No comments yet

मेरा दैनिकीका पानाहरूबाट: दुई (From the Pages of My Diary: Two)

१ चैत्र २०४३ (१५ मार्च १९८७)

            आज एवेनेजर आइतबार साँझको आराधना सभामा हामी अगुवाहरू सहित त्रिचन्द्र श्रेष्ठको परिवारबाट तीन जना, पुस्प रत्न तुलाधर, दल बहादुर भण्डारीको परिवारबाट तीन जना, मान बहादुर तामाङको परिवारबाट दुई जना, शमूएल, अमर भण्डारीको परिवारबाट दुई जना, काशी नाथ शाही, श्याम देवी श्रेष्ठ, कौशिला राई, आफूटी राई, फूल कुमारी लिम्बु, अब्राहाम थापाको परिवारबाट दुई जना, पूर्ण श्रेष्ठ तथा जोन लगायतका मण्डली सदस्य तथा विश्वासीहरूको उपस्थिति थियो।


३ वैसाख  २०४४ (१६ अप्रिल १९८७)

            आज भाई त्रिचन्द्र श्रेष्ठ र म मिलेर प्रार्थनामा समय वितायौं। एकार्काका विविध विषयहरूमा हामीले प्रार्थना गर्‍यौं।


८ वैसाख २०४४ (२१ अप्रिल १९८७)

            मैले जीवन साथीको निम्ति प्रभुसंग प्रार्थना गरें। मेरो इच्छा होइन तर परमेश्वरकै इच्छा पूरा होस् भनेर प्रभुलाई भनें। जीवनसाथीको निम्ति म प्रभुमै पर्खिरहेको छु।


९ वैसाख २०४४ (२२ अप्रिल १९८७)

            भजन संग्रह ३१:५ अनुसार प्रभुकै हातमा आफ्नो आत्मालाई सुम्पँदै मैले प्रभुसंग जीवन साथीको निम्ति प्रार्थना गरें। कसैको निम्ति पक्का हुन पनि मैले प्रार्थना गरें। अनि प्रभुमा पर्खन सामर्थ्य मागें।


१३ वैसाख २०४४ (२६ अप्रिल १९८७)

            मैले आज मेरी आमाको निम्ति प्रार्थना गरें कि प्रभु मेरी आमासंग बोल्नुभएको होस् र ख्रीष्ट येशूमाथि विश्वास गर्नुभएको होस्।


४ साउन २०४४ (२० जुलाई १९८७)

            आज आइतबार साँझको सभामा मलाई भेट्नलाई दाई नर बहादुर गुरुङ खैरेनीटार, तनहुँबाट आइपुग्नु भयो। उहाँ मेरो गाउँमा जान चाहानुहुन्छ। त्यहाँ पुगेर सुसमाचार सुनाउने उहाँको इच्छा छ।


५ साउन २०४४ (२१ जुलाई १९८७)

            आज दाई थोमस स्वीटजरलैण्ड जानुभयो। उहाँ चार हप्तापछि फर्कनुहुन्छ।


६ साउन २०४४ (२२ जुलाई १९८७)

            आज गंगा र उहाँकी माइली बहिनीले येशू ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो। मीना बहिनी र सावित्री दिदीले प्रभुलाई ग्रहण गर्न उहाँहरूलाई सहायता गर्नुभयो।


७ साउन २०४४ (२३ जुलाई १९८७)

            आज दल बहादुर भण्डारीको परिवारसंग भेटघाट गरी सुधार र मेलमिलापका कार्यहरू संपन्न गरियो। प्रभुलाई धन्यवाद होस्। मान बहादुर तामाङ र सानी भण्डारीको विवाह सम्बन्धमा केही गडबडीहरू भएका थिए।


१० भाद्र २०४४ (२६ अगस्ट १९८७)

            आज म दाई देवी जंगलाई भेट्न धुलिखेल गएँ। समय समयमा भेटघाट गर्न उहाँले आग्रह गर्दै हुनुहुन्थ्यो।


१२ भाद्र २०४४ (२८ अगस्ट १९८७)

            आज म दाई नर बहादुर गुरुङलाई भेट्न खेरेनीटार गएँ।  उहाँको परिवारसंगै घरेलु संगतिमा बस्ने अवसर भयो।


१३ भाद्र २०४४ (२९ अगस्ट १९८७)

            आज दाई नर बहादुर गुरुङ र म पोखरामा काकाको घरमा गयौं। यस अवसरमा काका र दिदीहरूलाई सुसमाचार सुनाउने कार्य गरियो।


१४ भाद्र २०४४ (३० अगस्ट १९८७)

            आज नर बहादुर गुरुङ र  म रामघाट चर्च सभामा उपस्थित भयौं। उक्त अवसरमा मेरो काकाकी छोरी दिदी सितल देवी गुरुङ पनि हामीसंगै जानुभएको थियो। उक्त अवसरमा हामीले एल्डर जीवन गुरुङ लगायत थुप्रै ख्रीष्टियनहरूलाई भेट्यौं।


१० असोज २०४४ (२६ सेप्टेम्बर १९८७)

            आज दाई थोमस र दाई गणेश ओखलढुंगाबाट काठमाडौं फर्कनुभयो। यस यात्रामा तीन जनाले बप्तिस्मा लिएका थिए। परमेश्वरलाई धन्यवाद होस्।


१५ कार्तिक २०४४ (१ नोभेम्वर १९८७)

            आज मेरो प्रार्थनाको सूचि यस्तो रहेको थियो, विहान: परमेश्वरसंग मेरो व्यक्तिगत सम्बन्धको निम्ति, साँझ: मण्डली सदस्यहरूको निम्ति, राति: अन्य मण्डलीहरूका विश्वासीहरूका निम्ति।

Post a comment