No comments yet

भिन्न मत

म किन ईशाई हुँ? यो जाहेज प्रश्न हो। म किन आज जे छु त्यो छु? म किन जे गर्छु त्यो गर्छु? म किन भिन्न छैन?  मेरो देशका लगभग ९८ प्रतिशत मानिसहरुले नमान्ने मत म किन मान्दछु? के म देश द्रोहि हुँ? के म पागल हुँ? सायद पश्चिमी प्रभावको हुरिबतासले मलाई उडायो। सायद आफ्नो पुर्खौली संस्कृतिको अह्वेलक हुँ म। सायद म समाजमा एक कालो दाग हुँ, जुन दागले सम्पूर्ण राष्ट्रलाई नै कुरुप बनाइदिन्छ। सायद म एक समझहीन व्यक्ति हुँ। कुकुरलाई पनि थाहा हुन्छ, आफ्नो मालिक को हो भनेर। एक गोरुले पनि आफ्नो घरको बाटो चिन्दछ। सायद म एक पशु भन्दा पनि तल खस्किएको छु। सायद म…

तरै पनि प्रश्नको उत्तर त खोज्नैपर्छ, उत्तर मिल्नैपर्छ। सायद म ठीकै छु। सायद ९८ प्रतिशत मानिसहरु भुलमा परेका होलान्। सायद म पो सहि छु कि? सायद म देश द्रोहि होइन होला, तर एक सच्चा देश प्रेमी। सायद म समाजको एक तारा हुँ, ज्योति हुँ। सायद म एक पागल होइन होला? एक पशुसमान होइन होला? सायद म…

मेरो खोज र अध्ययनले मलाई पूरा निश्चयता र सन्तोष दिएको छ। मलाई थाहा छ म को हुँ र म किन त्यसो हुँ। म एक ईशाई हुँ, र मलाई निश्चित रुपमा थाहा छ, म किन ईशाई हुँ। लाग्छ, जो व्यक्तिहरुले ईशाईहरुका विरोध गर्छन्, उनीहरुले कहिल्यै ‘बाइबल’ पढेका छैनन्। कहिल्यै बुझेका छैनन्, र सायद कोशिश पनि गरेका छैनन्, कि ईशाई मत वास्तवमै के हो त? यसरी सत्य तथ्यै नबुझी, अन्धा धुन्धाले न्याय गर्नेहरु पनि थुप्रै रहेछन्। दुख लाग्छ! सायद यस्ता व्यक्तिहरुले ईशाई मतका बारेमा सत्य कुरा थोरै  बुझे भने पनि यति साह्रो विरोध र हेला गर्ने थिएनन् होला। जब ईशाई दाजुभाइहरु, र दिदीबहिनीहरु समाजबाट बहिस्कृत भएका, कुटिएका, अवहेलित भएका, तल्लो स्तरको मानिसझैँ व्यवहार गरिएका कुराहरु सुन्नमा आउँछ, तब मनलाई साह्रै पीडा हुन्छ। कहिले काहीँ रीस पनि उठ्छ। एक गलत र पक्षपाति फैसला भएको महसुस हुन्छ। हामीहरु अल्पसंख्यकमा पर्छौँ। हामीहरु डलर पाएर चम्केका रे! (फेरि अर्को अन्न्यायपूर्ण फैसला! प्रमाणबिनाको न्याय!) यस्तै यस्तै अरु थुप्रै आरोपहरु र विरोधहरुका बीच म र मेरा ईशाइ बन्धुहरुले हरेक दिन बिताउछौँ। कहिले छक्क लाग्छ, त कहिले दिक्क। कहिले रीस उठ्छ, त कहिलो हाँसो। दिनभरिको थिचोमिचो, र विरोधहरुले थाकेपछि रातमा सपना देख्छु। सपनामा साँचो प्रमाण र सत्य तथ्य बुझी न्याय गर्ने समाज देख्छु। सायद एक दिन मेरो सपना पनि पूरा होला। खासै ठूलो सपना पनि त होइन।

मार्टिन लुथर जुनियरले भने जस्तै म पनि भन्छु, “मैले सपना देखेको छु! म सँग एक सपना छ!” भविष्यमा एकदिन मेरा छोरा-नातानातीहरुले यस्तो देश र समाजमा जीवन जिउन पाउनेछन्, जहाँ सत्य तथ्य बुझी मात्रै फैसला गरिन्छ। जहाँ फरक मत मान्दैमा समाजबाट बहिस्कृत हुनुपर्दैन। जहाँ फरक विश्वास पछ्याउँदैमा अवहेलित हुनुपर्दैन। जहाँ आफ्नो अलग पहिचानका कारण अलग व्यवहार भोग्नुपर्दैन। मैले सपना देखेको छु! यो सपना सायद मेरो मात्रै होइन होला। तर सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको जो आफ्ना पहिचान, जाति, धर्म तथा अन्य कारणहरुले गर्दा अवहेलित हुनुहुन्छ, तिरस्कृत हुनुहुन्छ। एक्काइसौँ शताब्दीमा सायद नेपाल रातमा अझ झिलिमिली देखिन्छ, तर हृदयमा नि? सायद एक्काइसौँ शताब्दीका चम्किला-चम्किला बत्तीहरु मानव हृदयसम्म पुग्दैनन्। त्यसैले त चम्किला बत्तीहरुका छायामा रुन्छन् ती पिछडिएकाहरु, ती अवहेलितहरु, ती गलत रुपमा न्याय पाएकाहरु, ती लाखौँ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु!

अनुरोध यही छ, एउटै छ – कृपया सत्य तथ्य बुझी मात्रै फैसला गरौं, भिन्न मत र विचार राखेकै भरमा भेदभाव नगरौं!

Post a comment