No comments yet

पूर्वीय समाजमा बेबिलोनी प्रभाव

प्राचीन बेबिलोन सभ्यता मध्यपूर्वमा अवस्थित विशाल दुई नदीहरू युफ्रेटिस र टाइग्रीसले निर्माण गरेको मेसापोटामियाली सभ्यताको उपज हो। मेसापोटामियाली सभ्यता भन्नाले यी दुई नदीले निर्माण गरेको विशाल उपत्यकामा विकास भएको सभ्यता भन्ने बुझिन्छ। यो सभ्यता एशिया, अफ्रिका तथा युरोपका कुनै पनि सभ्यता भन्दा प्राचीन हो। प्राचीन मानिने मिस्री वा नील नदी सभ्यता, चीनिया येलो रिभर सभ्यता, हरप्पा वा सिन्धु नदी सभ्यता वा जुनसुकै सभ्यता भन्दा मेसापोटामियाली सभ्यता सर्वप्राचीन हो। मेसापोटामियालाई शिनार देश पनि भनिन्थ्यो जहाँ बाबेल, ऊर, नीनवे, कालह जस्ता शहरहरू निर्माण भएका थिए। तिनमा सर्वोत्कृष्ट सभ्यता बाबेलको सभ्यता नै थियो। यही शहरमा मानव राज्यहरूलाई एकीकृत गर्ने जस्ता महत्वाकांक्षी योजना र अभियान अघि बढाइएको थियो। यिनै प्राचीन बेबिलोनमा मूर्तिपूजा, मन्त्रतन्त्र, ज्योतिषशास्त्रको विकास गरिएको थियो। मोहनी, टुनामुना, साइत हेर्ने, जोखना हेर्ने कार्यहरूका अभ्यासहरू बेबिलोनको पहिचान बनेका थियो (यशैया ४७:१२-१३)। आज बेबिलोनको त्यही स्थान छैन तर बेबिलोनले बसालेका ती धर्म, विश्वास, अभ्यासहरूले मानिसहरू, भीडहरू, जातिहरू र भाषाहरूमाथि अड्डा जमाएको छ, गहिरो प्रभाव पारेको छ (प्रकाश १७:१५)। यसका टुनामुनाद्वारा सबै जातिहरू धोकामा परेका छन् (प्रकाश १८:२३)।

बेबिलोनी प्रभाव विश्व धर्म र दर्शनमा गहिरो रुपमा परेको थियो। त्यसबाट उन्मुक्त हुन मानव समाजलाई निकै कठिन रहेको देखिन्छ। आज नेपाल लगायत दक्षिण एशियामा ज्योतिष शास्त्रको गहिरो प्रभाव परेको देखिन्छ। ज्योतिष शास्त्र (Astrology) भन्नाले ग्रह तथा ताराहरूको अवस्थिति र त्यसले मानव जीवनमा ल्याउने प्रभाव सम्बन्धि ज्ञान भन्ने बुझिन्छ। यसको प्रभाव नेपाली समाजमा यति गहिरो छ कि यसले दैनिक जीवनका गतिविधि, विशेष कार्य योजना र सम्पादन त्यसद्वारा चलायमान रहेको छ। ज्योतिष शास्त्रविना पूर्वीय समाज एक कदम अघि बढ्न चाहँदैन। विवाह, विशेष कार्य प्रारम्भ योजना जस्ता कुनै पनि विषयमा दिन, बार घडी पलको हिसाब हुन्छ, साइत हेरिन्छ। दिनहरू, महिनाहरू शुभ अशुभ मानिन्छन्। धर्म, दर्शनमा त्यस्तै प्रभाव रहेको छ। मृत्यु पछि जाने स्थान बारे अनेक धार र दर्शनहरू रहेका छन्। तीन त्रिलोक चौध भुवनमा विश्वास गर्दछन्। ईश्वरै पिच्छेका धर्म दर्शनलाई स्थान मान दिइको छ। फलस्वरुप मृत्युपछि उनको चाहना र छनोट मुताविक उनी विभिन्न लोकहरूमा प्रवेश गर्छन्। मानिसका निम्ति तीन त्रिलोक चौध भुवनको व्यवस्था गरिएको मान्यता बसालिएको छ। यसको प्रभाव ख्रीष्टिय समाजमा पनि पर्न थालेको देखिन्छ। यदाकदा तीन त्रिलोक चौध भुवनको पक्षमा अप्रत्यक्ष रुपमा वकालत गरिरहेको देखिन्छ। पूर्वीय दर्शनमा दखल हुनु एउटा पक्ष हो तर त्यसलाई बाइबलीय आधार खोजी त्यसको वास्तविकता पुष्टि गर्न खोज्नु बाइबलीय सत्यताको दुरुपयोग हुन्छ, ख्रीष्टिय समाजलाई भ्रम हुन्छ। त्यसो त के पूर्वीय दर्शन परमेश्वरकै प्रकाश हुन् त? तीन त्रिलोक चौध भुवनको अवधारणा ठीक थिए भने त्यो सत्यता बाइबलमा प्रष्ट रुपमा किन आएन त? बाइबलले तीन त्रिलोकको कुरा गर्दैन तर तेस्रो स्वर्गको कुरा गर्दछ। तीन त्रिलोक दर्शनमा भनिएझैं बाइबलले मृत्युपर्यान्त मानिसका निम्ति जाने र रहने तीन स्थानहरू वा चौध बासस्थानहरूको प्रकाश दिएको छैन। तर केवल तेस्रो स्वर्ग जो परमेश्वरको बासस्थान हो जहाँ परमेश्वरका मानिसहरू पनि रहनेछन्। पहिलो र दोस्रो भन्नु चाहिँ बायुमण्डलीया आकाश र तारामण्डलीय आकाश हुन् जो मृत्युपर्यान्तका बासस्थान होइनन्। यदि पूर्वीय दर्शन परमेश्वरबाट दिइएको हो भन्ने मान्ने हो भने पश्चिमा दर्शन परमेश्वरबाट आएको मान्ने कि नमान्ने? पश्चिमा दर्शनमा मृत्युपर्यान्त जाने स्थान ‘पर्गेटरी’ नामक एक छुट्टै बासस्थानको विवरण छ जसलाई रोमन क्याथोलिक चर्चले दृढनिश्चयताको साथ अवलम्बन गरेको छ। त्यसरी दक्षिण अमेरिकी माया सभ्यताका दर्शनहरू, सुदुर पूर्वका कन्फ्युसियस दर्शनहरू, शिन्तो दर्शनहरूलाई कसरी लिने? तसर्थ तीन त्रिलोक चौध भुवनको धर्म दर्शनलाई बाइबलद्वरा पुष्टि गर्न खोज्नु गलत हो, भ्रम हो।

खानेकुरा वा पिउने कुरा वा औंसी र विस्राम दिनहरूका विषयमा कसैले न्याय गर्नु उचित होइन (कलस्सी २:१६)। परमेश्वरले हरेक दिनलाई, महिनालाई सुन्दर बनाउनु भएको छ। परमेश्वर प्रधान हो समय प्रधान होइन। पूर्वीय दर्शनमा परमेश्वर भन्दा पनि समयलाई प्रश्रय दिएको पाइन्छ। परमेश्वरको इच्छा भन्दा पनि दिन बार, घडी पल हेरिन्छ। किन कार्तिकमा विवाह हुन सक्दैन, किन चैत वा कतिपया महिनामा विवाह हुन सक्दैन? किन यो वा त्यो बार कुनै पनि महत्वपूर्ण कार्यको निम्ति शुभ वा अशुभ मानिन्छ? प्रधान विषय त परमेश्वर नै हुनुहुन्छ (रोमी १४:५,६)। परमेश्वर समय, स्थान भन्दा महान र प्रधान हो (मत्ती १२:६-८)। तर बेबोलोनी प्रभाव समस्त मानव समाजमा परेको पाइन्छ जसको उद्देश्य परमेश्वरलाई विस्थापन गर्नु हो। परमेश्वरले भन्नुभयो, “फल्दै-फुल्दै, संख्यामा बढ्दै जाओ र पृथ्वीलाई भरिदेओ”। तर मानिसले भने, “आओ, हामी आफ्ना निम्ति एउटा शहर, र टुप्पाचाहिँ आकाशसम्म पुग्ने एउटा धरहरा बनाऔं र आफ्ना निम्ति एउटा नाम कमाऔं नत्र हामी सारा पृथ्वीको सतहमाथि तितरवितर हुनेछौं” (उत्पत्ति ९:१; ११:४)। परमेश्वरलाई भन्दा कुनै पनि स्थान, समय, प्रणाली, धर्म, दर्शनलाई प्रधान तुल्याउनु बेबिलोनी दर्शनको मुख्य सिद्धान्त हो। जब परमेश्वर भन्दा माथि केही वा कोही राखिन्छ त्यो मूर्तिपुजा हुन्छ। एकदिन बेबिलोन ढल्छ, जस्तो लेखिएको छ, “महान बेबिलोन ढल्यो! ढल्यो! र दुष्ट आत्माहरूको बास्थान, हरेक अशुद्ध आत्माको कैदखाना र हरेक अशुद्ध र घिनलाग्दो चराको खोर भएको छ। किनकि त्यसको व्यभिचारको क्रोधको मद्यबाट सबै जातिहरूले पिएका छन्, अनि पृथ्वीका राजाहरूले त्यससँग व्यभिचार गरेका छन र पृथ्वीका व्यापारीहरू त्यसका सुखविलासको परिपूर्णताद्वारा धनवान भएका छन्” (प्रकाश १८:२,३)।

पास्टर यू. जे. गुरुङ

Post a comment