1

मण्डली इतिहास Church History

A Brief Church History in Nepali by Pastor U. J. Gurung, MA (History) and Ph. D. Scholar, TU; Former Lecturer, Tribhuvan University, Kathmandu.

भाग एक Part One

मण्डली इतिहास सम्बन्धमा मलाई पटक पटक सोधिएको एउटा प्रश्न छ, ‘कति किसिमका ख्रीष्टियनहरू पाइन्छन् संसारमा?’ त्रिभुवन विश्व विद्यालयका बुद्धिस्ट डिपार्टमेन्टमा मैले प्राध्यापन गर्दाताका मलाई तत्कालीन डिपार्टमेन्ट हेडले यही प्रश्न सोधेका थिए। हालैमा कुनै एक बाइबल कलेजबाट मास्टर्स गरेका एक युवाले सोधेका थिए, ‘ख्रीष्टियनहरू दुई किसिमका मात्र होइनन् र, क्याथोलिक र प्रोटेस्टेन्ट? डिपार्टमेन्ट हेड अनि उहाँको बुझाईमा क्याथोलिक र प्रोटेस्टेन्ट गरी ख्रीष्टियनहरू दुई प्रकारका रहेका छन्। ठूलो संख्यामा ख्रीष्टियनहरूमा यस बारे अनभिज्ञता देखिएकोछ। हालैमा एउटा रिसर्चको क्रममा चर्चहरूलाई सोधिएको एक प्रश्नको जवाफमा अधिकांश मण्डली अगुवाहरूले आफूहरू प्रोटेस्टेन्ट रहेको उल्लेख गरेका थिए।

रोमन क्याथोलिक चर्चले भन्छ, ‘ऊ मात्र साँचो मण्डली हो जुन मण्डली पत्रुसद्वारा शुरु गरिएको थियो जुन आजसम्म निरन्तर जारी छ’। अनि उसले भन्छ, बाँकी सबै गैह्र क्याथोलिकहरू ‘भड्किएका भाइहरू हुन्’। प्राय: प्रोटेस्टेन्ट चर्चहरूले भन्छन् कि अन्धकार युग (Dark Age) मा साँचो चर्चहरू समाप्तै भएका थिए। तर यी सबै धारणाहरू तथ्यगत होइनन्। परमेश्वरका जनहरूका साँचो इतिहासको दस्तावेज र आधार बाइबल हो भन्ने पुष्टि भइसकेको छ। पहिलो शताब्दीको प्रारम्भिक चरणमा ख्रीष्टियनहरूलाई चुनौतिको रुपमा हेर्ने समूह भनेको यहूदीहरू मात्र थियो। यहूदी सभाघरहरू रित्तिदै थिए। मानिसहरू चर्चहरूमा भरिन थालेका थिए। यहूदीहरूको शिक्षा र जीवन मार्ग तोरा अर्थात् पुरानो नियमको शिक्षा विपरित देखिएको थियो। ख्रीष्टियनहरूलाई यहूदीहरूले यरुशलेममा सताए, टर्कीस एन्टिओकमा सताए, युरोपको थिस्सलोनिका र बीरिया तथा अन्य स्थानहरूमा सताए। युरोप तथा एशियाका अन्य थुप्रै स्थानहरूमा ख्रीष्टियनहरूलाई सिध्याउन यथासंभव उनीहरूले सबै ठाउँमा सताए। पावलले यहूदीहरूबाट पाँच पटक उनन्चालीस उनन्चालीस कोर्राहरू खाए, तीन पटक पिटिए, एकपल्ट ढुंगाले हानिए (१ कोरिन्थी ११:२४,२५)। बाँकी ईशाईहरूले पनि कोर्रा खाए, कैदमा परे, ढुंगाले हानिए, आराले चिरिए, परीक्षामा परे, तरवारले मारिए। ती कंगाल भए, भेडाका छाला, बाख्राका छालाहरू पहिरी चारैतिर मरुभूमि, पहाड, गुफा र ओडारहरूहुँदो घुमिहिँडे (हिब्रू ११:३६-३८)।

प्रारम्भिक समयमा रोमीहरू भने ख्रीष्टियन विरोधी थिएनन्। रोमीहरूको निम्ति ख्रीष्टियनहरू चुनौति थिएनन्। उनीहरू देशद्रोही थिएनन्। उनीहरू राज्य प्रमुखहरूको भलाई र बुद्धी निम्ति प्रार्थना गर्नेहरू थिए। राज्य र राजनीति मुक्त समाज थियो ख्रीष्टियनहरू। न उनीहरू सत्ता चाहान्थे न हस्तक्षेप। तर रोमी सम्राटहरू केवल राज्य सत्ता चलाउँदैनथे तर धर्ममा अधिकार गर्थे। उनीहरू रोमी धर्म तथा देवता भक्ति थिए। तर ख्रीष्टियनहरू रोमी धर्म र देवता मान्दैनथे। उनीहरू केवल एक मात्र परमेश्वरलाई मान्दथे (१ कोरिन्थी ८:५,६)। यस कुरामा रोमी सम्राटहरू ठेस खाए। ठूलो संख्यामा रोमीहरू ख्रीष्टमा आएका थिए। रोमी सम्राटको घरानामा समेत ख्रीष्टियनहरू थिए (फिलिप्पी ४:२२)। उनीहरूले रोमी देवताहरूलाई पुज्न छोडेका थिए। रोमी शासकहरूले पनि ख्रीष्टियनहरूलाई चुनौतिको रुपमा पाए। फल स्वरुप सम्राट नीरो लगातका बाँकी सिजरहरूले ख्रीष्टियनहरूलाई भारी सतावट दिए। नीरोले पावल लगायतका धेरैलाई फाँसी दिए, जलाए। रोमले ठूलो संख्यामा रोम लगायत युरोप तथा एशियाका ख्रीष्टियनहरूलाई मृत्युदण्ड दिए। पावल लगायत ख्रीष्टियन अगुवाहरू मारिए। ख्रीष्टियनहरू भूमिगत भए। आपसी पहिचान र व्यवहारका निम्ति ‘इक्थस’ अर्थात् ‘माछा’ जस्ता गोप्य संकेतहरू प्रयोग गर्थे। पार्थिव यात्रा उनीहरूका निम्ति निरस र वेचैनपूर्ण थियो। रोमी रंगशालाहरूमा उनीहरूलाई तमासा बनाइयो। कसैलाई सिंहहरूका आहरा बनाइयो त कसैलाई आगोमा जलाइयो। ती सबै परिस्थितिहरूमा ख्रीष्टियन मण्डलीहरू खडा थिए। ती मृत्युसम्मै विश्वासयोग्य भइरहे (प्रकाश २:१०)। ती बाइबलका प्रतिज्ञाहरूमा खडा भइरहे, विश्वासयोग्य बनिरहे। ख्रीष्टियनहरू विरुद्ध रोमी सत्ताबाटको सतावट चौथो शताब्दीसम्म अघि बढिरह्यो।

रोमी सम्राट कन्स्टेन्टाइनले ख्रीष्टिय विश्वासलाई अंगालेपछि आधिकारिक रुपमा इ.सं. ३१३ बाट ख्रीष्टियन विरुद्धका सतावट बन्द भयो। यसले राज्य र धर्मविचको अलगपनतामा भने व्यवधान ल्यायो। उनी राज्य प्रमुख मात्र होइन चर्च प्रमुख पनि बने। क्रमिक रुपमा राज्यधर्मको विकास भयो जो रोमन क्याथोलिक चर्चको रुपमा विकास भयो। अब रोमन क्याथोलिक पोप र रोमी सम्राट विच अधिकारको खिचातानी प्रारम्भ भयो। क्रमिक रुपमा युरोप रोमन क्याथोलिक चर्चको प्रभुत्व मुनि रह्यो। उसले राज्यशक्तिको आडमा युरोपमा करिब १००० वर्ष शासन गर्‍यो। यसलाई इतिहासमा अन्धकार युग (Dark Age) भनिन्छ। उसको प्रभुत्व र शिक्षालाई नयाँ नियम मण्डलीहरूले मान्दैनथे, अस्वीकार गर्दथे। उसले नयाँ नियम मण्डलीहरूलाई चुनौतिको रुपमा पायो। त्यस युगमा नयाँ नियम मण्डलीहरूले भारी सतावटको सामना गर्‍यो। उनीहरूको इतिहास रगतमा लेखियो। तर त्यस युगमा पनि साँचो मण्डलीहरू थिए। ती भूमिगत थिए तर ती ठूलो संख्यामा थिए। उनीहरू क्याथोलिक शिक्षाहरू जस्तै बाल-बप्तिस्मा, छिट्काउ बप्तिस्मा, प्रभुभोजको रोटी ख्रीष्टको शरीरमा परिवर्तन, सेन्टहरूलाई प्रार्थना गर्ने, पर्गेटरी, दानद्वारा मुक्ति, पदीयक्रम (Hierarchy), राज्य र धर्मवीचको समिश्रण जस्ता शिक्षाहरूलाई अस्वीकार गर्दथे। चर्चमा आउनेहरूमा ख्रीष्टमा विश्वास गरी मुक्ति पाएकाहरूलाई नयाँ नियम मण्डलीहरुले डुबुल्की बप्तिस्मा दिन्थे। रोमन क्याथोलिकहरूले ती चर्चहरूलाई ‘एनाब्याप्टिस्ट’ (दोहोर्‍याएर बप्तिस्मा दिनेहरू), ‘ब्याप्टिस्ट’ भनी खिज्याउँदथे। काउन्सिल अफ ट्रेन्टका अध्यक्ष रोमन क्याथोलिक कार्डिनल होसियस (१५४५-१६६३)ले भनेका थिए, “के ब्याप्टिस्टहरू नै होइनन् जसलाई विगत बाह्र सय वर्षहरूमा निर्दयतापूर्वक सताइएका थिए अनि तरवारद्वारा मारिएका थिए, उनीहरू रिफोर्मरहरूभन्दा ठूलो संख्यामा वृद्धि भएका थिए”। यसले पुष्टि गर्दछ कि ब्याप्टिस्टहरू रिफोर्मेसनबाट जन्मेकाहरू थिएनन् अर्थात् उनीहरू प्रोटेस्टेन्टहरू थिएनन्। सामन्यतया सबै बाइबलीय मण्डलीहरूलाई रोमन क्याथोलिक चर्चले ब्याप्टिस्टहरू भन्दथे।

नयाँ नियम मण्डलीहरू सधैं नै थिए। महान आज्ञाको क्रममा येशूले मण्डली सम्बन्धमा भन्नुभयो, “हेर, म सधैंभरि संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु” (मत्ती २८:१८-२०)। मण्डलीको साथमा ख्रीष्ट रहनुको अर्थ मण्डलीहरू सधैं थिए र ती नष्ट-भ्रष्ट भएका थिएनन्। येशूले भन्नुभयो, “यस चट्टान माथि म आफ्नो मण्डली बनाउनेछु अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्” (मत्ती १६:१८)। यस प्रतिज्ञा अनुसार परमेश्वरको मण्डलीमाथि नरक विजयी हुनेछैनन्, मृत्यु विजयी हुनेछैनन्। भारी सतावटले मण्डलीहरूलाई समाप्त पारेनन्। यस्तो लेखिएको छ, “किनकि जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र यो कचोरा पिउँछौ, तिमीहरूले उहाँ नआउन्जेल प्रभुको मृत्युको प्रचार गर्दछौ” (१ कोरिन्थी ११:२६)। प्रभु नआउन्जेल साँचो मण्डलीहरू रहनेछन् र ख्रीष्टको मृत्युको प्रचार भइरहनेछन्। लेखिएको छ, “उहाँलाई नै मण्डलीमा ख्रीष्ट येशूद्वारा पुस्ता पुस्तासम्म युगानुयुग महिमा भइरहोस्” (एफिसी ३:२१)। उहाँको मण्डली पुस्ता पुस्ता रहिरहनेछन् र त्यसमा उहाँको मण्डली रहिरहनेछन्। रोमन क्याथोलिक मण्डली ख्रीष्टको साँचो मण्डली थिएन। उक्त मण्डलीका शिक्षा र अभ्यासहरू बाइबलीय शिक्षा भन्दा भिन्र रहेको छ। नयाँ नियम मण्डलीका चरित्रहरू भन्दा भिन्न चरित्र त्यसमा रहेको छ। विगत पाँचौं शताब्दी देखि सोह्रौं शताब्दी सम्म साँचो मण्डलीहरूलाई सताउने शक्ति भनेकै रोमन क्याथोलिक चर्च थियो। आज पनि उसका मूलभूत शिक्षा र अभ्यासहरूमा अन्तर रहेको छैन। मण्डली इतिहासमा तीन प्रमुख समूहरू देखिएको छ, नयाँ नियम मण्डलीहरू, रोमन क्याथोलिक मण्डली र प्रोटेस्टेन्ट मण्डलीहरू। क्रमश:

Comment(1)

  1. Reply
    पाठ दोस्रो तेस्रो र चौथोपनि छ कि पास्टर ज्यु छ भने कसरिकहिले पाईन्छ होला ? says:

    कहिले कसरी पाउने अर्को पाठ?

Post a comment