विवाह
आज भन्दा ३००० वर्ष अघि इस्रायलका एक अत्यन्तै विद्वान मानिएका प्रभावशाली राजा शुलेमानले भनेका थिए, “जसले पत्नी पाउँछ, उसले असल कुरा पाउँछ र परमप्रभुबाट कृपा प्राप्त गर्छ” (हितोपदेश १८:२२)। विवाहको शुरुआत मानव उत्पत्ति लगत्तै परमेश्वरबाट संस्थापन गरिएको थियो (उत्पत्ति २:१८-२५)। मानिस सामाजिक सृष्टि भएकोले एक्लै रहन उसलाई कठिन हुन्छ। मानिसको यस आवश्यकता पूरा गर्न विवाहको स्थापना गरिएको हो। पत्नी पतिको जीवन साथी हो। तसर्थ विवाहित जोडी एक साथ जिउनुपर्दछ (१ कोरिन्थी ७:५)। पत्नीलाई छोडेर लामो समयको निम्ति पति विदेशिनु गलत हो, विवाह नीति विपरित हो।
विवाहले स्वतन्त्र नयाँ परिवारको माग गर्दछ। नयाँ स्वतन्त्र परिवारमा पुरुषले आफ्नो नेतृत्वको अभ्यास गर्ने अवसर प्राप्त गर्दछ। साथै पत्नीले एक सफल पत्नी र पतिको सहयोगीको भूमिका अभ्यास गर्न अवसर प्राप्त गर्दछ। नयाँ स्वतन्त्र परिवार प्रणालीमा वृद्ध, वृद्धाहरूले वास्तवमै स्वतन्त्र र सबल जीवन जिउने अवसर प्राप्त गर्दछन्। तिनले आफ्नो परिवारको अस्तित्व वृद्धावस्थासम्मै कायम राख्ने अवसर प्राप्त गर्दछन्। स्वतन्त्र जीवन शैली, स्वतन्त्र अर्थ व्यवस्था तथा अमनचयन कायम राख्ने अवसर प्राप्त गर्दछन्। त्यस प्रणालीका निम्ति उक्त परिवारले समयमै तयारी गर्दै आइरहेको हुन्छ र परनिर्भरतालाई न्युनिकरण गरेको हुन्छ। वृद्धावस्थामा पनि उक्त परिवार इच्छापूर्वक हिँड्ने, डुल्ने, खर्च गर्ने, उपभोग गर्ने अवसरहरू प्राप्त गर्दछन्। वृद्धावस्था पुगेपछि जीवन घरको पिंढी, टोल छिमेकमा रहेको जमघट स्थल आदिमा सिमित बनिरहनुपर्दैन बरु ती राष्ट्रिय, अन्तर्राष्ट्रियन अध्ययनमा, भ्रमणमा निस्कन्छन्। वास्तवमै ती खुशी र दीर्घजीवी बन्दछन्।
संयुक्त परिवार प्रणालीमा छोरा छोरीको घरजममा बुबा आमाको परिवार प्रणाली विलय हुन जान्छ। बुबा आमा जबर्जस्त एक खाले बानप्रस्थाश्रममा प्रवेश गर्दछन्। छोरा छोरीहरू बुबा आमामा निर्भर बनिरहने, समयकाल पछि बुबा आमा छोरा छोरीहरूमा निर्भर बन्ने प्रणालीको अभ्यास हाम्रो समाजको चरित्र हो। जमिन्दार, घरवाला बुबा आमा अन्तमा घरबार विहिन भई कठिन परिस्थिति भएर गुज्रिरहेको अवस्था छ। यस्ता विरक्त लाग्दा इतिहासहरू हाम्रा वरिपरि बग्रल्ति घुमिरहेको हुन्छ। हाम्रो परनिर्भरता प्रणालीमा सुधार आवश्यक देखिन्छ। विवाह अघि पुरुषले विचार गर्नुपर्दछ कि विवाह मेरै खर्चले गर्ने हो, आफ्नो वासस्थानको व्यवस्थापन आफैंले गर्ने हो, खाना खर्च लगायत सम्पूर्ण खर्च म आफैंले गर्ने हो। यसो हुँदा व्यक्ति परिश्रमी हुन सिक्दछ, जिम्मेवार बन्दछ। अर्को तर्फ व्यक्तिले गर्ने आय वा लगानी नीज स्वयंको हुने हुँदा व्यक्ति परिश्रमी र उत्साही बन्दछ। तर यसो नभएर समाजमा यो पनि देखियो असल छोरा मरि-मरि काम गर्ने, कमाउने, घरव्यवहार खर्च गर्ने; तर भुसतिघ्रे छोराहरू चाहिँ बसि-बसि खाने, काम नगर्ने, घर जग्गा, जायजेथामा मेरो पनि हक लाग्छ भन्ने, कमाउने दाई या भाइलाई उल्टै धम्काउने, थर्काउने; उस्तै परे बुबा आमा पनि तिनकै बचाउको निम्ति उभिने गतिविधिहरू पनि समाज देख्नुपरेको अवस्था छ। परिश्रमी, इमान्दार छोराले चाहिँ टाउको दु:खाई-दु:खाई बाँच्नुपर्ने, यो पनि व्यर्थ हो।
बुद्धिमान बुबा आमाले पैतृक सम्पत्ति आफ्ना छोरा छोरीहरूका निम्ति छोडिदिन्छ। लेखिएको छ, “असल मानिसले आफ्ना नातिनातिनाहरूका निम्ति पैतृकसम्पत्ति छोडिराख्छ” (हितोपदेश १३:२२)। आफू बाँचुन्जेल उक्त परिवारले आफ्नो परिश्रमको फलको उचित प्रयोग गर्दछ, निर्धक्कतापूर्वक उपभोग गर्दछ। शेष पछि बाँकी हकहिस्सा पैतृक सम्पत्तिको रुपमा सन्तानमा हस्तान्तरण हुन्छ। बुढा मरे, पैतृक सम्पत्ति सरे। तर बुढा कहिले मर्ला र सम्पत्ति सर्ला भन्ने नियत कसैले लिन्छ भने त्यो पनि दु:खद हो। हाम्रो परिवेशमा अत्यन्तै प्रताडित अवस्थामा रहेका हाम्रा असहाय, सम्पत्तिविहिन, अधिकारविहिन पूर्व लखपति, करोडपति, जमिनदार, घरवाला वृद्ध-वृद्धाहरूका निम्ति सरकारबाट वितरित सामाजिक शुरक्षा भत्ता एक ठूलो राहत बन्न पुगेको छ। अब तिनले छोरा छोरीहरूको माया पाउने, राम्रो स्याहार संभार पाउनेमा थप आशा पलाएको छ। तर अर्को तर्फ त्यही भत्ताका निम्ति छोरा-छोरीहरूको विचमा चलिरहेको खिचातानी, झगडा, भनाबैरी पनि धेरैको निम्ति टाउको दु:खाइ भइरहेको अवस्था पनि छ।
पुनर्विवाह
यी भए विवाह जीवन र त्यसका प्रणालीसम्बन्धि समस्याहरूको मंथन। अब पुनर्विवाहको विषयमा मंथन गरौं। पति वा पत्नीको मृत्युपछि विधवा वा विदुरले पुनर्विवाह गर्न सक्दछ (१ कोरिन्थी ७:३९)। त्यसमा कोही कतैबाट आलोचना, खिसी-टिउरी गर्ने, अप्ठ्यारो मान्ने, लजाउने आदि कार्य गर्नुहुँदैन। पति वा पत्नीको पाप वा कठोरताका कारण वा बहुविवाहका कारण कसैको पारपाचुकी भएमा र कानूनी तथा सामाजिक रुपमा पारपाचुकीको प्रमाण रहेमा, उक्त व्यक्तिले आवश्यक रहेको भन्ने देखेमा नीजले पुनर्विवाह गर्न सक्दछ (व्यवस्था २४:१-४)। यसमा पनि कसैले आलोचना गर्ने, खिसी-टिउनी गर्ने अप्ठ्यारो मान्ने कार्य गर्नुपर्दैन। विवाह विग्रेको कारण व्यक्तिमा आउन सक्ने विकृति, विसंगति र प्रताडनाको व्यवस्थापनको निम्ति व्यवस्थामा पनि यसरी पुनर्विवाहको व्यवस्थापन गरिएको थियो। यस्ता गम्भिर विषयहरूमा हामी सबै संवेदनशील हुनुपर्दछ।
उदारता र संकीर्णता
जहाँसम्म अन्तर्मण्डलीय विवाहको सम्बन्ध छ यसमा पनि मण्डलीहरूले बाइबल सम्मत नीतिको अवलम्बन गर्नुपर्दछ। अति स्वच्छन्दवाद वा अति कट्टरवाद नीति लिनु दुबै खतरानक हुन सक्दछ। आफ्नो मण्डली वा संगतिमा रहेकाहरूसंग बाहेक विवाह सम्बन्ध नराख्ने नीतिले धेरै युवाहरूलाई विवाहको अवसरबाट बंचित बनाइन्छ। यसले उल्टै विकृति र विसंगति निम्त्याउन सक्दछ। यस्तो नीति लिने कतिपया मण्डलीहरूको विवाहहरू रोकिएको, बुढो कन्या र बुढी कन्याहरूको वृद्धि भइरहेको अवस्था छ। यो पनि संतुलित नीति होइन। अर्को तर्फ जस्तो सुकै शिक्षा र अभ्यास भएका मण्डलीहरूसंग विवाह सम्बन्ध राख्दा क्रमिक रुपमा त्यसखाले व्यक्तिहरूद्वारा बाइबलीय शिक्षा र अभ्यासमा गलत प्रभाव पार्न सक्ने स्थिति रहन्छ। शिक्षा तथा अभ्यास मिल्ने, संगतिमा रहेका मण्डलीहरू विचमा विवाह सम्बन्ध राख्नु त सर्वोत्तम नै हो। त्यसमा कुनै विवादै रहेन। त्यसमै अघि बढ्न युवाहरूले पनि सम्पूर्ण प्रार्थना र जमर्को कायम राख्नुपर्दछ। त्यति गर्दा पनि नभए वा केही सिप नचले गलत शिक्षा र अभ्यासमा उग्र र अभ्यस्त मण्डलीहरू बाहेकका सरल, सिकाउँदा सिक्ने मण्डलीहरूका आत्मिक र परिपक्व विवाह उम्मेदवारहरूसंग विवाह बन्धनमा जानुलाई इन्कारै गर्न नपर्ने हुन सक्छ यद्यपि यसलाई प्राथमिकतामा भने राखिनुहुँदैन। तर त्यसो गर्दा विवाह उम्मेदवारको आत्मिक स्तर र जीवनको राम्रो अध्ययन हुनु जरुरी हुन्छ। माण्डलिक विवाह समारोहहरूमा मण्डली अगुवाहरूले राम्रो अध्ययन गरी, प्रार्थना, विचार-विमर्श गरी, निर्णय गरी अघि बढाइएका विवाह समारोहहरूमा भाग नलिने, बहिस्कार गर्ने कार्य पनि अनौठो चरित्र हो। विवाह सम्बन्धमा कुनै प्रश्न भए पास्टरलाई सोध्नु, बुझ्नु बुद्धिमानी हो। विशेष गरी मण्डलीका जिम्मेदार व्यक्तिहरू यस्तो विषयमा सचेत हुनुपर्दछ। नभए नीजहरूको अविभावकीय भूमिकामा प्रश्न उठ्न सक्छ।
विवाह उम्मेदवार तथा विवाह परिवारको उत्साह, रमाहट प्राकृतिक हो। लेखिएको छ, “आनन्द मनाउनेहरूसंग आनन्द मनाओ र रुनेहरूसंग रोओ” (रोमी १२:१५)। युवाहरूको विवाहहरूमा खुशी हुनुपर्दछ। उक्त खुशीमा सरिक हुनुपर्दछ। विवाह लगायतका माण्डलिक कार्यक्रमहरूसंग मण्डलीले नै गर्नुपर्ने दफन कार्यक्रम वा त्यससंग जोडिने कार्यक्रमहरू एकसाथ संचालन गर्नुहुँदैन। अघिपछि मिलाउनुपर्छ। मण्डलीले आनन्द मनाउनेसंग आनन्द मनाउन र रुनेहरूसंग रुन पाउने वातावरण बनाउनुपर्छ। यसमा जिम्मेदार पक्षहरूले परिपक्व व्यवहार गर्नुपर्दछ। किनकि मण्डलीका जिम्मेदार व्यक्तिहरू सबैका अविभावक हुन्। चेतना भया!