No comments yet

विदेशिने श्रीमानहरूलाई सल्लाह

एकजना व्यक्ति जसले जुन दिनदेखि ‘मैले आफ्नोलागि भन्दा पनि अरुको लागि जिउनुपर्छ भन्ने बुझेको हुन्छ, त्यस दिनदेखि उसको जीवनको दौड शुरु हुन्छ। परिवारको खुशीको लागि जस्तोसुकै परिस्थिति आए तापनि त्यससँग जुध्दै परिवारको सुनौलो भविष्यकोलागि संघर्षशील कदम चाल्दै  ऊ अगाडि बढिरहेको हुन्छ। देशको बेरोजगारी समस्याले गर्दा आफ्नो घर-परिवार छोडी विदेशीनेको कुनै कमी छैन यहाँ। अनेकौ सपना मनमा बुनेर आफूलाई नै बेचेर आफ्नो परिवारलाई बिदाइको हात हलाउँदै हिंडेको दिन हरपल ताजा नै रहिरहन्छ। तर जब विदेशी भूमिमा पाइला टेकिन्छ, सोंचेको भन्दा फरक भेटिन्छ। त्यैपनि आफ्नो परिवारको सुनौलो भविष्यको लागि पचास-पचपन्न डिग्रीको घाम नभनी आफूलाई पूर्ण रुपमा घोटेर, आफ्नी श्रीमति र बाल-बच्चाको सम्झानामा रमाउँदै, पसिनाले भिजेको लुगा सुकाउँदै, फाटेको मनलाई सिलाउँदै ऊ आफ्नो दौडमा दौडिरहेको हुन्छ।

अचानक एकदिन फोन आउँछ, कसैले भनिदिन्छ ‘तिम्रो श्रीमति अर्कै केटासँग सल्केकी छ र दिन-रात उसैसँग समय बिताउँदै छिन्’। तब श्रीमान छाँगोबाट खसेझैं हुन्छ। तैपनि अर्को मनले भन्छ, ‘मेरी श्रीमतिले यस्तो गर्न सक्दैन किनकि म उसलाई राम्रोसँग चिन्छु, उसले मलाई धेरै माया गर्छे र म पनि | आजसम्म मैले उसलाई कुनै कुरा को कमी हुन दिएको छैन, त्यसैले उसले यस्तो गर्न असम्भव छ तर म आफै श्रीमतिसँग कुरा गर्नेछु’। अनि श्रीमानले श्रीमतिलाई फोन गर्छन् तर फोन लाग्दैन। केही दिन अचानक श्रीमतिकै फोन आउँछ। तब श्रीमतिको ‘हलो’ भन्ने बोली सुन्नेबित्तिकै श्रीमान खुशीले रमाउँदै भन्छ, ‘किन तिमी यतिका दिनसम्म केही पनि खबर नगरी बसेकी? किन तिम्रो फोन नलागेको? म त तिम्रो यादमा तड्पिदै थिएँ, केही छैन तिमीले फोन गर्‍यौ, म यसैमा खुशी छु’। तब श्रीमतिले जवाफमा भन्छिन्, ‘मलाई माफ गर्नुस्, तपाईंले सबै कुराले मलाई पूर्ण गर्नु भएतापनि मैले खोजेको माया तपाईंबाट पाउन नसकेको कारण म तपाईंदेखि अलग हुँदैछु’। यति भनेपछि उसले फोन काटी दिन्छे। एउटा श्रीमानको लागि योभन्दा ठूलो चोट अरु के हुनसक्छ र? जीवनमा कहिल्यै नसोचेको घटना आफ्नो जीवनमा घट्दा ऊ आकुल-व्याकुल हुन्छ, तर पनि जसो-तसो मन भुलाउने कोसिस गर्दै कदम चालिरहेको हुन्छ तर ती अनगिन्ती सपनाहरु सबै चकनाचुर भएपछि जीवन जति नै कोसिस गरेतापनि जिउनु गाह्रो हुँदो रहेछ। ‘अब मेरो भन्नु केही छैन र मेरो सपना पनि यति नै रहेछ’ भनेर आफूलाई रित्तो भएको महसुस गर्दै एकदिन उसले आफ्नो जीवनलाई विदेशमा नै अन्त गरिदिन्छ।

यो परदेशी जीवनमा कतिले सफल माया पाएर आफ्नो जीवनलाई अगाडि बढाएका पनि छन् भने कतिले आफ्नो घर-बार बिगारिरहेका पनि छन् तर सफल भन्दा पनि धेरै असफल भएका नै छन्, कतिले आफ्नो जीवन नै अन्त समेत गरेका पनि छन्, धेरै माया भन्दा पनि धेरै चोट खाएका छन्। हामीले सारा संसार हात पारेतापनि आफ्नो घर-परिवार गुमायौं भने हामीलाई के फाइदा र? किनकि त्यसपछि परिवारको माया पाउनलाई हामीले अरु के नै गर्न सक्छौं र? यसैकारण विदेशमा बस्ने दाजु-भाइले यो कुराको सधैं ख्याल राख्नु नितान्त जरुरी छ कि तपाईको पैसाले मात्र श्रीमति खुशी हुँदिनन्। किनकि श्रीमति पैसामा भन्दा पनि श्रीमानले दिने समयमा नै सबै कुरा खोजीरहेकी हुन्छिन्।

सबै परिस्थिती बीच दुखसुख गर्दै सँगै रहनु नै अति उत्तम हो। वास्तवमा बाइबलले पनि यहि कुरालाई जोड दिन्छ। १ कोरिन्थी ७:५ ले भन्दछ, “उपवास र प्रार्थनामा पूरा समयका लागि बाहेक एक-अर्कादेखि अलग नहोओ; अनि फेरि एकसाथ भइहाल, नत्र शैतानले तिमीहरूलाई तिमीहरूको असंयमको कारणले परीक्षामा पार्नेछ।” विदेश गइसक्नुभएका श्रीमानहरूलाई चाहिँ यो सल्लाह छ – सकिन्छ भने सकेसम्म छिटो फर्किनुहोस् र आफ्नो परिवारसँगै हुनुहोस्। फर्कन अझै केहि समय लाग्छ भने, व्यस्तता को बावजुद पनि आफ्नो परिवारको लागि थोरै भएपनि समय निकाल्ने बानी गर्नुहोस् ताकि पछि पछुताउन नपरोस्! तपाईं सक्नुहुन्छ भने दिनमा एकचोटि भए पनि फोनमा कुरा गर्नुहोस् फोनमै प्रार्थना गर्नुहोस् ताकि श्रीमतिको कुनैपनि कुरा मनमा गुम्सेर बस्न नपाओस् वा श्रीमानसंग सेयर गर्नुपर्ने कुरा अरुसंग सेयर गर्ने मौका नपाओस्। मिलेसम्म समय-समय छुट्टी मिलाएर भएपनि आफ्नो परिवारको साथमा जानुहोस्। यसो गर्नाले श्रीमान-श्रीमतिबीच नजिकको सम्बन्ध रहिरहनेछ।

यसैगरी स्वदेशमा रहनुहुने दिदी-बहिनी हो! यो कुराको ख्याल राख्नुहोस् कि तपाईको श्रीमान अरुको लागि होइन तर तपाईकै लागि विदेश जानुभएको हो र तपाईको लागि उहाँले दु:ख गरेर तपाईलाई खुशी दिनुभएको छ भन्ने कुरालाई कहिले नभुल्नुहोस्। कुनै दिन राम्रो-राम्रो लुगा लगाएको र राम्रो शहरको दृश्यको साथमा मीठो मुस्कान दिएको सेल्फी फोटो श्रीमानले पठायो भन्दैमा यो नसोच्नु होला कि ‘मेरो श्रीमान विदेशमा छ, उतै रमाएको छ’ तर होइन यो त केही छिनको दु:ख लुकाएर मुस्कुराएको नाटक मात्र हो ताकि श्रीमानको मीठो मुस्कानले श्रीमतिलाई सारा दिन खुशी मिलोस्। पतिले आफ्नी पत्नीलाई आफ्नै शरीरलाईझैँ प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालन-पोषण गर्छ। “यसैकारण मानिसले आफ्ना बाबुलाई र आफ्नी आमालाई छोड्नेछ र आफ्नी पत्नीसँग टाँसिनेछ; र तिनीहरू एउटै शरीर हुनेछन्।” (उत्पत्ति २:२४) “तरै पनि तिमीहरूमध्ये हर एकले आफ्नी पत्नीलाई आफैंलाई झैं प्रेम गरोस्; अनि पत्नीले आफ्ना पतिको डर मानोस्”। (एफेसी ५:३३)

 

अजित

Post a comment