No comments yet

बर्तमान नेपाली मण्डलीहरूमा नृत्य Dancing in Modern Churches of Nepal

 

मे २०१८ मा प्रकाशित ‘ख्रीष्चियनिटी टुडे’ मा ‘के शुरुका ख्रीष्टियनहरूले मण्डलीमा नाच्दथे?’ भन्ने शिर्षकको लेख प्रकाशित भएको छ। उक्त लेखमा भनिएको छ, ‘शोधमा पाइए अनुसार शुरुका मण्डलीहरूमा नृत्य आराधनाको भाग थिएन। पुरानो नियममा यदाकदा विशेष अवसरहरूमा नृत्य गरिएको उल्लेख भएको छ तर सार्वजनिक आराधना सभाहरूमा नृत्यको प्रयोग गरिंदैनथ्यो’। उक्त लेखमा भनिएको छ, ‘प्राचीन कालमा डियोनिसियका सामुहिक यौन तथा तान्डव देखिने सभाहरूमा नृत्यको प्रयोग हुन्थ्यो’। लेखमा भनिएको छ, ‘रोमी संस्कृतिमा नृत्यसंगै मद्यपान र यौनकृडा अघि बढ्थ्यो। नृत्य यौन तथा अनैतिक कार्यसंग जोडिएकोले शुरुका ख्रीष्टियनहरूले नृत्यलाई अस्वीकार गर्दथे’। लेखमा भनिएको छ, ‘दाऊद नाचे तर उनले खुट्टा बांगो पारेनन्, निर्लज्ज र अश्लिल हाउभाउ गरेनन्’।

आज ठूलो संख्यामा नेपालका मण्डलीहरूका आराधना सभा तथा विशेष सभाहरूमा नाच्ने गरिएको देखिन्छ। नृत्य मण्डलीहरूका नव पिडीको एउटा संस्कृति बनेको छ। विवाह कार्यक्रमहरूमा ख्रीष्टियन युवाहरू अविरल रुपमा जोडका तोड नाच्छन्। भक्तिमय वातावरण, जीवनशैली खलबलिएको छ। कुनै चर्च जाँदा ‘म कहाँ आइपुगेछु, चर्चमा कि कन्सर्टमा कि नृत्यशालामा?’ भन्ने प्रश्न उठ्छ। नृत्य भक्तिसंग भन्दा शारीरिक गतिविधिसंग जोडिएको छ। चर्चहरूमा नानीहरू तथा नव युवाहरू विच नृत्य प्रतियोगीता गराई नृत्यलाई बढावा दिइरहेको अवस्थाछ। शिक्षाको सवाल भन्दा मण्डलीहरूका निम्ति नृत्य महत्वपूर्ण भएको देखिन्छ। नाच्ने र ननाच्ने आधारमा पनि मण्डलीहरू बाँडिने अवस्था आएको छ।

मण्डली सभाहरूमा नृत्य मन पर्नेहरूलाई दाऊदको नृत्यले राहत दिलाएको छ। तर के दाऊदको नाच आजका मण्डलीहरूमा नाचिने नाच जस्तै थियो? दाऊदको नाच कुन अभिप्रेरणामा भएको थियो? आजका नृत्यहरू त्यही अभिप्रेरणा र उदाहरणमा भइरहेका छन्? परमप्रभुको सन्दुक यरुशलेममा ल्याइनु सानो विजय थिएन। इस्रायली जनसमुदाय अत्यन्तै हर्षित बने। “अनि दाऊद आफ्नो सारा बलले परमप्रभुको सामु नाचिरहे” २ शमूएल ६:१४)।” तर उनले शारीरिक कामना हाउभाउमा नृत्य गरेनन् तर परमप्रभुमा आफ्नो रमाहट व्यक्त गरे। तथापि उनकी पत्नी मिकलले त्यस नृत्यलाई आवश्यक देखिनन् र उनी दाऊदसंग खुशी भइनन्। त्यसदिन देखि दाऊद र मिकलको सम्बन्ध बिग्र्यो (२ शमूएल ६:१६, २०-२३)। दाऊदको उक्त नृत्यको उदाहरण यहूदी धार्मिक सभा तथा सभा घरहरूमा अपनाइएको थिएन।

राजा हेरोदको भोजमा हेरोदियासकी छोरी नाची (मत्ती १४:६-११; मर्कूस ६:२१-२८)। मद्यपान, ऐश आरामको उक्त भोजमा हेरोदियास जो अनैतिक कार्यमा मुछिएकी थिई उनकी नव युवा सुन्दरी छोरी नाची। हेरोदियास सुन्दरी स्री थिई तर उनी हेरोदका भाइका पत्नी थिई। अवैध रुपमा उनी राजा हेरोदसंग बसेकी थिई। यस कुराको विरोधको कारण बप्तिस्मा दिने यूहन्ना कैद परेका थिए। राजा हेरोद हेरोदियासकी छोरीको नृत्यमा अत्यन्तै मन्त्रमुग्ध भए। हेरोदले तिनलाई आधा राज्य दिनेसम्मको कबोल गरे। किन यस्तो प्रतिज्ञा राजा हेरोदले गरे? कुनै स्वार्थ नभई त्यति ठूलो वाचा कुनै शक्तिशाली शासकले गर्ला? अन्तत: उक्त नृत्यको कारण बप्तिस्मा दिने यूहन्नाले आफ्नो टाउको गुमाए। नृत्यको कारण एक धर्मी जनको टाउको गयो। नृत्यले भक्तिमय वातावरण, भक्तिमय जीवनशैलीलाई भन्दा शारीरिक र सांसारिक वातावरणलाई प्रश्रय दिन्छ। कामुकता र अभिलाषालाई प्रोत्साहन दिन्छ। तब मण्डली आराधना सभाहरूमा, मण्डली विशेष सभाहरूमा नृत्य कसरी स्वीकार्य हुन सक्छ? लेखिएको छ, “जब तिमीहरू भेला हुन्छौ, तब तिमीहरूमध्ये हरेकसँग भजन हुन्छ, शिक्षा हुन्छ, भाषा हुन्छ, प्रकाश हुन्छ, अनुबाद हुन्छ। सबै कुराहरू उन्नतिका निम्ति नै गरिऊन्”
(१ कोरिन्थी १४:२६)। परमेश्वरले नेपालका मण्डलीहरूलाई समझ दिनुभएको होस्। आमेन।

 

यू. जे. गुरुङ

Post a comment