No comments yet

मन्ना

प्रस्थान १६:१-२४; ३१-३५

            मन्ना स्वर्गीय रोटी हो (भजन संग्रह १०५:४०)। मन्नाले ख्रीष्ट येशूको चित्रण दिंदछ। यसलाई परमेश्वरले उजाडस्थानमा दिनुभयो जहाँ इस्रायलीहरू विचमा केही खानेकुरा बाँकी थिएन। इस्रायलीहरूले चालीस वर्षसम्म उजाडस्थानमा यस रोटी खाए र बाँचे। मानिस रोटीले मात्र होइन तर परमेश्वरको वचनले बाँच्दछ (व्यवस्था ८:३)। मानिस रोटीले होइन तर परमेश्वरको वचनले बाँच्दछ भन्ने कुराको महान दृष्टान्त थियो यो। मन्ना प्रतिज्ञा बमोजिमको रोटी थियो। यो मानवीय श्रमको फल थिएन। त्यसैले इस्रायलीहरू चालीस वर्षसम्म परमेश्वरको प्रतिज्ञाद्वारा बाँचे। रोटीले होइन अर्थात् मानिस रोटीले होइन तर परमेश्वरको वचनद्वारा बाँच्दछ।

आवश्यकता

            मानिसहरू मर्न लागेका थिए (१६:३)। लाल सागरलाई दुई भाग पारी सकुशल पार गराउन सक्ने परमेश्वरमा रोटीका निम्ति परमेश्वरकहाँ आएनन्। (यूहन्ना ५:४०)। तिनीहरू गनगनमा उत्रेका थिए (१६:२) र अशान्त थिए। दुष्टहरूलाई शान्ति हुँदैन (यशैया ५७:२०,२१)।

मन्नाको प्रकृति  

            मन्नाको श्रोत परमेश्वर हुनुहुन्थ्यो जुन स्वर्गबाट दिइए (प्रस्थान १६:४)। मन्ना सेतो थियो (प्रस्थान १६:३१) जसले ख्रीष्टको शुद्धता र पवित्रताको चित्रण दिंदछ। मन्ना सानो थियो (प्रस्थान १६:१४) जसले ख्रीष्टको नम्रताको चित्रण दिंदछ (फिलिप्पी २:५-८)। मन्ना गोलो थियो (प्रस्थान १६:१४) जसले ख्रीष्टको अनन्तताको चित्रण दिंदछ (यूहन्ना १:१,२; प्रकाश १:८)। यो पूर्ण रुपमा निशुल्क थियो (प्रस्थान १६:१५)। यसले ख्रीष्टको अनुग्रहको वरदानको चित्रण दिंदछ (यूहन्ना ३:१६; रोमी ६:२३)। ख्रीष्टले सबैको निम्ति मुक्ति प्रवन्ध गर्नुभएको छ। यो गुलियो थियो (प्रस्थान १६:३१)। प्रभु भला हुनुहुन्छ। चाखेर हेरे प्रभुको भलाईको स्वाद थाहा हुन्छ (भजन संग्रह ३४:८; ११९:१०३; १ पत्रुस १:८)। मन्ना सबैमा प्राप्य थियो (प्रस्थान १६:१३,१४)। यो जोकोहीका निम्ति उपलब्ध थियो (यूहन्ना १:१२; प्रकाश २२:१७)।

परिणाम

            मन्नालाई विहानै संकलन गरिनुपर्दथ्यो (प्रस्थान १६:२१)। ढिला गएमा मन्ना पग्लिसकेको हुन्थ्यो। ख्रीष्टमा मुक्ति छ, जीवन छ। उहाँकहाँ आउने अहिले नै हो, चाँडै नै हो। जब ढिला गरिन्छ त्यो अवसर नपाउन सक्दछ (२ कोरिन्थी ६:२)। जीवनको विहानीमा, जब मौका आयो त्यसवेला ख्रीष्टमा आउनुपर्दछ जसबाट मानिसले जीवनको मुक्ति प्राप्त गर्दछ। ढिला गरेमा मुक्ति सदालाई गुम्न सक्दछ।

            मन्नाले संतुष्ट पार्दथ्यो। इस्रायलीहरूले त्यस यता रोटीको निम्ति गनगन गरेनन्। (भजन संग्रह १०५:४०)। येशूमा मानिसहरू तृप्त हुन्छन् (यूहन्ना ६:३५)। मन्नालाई संझनाको निम्ति शुरक्षित राखिएको थियो (प्रस्थान १६:३३)। येशू जीवनको रोटी हुनुहुन्छ (यूहन्ना ६:४८,५१)। किनकि उहाँले आफ्नो मृत्युद्वारा मानिसमा जीवन ल्याउनुभयो। उहाँको त्यस प्रेमको बारंबार संझना गरिनुपर्दछ (लूका २२:१९)। उनीहरूका मन्ना यात्राभरि निरन्तर प्रबन्ध भइरह्यो (१६:३५)। ख्रीष्ट जीवनको निम्ति पर्याप्त हुनुहुन्छ (गलाती २:२०)।

तसर्थ,

      परमेश्वरले मानिसको आवश्यकता पूरा गर्नुहुन्छ (यूहन्ना ६:३१)। मन्नाले ख्रीष्ट येशूको चित्रण दिंदछ। ख्रीष्ट शिद्ध, पवित्र, नम्र, अनन्त परमेश्वर हुनुहुन्छ, विश्वासद्वारा हामी उहाँमा जीवन पाउँछौं। उहाँमा विश्वास गर्ने पछि होइन तर अहिले नै हो, चाँडै नै हो। उहाँ सबैका निम्ति हो र सबैका निम्ति प्राप्य छ। हरेक दिन, जीवनभर हामीलाई ख्रीष्ट आवश्यक पर्दछ जसले नै दिनहुँ जीवन, सामर्थ्य अनि संतुष्टि प्रदान गर्दछ। उहाँको प्रेम प्रति हामी सदा धन्यवादी बनिरहनुपर्दछ।

पा. यू. जे. गुरुङ, २०२०

Post a comment