फेसबुक
फेसबुक लगायतका सामाजिक संजालले छिटो भन्दा छिटो सूचना प्रसारण गर्ने कार्यमा ठूलो योगदान दिएको छ। यसले नजीकका मित्रहरू विचमा आपसी सम्बन्ध तथा सहयोगको विस्तार गरेको छ। यी उद्देश्यबाट अभिप्रेरित भई तिनको प्रयोग गरिएमा यसलाई राम्रो मान्न सकिन्छ। तसर्थ फेसबुक, ट्विटर जस्ता सामाजिक संजाललाई प्रयोगै गर्न नहुने भन्ने होइन। तर गलत व्यक्तिहरूले यसलाई सिमित स्वार्थबाट अभिप्रेरित भई वा अज्ञानतामा दुष्प्रचार गर्ने, झूटा सूचना प्रचार गर्ने आदि कार्य गरेबाट व्यक्ति, समाज र राष्ट्रहरू आक्रान्त बन्न सक्छन्। यस्तो अवस्थामा यस संजालमा केही खतराहरू पनि देखिन्छन्। तसर्थ केही कुराहरूमा ध्यान दिनु, सचेतना अपनाउनु राम्रो हुन्छ।
खतराहरू
- व्यक्तिगत सूचनाको सार्वजनिकीकरण: तपाईले आफ्नो फेसबुक आदि जस्ता सामाजिक संचार संजालमा अभिव्यक्त गर्नुभएको विचार, भनाई, सूचना आदिलाई जब तपाईको एक साथीले लाइक गर्छ वा शेयर गर्छ, त्यो सूचना उसका साथीसंगी घेरामा प्रवेश गर्छ। यो प्रकृया विस्तार हुने क्रममा तपाईको सूचना तपाईले नचाहेको व्यक्तिकहाँ पनि पुग्छ। अनि अन्तत: सबैकहाँ पुग्छ। प्राइभेसी सेटिङहरू फेसबुक कम्पनीले आफ्नो फेसबुक प्रोग्राममा रिडिजाइन गरेपछि कम शुरक्षित अवस्थामा परिवर्तन हुन्छन्।
- अराजकताको अभिवृद्धि: एउटा सिमित व्यक्ति वा समूहले गरेको गलत टिकाटिप्पणी वा न्यायले धेरैलाई भ्रमित पार्न सक्दछ, जसले परिवार, समाज, मण्डली वा राष्ट्रलाई पनि अप्ठेरो पार्न सक्दछ।
- व्यापारिक समूह, अनैतिक समूहको शिकार: फेसबुक पृष्ठमा नचाहेका विज्ञापनहरू, अश्लिल फोटो तथा भिडियोहरू आउन सक्दछ। यसले अपरिपक्व उमेरका नानीहरू तथा कमजोर व्यक्तिहरूलाई गलत प्रभाव पार्दै अनैतिकतातर्फ धकेल्छ।
शुरक्षा उपायहरू:
- सिमित साथीहरू: भरोसायोग्य व्यक्तिहरूलाई मात्र फेसबुक साथी बनाउनुहोस्। फेसबुक साथीहरूलाई थोरै तर असल साथीहरूको समूहको रुपमा सृजना गर्नुहोस्। किनकि खराब संगतले भला चालचलनलाई बिगार्दछ (१ कोरिन्थी १५:३३)। सबैमा विश्वास नगर्नुहोस्, शंकास्पद व्यक्तिहरूमा नजर राख्नुहोस्।अश्लिल फोटो, भिडियो तथा सूचना लाइक गर्ने, शेयर गर्ने व्यक्तिलाई सो कार्य नगर्न व्यक्तिगत रुपमा जानाकारी गराउनुहोस्। तर सुधार नदेखिएमा उक्त व्यक्तिलाई आफ्नो फेसबुक साथीको सूचिबाट हटाउनुहोस्।
- संप्रेषण: फेसबुकमा के कुरा लेखिन्छ त्यसमा होसियार हुनुहोस्। जुनसुकै फोटो, भिडियो अपलोड गर्ने, मनमा जे लाग्यो त्यो लेख्ने र संप्रेषण गर्ने कार्य नगर्नुहोस्। किनकि “हरेक व्यर्थको कुरा, जो मानिसहरूले बोल्लान् न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनेछन् (मत्ती १२:३६)।
- लाईक वा शेयर: अरुहरूको फोटो, भिडियो, संप्रेषित विचार वा कुनै पनि सामाग्रीलाई लाइक गर्ने वा शेयर गर्ने कार्य यथासंभव नगर्नुहोस्। जस्तो लेखिएको छ, “कुनै मानिसमाथि झट्टै हातहरू नराख, न ता अरू मानिसहरूका पापहरूमा भादीदार होऊ; आफैंलाई शुद्ध राख” (१ तिमोथी ५:२२)।
- गोपनियता: व्यक्तिगत सूचनालाई गोप्य राख्नुहोस्। सार्वजिनिक सूचना र सार्वजनिक हितका निम्ति सामाग्रीहरू प्रेषित गर्नबाहेक सकेसम्म फेसबुकमा लेख्ने, फोटो तथा भिडियो आदि प्रेषित गर्ने वा अपलोड गर्ने कार्य नगर्नुहोस्।
- लत: फेसबुक लगायत सामाजिक संजालका लत लाग्न वा addicted हुनबाट जोगिनुहोस्। जुनसुकै समयमा फेसबुकमा समय बिताउने कार्य नगर्नुहोस्। तपाईका अझ महत्वपूर्ण जिम्मेवारीहरू पनि छन्। आफ्ना जिम्मेवारीहरूमा विश्वासयोग्य हुनुहोस्। काम गर्ने समयमा, मण्डली सभा समयमा, सभा-बैठक समयमा वा कुनै व्यक्तिसंग बातचित गरिरहेको समयमा फेसबुक प्रयोग नगर्नुहोस्।
- उमेरको परिपक्वता: साना उमेरका नानीहरूलाई फेसबुक एकाउन्ट खोल्न र प्रयोग गर्न नदिनुहोस्। धन्यवाद।
- पा. यू. जे. गुरुङ, एवेनेजर, काठमाडौं