङ होङ (Ahn Sahng-Hong) नामक व्यक्तिद्वारा संस्थापित तथा झाङ गिल्झा (Zang Gil-Jah) नामक महिलाद्वारा विश्वव्यापी रुपमा प्रचारित ‘वर्ल्ड मिशन सोसाइटी चर्च अफ गड’ समूहले काठमाडौं लगायतका क्षेत्रहरुमा बसोबास गर्ने ख्रीष्ट्रियनहरुको घर-घरमा गई भ्रममा पार्ने ख्रीष्ट माथिको विश्वासबाट भड्काउने प्रयास गर्दै आइरहेको छ। विशेष गरी बाइबलीय शिक्षामा कमजोर रहेका तथा भर्खरै मण्डली जान शुरु गरिरहेकाहरुका माझ नियमित रुपमा जाने र मण्डली नेतृत्वको आलोचना गर्ने, ख्रीष्टलाई होइन आन साङहोङ तथा उनकी प्रचारिका कोरियाली महिला झाङ गिल्झालाई मान्न लगाउने जस्ता भ्रमित शिक्षा फैलाउने प्रयास हुँदै आइरहेको छ। यस्ता भ्रमित शिक्षा र समूहबाट सचेत रहन सम्पूर्ण ख्रीष्टिय मित्रहरुलाई हामी हार्दिक अनुरोध गर्दछौं। यस किसिमका शिक्षालाई १ तिमोथी ४:१ मा बहकाउने आत्माहरुका शिक्षा भनिएको छ। यस किसिमको शिक्षा ल्याउनेलाई घरमा स्वागत नगर्न हामीलाई परमेश्वरको निर्देशन छ (२ यूहन्ना १०)। यस समूहको बारेमा यस अंक तथा आगामी अंकहरुमा अध्ययन गरिनेछ।

आन साङ होङ सन् १९४७ मा ‘होलिनेस् चर्च’ मा प्रवेश गरेका थिए। उनले ख्रीष्टको कुनै पनि समयमा हुन सक्ने आगमनमा विश्वास गर्दथे। उनले उक्त चर्चलाई छोडी उनले सन् १९६४ मा ‘आन साङ होङ विटनेस सोसाइटी’को स्थापना गरे। उनले दावी गरेका थिए कि अन्तिम दिनमा ख्रीष्टको आगमनको तयारीका निम्ति उनी पवित्र आत्माको अवतारको रुपमा पृथ्वीमा जन्मेको हो। सन् १९८५ मा उनको मृत्यु भएपछि उनकी आत्मिक पत्नी तथा अनुयायीहरुले सोसाइटीलाई ‘वर्ल्ड मिशन सोसाइटी चर्च अफ गड’ को रुपमा संस्थापन गरे। यस समूहले विश्वास गर्दछ कि उनी नै दोश्रो पटक आउने भनिएको ख्रीष्ट येशू हुन्। यस समूहको वर्तमान अगुवा झाङ गिल्झा हुन् भने बरिष्ठ पास्टर चाहिँ किम जू-किउल हुन्। यस संस्थाको प्रमुख कार्यालय दक्षिण कोरियाको क्युंग्गी प्रान्तको संगनाम शहरको बुनडाङ भन्ने स्थानमा रहेको छ। यस मण्डलीले विश्वास गर्दछ कि झाङ गिल्झा स्वर्गीय माता वा परमेश्वर माता हुन्; आन साङ होङ परमेश्वर पिता हुन् भने मण्डली सदस्यहरु उहाँहरुका छोरा छोरीहरु हुन्। यसरी उनीहरुको अनुसार मण्डली स्वर्गीय परिवारको छाया वा चित्रण हो।

 

यरुशलेम माता

यस सोसाइटीले आन साङ होङलाई परमेश्वर पिता र झाङ गिल्झालाई ‘परमेश्वर माता’ वा ‘यरुशलेम माता’को रुपमा मान्दछ। यसमा उनीहरुको तर्क रहेको छ कि परमेश्वर जसलाई हिब्रूमा ‘एलोहिम’ भनिन्छ त्यो शब्द बहुवचन शब्द हो। यस शब्दले परमेश्वर पिता र परमेश्वर मातालाई जनाउँदछ। “यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरुपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरुलाई सृष्टि गर्नुभयो” (उत्पत्ति १:१७)। यस पदको अर्थ उनीहरुले यसरी व्याख्या गरेका छन् कि परमेश्वरकै प्रतिरुपमा नर र नारी सृष्टि गरिएकोले परमेश्वरको पनि नर र नारी स्वरुप रहेको छ। त्यसरी नै यही कुरालाई पुष्टि गर्न रोमी १:२० लाई पनि आफ्नै तरिकाले व्याख्या गरेका छन्। उक्त पदमा यस्तो लेखिएको छ, “किनभने संसारको उत्पत्तिदेखि नै उहाँका नदेखिने गुणहरु अर्थात् उहाँका अनन्त शक्ति र परमेश्वरत्व छर्लंग देखा परेका छन्, सृष्टि गरिएका कुराहरुद्वारा जानिएका छन्; यसकारण तिनीहरुसंग कुनै बहाना छैन।” सृष्टिमा कुनै पनि जीवको जन्म केवल एक्लो भाले जातिको भूमिकाबाट संभव हुँदैन, त्यहाँ पोथी जातिको सहभागिता आवश्यक हुन्छ। यसरी सृष्टिबाट परमेश्वरका नदेखिने गुणहरु छर्लंग बुझिन्छ अर्थात् परमेश्वर भाले र पोथी स्वरुपमा हुनुहुन्छ। उहाँहरुबाट सन्तानको उत्पत्ति हुन्छ। तर यस सोसाइटीले उपरोक्त पदहरुमा गर्ने गरेका व्याख्यामा गम्भीर त्रुटि रहेको छ। एलोहिम शब्द बहुवचन भएको कुरा साँचो हो तर त्यस बहुवचनमा परमेश्वर पिता अनि परमेश्वर माता रहेको कुरालाई बाइबलले पुष्टि गर्दैन। बरु पवित्र शास्त्रको क्रमिक प्रकाशको रुपमा अघि बढ्ने क्रममा नयाँ नियममा ज्यादै प्रष्ट गरी उल्लेख भएको छ कि परमेश्वरमा त्रिएकता छ। परमेश्वर एक हुनुहुन्छ तर उहाँमा तीन व्यक्तित्व आवद्ध छन्, परमेश्वर पिता, परमेश्वर पुत्र अनि परमेश्वर पवित्र आत्मा
(मत्ती २८:१९; २ कोरिन्थी १३:१४)। ती तीन व्यक्तित्व एकै व्यक्ति नभई फरक फरक व्यक्तिको रुपमा रहेको प्रष्ट रहेको छ। उहाँहरु आपसमा बातचित गर्नु भएको, पुत्रले पितासंग प्रार्थना गर्नुभएको, पिताले पुत्रलाई सम्बोधन गरेका प्रमाणहरु रहेका छन् (यूहन्ना १७:१; हिब्रू १:८)। यस सोसाइटीले माने अनुसार एउटा पुरुष एकै पटक पुत्र, पति र पिता हुन सक्ने जस्तै परमेश्वर पनि एकै व्यक्ति हो जो एकै पटक पिता, पुत्र, पवित्र आत्माको रुपमा हुनुहुन्छ। तर यस कुराको पुष्टि बाइबलमा भेटिदैन। परमेश्वर एक हुनुहुन्छ तर उहाँमा तीन व्यक्तिहरु रहेका छन् जसबीच संगति हुन्छ, बातचित हुन्छ। त्यसैले उत्पत्ति १:२६,२७ वा ११:७ जस्ता खण्डहरुमा परमेश्वरको बहुवचन स्वरुप देखिएको साँचो हो तर परमेश्वरको भाले स्वरुप र पोथी स्वरुप नभई सो बहुवचनको तात्पर्य पिता, पुत्र र पवित्र आत्माका व्यक्तित्वहरु हुन्। परमेश्वरले मानिसलाई आफ्नो लिंगको स्वरुपमा नर र नारी गरि सृष्टि गर्नुभयो भन्ने सोसाइटीको धारणा गलत हो। तर परमेश्वरले मानिसलाई आफ्नै व्यक्तित्वको स्वरुपमा सृष्टि गर्नुभयो। उहाँकै जस्तो मन, भावना र इच्छा शक्तिको स्वरुपमा सृष्टि गर्नुभयो ताकि मानिसले परमेश्वरसंग संगति गर्न (उत्पत्ति ३:८) र उहाँलाई महिमा दिन (यशैया ४३:७) सकुन्।

परमेश्वरले सृष्टि गर्ने कार्य गर्नुहुन्छ नकि जन्माउने कार्य। स्वर्ग विवाहवारी र सन्तान उत्पादनको थलो होइन। परमेश्वरका जनहरुले स्वर्गमा विवाह गर्नेछैनन् नता स्वर्गदूतहरुले नै गर्दछन् (मत्ती २२:३०)। परमेश्वर जो यहोवा हुनुहुन्छ आफैमा अस्तित्व रहेको परमेश्वर उहाँलाई जिउन केही कुराको आवश्यकता पर्दैन। विवाहको आवश्यकता पर्दैन। उहाँ विवाह जोडीको रुपमा रहनुहुन्छ भन्ने कुनै पनि आधार बाइबलमा छैन।

परमेश्वर माताको अस्तित्वको सवालमा यस सोसाइटीले आधारको रुपमा प्रश्तुत गर्ने गरेका अर्को बाइबल खण्ड गलाती ४:२१-३१ हो। यस सोसाइटी विश्वास गर्दछ कि आन साङ होङ पवित्र आत्माको अवतार हो याने परमेश्वरले आफूलाई आन साङ होङमा पवित्र आत्माको अवतार स्वरुप लिनुभयो। अबै उनै पवित्र आत्मा ख्रीष्ट आन साङ होङ र यरुशलेम माता, दुलही जो झाङ गिल्झा हुन्, मा विश्वास गर्नुपर्ने मत यस सोसाइटीको रहेको छ। गलाती ४ को उपरोक्त खण्डको सवालमा यस सोसाइटीको मत रहेको छ कि परमेश्वर माताको अर्को नाम यरुशलेम माता हो जसद्वारा प्रतिज्ञाको सन्तान जन्मन्छन्। उनीहरु प्रतिज्ञाका सन्तान हुन् बाँकी चाहिँ हागारका सन्तान अर्थात् दासीपट्टिका सन्तान हुन्, जो शरीर अनुसार छन्। तसर्थ प्रतिज्ञाका सन्तान नै प्रतिज्ञाका हकदार हुने हुनाले यरशलेम मातामा विश्वास गर्नुपर्दछ अर्थात् झाङ गिल्झामा विश्वास गर्नुपर्दछ। तर गलाती ४:२१-३१ ले व्यवस्था र अनुग्रहको शिक्षा सिकाएको हो नकि नयाँ शिक्षा परमेश्वर माताको शिक्षा। गलातीहरु जो व्यवस्थाका आज्ञाहरुमा भर परेका थिए उनीहरुलाई सोधिएको छ, “तिमी व्यवस्थाको अधीनतामा रहन चाहनेहरुले मलाई भन, के तिमीहरु व्यवस्थाको कुरा सुन्दैनौ” (गलाती ४:२१)? यहाँ यरुशलेम र सिनैलाई सारा र हागारसंग तुलना गर्दै क्रमश: अनुग्रह र व्यवस्थाको दृष्टान्तको रुपमा प्रश्तुत गरिएको छ।  स्पष्ट गरी लेखिएको छ कि सिनै र यरुशलेमले दुई वाचाहरुको दृष्टान्त दिइरहेको छ
(गलाती ४:२४,२५)। सिनैबाट व्यवस्था आयो जो पुरानो वाचा हो जसले मानिसलाई केवल दास बनाउँछ तर यरुशलेम जहाँ नयाँ वाचा बमोजिम ख्रीष्टको वलिदान भयो, जसबाट सबैमा अनुग्रह आयो। ख्रीष्टको वलिदान नयाँ वाचा बमोजिम भएको हो (१ कोरिन्थी ११:२५)। पुरानो वाचा अनुसार बारंबार पशुहरुको वलिदान चढाइन्थ्यो। तर नयाँ बाचा बमोजिम ख्रीष्टको सदाको निम्ति एक पल्ट वलिदान भएको छ (हिब्रू १०:११,१२)। तसर्थ व्यवस्था र अनुग्रहको सन्दर्भमा आएको गलाती ४:२१-३१ को प्रकाशलाई परमेश्वर माताको अस्तित्वको पुष्टिको निम्ति प्रयोग गर्नु यस सोसाइटीको ठूलो कमजोरी र भूल हो। यस्ता कर्तुतहरुका कारण धेरै जना भ्रमित भइरहेका छन् जो अत्यन्तै दु:खद हो।

प्रकाश १९:७ मा लेखिएको छ, “हामी खुशी होऔं; र खूबै आनन्द मनाऔं, अनि उहाँलाई महिमा दिऔं; किनकि थुमाको विवाह आइपुग्यो, र उहाँकी पत्नीले आफैलाई तयार पारेकी छन्।” यस पदमा उल्लेख गरिएको ‘थुमाकी पत्नी’ परमेश्वर माता रहेको दावी यस सोसाइटीको रहेको छ। तर थुमाकी पत्नी ख्रीष्ट येशूको मण्डली हो जो सबै युगहरुमा ख्रीष्टमा बचाइएकाहरुको सिंगो समूह हो। प्रकाश १९:१ मा त्यो समूह देखा परेको छ जसलाई “धेरै मानिसहरु” भनिएको छ भने १९:२ मा “ठूलो भीड” भनेको छ। त्यसपछि १९:७ मा “उहाँकी पत्नी” को उल्लेख गरेको छ जुन पत्नीको वस्त्र चाहिँ १९:८ मा “पवित्र जनहरुका धार्मिकताका कामहरु” भनेका छन्। तसर्थ ख्रीष्टको दुलही ‘मण्डली’को पूर्ण तयारी त्यसवेला पूरा हुन्छ जव बचाइनेहरुको संख्या पूरा हुन्छ। प्रकाश २१:२,३ मा नयाँ यरुशलेम “दुलही झैं तयार पारिएको” भन्ने उल्लेख छ। नयाँ यरुशलेम थुमाकी पत्नी मण्डलीको वासस्थान हुनेछ। जहाँ परमेश्वर आफ्ना मानिसहरुसंग बास गर्नुहुनेछ र तिनका आँसु पुछिनेछ जस्तो कि विवाहपछि पतिले पत्नीका निम्ति गर्दछ। यसर्थ ‘वर्ल्ड मिशन सोसाइटी चर्च अफ गड’ले दावी गर्दै प्रचारको मूख्य विषय बनाउदै आएको ‘यरुशलेम माता’को बाइबलीय आधार छैन। पा. यू. जे. गुरुङ (क्रमश: अर्को अंकमा)

 

ख्रीष्टको दोस्रो आगमन

आङसाङ होङको शिक्षा अनुसार मानिसहरुका मुक्तिका निम्ति परमेश्वरले छ हजार वर्षको अवधिलाई पिताको युग, पुत्रको युग र पवित्र आत्माको युग गरी तीन भागमा विभाजन गर्नुभएको छ। पिताको युगको निम्ति परमेश्वरको नाम यहोवा, पुत्रको युगको निम्ति येशू र पवित्र आत्माको युगको निम्ति आङसाङ होङ नाम दिइएको छ। आज पवित्र आत्माको युग रहेकोले मुक्ति पाउन प्रत्येक व्यक्तिले आङसाङ होङलाई विश्वास गर्नुपर्दछ भन्ने जिकिर यस समूहको रहेको छ। हरेक कुराको समय छ भन्ने आधार उपदेशक ३:१ लाई लिंदै यस समूहले यस समय आङसाङ होङको समय रहेको र यस युगका मानिसहरुका निम्ति उद्धारको निम्ति उनीमाथिको विश्वासलाई अपरिहार्य भनेको छ।

यस समूहको अनुसार परमेश्वरको सन्तान हुनलाई पहिलो कदम बप्तिस्मा भनेको छ। मत्ती २८:१८-२० बमोजिम बप्तिस्मा पिता, पुत्र र पवित्र आत्माको नाममा दिनु भनिएको छ। पिताको नाम यहोवा, पुत्रको नाम येशू भए पवित्र आत्माको नाम के हो त? भनी प्रतिप्रश्न राख्दै उनको नाम आङसाङ होङ भएको दावी यस समूहले गरेको छ। पिताको युगमा परमेश्वरले यशैया ४३:११ मा घोषणा गरे बमोजिम पिताको नाम यहोवा भएको र उहाँमा बाहेक कसैमा मुक्ति नभएको वकालत यस समूहको रहेको छ। उक्त खण्डमा यस्तो लेखिएको छ, “म, हो, म नै परमप्रभु (यहोवा) हुँ। मबाहेक अरू कोही मुक्तिदाता छैन।” अनि पुत्रको युगमा प्रेरित ४:१२ बमोजिम येशूको नाममा बाहेक अन्य नाममा मुक्ति नभएको कुरालाई यस सोसाइटीले विश्वास गर्दछ। उपरोक्त पदमा लेखिएको छ, “न ता अरू कसैमा मुक्ति छ; किनभने स्वर्गमनि मानिसहरूको बीचमा अरू कुनै नाम दिइएको छैन, जसद्वारा हामीले मुक्ति पाउनुपर्दछ।” फरक फरक युगका मानिसहरुले आ-आफ्ना युगका मुक्तिदाताका नाममा विश्वास गरेर मात्रै मुक्ति पाइने दावी यस समूहको रहेको छ। ख्रीष्टको दोश्रो आगमनमा उहाँ पवित्र आत्माको रुपमा आउनुहुने र उहाँ आइसकेको हो भनी यस समूह दावी गर्दछ। आइसक्नु भएको ख्रीष्ट चाहिँ ‘ख्रीष्ट आङसाङ होङ’ हो भन्ने यस समूहको मूख्य वकालत हो। अब यस पवित्र आत्माको युगका निम्ति मुक्तिदाताको नाम ख्रीष्ट आङसाङ होङ रहेको भन्ने दावी गर्दै यस सोसाइटीले मानिसहरु वीच यस युगमा ख्रीष्ट येशूलाई होइन तर ख्रीष्ट आङसाङ होङलाई विश्वास गर्न आफ्ना प्रचारकहरुलाई परिचालन गरिरहेछ। येशू ख्रीष्ट अब मानिसहरुको मुक्तिको निम्ति आवश्यक नभएको र यस युगमा उहाँको वलिदानको कुनै अर्थ नभएको वकालत यस समूहले गरिरहेछ।

पवित्र आत्माको युगमा ख्रीष्टको नाम आङसाङ हो भन्ने कुरामा आधार दिने क्रममा यस समूहले प्रकाश ३:१२ लाई लिएका छन् जसमा लेखिएको छ, ‘जसले जय पाउँछ, उसलाई मेरा परमेश्वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु, र ऊ कहिल्यै बाहिर जानेछैन; अनि म उसमाथि मेरा परमेश्वरको नाम, मेरा परमेश्वरको शहरको नाम, जो नयाँ यरुशलेम हो, जो मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउनेछ, र मेरो नयाँ नाम लेखिदिनेछु।’ ख्रीष्टको नयाँ नाम विजेतालाई दिइनेछ। यस सोसाइटीका अनुसार त्यो नयाँ नाम आङसाङ होङ हो। त्यसरी नै प्रकाश २:१७ लाई पनि आङसाङ होङको नामलाई आधिकारिता दिने उद्देश्यमा प्रयोजन गरिएको छ, जसमा लेखिएको छ, ‘जसको कान छ, उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ जसले जय पाउँछ, उसलाई म गुप्त राखिएको मन्नाबाट खान दिनेछु, अनि उसलाई एउटा सेतो पत्थर र त्यस पत्थरमा लेखिएको एउटा नाम दिनेछु, जसलाई त्यसलाई पाउनेले बाहेक अरू कसैले जान्दैन।’ पत्थरले ख्रीष्टलाई जनाउदछ र त्यसमा भएको नयाँ नाम आङसाङ होङ हो भन्ने धारणा यस समूहको रहेको छ।

सर्ब प्रथमत: ‘वर्ल्ड मिशन सोसाइटी चर्च अफ गड’ले परमेश्वरको त्रिएकतालाई अस्वीकार गर्दछ। यिनीहरुका अनुसार पिता, पुत्र, पवित्र आत्मा भन्नु एकै व्यक्तिलाई दिइएका तीन उपाधि वा जिम्मेवारी मात्र हुन्। नर जंग पुत्र भई जन्मन्छ, विवाह पछि पति बन्दछ र सन्तान जन्मेपछि पिता बन्दछ भने जस्तो। परमेश्वरमा त्रिएकता छैन तर उहाँमा नरजंगको जस्तै अवस्था परिवर्तन मात्रै हुने हो। तर पवित्र शास्त्र बाइबलले परमेश्वर एक हुनुहुन्छ तर उहाँमा तीन व्यक्तित्व परमेश्वर पिता, परमेश्वर पुत्र अनि परमेश्वर पवित्र आत्मा (मत्ती २८:१९; २ कोरिन्थी १३:१४, १ यूहन्ना ५:७) आवद्ध छन् भन्ने सत्यता उल्लेख गरेको छ। परमेश्वर नरजंग जस्तै एकै व्यक्ति तीन अवस्थामा परिवर्तन भए जस्तो होइन। उहाँ अनादि देखि अनन्तसम्म त्रिएक हुनुहुन्छ। एलोहिम नामको बहुवचन रुपमा वा उत्पत्ति १:२६ को ‘हाम्रै’ भन्ने सर्वनाम पछाडी परमेश्वर र उहाँकी पत्नी (यरुशलेम माता) वा ईश्वरत्वको भाले-पोथी लिंगलाई पुष्टि गर्दैन। किनकि स्वर्गमा विवाह गरिदैन, गराइदैन (मत्ती २२:३०)। उक्त ‘हाम्रै’ शब्दले एक परमेश्वरमा रहेका तीन व्यक्तिहरुको सम्बन्धमा उल्लेख गरेको हो। परमेश्वरको त्रिएकता  पवित्र शास्त्रको प्रारम्भमा नै उल्लेख गरिएको पाइन्छ। परमेश्वर पिता सृष्टि गर्दै हुनुहुन्थ्यो (उत्पत्ति १:१)। पवित्र आत्मा परमेश्वरको काममा साथ दिंदै हुनुहुन्थ्यो। उहाँ समग्र पृथ्वीलाई ढाकिरहेका पानीमाथी परिभ्रमण गर्दै हुनुहुन्थ्यो (१:२)। परमेश्वर बोल्नुभयो अनि उहाँको वचनद्वारा समग्र सृष्टि तयार भयो (१:३)। त्यो वचन पुत्र हुनुहुन्थ्यो (यूहन्ना १:१-३, १४)। यसरी पवित्र शास्त्र बाइबलको शुरुमा नै त्रिएक परमेश्वर देखिनु भएको छ। पुरानो नियममा पिता-पुत्र वीचका वार्ताहरु उल्लेख भएका छन्। भजन संग्रह २:७ मा उल्लेख गरिएको छ, ‘परमप्रभुले मलाई भन्नुभएको छ: “तिमी मेरा पुत्र हौ; आज मैले तिमीलाई जन्माएको छु।” यहाँ पुत्रत्वले पिता भन्दा सानो स्थान जनाउँदैन तर पिता बरावरको स्थानलाई जनाउँदछ। तसर्थ पिताले पुत्रलाई यसरी सम्बोधन गर्नुहुन्छ, “हे परमेश्वर, तपाईको सिंहासन युगानुयुग रहन्छ; धार्मिकताको राजदण्ड तपाईको राज्यको राजदण्ड हो” (हिब्रू १:८)।

युगलाई तीन भागमा विभक्त गर्दै उही परमेश्वर तीन युगमा फरक फरक रुपमा अनि जिम्मेवारीमा प्रश्तुत भएको, प्रत्येक रुपमा आउँदा फरक फरक नाममा देखा परेको भनिएको र पवित्र आत्माको नाम आङसाङ होङ रहेको भन्ने आधार के त? समयलाई त्यस प्रकारले भागवन्डा गर्दै फरक फरक युगका निम्ति फरक फरक मुक्तिदाताको व्यवस्था गरिएको भन्ने बाइबलीय आधार छैन। निश्चय पुरानो नियम समयमा परमेश्वर पिता प्रमुख भूमिकामा हुनुहुन्थ्यो, परमेश्वर पुत्र मानिसको रुपमा संसारमा आउनुहुँदा प्रमुख भूमिकामा हुनुहुन्थ्यो। पेन्तिकोसको दिनमा पिताको प्रतिज्ञा बमोजिम पवित्र आत्मा आउनुभएपछि आज मण्डली युगमा पवित्र आत्माको भूमिका महत्वपूर्ण रहेको छ। तर त्रिएक परमेश्वर सधैं आपसमा संगति गर्नुहुन्छ, संवाद गर्नुहुन्छ, संगै रहनुहुन्छ। आङसाङ होङको जन्मपछि मात्र पवित्र आत्मा पृथ्वीमा आउनुभयो भन्ने यस समूहको भनाई गलत हो। उहाँ पेन्तिकोसको दिनदेखि पृथ्वीमा हुनुहुन्छ। तर कुनै पनि युग वा समयका निम्ति पुत्र नै मुक्ति दाता हुनुन्थ्यो। यशैया ४३:११ को वचनले पुरानो नियम समयमा केवल पिता मात्रै मुक्तिदाता हुनुहुन्छ, पुत्र वा पवित्र आत्मा होइनन् भन्न खोजिएको होइन। पुरानो नियमको यहोवा र नयाँ नियमको येशूमा समानता छ। यस पदले उल्लेख गरेको छ, “म, हो, म नै परमप्रभु (यहोवा) हुँ। मबाहेक अरू कोही मुक्तिदाता छैन।” यस वचनको अर्थ केवल यहोवा परमेश्वर वा त्रिएक परमेश्वर नै एक मात्र मुक्तिदाता हुनुहुन्छ भन्ने हो नकि कुनै अन्य ईश्वरहरु वा देवी-देवता। यस कुरालाई स्पष्ट पार्ने काम त्यस पछि तत्काल आउने पद यशैया ४३:१२ ले खुलस्त पारेको छ, जसमा लेखिएको छ, “मैले प्रकट गरेको छु, बचाएको छु र घोषणा गरेको छु — तिमीहरूका बीचमा मैले यो गरेको हुँ, अन्य ईश्वरले होइन। तिमीहरु मेरा साक्षी हौ, कि म नै परमेश्वर हुँ, परमप्रभु भन्नुहुन्छ।”

येशू ख्रीष्ट पुरानो नियममा उल्लेख गरिनुभएका यहोवा भन्दा भिन्न हुनुहुन्न। जस्तै, यहोवा गोठालो हुनुहुन्छ (भजन संग्रह २३:१)। येशू ख्रीष्ट गोठालो हुनुहुन्छ (यूहन्ना १०:११; १ पत्रुस २:२५; ५:४)। यहोवा सृष्टिकर्ता हुनुहुन्छ (भजन संग्रह १०२:२४-२७)। येशू सृष्टिकर्ता हुनुहुन्छ (हिब्रू १:१०-१२; कलस्सी १:१६,१७)। यहोवा ठक्करका चट्टान हुनुहुन्छ (यशैया ८:१३,१४)। त्यसरी नै येशू ठक्करका चट्टान हुनुहुन्छ (१ पत्रुस २:७,८)। यहोवा अल्फा र ओमेगा हुनुहुन्छ (यशैया ४१:४; ४४:६)। येशू अल्फा र ओमेगा हुनुहुन्छ (प्रकाश १:११,१७)। यहोवा ईस्रायलका ज्योति र महिमा हुनुहुन्छ (यशैया ६०:९)। येशू ईस्रायलका ज्योति र महिमा हुनुहुन्छ (लूका २:३२)। यहोवा हृदयहरु तलास गर्नेवाला हुनुहुन्छ (यर्मिया १७:१०)। येशू हृदयहरु तलास गर्नेवाला हुनुहुन्छ (प्रकाश २:२३)। यहोवा हराएकालाई खोज्ने र वचाउनेवाला हुनुहुन्छ (इजकिएल ३४:११,१२)। येशू हराएकालाई खोज्ने र वचाउनेवाला हुनुहुन्छ (लूका १९:१०)।

पुरानो नियम भरि नै मानिसहरु वलिदानद्वारा मात्र परमेश्वरकहाँ आउन सक्दथे। पुरानो नियममा चढाइने थुमाले आउने ख्रीष्टको चित्रण दिंदथ्यो। जब ख्रीष्ट संसारमा शरीरमा आउनुभयो, तब यूहन्नाले भने, “हेर परमेश्वरको थुमालाई जसले संसारको पाप उठाई लैजानुहुन्छ (यूहन्ना १:२९)।” तसर्थ जब येशूको सम्बन्धमा यसो भनियो “न ता अरू कसैमा मुक्ति छ; किनभने स्वर्गमनि मानिसहरूको बीचमा अरू कुनै नाम दिइएको छैन, जसद्वारा हामीले मुक्ति पाउनुपर्दछ” (प्रेरित ४:१२) तब सही भनियो। केवल ख्रीष्ट येशूद्वारा मात्र मानिसहरुले मुक्ति पाउन सक्दछ।

पवित्र आत्मालाई मुक्तिदाता भनिएको छैन। उहाँ सधैं ख्रीष्ट येशूलाई उचाल्नुहुन्छ। पवित्र आत्मालाई प्रार्थना गरिएको उदाहरण छैन नता उहाँको नामद्वारा प्रार्थना गरिएको छ। तसर्थ आङसाङ होङ पवित्र आत्मा हो भने उनको नाममा प्रार्थना गर्नु गलत हुन्छ। आङसाङ होङको उपस्थितिलाई पुष्टि गर्न यस समूहले धेरै भ्रमपूर्ण व्याख्या गरिरहेछ। प्रकाश ३:१२ मा लेखिएको यस वचनलाई विचार गरौं, ‘जसले जय पाउँछ, उसलाई मेरा परमेश्वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु, र ऊ कहिल्यै बाहिर जानेछैन; अनि म उसमाथि मेरा परमेश्वरको नाम, मेरा परमेश्वरको शहरको नाम, जो नयाँ यरुशलेम हो, जो मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउनेछ, र मेरो नयाँ नाम लेखिदिनेछु।’ यसमा उल्लेखित नयाँ नाम ‘आङसाङ होङ’ हो भन्ने दावी यस समूहको रहेको छ। आङसाङ होङ पवित्र आत्माको नाम भनिएको छ। तर यस खण्डमा उल्लेखित विवरण ख्रीष्ट येशूको हो। उहाँ स्वयं बोलिरहनुभएको छ। दाऊदको चावी धारण गर्ने (प्रकाश ३:७) वाला येशू हुनुहुन्छ जसले दाऊदको अधिकारमा वा सिंहासनमा एकदिन हजार वर्षे राज्यमा राजाको रुपमा शासन गर्नुहुनेछ। उहाँको आगमन चाँडै हुनेवाला छ (प्रकाश ३:११)। उहाँको आगमन र हजार वर्षे राज्य पछि विजयीहरुलाई इनाम दिइनेछ। इनामहरुमा ख्रीष्ट येशूको नयाँ नाम पनि एक हुनेछ। त्यो नयाँ नाम ख्रीष्ट येशूको महान प्रेम र अनुग्रहको चिन्ह हुनेछ। त्यो दिन आउन बाँकी नै छ। त्यो नयाँ नामको घोषणा आज गरिंदैन। त्यो नयाँ नाम आङसाङ होङ होइन। प्रकाश २:१७ पनि ३:११ संग समान देखिन्छ। आङसाङवादीहरु ख्रीष्टको दोश्रो आगमन भइसकेको ठान्दछन्। ख्रीष्टको दोश्रो आगमन पृथ्वीमा हजार वर्षे राज्यका निम्ति हुनेछ (मत्ती २५:३१; प्रकाश २०:४)। ख्रीष्टको राज्य शान्तिको राज्य हुनेछ किनकि त्यसवेला शान्तिका राज कुमार राज्य गर्नुहुन्छ। आज संसारमा कहाँ शान्ति छ? अर्को कुरा आङसाङ होङको आगमनलाई ख्रीष्टको दोश्रो आगमन मान्ने हो भने किन उनी मरेर गए त? किन उनी मृत्युद्वारा निलियो त? ख्रीष्टको दोश्रो आगमन भएकै छैन। ख्रीष्टको दोश्रो आगमनलाई सारा विश्वले थाहा गर्नेछन् विरोधीहरुले समेत (प्रकाश १:७)। ख्रीष्ट येशूले हामीहरुलाई अघिबाटै चेतावनी दिइसकिएको छ, “हेर मैले तिमीहरूलाई पहिल्यै भनिदिएको छु। यसकारण तिमीहरुलाई तिनीहरुले ‘हेर, उनी उजाडस्थानमा छन्’ भनी भने भने तिमीहरु निस्केर नजाओ; ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भनी भने भने विश्वास नगर। किनभने जसरी विजुली पूर्वबाट निस्केर पश्चिमसम्म चम्कन्छ, मानिसका पुत्रको आगमन पनि त्यसरी नै हुनेछ।” त्यसैले अब पुष्टि भइसकेको छ कि आङसाङ होङ ख्रीष्ट होइनन् तर झूटा ख्रीष्टहरुमध्येका एक हुन्। यस सम्बन्धमा हामीहरुलाई चेतावनी मिलिसकेको छ, “होसियार बस, कसैले तिमीहरूलाई धोकामा नपारोस्! किनकि धेरैजना म ख्रीष्ट हुँ’ भन्दै मेरो नाममा आउनेछन्, र धेरैलाई धोका दिनेछन्”
(मत्ती २४:४,५)। यस अध्ययनमा परमेश्वरले तपाईहरुलाई उहाँको पहिचानमा बुद्धि र प्रकाशका आत्मा दिएका होऊन् (एफिसी १:१७)।

 

Comment(1)

  1. Reply
    DAWA TAMANG says:

    जानकारी को लागि धन्यवाद

Post a comment