1

बाइबल इतिहास

पास्टर यू. जे. गुरूङद्वारा लिखित ‘मण्डली इतिहास’ नामक पुस्तकबाट साभारित

             पुरानो नियमका केही अंशहरू अरामी भाषामा लेखिएको बाहेक प्राय: भाग हिब्रू भाषामा लेखिएको थियो। फारस साम्राज्यले भूमध्यसागारीय क्षेत्रलाई अधिपत्य जमाएपछि अरामी भाषा मध्यपूर्वको प्रभावशाली भाषा बन्‍न पुग्यो। त्यस क्षेत्रका यहूदीहरूले हिब्रू भाषाबाट अरामी भाषामा बाइबलका अघिल्ला ५ पुस्तकहरूको अनुबाद गरे जसलाई ‘तारगुम’ भनियो। तेस्रो शताब्दीमा ग्रीक भाषा मध्यपूर्वको पनि प्रभावशाली भाषा बनेपछि हिब्रू भाषाबाट ग्रीक भाषामा अनुबाद गरिएको ग्रीक बाइबललाई ‘सेप्टुजेन्ट’ भनियो। ग्रीक भाषी विश्वमा ईशाईहरूको वृद्धि भएपछि उनीहरूले ‘सेप्टुजेन्ट’को प्रयोग गरे। ईशाईहरू चारैतिर वृद्धि भएसंगै बाइबल कप्टिक, इथियोपियाई, गोथिक, ल्याटीन जस्ता भाषाहरूमा पनि अनुबाद भए। ई.सं. ४०५ मा जेरोमले सेप्टुजेन्टको आधारमा ल्याटिन बाइबल अनुबाद गरे जसलाई ल्याटिन भुल्गेट भनियो। यसमा त्रुटीहरू भएतापनि करिब १००० वर्षसम्म पश्चिमा जगतमा यो बाइबल प्रभावकारी रह्‍यो। छैटौं शताब्दीमा हिब्रू भाषामा पुरानो नियम बाइबललाई उठान गरियो जसलाई ‘मेसोरेटिक’ टेक्स्ट भनिन्छ। यही ल्याटिन भुल्गेटबाट अंग्रेजीमा ‘डुवे-रेम्स’ बाइबल अनुबाद गरियो जो नै रोमन क्याथोलिक चर्चको एक मात्र आधिकारिक अंग्रेजी बाइबलको रुपमा प्रयोग हुँदै आएको छ। ग्रीक भाषामा डेसिडेरियस इरास्मसले नयाँ नियम सम्पादन गरे जो १५१६ मा प्रकाशन गरिएको थियो। 

 किंग जेम्स भर्जन

जोन विक्लिफ (१३०२-१३८४) ले १३८२ मा अंग्रेजीमा पहिलो पूर्ण बाइबल अनुबाद गरे। यो बाइबल ल्याटिन भुल्गेटबाट अनुबाद गरिएकोले उत्तम त भएन तर अंग्रेजी भाषीहरू माझ ठूलो मात्रामा आत्मिक तृष्ण मेटाउने काम भने पूरा गरेको थियो। विलियम टिन्डेल (१४९४-१५३६) ले ‘टेक्स्टस रिसेप्टस’बाट अंग्रेजीमा नयाँ नियम अनुबाद गरे। यो बाइबल अंग्रेजी भाषीहरू माझ अनुदित नमूना बाइबल बन्यो।

रानी एलिजावेथ प्रथम (१५४२-८७) को राज्यकालमा बेलायतमा क्याथोलिक चर्चको प्रभुत्व समाप्त भई प्रोटेस्टेन्टहरूको प्रभाव विस्तार भयो। रानी मेरीका छोरा जेम्स बालककालमै स्कटलैण्डका राजा जेम्स छैटौंको रुपमा नियुक्त गरिएको थियो। उनी १६०३ मा वेलायतका जेम्स प्रथमका रुपमा राजा बनेका थिए जसले १६२५ सम्म बेलायतमा राज्य गरेका थिए। उनको शासनकालमा वेलायतका १००० प्युरिटनहरू (प्रेस्बेटेरियन क्लर्जीहरू) ले राजा जेम्स प्रथमलाई विन्तिपत्र चढाई चर्च अफ इंगलैण्डको सुधारको निम्ति माग गरेका थिए। त्यसपछि राजा जेम्स प्रथमले ह्याम्पटन कोर्ट सम्मेलन गरेका थिए जसमा वेलायत भरका चर्च प्रमुख तथा ख्रीष्टियन अगुवाहरूको सम्मेलन भएको थियो। उक्त सम्मेलनमा विभिन्न व्यक्तिहरूले विभिन्न विचारहरू राखेका थिए। विचार राख्नेहरूमा डा. जोन रेनोल्डले ‘मण्डलीहरूमा पढिनका निम्ति एक बाइबल अनुबाद गरी पाद टिप्पणी रहित रुपमा प्रकाशन गर्नुपर्‍यो’ भन्ने विचार व्यक्त गरेका थिए। उक्त विचारमा राजा जेम्स प्रथम प्रभावित भएका थिए।

राजा जेम्स प्रथमले जुलाई २२, १६०४ मा बाइबल अनुबादको निम्ति ५४ जना अनुबादकहरूको नाम घोषणा गरेका थिए। सन् १६०७ मा बाइबल अनुबाद कार्यको थालनी भएको थियो। बाइबल अनुबाद प्रकृया अत्यन्तै प्रभावकारी रुपमा अघि बढाइएको थियो। ५४ जना अनुबादकहरूलाई ६ समूहमा बाँडिएको थियो। प्रत्येक समूहमा ९ जना अनुबादकहरू थिए। ती ६ समूहरूमा २ समूह क्याम्ब्रिजमा, २ समूह अक्सफोर्डमा, २ समूह वेस्टमिन्स्टरमा पठाइएका थिए। प्रत्येक समूहलाई अनुबादका निम्ति बाइबलका पुस्तकहरू तोकिएका थिए। समूहलाई तोकिएको पुस्तकको अनुबाद समूहका प्रत्येक सदस्यले आ-आफ्नै अनुबाद गर्दथे। त्यसपछि एक समूहका ९ जना नै एक साथ जुटी ठूलो स्वरले पढ्थे र आवश्यक छानबीनका साथ एक अन्तिम प्रति तयार पार्दथे। अनुबादित उक्त प्रतिलाई अरु ५ समूहलाई पठाइन्थ्यो र त्यसबाट प्राप्त सुझावको आधारमा अन्तिम प्रति तयार गरिन्थ्यो। यस क्रमले बाइबलका सबै पुस्तकहरूको अनुबाद सम्पन्‍न गरिन्थ्यो। त्यसपछि प्रत्येक समूहबाट २ जनाको दरले १२ जनाको रिभिजन कमिटी गठन गरी उक्त कमिटीले दिनहुँ लण्डनको स्टेसनर्श हलमा दिनहुँ छलफल गर्दथ्यो र बाइबलको अन्‍तिम प्रति तयार पार्ने काम सम्पन्‍न गर्‍यो। सम्पन्‍न प्रतिलाई २ जनाको प्रकाशन समितिलाई बुझाइयो जसले भाषा शुद्धिकरण र मीठास मिलाउने काम गरी अन्तिम रुप तयार पार्ने काम गर्‍यो। त्यसपछि रोयल प्रिन्टरलाई प्रकाशनको निम्ति सुम्पने कार्य गर्‍यो।      

हिब्रू ‘मेसोरेटिक’ ग्रन्थ र ग्रीक ‘टेक्स्टस रिसेप्टस’ ग्नन्थलाई मूल आधार बनाई ५४ जना अनुबादकहरूले राजा जेम्स प्रथमको निर्देशनमा अंग्रेजीमा पूर्ण बाइबल अनुबाद गरेकाले यसलाई ‘किंग जेम्स भर्जन’ भनियो। सन् १६११ मा प्रकाशन गरिएको यस किंग जेम्स भर्जनलाई त्यसपछि पनि समय समयमा संशोधन गरिएका थियो। उन्‍नाइसौं शताब्दीको अन्तसम्म किंग जेम्स भर्जनले एक छत्र प्रभाव पारेको थियो। आज सम्म पनि यस बाइबलको प्रभावकारीता एक नम्‍बरमा नै रहेको छ। 

Comment(1)

  1. Reply
    Shahis singh says:

    Concluded history paderborn ramro lagyo.

Post a comment